+
+
Shares

तामझाम साथ थालिएको निगमको ग्वान्झाउ उडानमा एक जना मात्रै यात्रु, उडान स्थगित

ग्वान्झाउ जाने यात्रु एक जना मात्रै र फर्कने आठ जना भएपछि निगमले १८ अक्टोबरमा जाने र १९ मा फर्कने गरी तय गरेको उडान नै स्थगित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले चीनको ग्वान्झाउ उडान २५ सेप्टेम्बरदेखि सुरु गरेकोमा यात्रु अभावका कारण उडान स्थगित गरेको छ।
  • निगमले ग्वान्झाउ उडानका लागि नियमित तालिका नबनाई लापरबाही गरेको र पहिलो उडानमा टिकट बिक्री गरी पनि फ्लाइट प्लान स्वीकृत नगराएको पाइएको छ।
  • निगमले नाफा नहुने रुटमा उडान गर्दा व्यापारिक योजना नबनाएको र राजनीतिक दबाबमा ग्वान्झाउ उडान सुरु गरेको स्रोतले जनाएको छ।

२७ असोज, काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंमा भारतीय वायुसेवा कम्पनीहरूले दैनिक १० उडान गर्छन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दिल्लीका लागि दुई वर्षअघिसम्म दैनिक दुई उडान गर्ने गरेकोमा अहिले एउटा मात्रै गर्छ ।

कतारको कतार एयरवेजले काठमाडौंका लागि दैनिक तीन उडान गर्छ । तर, निगमले कतारको दोहाका लागि सातामा पाँच मात्रै उडान गर्छ, अर्थात् दिनको एउटा पनि छैन ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि त्यस्तै अवस्था छ । त्यहाँको फ्लाई दुबईले दुबईबाट काठमाडौंका लागि दैनिक चार उडान गर्छ । अर्को एयर अरेबियाले सारजहाँबाट काठमाडौंका लागि दैनिक तीना र अबुधाबीबाट दुइटा उडान गर्छ । जबकि, निगमले सातामा चारमात्र उडान गर्छ ।

अत्यन्तै ठूलो यात्रु चाप भएका नाफाका केही रुट हुन् यी । यस्ता रुटको उडान काटेर निगमले चीनको ग्वान्झाउमा २५ सेप्टेम्बरदेखि उडान सुुरु गरेको थियो ।

तर, त्यसको एक महिना पनि नपुग्दै यात्रु अभावमा ग्वान्झाउ उडान नै स्थगित गर्नुपर्ने अवस्थामा निगम पुगेको छ ।

निगमले १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज ‘ए३२०–२००’ ले ग्वान्झाउ उडान गर्दै आएको छ । तर, ग्वान्झाउ जाने यात्रु एक जना मात्रै र फर्कने आठ जना भएपछि निगमले १८ अक्टोबरमा जाने र १९ मा फर्कने गरी तय गरेको उडान नै स्थगित गरेको निगम स्रोतले जानकारी दियो ।

त्यतिमात्र होइन, अहिलेसम्म नियमित उडान तालिका नै नबनाइ निगमले लापरबाहीपूर्वक ग्वान्झाउमा उडान गर्दै आएको छ । त्यसरी गरेका कुनै पनि उडानमा पर्याप्त यात्रु छैनन् ।

निगमले ग्वान्झाउका लागि २५ सेप्टेम्बरमा पहिलो उडान गर्ने तयारी गरेको थियो । तर, चीनबाट उडान योजना (फ्लाइट प्लान) नै स्वीकृत नगराइ उड्न लागेको जहाज अन्तिम समयमा उडेन ।

त्यसको २४ घण्टापछि मात्रै जहाज चीन गयो । २६ तारिखमा गएको जहाजमा यताबाट चीन जाने जम्मा १४ यात्रु थिए, उनीहरू सबै निगमकै कर्मचारी थिए ।

दशैंअघिकै समयमा पनि आउने यात्रु जम्मा १ सय ३ जना थिए । त्यसपछि निगमको जहाज २८ सेप्टेम्बरमा ग्वान्झाउ गयो, जसमा ९ यात्रु थिए । २९ तारिखमा फर्केको जहाजमा १ सय २० यात्रु थिए ।

निगमले ग्वान्झाउका लागि तेस्रो उडान १६ अक्टोबरका लागि तय गरेको छ, जुन जहाज १७ तारिखमा फर्कने योजना छ ।

तर, त्यो उडानमा पनि जान ४८ र फर्कन ६२ जनाले टिकट बुक गरेको निगम स्रोतले जानकारी दियो ।

जाने एक जना र फर्कने ८ जना मात्रै यात्रु हुने भएपछि चौथो उडान अर्थात् १८ र १९ अक्टोबरका लागि तालिकामा भएको उडान नै रद्द गरिएको निगम स्रोतको भनाइ छ ।

‘नाफाका रुटमा पर्याप्त उडान नगरेर निगम अध्यक्ष युवराज अधिकारीले नेता र सरकारी कर्मचारी खुसी पार्न ग्वान्झाउमा उडान थालेका थिए,’ स्रोतले भन्यो, ‘त्यो रुटमा उडान गर्दा निगमको न कुनै व्यावसायिक योजना बनेको थियो, न नाफा नै हुने अवस्था छ ।’

परराष्ट्र मन्त्रालय तथा पर्यटन मन्त्रालयले ग्वान्झाउ उडान गर्न भनेपछि निगम अध्यक्ष अधिकारीले तत्कालीन राजनीतिक नेतृत्वलाई खुसी पार्न ग्वान्झाउ उडान थालेका थिए । तर, निगम कर्मचारीले भने नाफा नहुने सेक्टरमा उडान गर्न नहुने भन्दै विरोध गरेका थिए ।

चीनको बजार रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण भएकाले मन्त्रालयले चीन उडान गर्न भनेको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।

‘व्यावसायिक विश्लेषण गर्ने जिम्मा निगमकै हो, हामीले चीनको ग्वान्झाउ महत्त्वपूर्ण गन्तव्य भएकाले गर्न भनेका हौं,’ उनले भने ।

सरकारलाई खुसी पार्न ग्वान्झाउ उडान थालेको निगमले उद्घाटन उडानदेखि नै लापरबाही गरेको थियो ।

२५ तारिख राति साढे १० बजे उद्घाटन उडान तालिका बनाएको निगमको उडान २४ घण्टापछि मात्रै उडेको थियो । प्रवद्र्धनात्मक भनिएको त्यो उडानमा तामझाम साथ करिब तीन दर्जन व्यक्तिलाई निगमले आफ्नै खर्चमा लैजाँदै पनि थियो । त्यसबाहेक केही यात्रु पनि निगमको जहाज चढेर ग्वान्झाउ जाँदै थिए ।

तर, बोर्डिङ पाससमेत लिइसकेपछि अवतरण गर्न चाहिने उडान योजना त स्वीकृत नै नभएको पाइएपछि उडान सरेको थियो । २६ तारिख राति साढे १० बजेमात्रै त्यो उडान भएको थियो ।

उडान योजना स्वीकृत नगराइ विमानस्थलमा अवतरण नै गर्न मिल्दैन, अर्थात् उडान र अवतरणका लागि स्लट नै प्राप्त हुँदैन । प्रवद्र्धनात्मक भनिएको पहिलो उडानकै लागि फ्लाइट प्लान स्वीकृत नगराइ टिकट बेचेर निगमले अन्तर्राष्ट्रिय रूपमा देशको बेइज्जत गरेको थियो ।

निगमले पहिलो उडानमै यसरी यात्रु अलपत्र पारेपछि उसप्रतिको विश्वास घटेको र त्यसको प्रभाव अन्य उडानमा परेको निगम स्रोत बताउँछ ।

‘नयाँ ठाउँमा उडान गर्नुअघि खासमा व्यापारको सम्भावना छ कि छैन, नियमित उडान गर्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्नेमा निगमले अरू नै कुरा हेर्ने गरेको छ,’ सम्बद्ध अधिकारीले भने, ‘पहिलो, त्यस ठाउँमा टिकट बिक्रीका लागि तोकिने जीएसए नियुक्तिमा आर्थिक चलखेल गर्ने र दोस्रो, त्यो स्टेसनमा नयाँ कर्मचारी पठाउन पाइने अवसर ।’

यसरी हरेक पटक निगम स्रोत दुरुपयोग हुने गरी गरिने कार्यले निगमलाई नै धराशायी बनाउने ती अधिकारी बताउँछन् ।

यस विषयमा बुझ्न खोज्दा निगमका प्रवक्ता सुवास डाँगीसँग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?