+
+
Shares

परराष्ट्र मन्त्रालयले भन्यो- विपिन जोशीको अवस्था अज्ञात 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १९:०३

२७ असोज, काठमाडौं । विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।

उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान-प्रदान गरिएको हो ।

उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।

यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरेको थियो ।

हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ ।

यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति :

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि शुरु भएको द्वन्द अन्त्य गर्नको लागि प्रस्तावित ‘Middle East Peace Plan’ को प्रथम चरण अन्तर्गत आज बन्दी आदान-प्रदान भइरहेको जानकारी प्राप्त भएको छ । उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको Learn and Earn कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशी पनि हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहने अपेक्षा गरिएको थियो । यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको व्यहोरा विदितै छ ।

आज विहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (IDF) ले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ ।

हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पुरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने व्यहोरा अनुरोध छ ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८२ आश्विन २७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?