+
एनपीएल २०२५ :

एनपीएलका ८ प्रशिक्षक : विदेशीमा पुबुदुदेखि मोन्टीसम्म, नेपालका तीनजना

२०८२ कात्तिक  २८ गते ७:४८ २०८२ कात्तिक २८ गते ७:४८

केही टोलीले गत संस्करणकै प्रशिक्षकलाई यसपटक पनि निरन्तरता दिँदा केहीले नयाँ प्रशिक्षक नियुक्त गरेका छन् ।

एनपीएलका ८ प्रशिक्षक : विदेशीमा पुबुदुदेखि मोन्टीसम्म, नेपालका तीनजना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ ।
  • साविक विजेता जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपललाई नियुक्त गरेको छ।
  • विराटनगर किङ्सले गत सिजनका उपाधि विजेता प्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाएको छ।

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ । यसपटक अधिकांश खेलहरू फ्लडलाइटमा खेलिने पनि तय भइसकेको छ ।

एनपीएल नजिकिँदै जाँदा आठवटै टोलीले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम जारी छ । खेलाडी अनुबन्ध हुने क्रम जारी रहँदा प्रशिक्षकहरूको भने टुंगो लागिसकेको छ ।

केही टोलीले गत संस्करणकै प्रशिक्षकलाई यसपटक पनि निरन्तरता दिँदा केहीले नयाँ प्रशिक्षक नियुक्त गरेका छन् ।

आठवटै टोलीका प्रशिक्षकहरूको बारेमा आज लेख्ने जमर्को गरेका छौं । सुरुवात साविक विजेता जनकपुर बोल्ट्सबाटै गरौं ।

जनकपुर बोल्ट्स

साविक विजेता टोली जनकपुर बोल्ट्सले उपाधि विजेता प्रशिक्षक पुबुदु दासानायकेलाई यसपटक निरन्तरता दिएको छैन । जनकपुरले यसपटक वेस्ट इन्डिजका लेजेन्डरी खेलाडी शिवनराइन चन्द्रपललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

चन्द्रपल वेस्ट इन्डिजका सर्वकालीन महान खेलाडीमध्येका एक हुन् । दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका चन्द्रपलले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्टमा ११ हजार ८ सय भन्दा बढी रन बनाउँदा ओडिआईमा ८ हजार ७०० भन्दा बढी रन बनाएका छन् ।

अद्वितीय ब्याटिङ शैलीका कारण चिनिएका उनी वेस्ट इन्डिजका सबैभन्दा सफल र निरन्तर प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन्। उनको फर्स्ट क्लास क्रिकेटमा २७ हजार भन्दा बढी रन छ ।

चन्द्रपलले गतवर्ष हात पारेको सफलताकै पाइला पछ्याउने बताएका छन् । ‘पहिलोपटक आएको छु, धेरै कुरा थाहा छैन।स्थानीय प्रशिक्षकहरूसँग धेरै जानकारी लिनेछु’ उनले भने, ‘हामीले राम्रो क्रिकेट खेल्न सक्यौं भने उपाधि जोगाउन सक्छौं।’

‘म यहाँ यस टोलीलाई उपाधि बचाउन र युवाहरूलाई आफ्नो कौशल देखाउन मद्दत गर्न आएको छु’ उनले थपेका छन् ।

पहिलो पटक नेपाल आएका चन्द्रपलले नेपाललाई सुन्दर देश बताउँदै भने, ‘यहाँको वातावरण निकै राम्रो छ। हामी राम्रो क्रिकेट खेल्ने आशा गर्छौं र गत वर्षको सफलताकै पाइला पछ्याउनेछौं।’

सुदूरपश्चिम रोयल्स

गत संस्करणको उपविजेता टोली सुदूरपश्चिमले दोस्रो संस्करणका लागि पनि मुख्य प्रशिक्षकमा नेपालकै अनुभवी प्रशिक्षक जगत टमाटालाई निरन्तरता दिएको छ ।

गतवर्ष फाइनलमा पुगेर पराजित भएको सुदूरपश्चिमलाई यसपटक उपाधि दिलाउने लक्ष्य टमाटाको छ । टमाटाले राम्रो तयारी भएको बताएका छन् ।

‘हामी पछिल्ला केही दिनदेखि निरन्तर अभ्यासमा छौं, विदेशी खेलाडीहरू पनि राम्रो टचमा छन्, हामी सुदूरपश्चिमका फ्यानलाई निराश हुन दिँदैनौं’ टमाटाले भने ।

फ्लडलाइटमा खेलिने भएकाले केही चुनौती हुने बताउँदै उनले भने, ‘अब लाइटमा खेल्न त्यति सजिलो हुँदैन, एउटा चुनौती नै हो । हामीले राम्रो क्रिकेट चाहिँ खेल्नुपर्छ।’

चितवन राइनोज

चितवन राइनोजको मुख्य प्रशिक्षकमा गत सिजनका सहायक प्रशिक्षक कलाम अली नियुक्त भएका छन् । गत संस्करणमा प्लेअफसम्म पुगेको चितवनलाई यसपटक उपाधि दिलाउने हिसाबले प्रदर्शन गर्ने प्रशिक्षक अलीको भनाइ छ ।

‘लक्ष्य त सबैको त्यही नै हुन्छ उपाधि जित्ने, हामी म्याच बाइ म्याच जानेछौं’ अलीले भने, ‘पछिल्लो सिजनको तुलनामा यसपटक डोमेस्टिक खेलाडीमा हामीले बढी ध्यान दिएका छौं, विदेशी खेलाडीमा पनि गत संस्करणभन्दा बढी सन्तुलित बनाउने किसिमले अनुबन्ध भएका छन्। यो सिजन बेस्ट रिजल्ट दिने हाम्रो लक्ष्य रहनेछ।’

गत सिजन सहायक प्रशिक्षकमा रहेका अलीलाई यसपटक मुख्य प्रशिक्षक बनाइएको छ । यसमा केही प्रेसर र च्यालेन्ज हुने बताउँदै उनले भनेका छन्, ‘अवश्य नै यो पोजिशन नै त्यस्तै हो। केही च्यालेन्ज त भइहाल्छ, त्यसलाई एसेप्ट गरेर आफुले राम्रो गर्दै जानुपर्छ।’

कर्णाली याक्स

कर्णाली याक्सले पनि अघिल्लो सिजनकै प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई यस सिजन पनि निरन्तरता दिएको छ । गत संस्करणमा प्लेअफसम्म पुगेको कर्णाली  दोस्रो क्‍वालिफायरमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यसपटक टोलीलाई उपाधि जिताउने दबाब एवं जिम्मेवारी दुवै छ मल्लका लागि । यसपटक विदेशी खेलाडी र नेपाली खेलाडीबाट अपेक्षाकृत प्रदर्शन हुने र गत सिजनजस्तै प्लेअफमा पुगेर उपाधि पनि जित्ने लक्ष्य राखेको बताए ।

मल्ललाई सहायक प्रशिक्षकमा राजु बस्न्यातको साथ छ ।

काठमान्डु गोर्खाज

काठमान्डुले यसपटक नेपाली टोलीको प्रशिक्षक रहिसकेका भारतीय मोन्टी देशाइलाई प्रशिक्षकका रूपमा नियुक्त गरेको छ ।

मोन्टीको दुई वर्षे कार्यकालमा नेपाली क्रिकेटले ओडीआई मान्यता बचाउनेदेखि पहिलो पटक एसिया कप खेल्ने र टी-२० विश्वकपमा दशकपछि पुनरागमन समेत गरेको थियो ।

उनै मोन्टी फेरि एकपटक नेपाल फर्किएका छन् तर यसपटक अर्कै लक्ष्यका साथ, यसपटक उनी काठमान्डु गोर्खाजको प्रशिक्षकका रूपमा देखिनेछन् र नेपाली क्रिकेटलाई देखाएको पुनरागमनको बाटो काठमान्डुलाई पनि देखाउने लक्ष्यमा हुनेछन् ।

मोन्टीले यस सिजन विदेशी खेलाडीहरूदेखि नेपाली खेलाडीसम्म सन्तुलित टिम बनेकाले राम्रो प्रदर्शनको अपेक्षा गरेको बताएका छन् । विशेषगरी नेपालमा लामो समय बिताएकाले उनलाई यहाँको कन्डिशनबारे पनि ज्ञान छ ।

उनले त्रिवि क्रिकेट रंगशालाको पिचबारे विश्लेषण गरेको र त्यहीअनुरुप रणनीति बनाउने बताएका छन् । ‘अब त्यहाँ पनि पछिल्लो समय कुनै खेल भएको छैन, हामीले बुझेअनुसारको रणनीति बनाउने हो, त्यसले काम गरेन भने अर्को रणनीति अपनाउनुपर्छ’ मोन्टीले भने ।

गत सिजन पाँचौं स्थानमा रहेर प्लेअफ पुग्न नसकेको काठमान्डुले यसपटक भने पहिलेभन्दा राम्रो प्रदर्शन गरी उपाधिको लक्ष्य राखेको छ ।

विराटनगर किङ्स

विराटनगर किङ्सले गत सिजनका उपाधि विजेता प्रशिक्षक पुबुदु दासानायकेलाई यसपटक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पुबुदु नेपालमा आइसकेका भने छैनन् ।

पुबुदुले गत सिजन जनकपुरलाई उपाधि दिलाएक मार्गमा यसपटक विराटनगरलाई हिँडाउनुपर्नेछ । टोलीका कन्सल्टेन्ट प्रशिक्षक धम्मिका प्रसादले पुबुदु एसोसियट क्रिकेटकै उत्कृष्ट प्रशिक्षक भएको बताउँदै उनको प्रशिक्षणमा उपाधि जित्न टोली सक्षम रहेको बताएका छन् ।

पुबुदुकै प्रशिक्षणमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा बंगलादेशमा आयोजित टी-२० विश्वकपमा पहिलोपटक छनोट भएको थियो ।

हाल अमेरिकी क्रिकेट टिमको प्रशिक्षण सम्हालिरहेका पुबुदुले अमेरिकालाई पनि शानदार लयमा राखेका छन् ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सले पनि दोस्रो संस्करणका लागि गत संस्करणकै प्रशिक्षक राजिव कुमारलाई निरन्तरता दिएको छ । गत सिजन सातौं स्थानमा रहेको पोखरालाई यसपटक नतिजा सुधार गर्नपर्ने दबाब छ ।

पहिलो सिजन स्थानीय खेलाडीको प्रदर्शन राम्रो हुन सकेको थिएन । यसपटक स्थानीय खेलाडीहरूमा बढी केन्द्रित भएर प्रशिक्षण गरिरहेको छ पोखराले ।

प्रशिक्षणका लागि भारत गएको टोलीलाई राजिवले उतै भेटेर प्रशिक्षण दिइरहेका छन् ।

लुम्बिनी लायन्स

लुम्बिनी लायन्सले भारतका टिनु योहान्नानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनीसँग मेन्टरको भूमिकामा भारतकै रोबिन सिंह पनि छन् ।

गत सिजन तालिकाको पुछारमा रहेको लुम्बिनीले यसपटक त्यो नतिजा उल्टाउने लक्ष्यमा हुनेछ । प्रशिक्षक टिनुले त्यसको नेतृत्व गर्नेछन् ।

‘गत सिजन भनेको गइसक्यो, खेलाडी र टिमले पनि त्यसबाट पाठ सिकिसकेको छ र अब नयाँ सिजनमा अवश्य पनि राम्रो गर्नुपर्छ’ टिनुले भनेका छन् ।

उनले यस संस्करणको प्रतियोगितामा पहिलो लक्ष्य प्लेअफका लागि छनोट हुने र त्यसपछि उपाधि जित्ने बताएका छन् ।

टिनुले यसपटक टिम पनि सन्तुलित बनेको बताएका छन् ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय