+
टी-२० विश्वकप छनोट :

नेपालको वास्तविक परीक्षा सुपर सिक्समा

२०८२ असोज  २५ गते १९:३८ २०८२ असोज २५ गते १९:३८

नेपालले समूह चरणमा तुलनात्मक रुपमा कमजोर टोलीसँग खेलेको थियो । सुपर सिक्समा अझ बलिया टोली हुने भएकोले पनि अब नेपालका लागि मुख्य चुनौती सुपर सिक्समा हुनेछ ।

नेपालको वास्तविक परीक्षा सुपर सिक्समा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप छनोटको सुपर सिक्समा ओमान, नेपाल, युएई, कतार, जापान र सामोआले स्थान सुरक्षित गरेका छन्।
  • सुपर सिक्समा नेपालले युएई, कतार, ओमान र सामोआसँग खेल्नेछ ।
  • पहिलो खेल आइतबार युएईसँग हुनेछ।

काठमाडौं । ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया एण्ड इएपी छनोटको समूह चरणको खेल सकिएको छ र सुपर सिक्समा पुग्ने ६ टिम र सुपर सिक्सको खेल समीकरण पनि टुङ्गो लागिसकेको छ ।

छनोटमा ९ टिम सहभागी भएकोमा तीन टिम पहिलो चरणबाटै बाहिरिएका छन् । दोस्रो चरणमा पुगेका ६ टिमबाट शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् । अब त्यो होडका लागि ६ टिम बाँकी छन् ।

आयोजक ओमानसहित नेपाल, युएई, कतार, जापान र सामोअले सुपर सिक्समा स्थान सुरक्षित गर्दै टी-२० विश्वकप पुग्ने सम्भावना बाँकी नै राखेका छन् । यसअघि टी-२० विश्वकप खेलिसकेको पपुवा न्यु गिनीसँगै कुवेत र मलेसिया भने पहिलो चरणबाटै बाहिरिएका छन् ।

समूह चरणमा सामोआले पपुवा न्यु गिनीलाई हराउनु, कतारले मलेसियालाई हराउनु अनि जापानले कुवेतलाई हराउनु केही सरप्राइज नतिजाको रुपमा आयो । त्यसैले सुपर सिक्सका खेलहरु अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

समूह चरणमा तीन टिम मात्र भएकोले सबैले दुई-दुई खेल मात्र खेल्न पाए । तर सुपर सिक्समा अब हरेक टिमले ४ खेल खेल्नुपर्नेछ । यस्तोमा अब वास्तविक परीक्षा सुपर सिक्समा देखिनेछ ।

नेपालले समूह चरणमा तुलनात्मक रुपमा कमजोर टोलीसँग खेलेको थियो । सुपर सिक्समा अझ बलिया टोली हुने भएकोले पनि अब नेपालका लागि मुख्य चुनौती सुपर सिक्समा हुनेछ ।

समूह चरणमा अपराजित रहेका नेपाल, युएई र ओमानसँग सुपर सिक्समा खेल्नुअघि नै २-२ अंक हुनेछ । बाँकी तीन टिमसँग कुनै अंक हुने छैन । यस्तोमा यी तीन टिमलाई २ अंकको फाइदा छ ।

तर अब हुने हरेक खेलहरु उत्तिकै महत्वपूर्ण हुनेछ । सुपर सिक्समा नेपालले समूह ए बाट आएका युएई र कतार तथा समूह सी बाट आएका ओमान र सामोअसँग प्रतिस्पर्धा गर्नेछ । युएई र ओमान नेपालका लागि चिरपरचिति प्रतिद्वन्दी हुन् । यस्तै कतारसँग पनि नेपालले यसअघि खेलिसकेको छ ।

सुपर सिक्समा हरेक टिमले आफ्नो समूह बाहेक अन्य दुई समूहको टिमसँग खेल्नेछ । जस अनुसार नेपालले सुपर सिक्समा आफ्नो पहिलो खेल आइतबार युएईसँग खेल्नेछ । यस्तै दोस्रो खेल सोमबार कतारसँग खेल्नेछ । त्यसपछि नेपालले तेस्रो खेल ओमानसँग बुधबार खेल्नेछ भने सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । यी चार खेलको नतिजापछि नेपालले टी-२० विश्वकपमा स्थान बनाउने/नबनाउने टुङ्गो लाग्नेछ ।

अब प्रतिक्षा सुपर सिक्सको खेलको रहेको छ । अबको एक साताभित्रै टी-२० विश्वकप पुग्ने तीनवटै टिमको टुङ्गो लाग्नेछ । ‘आजको खेल हाम्रो लागि निकै महत्वपूर्ण थियो । किनकी हामीले २ अंक जोड्यौं’ कप्तान रोहितले जापानसँगको खेलपछि भने ।

नेपालका लागि चुनौती

नेपालल सुपर सिक्समा खेल्ने मध्ये बलियो टिमहरु युएई र ओमान नै हुन् । बाँकी दुई टिम पनि समूह चरणमा राम्रो प्रदर्शन गरेर आएकाले कमजोर लिन मिल्दैन ।

त्यसमा पनि सुपर सिक्सको पहिलो खेल नै नेपालले युएईसँग खेल्ने भएकोले अहिले यो खेल सबैभन्दा महत्वपूर्ण हुनेछ । यस खेलमा जित हारको नतिजाले पनि नेपालको आगामी खेलमा प्रभाव पार्न सक्छ । त्यसैले सुरुमा नेपाली टिमको पहिलो प्राथमिकता भनेकै युएई विरुद्ध जित निकाल्ने हुनेछ ।

ओमानी मैदानमा नेपालको नतिजा खासै राम्रो छैन । त्यसमा पनि युएईविरुद्ध नेपालको विगतमा राम्रो छैन । नेपालले युएईसँग ओमानमा खेलेको तीनवटै टी-२० अन्तर्राष्ट्रिय खेलमा हार व्यहोरेको छ ।

त्यसैले यूएईविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण हुनेछ । सन् २०२२ मा ओमानमै भएको टी-२० विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित हुँदा विश्वकपमा छनोट हुन असफल भएको थियो । त्यस बेला सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यसअघि भएको चार देशीय सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित भएको थियो ।

यस्तै पछिल्लो पटक सन् २०२४ मा भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा पनि नेपाल यूएईसँगै पराजित भएको थियो । एसिया कपको छनोटको रुपमा समेत रहेको उक्त सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।

यस पटक नेपाली टिमको लय राम्रो रहेको र टिम सन्तुलित रहेकोले यूएईसँग हराउन सक्ने विश्वास छ । तर वास्तविक परिक्षा भने मैदानमा देखिनेछ ।

यस्तै यूएईले पनि पछिल्लो समय राम्रो खेलिरहेको छ र एसिया कप समेत खेलेको थियो । जापानलाई हराएपछि कप्तान रोहितले पनि यूएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रुपमा लिने बताए । ‘यूएई यो टुर्नामेन्टको बेस्ट टिममध्ये एक हो । हामी विपक्षीको रुपमा हेरेका छौं । यदि हामीले हाम्रो बेसिक र स्ट्यानडर्ड अनुसार खेल्यौं भने हामीले जित्न सक्छौं’ रोहितले भने, ‘मुख्य कुरा हामी विपक्षी को छ भन्दा पनि आफ्नो स्ट्रेन्थमा फोकस गर्नेछौं ।’

यस्तै घरेलु टोली ओमानसँग भने नेपालको विगतको नतिजा राम्रो छ । तर ओमान घरेलु मैदानमा खेल्दै गरेकोले उसलाई फाइदा हुनेछ । अहिलेसम्म नेपाल र ओमान ओमानमा चार पटक भिड्दा नेपालले तीन खेल जितेको छ भने ओमानले एक खेल मात्र जितेको छ ।

यसबाहेक कतार र सामोआले पनि समूह चरणमा सरप्राइज नतिजा निकालेकोले सुपर सिक्समा नेपालको लागि चुनौती हुनेछ । न्युजिल्याण्डका पूर्व स्टार खेलाडी रोस टेलरलाई समावेश गर्दै छनोट खेल्न गएको सामोआले समूह चरणमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने घरेलु टोली ओमानलाई पनि टक्कर दिएको थियो ।

यस्तै कतारसँग नेपालको नतिजा मिश्रित छ भने ओमानमा भएको खेलमा नेपालले कतारलाई पराजित गरेको थियो । सन् २०१९ मा मलेसिया भएको टी-२० विश्वकप एसिया छनोटमा नेपाल कतारसँग पराजित भएको थियो ।

सन् २०२४ मा ओमानमा भएको एसीसी प्रिमियर कप र २०२५ मा हङकङमा भएको चारदेशीय सिरिजमा भने नेपालले कतारलाई हराएको थियो ।

नेपाली क्रिकेट टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय