News Summary
Generated by OK AI. Editorially reviewed.- जस्टिन बिबरले २०२३ जनवरीमा आफ्ना २९१ गीत लगभग २०० मिलियन डलरमा हिपग्नोसिस सङ्ग्स क्यापिटललाई बेचे जसले उनको पब्लिसिङ अधिकार समाप्त गर्यो।
- २०२२ मा जस्टिनलाई अनुहारको पक्षघात र 'रामसे हन्ट सिन्ड्रोम' रोगले प्रभावित गर्यो जसले उनको स्वास्थ्यमा गम्भीर असर पुर्यायो।
- जस्टिनले २०१५ मा 'पर्पस' एल्बमबाट कमब्याक गरे र २०२३ मा नयाँ एल्बम 'स्वाग' निकाले जसमा उनले आफ्नो जीवन संघर्ष व्यक्त गरेका छन्।
एक समय थियो, जब एउटा सानो केटोले आफ्नो घरको बैठक कोठामा कभर गीतहरू रेकर्ड गर्थ्यो । उनकी आमाले एउटा सस्तो क्यामेराले उसको भिडियो खिच्थिन् । र, त्यसलाई युट्युबमा अपलोड गर्थिन् ।
ती केटा हुन्, जस्टिन बिबर । जसको नाम पप संगीतको इतिहासमा एउटा अध्याय लेख्न काफी छ । एक त उनी किशोरावस्थामै विश्वव्यापी स्टार बने, अर्कोतिर- स्ट्राटफोर्ड ओन्टारियोको सडकबाट युट्युबसम्म र युट्युबबाट सीधा विश्व मञ्चसम्म उनको अविश्वासनीय यात्रा भयो ।
तर, आज एउटा पुस्ता, जो जस्टिनको गीत सुन्दै हुर्कियो, उसको गीतमा झुम्दै हुर्कियो, ती कतै न कतै निराश छन् । एउटा फ्यान हुनुका नाताले उनीहरूमा सर्जकको हालतको चिन्ता छ । तर, त्यस्तरी सुन्दर रूप नै कुरूप बनाउने गरी, आम प्रशंसकलाई चिन्तित बनाउने गरी जस्टिन बिबर कसरी आजको अवस्थामा पु गे? कसरी दयाको पात्र बने ?
हेर्दा उनको जीवन कुनै काल्पनिक आख्यानभन्दा फरक छैन ।
000
जस्टिनको वास्तविक नाम जस्टिन ड्रु बिबर हो । उनी १ मार्च १९९४ मा क्यानडाको ओन्टारियो प्रान्तको स्ट्राटफोर्डमा जन्मेका थिए । उनी जन्मँदा आमा प्याट्री म्यालेट र बुबा जेरेमी बिबर दुवै किशोरावस्थामै थिए । आमा प्याट्री त जम्मा १७ वर्षकी मात्र थिइन् । बिबर जन्मेको केही समयपछि प्याट्री र जेरेमी अलग्गिए ।
हुन त उनीहरूले कहिल्यै पनि औपचारिक रूपमा बिहे गरेका थिएनन् । तर पनि सम्बन्ध भयो, बच्चा जन्मिसकेको थियो । परिवार र समाजले प्याट्रीलाई गर्भपतनको पनि दबाब दिएका थिए । भलै उनले त्यसो गरिनन् ।
बिबरलाई जन्म दिइन् । र एकल आमाको रूपमा हुर्काइन् ।
उनले बिबरलाई हुर्काउन आर्थिक कठिनाइ भोग्नु परेको थियो । जसले प्याट्रीले ‘नाउव्हेयर बट अप: द स्टोरी अफ जस्टिन बीबरस् मम’ मा सविस्तार लेखेकी छिन् । राम्रो पक्ष, जस्टिनले सानैदेखि संगीत सिक्न पाइरहेका थिए । चार वर्षको उमेरमै उनले ड्रम, गितार र पियानो बजाउन सिकेका थिए ।
१२ वर्ष पुग्दासम्म अर्थात् सन् २००७ देखि उनकी आमाले उनको भिडियो युट्युबमा अपलोड गर्न थालेकी थिइन् । आज पनि उनको सबैभन्दा पुराना भिडियोहरूमा आमा प्याट्रीले लेखेका ‘डिस्क्रिप्सन’ पढ्न पाइन्छ ।
युट्युबमा जस्टिनको पहिलो भिडियो ‘सो सीक’ छ । सन् २००७ जनवरी २० मा अपलोड गरिएको उक्त भिडियोमा आमा प्याट्रीले जस्टिनले ‘सो सीक’ र ‘बास्केटबल’ गीत गाएर स्थानीय गायन प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको लेखेकी छिन् ।
त्यस्तै उनका भिडियोहरू अँध्यारो भए पनि जस्टिनलाई सुन्न सकिने र रमाइलो गर्न सकिने लेखेकी छिन् ।
त्यसयता नियमित रूपमा उनको भिडियो अपलोड हुन थालेको छ । जस्टिनका ती भिडियोहरूमा रअ र विशुद्ध प्रतिभा हुन्थे । सोहीकारण भिडियोमा हजारौं भ्युज आउँछ । उनलाई भर्चुअल रूपमा भए पनि धेरैले चिन्छन् ।
त्यस्तैमा उनको भिडियो स्कूटर ब्राउनसम्म पुग्छ । उनी एक संगीत प्रबन्धक (म्यानेजर) थिए । र, अर्को ठूलो प्रतिभा खोजिरहेका थिए । संयोगवश उनी त्यसबेला अमेरिकी गायक तथा आरएन्डी र पप संगीतका प्रतिभा अशरका पनि प्रबन्धक थिए ।
त्यही समयमा स्कूटरले जस्टिन र उनकी आमालाई क्यानडाबाट एटलान्टा लिएर आएका थिए, जस्टिनको भविष्यबारे राम्रो सोचेर । अशर पनि जस्टिनको प्रतिभाबाट प्रभावित थिए । अनि दुवैले त्यो समयमा एउटा रेकर्ड लेबलसँग हस्ताक्षर गर्न जस्टिनलाई लगाए । पछि जस्टिन र अशरले पनि सहकार्य गरे । त्यसपछि नै जस्टिनको सर्वाधिक हिट ‘बेबी’ बनेको थियो ।
यो एउटा यस्तो गीत बन्यो, कि एक्कसी एउटा बालक जो सडक र आफ्नो कोठामा गाउँथ्यो, उसलाई धेरैले चिन्यो । उनले थोरै मान्छेअघि गाएको भए पनि अब विशाल भीडअघि गाउनुपर्यो । अनि उनका फ्यानहरू यस्ता बने कि, उनलाई सुन्न पागल नै भए ।
त्यसबेला जस्टिन भर्खर १३ वर्षका थिए । तर उनको ओज यस ग्रहकै सबैभन्दा ठूलो पपस्टारको थियो ।
000
तत्कालीन समयमा जस्टिन जति माथि उक्लिँदै थिए, त्यति नै खतरनाक समय पनि आइरहेको थियो । उनी जान अनजानमा त्यस्तो ठाउँमा धकेलिरहेका थिए, जहाँ पूरै उद्योगले उनको फाइदा उठाउनेवाला थियो ।
सोझो भाषामा भन्दा उनी ‘भाइरल’ केटो बनेका थिए । नेपाली डिजिटल स्पेसमा बेलाबेला देखिने त्यस्ता भाइरल गायक जस्तै जस्टिनको हालत थियो । एक त उनी त्यस्ता समयमा लोकप्रिय भएका थिए, जुन समयमा उनको आवाज परिवर्तन हुँदै थियो । कतिपय टक शोहरूमा त्यसलाई लिएर मजाक पनि गरिए ।
खासमा उनले जे गर्थे, त्यो मिडिया कन्टेन्ट नै हुन्थ्यो । जस्तो, उनले त्यसबेलाका अर्की ठूली गायिका सेलिना गोमेजलाई पहिलो पटक चुम्बन गरेका थिए । यसलाई मिडियाहरूले व्यापक खुराक बनाएका थिए ।
जस्टिनलाई जोडेर अफवाह बनाइएका अथवा जस्टिनको प्रयोग गरी फाइदा लुटिएका यस्ता उदाहरण त अनेकन् भेटिन्छन् । अर्को उल्लेख गर्नैपर्ने भनेको डीडीको संलग्नता हो । कतिपयले जस्टिनको जीवनमा डीडीको संलग्नतालाई सबैभन्दा खराब मान्छन् । अर्थात्, डीडीका कारण जस्टिन बिग्रे ।
सिन जोन कोब्स भनेर चिनिने डीडी र्यापर र रेकर्ड प्रोड्युसर हुन् । उनीसँग समय बिताएकोबारे त जस्टिनको भिडियो नै सार्वजनिक छ । जहाँ १५ वर्षको बच्चालाई डीडीले खुलेआम ल्याम्बोर्गिनी(गाडी) दिने कुरा गर्छन् ।
त्यस्ता लोभ लाग्दा कुराको पासोमा उनले जस्टिनलाई फसाइरहेका थिए । कतिपयले त के पनि भन्छन् भने- डीडीले युवा जस्टिनलाई आफ्नो पार्टीहरूमा बोलाउँथे । जहाँ युवा जस्टिनले लागूऔषध प्रयोग गर्थे ।
जस्टिनलाई डीडीको हातमा भने अशरले नै सुम्पेका थिए । त्यसअघि जस्टिनको मेन्टर अशर थिए ।
000
यी सबै घटानाक्रमले जस्टिन बिबरको सार्वजनिक छवि पतन हुँदै गइरहेको थियो । त्यससमयमा नै उनी रक्सी र लागूऔषधको उपभोग गर्न थालेका थिए । उनको लापरवाह व्यवहार, सडक नियम उल्लङ्घन, झगडा आदिमन समाचार बनिरहेका हुन्थे । एक अर्थमा मिडियाले जस्टिनको हरेक सानो-ठूलो गल्तीलाई तमाशा बनाउँथ्यो।
त्यसै समयतिर उनले संगीतबाट ब्रेक लिने निर्णय गरे । र, उनले आफ्ना विगतका हर्कतका लागि सार्वजनिक माफी पनि मागे । त्यसले खासै फरक परेन । उल्टै उनको निजी जीवनको पतन झन् तल झर्न थाल्यो ।
उनले आफ्ना वृत्तचित्रमा बताए अनुसार त्यो समयमा उनलाई ‘एन्जाइटी’ व्यापक हुन्थ्यो । एक समयमा त उनी जीवित छन् कि छैनन् भनेर सुनिश्चित गर्न सुरक्षा गार्डहरूले उनको नाडी जाँच गर्थे।
यस्तै समयबीच सन् २०१५ मा उनी ‘पर्पस’ एल्बमबाट कमब्याक भए । ‘सरी’, ‘लभ योरसेल्फ’, ‘ह्वाट डु यू मिन’ जस्ता हिट ट्र्याकहरू यसै एल्बमका थिए । यी राम्ररी चल्दा उनको सार्वजनिक छवि फेरि स्थापित हुन गयो ।
तर सम्बन्ध र विवादले उनलाई छाडेन ।
एक्कासी उनले सन् २०१८ मा हेली बाल्डविनसँग विवाह गरे । जुन उनका फ्यानहरूका लागि ‘प्लट ट्विस्ट’ बराबर थियो । किनकि त्यसको केही महिना अघिसम्म मात्र जस्टिन बिबर र सेलेना गोमेजको सम्बन्धबारे हेडलाइनहरू चलिरहेको थियो ।
फ्यानहरू अनुमान गर्छन् कि, उनीहरू प्रेम सम्बन्ध थिए । र, सेलेना आफैंले सम्बन्धबारे गीतहरूमार्फत बोलेकी थिइन् । ‘लूज यु टु लभ मी’, ‘लुक एट हर नाउ’ । केही गीतहरू हुन् । जहाँ उनीहरूको सम्बन्ध निकै ‘टक्सिक’ थियो । तर पनि उनी आफैं जस्टिनसँगै रहन चाहेको जस्ता कुरा छन् । यता जस्टिनको २०१५ को ‘सरी’लाई फ्यानहरूले सेलेनाका लागि सार्वजनिक रूपमा माफी मागेको ट्र्याक मानेका छन् ।
खासमा विवाहअघि भावनात्मक रूपमा निकै नै अस्थिर रहेको र हेलीसित विवाह गरेपछि शान्ति पाउन सकेको जस्टिनले अन्तर्वार्ताहरूमा बताएका थिए । सेलेनासँगको सम्बन्धबारे खासै टिप्पणी गरेका छैनन् ।
तर जस्टिनका फ्यान यो कुरा मान्न तयार देखिएनन् । धेरैले उनीहरूको सम्बन्धलाई ट्रोल गरे । कतिपयले त जस्टिन मानसिक रूपमा आघात हुनुको कारण विवाह नै भएको मान्छन् ।
000
नेपाली समाजले जस्टिन जस्तै बाल्यकालमै भाइरल भएका धेरै पात्र देखेको छ । उनीहरूको दु:खान्त र सुखान्त समयको साक्षी बनेको छ । अझैं पनि नेपाली समाज त्यस्ता पात्रहरूको उत्खनन गर्न लागेकै छ ।
तर एउटा बालक, जो आफ्नै लयमा हिँडिरहेको हुन्छ, एक्कासी भाइरल हुँदा कस्तो हुन्छ ? के सोच्छ ?
सन् २०१९ मा जस्टिनले आफ्नो इन्स्टाग्राम पोस्टमा त्यसै भावनाबारे लेखे । उनले बाल कलाकार बनेर हुर्कनु कति कठिन हुन्छ भनेर खुलेरै लेखे । बाल कलाकारहरूमा धेरै दबाब हुने, दिमाग पूर्णरूपमा विकसित नहुँदा धेरै गलत निर्णयहरू लिइने बारे लेखे ।
आखिरमा हो पनि, १८ वर्षको उमेरसम्म पुग्दा जस्टिनसँग सबैथोक थियो । तर वास्तविक जीवनका सीपहरू पटक्कै थिएनन् । त्यसमाथि उनी उद्योगको नराम्ररी फन्दामा परे । प्रसिद्धिसँगै पैसा आउँछ । तर पैसाले एउटा यस्तो अदृश्य पिँजडा ल्याउँछ जसमा प्राय: कलाकार फस्छन् । जुन भनेको ‘एडभान्स’को प्रणाली हो ।
कागजात हेर्दा लाग्छ, सबै कलाकारहरूले निःशुल्क पैसा पाएका छन् । हुन पनि रेकर्ड लेबलहरूले राम्रै पैसा दिएका छन् । तर वास्तविकतामा त्यो ऋण हुन्छ । त्यसको ब्याज हुँदैन । तर उनीहरूले रोयल्टीबाट त्यो पैसा फिर्ता लगिरहेका हुन्छन् । कलाकारले त रोयल्टीमा अत्यन्त कम मात्र शेयर पाउँछन् ।
उदाहरणका लागि, यदि कोही कलाकारले १०० रुपैयाँ रोयल्टी जुटाए भने उसको भागमा १० देखि २० रुपैयाँमात्र पर्छ ।
त्यससँगै ‘क्रस कोल्याटरलाइजेसन’ भन्ने कुरा पनि आउँछ । उदाहरणबाट यो कुरालाई बुझ्दा, एउटा कलाकारको एल्बम असफल हुन्छ भने त्यो एल्बमको ऋण उसले अर्को एल्बमको नाफाबाट तिर्नुपर्छ । यो कुरा जस्टिनको सांगीतिक जीवनमा मिल्न जान्छ ।
जस्टिनले आफ्नो जीवनकालमा एक अर्ब डलरभन्दा बढी संगीतबाटै कमाएका थिए । त्यसमा टुर, एल्बम, मर्च, विज्ञापन आदि सबै स्रोत थिए । तर सन् २०२२ मा उनीसँग नगद थिएन । केही रिपोर्ट अनुसार उनले गल्फ खेल्न पनि साथीको क्रेडिट कार्ड प्रयोग गरेका थिए ।
यसको कारण भने उनको ‘जस्टिस वर्ल्ड टुर’ रद्द हुनु हो । त्यसको क्षति स्वरुप जस्टिनले प्रोमोटर्सहरूलाई दुई करोड डलर बढी तिर्नु परेको थियो । तर यो टुर उनले जानीजानीभन्दा पनि स्वास्थ्यमा आएको समस्याका कारण रद्द गर्नुपरेको थियो ।
सायद बुझ्ने टोली हुन्थ्यो भने जस्टिनले त्यसो गर्नुपर्दैनथ्यो । तर रिपोर्टहरू अनुसार उनलाई कि कार्यक्रम गर्नु पर्ने दबाब थियो कि क्षति व्यहोर्नु पर्ने । यस्तोमा उनले स्वास्थ्य रोजेका थिए । टुर रद्द हुँदा हरेक दिन उनको ऋण बढ्न थाल्यो ।
कुनै समय स्कुटर ब्राउनमाथि २६ मिलियनभन्दा बढीको कमिसन लिएको आरोप लागेको थियो । तर लेखा परीक्षण पश्चात उल्टै जस्टिनले नै स्कुटरलाई साढे ८ मिलियन तिर्नु पर्यो ।
यसरी जस्टिनले जति कमाएप नि आफ्नो लागि भन्दा पनि आफ्नो ऋण तिर्नुपर्यो । २०२२ को अन्त्यतिर जस्टिनसामु तीन मुख्य समस्या थिए । पहिलो, उनको स्वास्थ्य निकै खराब थियो ।दोस्रो, उनको आर्थिक अवस्था कमजोर थियो । तेस्रो, सार्वजनिक रूपमा उनले दबाब खपिरहेका थिए ।
कुरा गरौं, उनको स्वास्थ्यको । २०२२ मा जस्टिनलाई अनुहारको पक्षघात भयो । सामाजिक सञ्जालमा उनले त्यसको भिडियो पनि राखेका थिए । त्यसमा उनी आँखा झिम्क्याउन र हाँस्न सकिरहेका थिएनन् । तर ठिक त्यसअघि उनलाई ‘रामसे हन्ट सिन्ड्रोम’ पनि भएको थियो । यो भनेको एउटा दुर्लभ स्नायु सम्बन्धी रोग हो । यसले अनुहारको स्नायुलाई नराम्ररी क्षति पुर्याउने गर्छ ।
आर्थिक रूपमा कुरा गर्दा त्यही समयमा उनले एउटा यस्तो निर्णय लिए, सायद त्यसले उनलाई पूरै जीवनमा सताउनेछ । जस्टिनले २०२३ जनवरीमा हिपग्नोसिस सङ्ग्स क्यापिटललाई आफ्ना २९१ गीत लगभग २०० मिलियन डलरमा बेचे । अब ती गीतमा उनको कुनै पनि पब्लिसिङ अधिकार हुने छैन । यसरी केवल २८ वर्षको उमेरमा उनले आफ्नो पूरै विरासत बेचिदिएका थिए ।
सार्वजनिक छविको कुरामा उनी अनेकन् रूपमा देखिए । गोरो र सफा लुक्सका उनी डरलाग्दो देखिन थाले । उनले धेरै ट्याटुहरू हाने । कपाल पनि झुस्स पाले । उनको त्यो रूपलाई देखेर धेरै प्रशंसकले चिन्ता व्यक्त गरेका थिए ।
000
अहिले जस्टिन बिबर एक सन्तानका बाबु हुन् । सामाजिक सञ्जालका पोस्टहरू हेर्दा उनी ठिकठाक देखिन्छन् । तर उनीबारेको कन्सपिरेसी बेलाबेला फैलिरहन्छ । यो निश्चित हो कि, उनी मानसिक समस्यासँग जुधिरहेका छन् । आर्थिक रूपमा पनि संघर्ष गरिरहेका छन् । तर उनकी श्रीमती आर्थिकरूपमा सबल छिन् । त्यसमाथि गत असारमा उनले नयाँ एल्बम ‘स्वाग’ निकालेका छन् ।
खासै प्रचार नगरेका उनले यस एल्बमभित्र २१ वटा ट्र्याक राखेका छन् । जुन सुन्दा उनको व्यक्तिगत डायरी जस्तो लाग्छ । जसमध्ये ट्र्याक १४ ‘थेरापी सेसन’ मा उनले भनेका छन्, ‘मैले आफ्नो जीवनको सङ्घर्ष सबैका सामुन्ने बिताउनु पर्यो… र यो कुरा बिस्तारै ममाथि भारी पर्न थाल्छ’
यो आलेख तयार गर्दाको बखत उनले दाह्री काटेका छन् । सायद उनी फेरि लयमा फर्कनेछन् । पहिले जसरी जगत जगाउने, हल्लाउने गीत निकाल्ने छन् । र, उनी भन्ने छन्– लभ योर सेल्फ ।
प्रतिक्रिया 4