News Summary
Generated by OK AI. Editorially reviewed.- मोटोपनले महिलामा पुरुषको तुलनामा बढी मानसिक तनाव र सामाजिक भेदभाव निम्त्याउँछ, जसले आत्मसम्मान र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।
मोटोपन एक स्वास्थ्य समस्या मात्र होइन, यो सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि गहन प्रभाव पार्ने मुद्दा हो । विशेष गरी मोटोपनले पुरुषहरूको तुलनामा महिलाहरूमा बढी तनाव निम्त्याउछ । यसको कारण महिलाको शारीरिक सुन्दरताको मापदण्डलाई पातलो र आकर्षक शरीरसँग जोड्ने सामाजिक अपेक्षा हो ।
मोटोपनले महिलाहरूलाई बढी तनाव दिनुका पछाडि सामाजिक अपेक्षा, मानसिक स्वास्थ्य प्रभाव, लैङ्गिक भेदभाव, स्वास्थ्य जोखिम, शारीरिक असुविधा र हर्मोनल असन्तुलन जस्ता बहुआयामिक कारणहरू छन् ।
सामाजिक र सांस्कृतिक दबाब
समाज र संस्कृतिमा महिलाको शारीरिक सुन्दरताको मापदण्ड प्रायः पातलो र आकर्षक शरीरसँग जोडिएको हुन्छ । मिडिया, विज्ञापन र सामाजिक सञ्जालले यस्ता सौन्दर्य मापदण्डलाई प्रोत्साहन गर्छन्, जसले मोटोपन भएका महिलालाई आफ्नो शरीरप्रति असन्तुष्टि हुने र तनाव उत्पन्न गराउँछ ।
पुरुषको तुलनामा महिलाहरूलाई यो दबाब बढी सहनुपर्छ । एक मेटा–एनालिसिसले पनि यो देखाएको छ- मोटोपन भएका व्यक्तिहरू आफ्नो शरीरप्रति बढी असन्तुष्ट हुन्छन्, र यो असन्तुष्टि महिलामा बढी प्रचलित हुन्छ किनकि सामाजिक अपेक्षाहरूले महिलालाई शारीरिक रूपमा ‘सुन्दर’ हुनुपर्ने दबाब दिन्छ ।
यसबाहेक, मिडियाले प्रचारित अवास्तविक छविले महिलाहरूमा शरीरको छविसँग सम्बन्धित तनाव बढाउँछ, जसले मानसिक स्वास्थ्यलाई प्रभावित गर्छ ।
सामाजिक सञ्जालमा देखाइने आदर्श शरीरका छविहरूले महिलाहरूलाई निरन्तर तुलना गर्न बाध्य बनाउँछन् । विशेष गरी सुत्केरीपछि छिट्टै तौल घटाउने ट्रेन्डले थप दबाब सिर्जना गर्छ । यसले महिलाहरूलाई आफूलाई अपर्याप्त ठान्न बाध्य बनाउने मनोविद् गृष्मा पनेरू बताउँछिन् ।
आत्मसम्मान र मानसिक स्वास्थ्य
मोटोपन भएका महिलाहरू प्रायः आफ्नो शारीरिक बनावटप्रति हीनताबोध गर्छन्, जसले आत्मविश्वास कम गर्ने पनेरू बताउँछिन् । ‘यो अवस्थाले डिप्रेसन, चिन्ता र तनाव जस्ता मानसिक स्वास्थ्य समस्याहरूलाई बढावा दिन्छ’ पनेरू भन्छिन्, ‘सामाजिक भेदभाव वा आलोचनाले यो तनावलाई झन् बढाउँछ ।’
तनावलाई सामना गर्नका लागि महिलाहरूले उच्च क्यालोरीयुक्त खाना खाने वा व्यायाम नगर्ने गर्दा यसले मोटोपन र तनावको चक्रलाई थप बढाउने अनुसन्धानहरूले देखाएको उनको भनाइ छ ।
यसबाहेक, महिलाहरूमा मोटोपनले मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसनको जोखिम बढाउँछ, जसमा लिङ्गमा आधारित तनाव प्रतिक्रिया प्रमुख हुन्छ, र यो पुरुषहरूमा कम देखिन्छ ।’
मोटोपनले महिलामाथि पर्ने मानसिक दबाब केवल शरीरको कारणले मात्र होइन, समाजले महिलाको शरीरलाई हेर्ने दृष्टिकोण, टिप्पणी र अपेक्षाहरूका कारण भएको उनले बताइन्।
पनेरूका अनुसार महिलामा मोटोपनको समस्या देखिने र शारीरिक बनावटमा परिवर्तन हुने मुख्य तीन वटा कारण हुन्छ । पहिलो महिनावारीको समयमा शरीरमा परिवर्तन हुन्छ । त्यसपछि दोस्रो गर्भ अवस्थामा र तेस्रो रजनोवितृको समयमा । यो तीन वटा अवस्थामा महिलाको शरीरमा परिवर्तन हुन्छ । विशेष गरी गर्भावस्था र सुत्केरीपछि ६ महिना पछाडि तौल कम गर्नुपर्छ भन्ने खालको मानसिकताको विकास भएको छ ।
‘यदि कसैको बच्चा जन्मिसक्यो त्यस पछाडि छ महिना एक वर्षसम्म पनि तौल नियन्त्रण भएन भने तौल घटाउन पर्छ भन्ने दबाब दिन थालिन्छ’ पनेरू भन्छिन्, ‘बच्चा जन्मेको धेरै समय भइसक्यो तैपनि मोटी नै छौ त भन्ने प्रश्न गरिन्छ ।’
लैङ्गिक असमानता र भेदभाव
मोटोपन भएका महिलाहरूलाई कार्यस्थल, सामाजिक समारोह वा व्यक्तिगत सम्बन्धमा भेदभावको सामना गर्नुपर्ने सम्भावना बढी हुन्छ । यो भेदभावले आत्मविश्वासमा कमी ल्याउँछ र तनावको स्तर बढाउँछ । मोटोपन भएका महिलाहरूले पुरुषहरूको तुलनामा बढी तनावपूर्ण घटनाहरू अनुभव गर्छन्, जसमा सामाजिक भेदभाव र कार्यस्थलमा असमानता प्रमुख छन् ।
यसको उदाहरण दिँदै मनेविद् पनेरु भन्छिन्- मध्यम मोटोपन भएका महिलाहरूले सामान्य तौल भएका महिलाहरूको तुलनामा बढी असमानताहरू सामना गर्छन्, जबकि पुरुषहरूमा यो प्रभाव कम हुन्छ ।
यसले लैङ्गिक असमानताको कारणले महिलाहरूमा तनावको स्तरलाई थप बढाउँछ । समाजमा महिलाहरूलाई सुन्दरताको आधारमा मूल्याङ्कन गर्ने प्रवृत्तिले यो भेदभावलाई बढावा दिन्छ, जसले महिलाहरूलाई निरन्तर तनावमा राख्छ ।
स्वास्थ्य सम्बन्धी चिन्ता
मोटोपनले मधुमेह, उच्च रक्तचाप, हृदय रोग, र प्रजनन स्वास्थ्य समस्याहरू जस्तै पिसिओएस जस्ता रोगहरूको जोखिम बढाउँछ । महिलाहरूमा यी स्वास्थ्य समस्याहरूले विशेष गरी गर्भावस्था र प्रजनन क्षमतामा प्रभाव पार्न सक्छ, जसले थप मानसिक तनाव निम्त्याउछ ।
महिलाहरूमा तनाव बढी हुँदा कोर्टिसोल हर्मोनको उत्पादन बढाउँछ, जसले चिन्तासँग सम्बन्धित तौल वृद्धि र मोटोपन–सम्बन्धित मेटाबोलिक विकारहरू निम्त्याउने मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।
उनका अनुसार यसबाहेक, महिलाहरूमा मोटोपनले प्रजनन स्वास्थ्यमा बढी प्रभाव पार्छ, जसमा गर्भावस्थाका जटिलताहरू र हृदय रोगको जोखिम बढी हुन्छ, र यो तनावको प्रमुख स्रोत बन्छ ।
शारीरिक असुविधा र जीवनशैली
मोटोपनले शारीरिक गतिविधिमा कठिनाइ, थकान, जोर्नी दुखाइ र अन्य शारीरिक असुविधाहरू निम्त्याउछ, जसले दैनिक जीवनलाई प्रभावित गर्छ । घरायसी काम, बच्चाको हेरचाह वा अन्य जिम्मेवारीमा यस्ता समस्याहरूले महिलालाई थप तनाव दिने मनोविद् पनेरू बताउँछिन् ।
महिलाहरूमा शरीरको फ्याट प्रतिशत पुरुषहरूको तुलनामा बढी हुन्छ र यो फ्याट मुख्य रूपमा हिप्स र थाइजमा जम्मा हुन्छ, जसले शारीरिक असुविधा र जीवनशैलीमा प्रभाव बढाउँछ । यसबाहेक, तनावबाट उत्पन्न हुने मस्तिष्कका प्रतिक्रियाहरूले थकान र तनावसमेत बढाउँछ ।
यी असुविधाहरूले महिलाहरूलाई सक्रिय जीवनशैली अपनाउन कठिन बनाउँछ, जसले तौल नियन्त्रणलाई झन् चुनौतीपूर्ण बनाउँछ र तनावको चक्रलाई जारी राख्ने पनेरूले बताइन्।
हर्मोनल प्रभाव
मोटोपनले महिलाहरूमा हर्मोन असन्तुलन जस्तै इस्ट्रोजनको स्तरमा परिवर्तन निम्त्याउन सक्छ, जसले मुड स्विङ, चिडचिडापन र तनावलाई बढाउँछ । यो पुरुषहरूमा कम देखिन्छ ।
मोटोपन भएका व्यक्तिहरूमा इन्सुलिन स्तर बढी हुन्छ, र तनावले यो स्तरलाई थप बढाउँछ, जसले महिलाहरूमा हर्मोनल परिवर्तनहरू बढी प्रभावकारी बनाउने डा.भट्टराईले बताए । डा.भट्टराई का अनुसार महिलाहरूमा मोटोपनका कारणहरू पुरुषहरूभन्दा फरक हुन्छन्, जसमा हर्मोनल र तनाव–सम्बन्धित कारकहरू प्रमुख छन् ।
प्रतिक्रिया 4