+
+
Shares

विपद्‍मा इलाम : संघबाट मन्त्री आउँदा प्रदेशले थाहा पाएन

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर इलाम जिल्लाका हुन् । बाढी पहिरो प्रभावितको राहत उद्धारमा खटिएका उनी मन्त्री घिसिङ पुग्दा देखिएनन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असोज २६ गते १२:५६

२६ असोज, विराटनगर । गत १८ असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगेका छन् ।

शनिबार भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई साथमा लिएर पुगेका उनले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि छलफल गरेर फर्किए । मन्त्री निरीक्षणका लागि पुग्दा प्रदेश सरकारका प्रतिनिधि भने सहभागी थिएनन् ।

मन्त्री घिसिङ आएको र गएको प्रदेश सरकारका पदाधिकारीले औपचारिक जानकारी नै पाएनन् । विगतमा भने संघीय मन्त्री आउँदा प्रदेशका मन्त्री पुग्थे । जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्री आउँदा प्रदेश सरकारसँग समन्वय गरेका छैनन्, समन्वय नहुँदा प्रदेशको सहभागिता पनि भएको छैन ।

‘मन्त्रीज्यू आउनुभएको कुरा सामाजिक सञ्जालमा देखेपछि थाहा भयो’, प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले भने, ‘हामीलाई औपचारिक जानकारी भएन ।’

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर इलाम जिल्लाका हुन् । बाढी पहिरो प्रभावितको राहत उद्धारमा खटिएका उनी मन्त्री घिसिङ पुग्दा देखिएनन् । विराटनगरमा रहेका मन्त्री मगरले संघबाट मन्त्री आएको औपचारिक जानकारी नै नपाएको बताए ।

बाढी पहिरो प्रभावितको राहत उद्धारका लागि संघ प्रदेश र स्थानीय सरकारले काम गरिरहेका छन् । नयाँ सरकारका मन्त्रीले प्रदेश तहसँग समन्वय गरेका छैनन् ।

शनिबार पुगेका मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भए ।

छलफलका क्रममा पालिका प्रमुखहरुले बाढी र पहिरोबाट क्षतिग्रस्त भएका संरचना पुननिर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । छलफलमा उनले कुनै घोषणा गरेनन् । तर, संघीय सरकारले संकटग्रस्त जिल्ला घोषणा गरेका कारण प्राथमिकताका साथ काम गर्ने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मन्त्री घिसिङसहितको टोलीले इलाम नगरपालिका– १० को माइटापु, इलाम नगरपालिका ९ को राजदुवाली सडकखण्ड, मेचीराजमार्ग पुवाखोलास्थित मिलगोलाई क्षेत्रको निरीक्षण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लाका विपद प्रभावित क्षेत्रहरूका विषयमा जानकारी लिएकाे उनले बताइन् ।

छलफलका क्रममा स्थानीय पालिका प्रमुखहरुले तत्कालका लागि चाहिने जिन्सीभन्दा पनि पुननिर्माणमा सहयोग गर्न आग्रह गरेको उनले बताए । ‘पालिका प्रमुखज्यूहरुबाट तत्कालका लागि राहत सामग्रीभन्दा पनि भत्किएका सडक र भौतिक संरचना निर्माणका लागि आग्रह गर्नु भएको छ’, उनले भनिन्, ‘पालिकाहरुले राहत चाहिँ लगभग लगभग पुगिसकेको छ, पुनर्स्थापना नै हो भन्नुभएको छ ।’ मन्त्रीले घिसिङले पालिकाको समस्याहरु टिपेर लगेका थिए ।

बाढी पहिराेमा परी इलाममा ३९ जनाकाे मृत्यु भएकाे थियाे । २३८ परिवार विस्थापित भएका थिए । पहिराेका कारण अवरुद्ध मेची राजमार्ग अझै खुलेकाे छैन ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?