+
+
Shares

मधेशका मुख्यमन्त्री विवाद: ७४ सांसदले दिएको रिट संयुक्त इजलासमा फैसला हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
  • सर्वोच्च अदालतले रिटलाई संयुक्त इजलासमा पठाउने आदेश दिएको छ र इजलास आगामी आइतबारका लागि तोकिएको छ।
  • सर्वोच्चले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

२६ कात्तिक, काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै मधेश प्रदेशका सांसदहरूले दिएको रिट संयुक्त इजलासमा पुगेको छ।

मंगलबार मधेशका ७ दलका ७४ सांसदले यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो। संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन सहितका नेताहरूको नेतृत्वमा ७४ सांसद रिट लिएर सर्वोच्च पुगेका हुन्।

मधेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै परेको अर्को रिटको पेशी ११ मंसिरलाई तोकिएकोमा सो पेशी पनि आइतबारकै लागि तानिएको छ।

यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ। यादवको नियुक्ति खारेजीको लागि अन्तरिम आदेश माग गरिएकोमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको मंगलबारको इजलासले सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्नू नगराउनू भनेको हो।

सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ ।

मुख्यमन्त्री यादव नियुक्तिविरुद्ध रकिप्रसाद साहसमेतले दिएको रिट निवेदनका आधारमा न्यायाधीश ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको थियो।

प्रदेश सभामा विश्वासको मत आर्जन नहुने देखेपछि मधेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई छलेर गत आइतबार संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन्। चर्को आलोचना भएपछि सरकारले उनलाई पदमुक्त गरिसकेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार भण्डारीलाई पदमुक्त गरेका थिए। नयाँ प्रदेश प्रमुखमा नियुक्त सुरेन्द्र लाभ कर्णले शपथ लिइसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?