‘यो हिउँ मेरो थियो, मेरो मुटुको थियो । हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।’
अचानक निद्रा खुल्यो । घडी हेरें, बिहानको तीन बजेछ । अनायस झ्यालतर्फ आँखा पर्यो । हामी बसेको आसपास हिउँले ढाकिसकेछ । अहो हिउँ ! मन यसै फुरुङ्ग भो । तर, ज्यान न्यानो ओछ्यानमा । मनले भन्छ- हिउँ खेल्न जाउँ । ज्यानले भन्छ, यो न्यानो नछाडौं ।
ज्यान र मनको घम्साघम्सीबीच केहीबेर ओछ्यानमै पल्टिएँ । निद्रा लागे पो !
दुई घण्टा बित्यो । मान्छेहरू उठ्न र तंग्रिन थाले । हिमालको काखमा थियौं र हिउँले हामीलाई हार्दिकतासाथ आमन्त्रण गरिरहेको थियो । कपासजस्तै सुस्तरी झर्ने हिउँमा धित मरुञ्जेल खेल्न आतुर थियौं । किनभने त्यो हिउँको साम्राज्य देखेपछि मलाई डा. तारानाथ शर्माको निबन्ध ‘घनघस्याको उकालो काट्दा’ मा समावेश उही पंक्ति याद आयो । उनले लेखेका थिए, ‘यो मेरो हिउँ थियो ..मेरो मुटुको…’
हेर्दाहेर्दै हिउँसँग खेल्नेहरूको घुइँचो लाग्यो । फोटो खिच्ने, टिकटक बनाउने, हिउँको डल्ला बनाएर एक-अर्कालाई फ्याक्ने क्रम चल्न थाल्यो । प्रकृतिको यो अनुपम दृश्यमा सबैजना बालबालिकाझैं उन्मुक्त रमाउन थाले, आफैंलाई बिर्सिएर । केही घन्टा बित्यो–लुटुपुटु हाँसो, हिउँसँगको खेल, र मौन हिमालसँगको संवादमा ।
उत्साहपूर्ण यात्राको पहिलो दिन
८ कार्तिक शनिबारको बिहान । पोखराको हावामा हल्का चिसो मिसिएको थियो । फेवातालको सतहमा अन्नपूर्णको छायाँ झल्किरहेको थियो । ठिक त्यही क्षण, हाम्रो मनमा यात्राको उत्साह फुट्दै थियो ।
त्यो उत्साहको साक्षी थिए- दिनेश, पुरू, नुनुता, शिखा र सरस्वती… । हामीले अघिल्लो रात नै गाडी रिजर्भ गइसकेका थियौं ।
बिहान ११ बजे हामी बसेको होटलमा गाडी (स्कारपियो) लिन आइपुग्यो । बिहान खाजा खाएर गन्तव्य सुरु भयो । त्यस दिन गाडीको यात्रा झिनुसम्मको थियो । चाडपर्वपछि नेपालीहरू घुमघाम गर्न भिड नै लाग्ने रहेछ । झिनोसम्मको यात्राका लागि टिकट काउन्टरमा भिड लागिरहेको थियो । सयौं यात्रु घन्टौदेखि पालो कुरेर बसिरहेका थिए ।

पोखराको शहरलाई पछाडि पार्दै जाँदा बिस्तारै भिड हराउँदै गयो । शहरका कोलाहल र पसलका रङिन बोर्डहरूको सट्टा, अब हामीलाई हरियालीले घेर्न थाल्यो । गाडीभित्र नेपाली गीतहरू गुञ्जिरहेका थिए र चालकले पनि उत्साहका साथ स्टेयरिङ समाइरहेका थिए ।
दाइ, दिनमा कति पटक ओहोर–दोहोर गर्नुहुन्छ ? यो प्रश्नले चालक मुस्कुराए । ‘तपाईंहरूको दोस्रो टिप हो । बेलुकासम्म चार टिप हान्नुपर्छ । अरू बेला त धेरै काम हुँदैन। काम आउँदा त गर्नै पर्यो नि सर, अल्लि अल्लि पैसा कमाउनुपर्यो त ।’ उनको सहज जवाफले यात्राको यथार्थ झल्कायो ।
करिब दुई घण्टाको यात्रापछि झिनु पुगियो । हावाको महसुस नै फरक थियो– अझै ताजा र चिसो । त्यहाँ रहेको लामो झोलुङ्गे पुल उत्साहको अर्को केन्द्र बन्यो । केही यात्रुहरू डराउँदै पुल पार गर्दै थिए, भने केही रमाइलो गर्दै फोटो र भिडियो खिच्दै थिए । हामी पनि मिसियौँ ।

झिनु खोला पार गरेरपछि ठाडो उकालो चढ्नुपर्छ । बाटो वरपरका होटलमा पैदलयात्रीहरू थकाइ मारिहेका थिए । हाँसोठट्टा गर्दै, कहिले स्याउ टोक्दै, कहिले दृश्यको मजा लिँदै अगाडि बढ्यौं ।
ढुंगाको सिढी भएको बाटो । वरपरका गाएँ पुरानो शैलीका ढुंगाका छाना । हाम्रा लागि नयाँ दृश्य थियो । उकालो बाटोले शरीर तातिरहेको थियो, वरिपरिका शान्त हरियाली दृश्यले मनलाई हल्का बनाइरहेको थियो ।
करिब ५ बजे छोम्रोङ गाँउ आइपुग्यो । आजको गन्तव्य यहींसम्म थियो । अन्नपूर्ण र माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा रहेको गाउँ निकै रमणीय देखिन्थ्यो।
बासको टुंगो ‘प्यानोरोमा पोइन्ट लज एण्ड रेष्टुरेन्ट’मा भयो । होटल सञ्चालक श्याम गुरुङले तातो चियाले स्वागत गरे । केही बेरमा खाना तयार भयो । भोलि बिहान चाँडै उठ्ने योजनासहित सुत्यौँ ।
दोस्रो दिन : ब्याम्बोको स्वादिष्ट खाना
९ कातिक, बिहान ६ बजे । होटलको छतमा क्यामेरा र मोबाइल बोकेर उभिएका थियौं । अगाडि उभिइरहेको थियो, कलिलो घामको स्पर्शले मुस्कुराइरहेको हिमाल । फोटो, भिडियो खिच्यौँ । कसैले टिकटक बनायौँ । केही बेरमा खाजा तयारी भयो । ‘थर्मसमा तातोपानी हाल्नुहोला’ होटल सञ्चालक भन्दै थिए, ‘दिँउसो घाम लागेपछि हिड्न गाह्रो हुन्छ । छिट्टै निस्कनु राम्रो।’ उनी होटलका मालिक मात्र देखिएनन्, यात्राको मार्गदर्शक पनि बने । उनले तलैबाट अन्नपूर्ण आधारशिविरसम्मका बासस्थानको चाँजोपाजो मिलाइदिए ।
छोम्रोङ गाँउको बाटो समात्दै अगाडि बढ्यौं । बाटोमा खच्चड, घोडाले सामान ओहोर-दोहोर गरिरहेका थिए । पैदलयात्रीको लर्को थियो । वरिपरिका हरिया वन, छोम्रोङ गाउँका होटल र रिसोर्टले अन्नपूर्ण क्षेत्रको आकर्षण बढाइरहेका थिए ।

थोरै ओरालो झरेपछि ‘चेक प्वाइन्ट’ र ‘इन्फर्मेसन सेन्टर’ आइपुग्यो । यहाँका कर्मचारीले भन्दै थिए, ‘विस्तारै जानुहोला । एकै दिनमा धेरै माथि नजानुहोला । फेरि लेक लागेर बिरामी परिन्छ नि !’
यो सावधानी सुनेर मनमा उत्साह थप्दै ओराली लाग्यौं ।
करिब एक घण्टा हिँडाइपछि स्यालबुङ खोलाको पुलमा पुग्यौं । खोला र चराचुरुगीको आवाजले एक किसिमको संगीत दिइरहेको थियो,जसले यात्रालाई लय दिइरहेको थियो ।
विदेशी पर्यटक, गाइड र पोटरसँग यात्राका अनुभव सुन्दै, सुनाउँदै अगाडि बढ्यौं । केही पैदलयात्री माथिबाट अन्नपूर्णको न्यायो सम्झना लिएर फर्किँदै थिए । केहीबेरमा सिनुवा पुग्यौं । त्यहाँबाट घोडा र खच्डरलाई माथि लैजान प्रतिबन्ध रहेछ।
उकालो, ओरालो यात्राले रोमाञ्चित बनाइरहेको थियो । दुई ठूला–ठूला पहाडको बीच खोचको रेखालाई पन्छाउँदै हिँड्यौं । बेलाबेला त्यही खोंचबाट हेलिकोप्टर ओहोर–दोहोर गरिरहेका थिए । बीचबीचमा हिमाल देखिँदा वा कुनै रमणीय ठाउँ आउनसाथ फोटो–भिडियोका लागि पोज दिइहाल्थौं ।
थकित शरीर र भोकले चुर हुँदै करिब १ बजे ब्याम्बो आइपुग्यौं । त्यहाँ विदेशी पर्यटकहरू जुसको चुस्की लिइरहेका देखिन्थे । प्रतिव्यक्ति ६00 तिरेर ब्याम्बोको स्वादिष्ट खाना पेटभर खाइयो ।

अलमल गर्ने समय थिएन । ब्याम्बो पार गरेपछि उकालो बाटो आयो । विस्तारै सास छोटो बन्दै गयो, तर माथिबाट देखिने हिमशृङ्खलाले कदम अघि बढाउन साहस थपिरह्यो ।
दोभान भन्ने ठाँउ पार गरेपछि हाम्रो यात्रा तेस्रो बाटोमा परिणत भयो । त्यसपछि हिमालयन बराह क्षेत्रमा प्रवेश गर्यौं । खोंचबाट खोला बगिरहेको थियो । खोंचमाथि भएको पोजेङयम बराह मन्दिर र झरनाले झन मन लोभ्यायो ।
पोजेङयम बराह मन्दिरलाई आदिम कालदेखि नै आस्था र विश्वासको देवालय मानिँदो रहेछ । यस क्षेत्रमा मासुजन्य वस्तु लैजान मनाही छ । त्यस्ता वस्तु लगेमा ठूलो अनिष्ट हुने विश्वास स्थानीयको रहेछ ।
अन्नपूर्णको पदैलबाटो व्यवस्थित थियो । बीचबीचमा खानेपानीको धारा, शौचालयको व्यवस्था थियो । आउने-जाने मानिससँग हाँसो मिसाउँदै ४ बजे हिमालयनमा बिसौनी बिसायौं । जति माथि चढ्यो उति नै जाडो अनुभव भइरहेको थियो ।
डायनिङ हल पर्यटकहरूले भरिएको थियो । कोही तास खेल्दै, कोही फोन चार्ज गर्दै, कोही लुडोमा तल्लीन थिए । हामी तातो चिया लिएर केहीबेर ओछ्यानमा पस्यौं ।
दुई घन्टापछि खाना तयार भयो ।

एक छिन होटेल सञ्चालकसँग कुराकानी गर्यौं । उनले एकैदिन धेरै हिँड्ने नेपालीको बानीले निम्ताएका केही घटनाको अनुभव सुनाए ।
उनी भन्दै थिए, ‘नेपालीमा चाडैं हिमाल हेर्ने मानसिकतामा हुन्छन् । न पानी राख्ने थर्मस बोग्छन् न पानी पर्दा ओड्ने ओत । अवस्थित भएर हिँड्दा स्वास्थ्यमा समस्या आएर राति नै तल झानुपरेको छ ।’
उनले सुनाए अनुसार हिजै राति मात्रै एक जनालाई माछापुच्छ्रे बेसक्याम्प पुग्दा लेक लाग्यो । उनको अटेरीपनले गर्दा देउराली ल्याउन नपाउँदै मृत्यु भयो ।
यो सुनिरहँदा मनमा चिसो पस्यो । तर, हिमालको सेरोफेरालाई निहाल्ने रहरले क्षणभरमै त्यो डरलाई जित्यो । तातो पानी बोकेर सयनकक्षतिर लाग्यौं । बाहिर ५–६ जना हस्याङ्फस्याङ् गरिरहेका थिए । बुझ्दा थाहा भयो– बास पाएका थिएनन् । ‘डायनिङमा भए पनि सुत्ने व्यवस्था गरिदिनुपर्यो’ उनीहरू भनिरहेका थिए ।
सिजनमा अन्नपूर्णको बास सधैं चुनौतीपूर्ण हुँदो रहेछ ।

सबै होटलमा कोचाकोच थियो । होटल सञ्चालक भन्दै थिए, ‘सिजनको बेलामा यस्तै हो । तलैबाट बुक गरेकाले मात्र कोठा पाउँछन् ।’
उनी जसोतसो तारतम्य मिलाउन लागे । हामीले सुत्ने तरखर गर्यौं । दिउँसोभरको थकानले कतिबेला निदाइयो पत्तै भएन । एकैपटक बिहान ५ बजे निन्द्रा खुल्यो ।
हामी फ्रेस भएर खाजा खान लाग्यौं । होटल सञ्चालकले रातिको घटना सुनाए, ‘एक बहिनीलाई लेक लाग्यो । केही घन्टा कुरेर बसें । राति दुई बजेपछि मात्रै उनको स्वास्थ्य सामान्य हुँदै गयो ।’
तेस्रो दिन : दृश्यले भरिएको हिँडाइ
बिहानको खाजापछि यात्रा देउरालीतर्फ मोडियो । घाम न्यानो हुँदै गयो, बाटो उकालो र ढुंगाले भरिएको थियो । करिब डेढ घण्टाको उकालो यात्रामा सास फुल्थ्यो, घाँटी सुकेको महसुस हुन्थ्यो । तर प्रत्येक मोडमा देखिने दृश्यले हरेक थकानलाई पगाल्दै ऊर्जा थप्थ्यो ।
३२०० मिटरको उचाइमा रहेको देउराली पुग्यौं । तल खोला एकनासले बगिरहेको थियो । बीचबीचमा माथिबाट हेलिकप्टर उड्थ्यो । सायद खाद्यान्न र पर्यटकलाई आहोर–दोहोर गराइरहेको थियो ।
हामी आफ्नै तालमा हिँडिरह्यौ । शान्त, शीतल हावा र वरिपरिका हरियाली डाँडाहरूका दृश्यले मन खिचिरहेको थियो । पहाडका काखबाट स-साना खहरे, खोलाहरू बगिरहेका थिए । ती पार गर्दै अघि बढ्यौं, अनि करिब १२ बजे माछापुच्छ्रे बेस क्याम्प पुग्यौं ।
३७०० मिटर उचाइमा पुगेपछि मनमा अचम्मको सन्नाटा छायो । अग्लो, चिल्ला र सेतो हिउँले ढाकिएको माछापुच्छ्रे हिमाल ठिंग अगाडि थियो । माथिबाट हिउँ खसिरहेको थियो ।
केही फोटो र भिडियो कैद गर्यौं, अनि खाना खान होटलतर्फ लाग्यौं । माछापुच्छ्रे हिमाल कहिले बादलभित्र हराउँथ्यो, कहिले अचानक निलो आकाशको पृष्ठभूमिमा झल्किन्थ्यो । एक किसिमको जादुमय दृश्य थियो । त्यो चिसो ठाउँमा तातो खानेकुराको कम्ता स्वादिलो थिएन ।

वरिपरि विदेशी पर्यटकको चहलपहल, हासो र संवाद मिसिएको त्यो वातावरणमा हिमालको न्यानोपन मिसिएको महसुस हुन्थ्यो । एक घण्टाको विश्रामपछि अन्नपूर्ण बेस क्याम्पतर्फ हिँड्यौं । करिब एक घण्टाको यात्रापछि एउटा सानो ताल आइपुग्यो, नाम थियो- ‘ग्लेसियर ताल’ । तालको पानीमा परेका देखिएका हिमालका प्रतिबिम्बले लाग्थ्यो- हामी कुनै सपनाको संसारमा छौं । पैदयात्रीहरूको भिड थियो, हरेकले फोटो खिच्दै त्यो पललाई स्थिर पार्न खोजिरहेका थिए । केहीबेर त्यहीं अल्मलियौं ।
तीन घण्टाको हिँडाइपछि बेलुका ५ बजेतिर अन्नपूर्ण आधार शिविर पुग्यौं । ४१३० मिटरको उचाइमा बादल र हिमालको लुकामारी निरन्तर चलिरहेको थियो । हिमाल कहिले लुक्थ्यो, कहिले हाँस्थ्यो । शान्त, भव्य र रहस्यमय सौन्दर्य ।
पहिले नै बुक गरिएको होटल पेल्सफूल पुगेर सामान थन्क्यायौँ । बाहिर केही युवा हिमाली हावामा भलिबल खेल्दै रमाइरहेका थिए । चारैतिर सेता हिमटाकुरा देखिन्थे ।
चिया र तातोपानीले शरीर तात्यो । अनि साँझको रमाइलो पुनः सुरु भयो । लुडो खेल्ने, गफिने, हाँस्ने । ‘बेसक्याम्पमा रात बिताउन निकै कठिन हुन्छ होला ?’ यहाँ आउने योजना बन्दै गर्दा उब्जिएको प्रश्न थियो यो । तर, अनुभव ठिक उल्टो भयो ।

तातोपानीसहितको शौचालय, सफा कोठा, अनि होटल सञ्चालक दाइको मिजासिलो व्यवहारले आफ्नै घरको अनुभूति दिलायो । रातको खाना ७ बजेतिर तयार भयो । त्यसदिन होटलमा करिब ५० जना पाहुना थियौं । पालो–पालो खाना खानुपर्थ्यो । खाना खाँदै गर्दा नजिकै रहेको मेनुतिर नजर पर्यो ।
पिजा, मम, चाउमिनदेखि काठमाडौंमा पाइने प्रायः सबै परिकार ! त्यो मेनु हेर्दा दंग परियो– हिमालको फेदीमा यस्तो सुविधा !
अचानक बर्थडे गीतको धुन बज्यो । दुई गाइडले केक ल्याएर एक विदेशी पर्यटकको अगाडि राखे । वरिपरि सबैले शुभकामना दिए, अनि उनले हाँस्दै सबैलाई केक बाँडे । त्यो पल आत्मीयताको आदान-प्रदान थियो- भाषा फरक, तर हृदय एउटै।
रात ढल्किँदै थियो । बाहिर हिउँको फुसफुस वर्षा सुरु भइसकेको थियो । भोलिपल्ट बिहान सुनजस्तै टल्किएको हिमाल हेर्ने आशामा ओछ्यानभित्र घुस्रियौं ।
000
बिहान उठ्दा जमिन पूरै हिउँले ढाकिसकेको थियो । तल झर्दै गर्दा भारी हिमपातले बाटो ढाक्यो, पदयात्रीका पाइला विस्तारै हिउँमा हराउँदै गए । शरीर थाक्थ्यो, तर मन हर्षले भरिन्थ्यो । कठिनाइ बढ्दै जान्थो, तर त्यही कठिनाइभित्र अन्नपूर्णको सौन्दर्यले मन जित्दै थियो । शान्तसँग उभिइरहेका सेता डाँडाहरू र हिमनदीका मधुर स्वरले यात्रालाई रोमाञ्चक बनाइरहेको थियो ।

तर, हिउँ जति सुन्दर छ उतिनै कठोर पनि । जुन कुरामा आगन्तुकहरू रमाइरहेका थिए, त्यही कुरा खतरामा रुपान्तरण हुन सक्थ्यो । त्यसैले आधारशिविरमा बसिरहन अब सुरक्षित थिएन । हिमपात रोकिने छाँट थिएन । अन्नपूर्ण आधारशिविरलाई छाडेर हामीले तल ओर्लिने निर्णय गर्यौं ।
बाटो हिउँले ढाकिएको, चिप्लो र चुनौतीपूर्ण थियो । कतिपय पैदलयात्री हिउँमा लडेर उठिरहेका थिए । हिजो देखिएका पहाड, स–साना बिरुवा र बाटा सबै सेताम्मे थिए, हिउँको बर्को ओढेर । हामी बिस्तारै माछापुच्छ्रे शिविरतर्फ ओराली लाग्यौं । तल झर्दै गर्दा पानी पनि परिरहेको थियो, जसले यात्रा अझ कठिन बनायो ।

पानीले भिज्दै गर्दा हिँड्न मुस्किल भयो, तर जसोतसो १ बजे देउरालीमा पुग्यौं । थरथरी काँम्दै हामीले देउरालीमा खाना खायौं । झरीमा भिज्दै साँझ ६ बजे दोभान आइपुगेर बास बस्यौं । भोलिपल्ट दोभानबाट झरेर पोखरा फर्कियौं । यात्राभरि हिउँका थुप्रो, खोलाको गर्जन र जंगलको गन्धले हामीलाई बिदाइ दिइरहेको थियो । गाडीमा बस्दा शरीर थकित थियो, तर मन शान्त । अन्नपूर्ण पदयात्रामा बिताएका ती दिनका स्मृतिहरू सिनेमा रिलझैं घुम्न थाल्यो ।
हिउँमा चम्किएका पाइला र मनमा बाक्लिँदै गएको स्मृतिको हिमपात नै यात्राको सौन्दर्य बन्यो ।
हिउँमा हराएका पाइलाहरू अब फोटोहरूमा मात्र बाँकी छन् । तर त्यो अनुभूति, प्रकृतिसँगको संवाद, मौन हिमालसँगको साक्षात्कार, जीवनभर नमेटिने यादको रूपमा हृदयमा बसिरहेको छ ।
यो ट्रेकले हामीलाई सिकायो कि, प्रकृतिको सौन्दर्य सधैं सजिलो हुँदैन, तर त्यसको सामना गर्दा प्राप्त हुने आनन्दले नयाँ संसारमा पुर्याउँछ । हिमालको काखमा बिताएका ती रोमाञ्चक र अविस्मरणीय पलहरूले जीवनलाई नयाँ ऊर्जा र प्रेरणा दिइरहेका थिए ।
यदि तपाईं पनि यस्तो साहसिक अनुभव खोज्दै हुनुहुन्छ भने, अन्नपूर्ण आधार शिविर तपाईंको लागि उत्तम गन्तव्य बन्न सक्छ !






प्रतिक्रिया 4