+
+
Shares

पुरानो रिसिवीको विवाद झिकेर वडाध्यक्षको हत्या

धर्मनाथले वडाअध्यक्ष विन्देश्वरले गरेका काममा पदीय दुरुपयोग भएको भन्दै विभिन्न निकायमा उजुरी समेत दिने गरेका थिए । सोही कारण उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो । धर्मनाथले गालीगलौज गर्दै विवाद झिकेर हत्याको पूर्व योजना बनाएको हुन सक्ने आशंका समेत गरिएको एक प्रहरी अधिकारीले बताए ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ कात्तिक २८ गते २२:५७

२८ कात्तिक, जनकपुरधाम । धनुषामा पुरानो रिसिवीका कारण वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको खुलेको छ ।

मिथिला बिहारी नगरपालिका वडा ९ का वडाध्यक्ष विन्देश्वर यादव गाउँकै प्रकाश यादवको बुवाको १३औं दिने मृत्यु संस्कार (नौकेश)को मा सहभागी हुन गएका थिए ।

वडाअध्यक्ष यादव आफ्ना दाजु रामनाथ यादव, भाई अशेश्वर यादवसहित त्यहाँ गएका थिए । सोही क्रममा स्थानीय धर्मनाथ यादव ९ दिने मृत्यु संस्कार चलिरहेको स्थानमा गालीगलोज गर्दै आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय प्रकाश यादवको पिताको ९औं दिनको मृत्यु संस्कारमा मृतकका आफन्तसहित चार टोलका स्थानीय सहभागी थिए । मानिसहरू खाना खान जम्मा हुँदै थिए । मानिसहरू जम्मा भएका बेला गालीगलौज नगर्न वडाध्यक्षका भाई अशेश्वरले धर्मनाथलाई आग्रह गरे । तर, धर्मनाथ अशेश्वरमाथि नै जाइलागेर कुटपिट गर्न थाले ।

‘धर्मनाथ यादव गाली गर्दै आए । चारगाउँको आज भोज थियो । म पनि त्यहाँ थिएँ । मैले भने किन यसरी गाली गर्नु हुन्छ । त्यसपछि मलाई इँटालाठीले प्रहार गर्न थाले’ अशेश्वरले भने ।

उनका अनुसार त्यसपछि धर्मनाथका ४/५ जना शम्भु यादवसहित अन्य आफन्तहरू लाठी, पेस्तोल, खुकुरी बोकेर त्यहाँ आइपुगे ।

विवाद उग्र बन्ने देखिएपछि वडाध्यक्ष विन्देश्वर सम्झाउन अघि सरे । तर, त्यही बेला शम्भुले वडाअध्यक्ष विन्देश्वरमाथि गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका वडाअध्यक्ष विन्देश्वरको प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए ।

‘ममाथि कुटपिटपछि ४/५ जना हातहतियार, भाटा, खुकुरीसहित आए । आक्रमण गर्न थाले । वडाध्यक्ष दाई सम्झाउन आउनु भयो । भोजको झैझग्डा ठीक होइन भन्नु भयो,’ त्यतिनै बेला गोली चल्यो । मलाई लाग्यो पटाका पड्कियो । हेर्छु त दाईको छातीमै गोली लागेको छ,’ घटनाबारे बताउँदै उनले भने, ‘विवाद सुरु भएको दुई मिनेटभित्रै शम्भुले गोली हाने ।’

घटनामा मृतक वडाध्यक्ष विन्देश्वरका दाजु रामनाथ यादवसहित ७ जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीको बयान, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार वडाध्यक्ष यादवको हत्या धर्मनाथ यादवसँगको पुरानो रिसिवीको कारणले भएको हो । गोली प्रहार गर्ने शम्भु नातामा धर्मनाथका भाइ (काकाका छोरा) पर्छन् ।

धर्मनाथ वडा नम्बर ९ का नेकपा एमाले वडा कमिटीका अध्यक्ष हुन् । गत २०७९ को चुनावमा स्वतन्त्रबाट जितेका वडाध्यक्ष विन्देश्वर एकवर्ष अघि एमालेमै नेता रघुवीर महासेठको हातबाट टीकाका लगाएर एमाले प्रवेश गरेका थिए ।

विन्देश्वर त्यसअघि २०७४ को चुनावमा तत्कालीन उपेन्द्र यादवको पार्टी फोरम नेपालबाट निर्वाचित भएका थिए ।

२०७९ को चुनावमा भने टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र चुनाव लडेका थिए । मिलनसार स्वभावले गर्दा स्वतन्त्र उठ्दा पनि उनले चुनाव जितेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार विकास निर्माणको क्रममा वडाअध्यक्ष विन्देश्वर र धर्मनाथबीच बेलाबेला विवाद हुने गरेको थियो ।

धर्मनाथले वडाअध्यक्ष विन्देश्वरले गरेका काममा पदीय दुरुपयोग भएको भन्दै विभिन्न निकायमा उजुरी समेत दिने गरेका थिए । सोही कारण उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो ।

एमालेबाट असहयोग भएपछि उनी पुन: एमालेमै फर्किएका थिए । विन्देश्वर एमालेमै फर्किँदा धर्मनाथलाई झन् असहज भएको थियो ।

धर्मनाथले गालीगलौज गर्दै विवाद झिकेर हत्याको पूर्व योजना बनाएको हुन सक्ने आशंका समेत गरिएको एक प्रहरी अधिकारीले बताए ।

प्रहरी जवानमै कार्यरत रहेका भाइ  शम्भु यादव समेत घरमा आएको बेला आक्रमणका लागि बल पुगेको हुनसक्छ, पूर्व योजना बनाएर घटना घटाएको आशंकामा अनुसन्धान अघि बढाएका छौं,’ ती प्रहरी अधिकारीले भने ।

मृतक वडाअध्यक्ष विन्देश्वरका भाई अशेश्वरलाई पनि आक्रमण गर्ने पक्षले योजनाबद्ध रूपमै दाजुको हत्या गरेको हुन सक्ने आशंका छ ।

 ‘जसरी विवाद झिकेर आक्रमण भयो, दाईमाथि गोली नै प्रहार गर्यो, यसले मलाई लाग्छ पूर्वयोजना बनाएर घटना घटाएको हो,’ भाई अशेश्वरले भने ।

प्रहरीले धर्मनाथ र शम्भुलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?