News Summary
Generated by OK AI. Editorially reviewed.- बाथ भनेको शरीरको कुनै पनि जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा जाम हुने वा कक्रक्क पर्ने समस्या हो ।
- बाथ र युरिक एसिड एउटै होइनन्, युरिक एसिड बाथको एउटा सानो प्रकार हो र बाथले फोक्सो, मुटु, मिर्गौला, छाला र नसासम्मलाई असर गर्न सक्छ।
- बाथको सही जानकारी, समयमै निदान र नियमित उपचारले सामान्य जीवन यापन गर्न सकिन्छ ।
जोर्नी दुख्यो कि धेरैले ‘युरिक एसिड बढ्यो’ भनेर औषधि खान थालिहाल्छन्, तर बाथरोग विशेषज्ञ डा. प्रयुश शर्माका अनुसार बाथ एउटा ठूलो समूह हो जसमा युरिक एसिड एउटा सानो प्रकार मात्र हो । बाथले जोर्नी मात्र होइन, फोक्सो, मुटु, मिर्गौला, छाला र नसासम्मलाई असर गर्न सक्छ ।
नेपालमा बाथबारे जनचेतना अत्यन्त कम भएकाले धेरै बिरामी रोग जटिल भएपछि मात्र अस्पताल पुग्छन् र जीवनभर अशक्त हुनुपर्ने अवस्था आउँछ । बाथको सही जानकारी, समयमै निदान र नियमित उपचारले भने सामान्य जीवन यापन गर्न सकिने डा. शर्माको भनाइ छ ।
बाथको कारण के हो ? यो जीवनशैलीसँग जोडिएको हो कि अरू कुनै कारणले हुन्छ ? लगायतको विषयमा डा. शर्मासँग गरिएको कुराकानी :
बाथको समस्या पछिल्लो समय धेरै सुनिन्छ, आम मान्छेले बुझ्ने भाषामा बताइदिनुहोस् न बाथ भनेको के हो ?
बाथ भनेको शरीरको कुनै पनि जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा जाम हुने वा कक्रक्क पर्ने समस्या हो । यो हात, घुँडा, मेरुदण्डलगायत कुनै पनि जोर्नीमा असर गर्छ । जोर्नी दुख्छ, रातो हुन्छ, सुन्निन्छ वा बिहान उठ्दा चलाउन गाह्रो हुन्छ । यी सबै लक्षणलाई समग्रमा बाथ भनिन्छ । मेडिकल भाषामा यसलाई रिम्याटिजम भनिन्छ, जसमा २०० भन्दा बढी रोगहरू समावेश हुन्छन् ।
बाथ र युरिक एसिडलाई धेरैले एउटै ठान्छन्, यी एउटै हुन् ?
बाथ र युरिक एसिड एउटै होइनन् । बाथ एउटा ठूलो समूह हो, जसमा युरिक एसिड पनि एउटा प्रकार मात्र हो । बाथका धेरैजसो प्रकार दीर्घरोग हुन्छन्, तर केही क्षणिक पनि हुन सक्छन् । उदाहरणका लागि, भाइरल इन्फेक्सन जस्तै कोभिडबाट भएको जोर्नी दुखाइ एक–दुई महिनामै ठिक हुन्छ । युरिक एसिडको बाथ पनि कहिलेकाहीँ खानपान वा पानीको कमीले क्षणिक रूपमा आउन सक्छ ।
बाथ लाग्नुको कारण जीवनशैलीसँग जोडिन्छ ?
बाथका धेरै कारण हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण कारण वंशानुगत हो । दोस्रो, वातावरणीय कारकहरू जस्तै सहरीकरण, नयाँ संक्रमण र जीवनशैली परिवर्तनले पनि भूमिका खेल्छ । बाथ हाम्रो रोग प्रतिरोधात्मक प्रणाली अर्थात ‘इम्युन सिस्टम’ सँग सम्बन्धित छ । रोग प्रतिरक्षा प्रणालीले रोगसँग लड्नका लागि एक खालको तत्त्व उत्पादन गरेको हुन्छ । कसैकसैमा ती रोगप्रतिरोधी तत्वहरूले झुक्किएर आफ्नै शरीरका विभिन्न भाग तथा जोर्नीहरूमा आक्रमण गर्न पुग्छन् । यसैलाई बाथ भनिन्छ ।
जीवनशैलीले केही हदसम्म प्रभाव पार्छ, तर सबै बाथका कारण जीवनशैली मात्र होइनन् । अहिलेसम्म बाथको पूर्ण कारण पत्ता लागेको छैन, विश्वभरि यसको अनुसन्धान भइरहेको छ ।
बाथमा खानपानको भूमिका कति छ ? के–के खाने, के–के नखाने ?
अहिले सम्म संसारमा करिब २०० प्रकारका बाथ पत्ता लागेका छन् । यसमा युरिक एसिडबाहेक अरूमा खानपानको कडा बन्देज छैन । रातो मासु, गोलभेंडा, गेडागुडी खान हुँदैन भन्ने धेरै भ्रम छन्, तर यी कुरा युरिक एसिडबाहेकका बाथमा लागू हुँदैन । प्रशोधित फास्टफुडहरू, रक्सी, चुरोट सबै बाथमा हानिकारक हुन्छन् । पेटको ब्याक्टेरिया असन्तुलनले पनि बाथ बढाउन सक्छ, त्यसैले स्वस्थ खानपान महत्त्वपूर्ण छ । युरिक एसिडमा भने केही खानेकुरा बन्देज छन् ।

रातो मासु, जनावरको भित्री अंग कलेजो, आन्द्राभुडी, वियर, सबै प्रकारको रक्सी, कोल्ड ड्रिंक्स र हाइ फ्रक्टोज कोर्न सिरपयुक्त पेय÷खानेकुरा युरिक एसिडको समस्या भएकाले खान हुँदैन ।
कफी, कम फ्याट डेरी प्रोडक्ट दूध, चिज, ताजा फलफूल, तरकारी, भिटामिन सी र डी युक्त खानेकुरा अन्य भिटामिन सी युक्त फलफूल खानु बाथमा राम्रो हुन्छ ।
बाथ निको हुन्छ कि जीवनभर औषधि खानुपर्छ ?
यो बाथको प्रकारमा निर्भर गर्छ । गठिया बाथ जस्ता धेरैजसो बाथमा जीवनभर औषधि खानुपर्छ, किनभने यो ‘इम्युन सिस्टम’को समस्या हो र पूर्णनिको हुँदैन, केवल नियन्त्रणमा राख्न सकिन्छ । तर, नियमित औषधि खाने र फलोअप गर्ने केही बिरामीमा औषधि बन्द पनि गर्न सकिन्छ । त्यो भनेको १०० मा १–२ जनामा लागू हुन्छ । यदि दुखाइ पूर्णरूपमा हराएर १–२ वर्षसम्म नदेखिए र परीक्षणहरू सामान्य भएमा औषधि बिस्तारै घटाउन सकिन्छ ।
बाथ कुन उमेरमा बढी देखिन्छ ?
बाथ जुनसुकै उमेरमा हुन सक्छ, बच्चादेखि वृद्धसम्म । तर, ओस्टियोआर्थराइटिस (जोर्नी खिइने समस्या) ५० वर्षपछि बढी देखिन्छ, विशेषगरी धेरै काम गर्ने वा खेलाडीमा । यो उमेरसँगै जोर्नीको घर्षणले हुन्छ । थाइरोइड वा उच्च रक्तचाप भएका व्यक्तिमा पनि यो बढी हुन्छ । रूमेटोइड आर्थराइटिस जस्ता बाथ २० देखि ४० वर्षका महिलामा बढी देखिन्छ । लुपस जसमा जोर्नी दुख्ने, छालामा रातो दाग, घाममा समस्या, थकान हुने, यो युवा महिलामा बढी हुन्छ ।
बाथको लक्षण कसरी थाहा पाउने ? कुनै जोर्नी दुख्यो भने बाथ नै हो ?
बाथको मुख्य लक्षण बिहान जोर्नी जाम हुने वा दुखाइ बढ्ने हो । सामान्य दुखाइ काम गर्दा बढ्छ, आराम गर्दा कम हुन्छ, तर बाथमा आरामपछि बिहान उठ्दा दुखाइ र जाम बढ्छ । हात मुठी पार्न, ओल्टेकोल्टे गर्न गाह्रो हुन्छ । अन्य लक्षणमा छालामा समस्या जस्तै सोरियासिस, लुपसमा रातो दाग, स्क्लेरोडर्मामा छाला बाक्लो हुने, औंलाको टुप्पो सेतो–नीलो–रातो हुने, थकान आदि हुन सक्छन् ।
बाथको उपचार नगरे कस्ता जटिलता आउँछन् ?
उपचार नगरे जोर्नीको आकार बिग्रिन्छ, हात मुठी पार्न÷खोल्न नसक्ने, गिलास समात्न नसक्ने, ढोकाको चुकुल खोल्न नसक्ने जस्ता समस्या हुन्छन् । यो इम्युन सिस्टमको समस्या भएकाले फोक्सो बाथको दम, मिर्गौला, नसा, छालामा असर गर्छ । हृदयाघात र स्ट्रोकको जोखिम सामान्य मान्छेमा भन्दा २–३ गुणा बढ्छ । ढाडको बाथले घाँटी चलाउन नसक्ने, कुप्रो हुने जस्ता समस्या निम्त्याउछ । उपचार नगरे १०–२० वर्षमै यी जटिलता देखिन्छन् ।
बाथबाट बच्ने उपाय के छन् ? बाथ भइसकेकाले के गर्नुपर्छ ?
बाथ पूर्णरूपमा रोक्न गाह्रो छ, किनभने यो वंशानुगत र इम्युन सिस्टमसँग जोडिएको छ । तर, सही समयमा निदान र उपचारले जटिलता रोक्न सकिन्छ । बाथलाई नियन्त्रण गर्न बिहान १५–३० मिनेट फ्री ह्यान्ड हात, खुट्टा, ढाडको जोर्नी केन्द्रित व्ययाम गर्नुपर्छ । जोर्नी सुन्निएको अवस्थामा दुखाइको औषधि लिएर मात्र व्यायाम सुरु गर्नुपर्छ ।

सन्तुलित खानपानमा विशेष ध्यान दिनुपर्छ । घरको खाना, सागसब्जी बढी मात्रामा खानुपर्छ भने बाहिरको प्याकेट बन्द खाना जंक फुड कम गर्नुपर्छ ।
इम्युन सिस्टम बलियो बनाउन भिटामिन सी, बेसार, अदुवा खान सकिन्छ । साथमा फिजियोथेरापी, हिट÷कोल्ड थेरापी लिन सकिन्छ । नियमित फलोअप र औषधि अनुशासन पनि महत्वपूर्ण हुन्छ ।
सर्वसाधारणले बाथबारे के जान्नुपर्छ ?
नेपालमा बाथबारे जनचेतना कम छ । धेरै बिरामी २०–३० वर्षसम्म साधारण औषधि खाएर अस्पताल आउँछन्, जुनबेला रोग जटिल भइसकेको हुन्छ । जोर्नी दुखाइ, बिहान जाम हुने, छालामा समस्या देखिए तुरुन्तै बाथरोग विशेषज्ञकहाँ जचाउनुपर्छ । औषधि खाइरहेका बिरामीले साथीभाइ वा गैरचिकित्सकको सुझावले औषधि छोड्नु हुँदैन । बाथ नियन्त्रणमा राख्न नियमित फलोअप र औषधि अनुशासन जरूरी छ । व्यायाम र फिजियोथेरापीले धेरै फाइदा गर्छ, तर औषधि छोडेर वैकल्पिक उपायमात्र अपनाउनु गलत हो ।
प्रतिक्रिया 4