+
+
Shares

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई चेम्बरको आग्रह

भेटमा मल्लले चीनसँगको व्यापारिक सम्बन्ध अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ व्यवसायीलाई लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि आग्रह गरेका छन्।
  • मल्लले चीनसँगको व्यापारिक सम्बन्ध सुदृढ बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनु पर्ने बताए।
  • चाइनिज जनरल एसोसिएसनका अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवर्द्धन र पर्यटन विकासमा सहकार्य अघि बढाइने प्रतिबद्धता जनाए।

२१ कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् ।

चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्ध थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरे ।

भेटमा मल्लले चीनसँगको व्यापारिक सम्बन्ध अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुुपर्ने बताए ।

नेपालमा चिनियाँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यावसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने मल्लको भनाइ छ ।

‘चीनदेखि भारत सीमासम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सके त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

नेपालले भौगोलिक रूपमा चीन र भारतबीचको व्यापारिक पुलका रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए ।

नेपालमा होटल पूर्वाधारमा लगानी मार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए । ‘चीनमा करिब १० करोड बौद्ध धर्मावलम्बी छन्,’ उनले भने, ‘त्यसको १ प्रतिशत करिब १० लाख पर्यटक मात्रै नेपाल भित्र्याउन सकिए अर्थतन्त्रमा महत्त्वपूूर्ण योगदान पुुग्ने छ ।’

नेपालका सुन, तामा, युरेनियम लगायत खानीको प्रचुर सम्भावना औँल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए ।

चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको उनले बताए । ‘चीनबाट २ अर्ब ५३ करोड डलर बराबर आयात हुँदा नेपालले जम्मा १५ करोड ४९ लाख डलर मात्रै निर्यात गरेको छ,’ उनले भने ।

यो असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए ।

सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी मार्फत पुन: निर्यात सम्भावना रहेको बताउँदै मल्लले नीतिगत स्पष्टता र प्रतिफल सुनिश्चितताका लागि चेम्बर प्रतिबद्ध रहेको बताए ।

चेम्बर पदाधिकारीसँगको भेटवार्ता क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवर्द्धन गर्न आफूहरू प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहल सकारात्मक रूपमा अघि बढाइने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?