+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

विशेष महाधिवेशन त हुन्छ, हुन्छ : फरमुल्लाह मन्सुर (अन्तर्वार्ता)

अहिले भय देखाएर शासन गर्न खोजिएको छ । पार्टी विभाजनको भय देखाएर पदमा बस्न खोजिएको छ । अग्रगमनलाई रोक्न खोजिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते २०:२६

नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुर पार्टीको १४औं महाधिवेशनमा संस्थापन पक्षबाट सहमहामन्त्री निर्वाचित भए । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावअघि १५औं महाधिवेशन हुनै नसक्ने अडानमा रहँदा मन्सुर भने चुनावअघि महाधिवेशन गर्नैपर्ने धारणा राख्छन् ।

सभापति शेरबहादुर देउवा समूह छोडेर महामन्त्री गगन थापाको कित्तामा पुगेका सहमहामन्त्री मन्सुरले चुनावअघि नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने दृष्टिकोण केन्द्रीय समितिमा समेत राखिसकेका छन् ।

पार्टी भित्रको समीकरण परिवर्तन गरेका सहमहामन्त्री मन्सुरले भावी प्रधानमन्त्रीका रूपमा गगन थापालाई अगाडि सारेर चुनावमा जानुपर्ने विचार पार्टी बैठकमा राखेका छन् । उनै मन्सुरसँग पार्टी महाधिवेशन, समूह परिवर्तन लगायतका विषयमा अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः

केन्द्रीय समिति बैठक सुरु भएको एक महिना बढी भयो । लामो समय बैठक बस्दा पनि निर्णय हुन सकेन नि किन ?

सुरुदेखि नै मेरो भनाइ के छ भने, निर्वाचनमा जानुभन्दा पहिले महाधिवेशन गराउनुपर्छ । महाधिवेशन नगराई चुनावमा जाने मुडमा एउटा शक्ति छ । महाधिवेशन नगरी चुनावमा के लिएर जाने ? जनताको बीचमा कसलाई लिएर जाने ? त्यसकारण चुनावअघि महाधिवेशन गर्नुपर्छ । नियमित महाधिवेशन गर्नका लागि समय पनि धेरै छैन । अब विशेष महाधिवेशनमा जानुपर्छ ।

महाधिवेशन गर्न नदिन आलटाल गरिएको छ । लिङ्गरिङ गरेर अरूलाई झुकाउन सकिन्छ कि भनेर षड्यन्त्र भइरहेको छ ।

महाधिवेशन हुन नदिन षड्यन्त्र गर्ने को हो त ?

१/२ व्यक्ति मात्र छैनन् । जो अहिले आफूलाई संस्थापन बुझिराखेका छन् । उनीहरूले के बुझिरहेका छन् भने हामी अहिले पदमा छौं । हामी कर्ताकर्ता हौं भन्ने उहाँहरूलाई लागेको छ । स्वाभाविक कुरा, देशभरि र विदेशमा रहेका राजनीतिक कार्यकर्ताहरू नेपाली कांग्रेसमा परिवर्तन चाहिरहेका छन् ।

उहाँहरूलाई महाधिवेशन भयो भने पदमा रहन्नौं भन्ने लागेको होला । कांग्रेस पार्टी भित्र दुइटा पक्ष छ । एउटाले अग्रगमन खोजेको छ । महाधिवेशन होस् र परिवर्तन होस् चाहेका छन् । अर्को पक्ष, यथास्थितिमा पार्टीलाई राखेर आफूलाई फाइदा लिने प्रयास गरिरहेको छ ।

चुनावको तयारी गर्नुपर्ने हुँदा महाधिवेशन गर्न समयाभाव हुने नेताहरू बताइरहेका छन् नि ?

विशेष महाधिवेशन माग गरेर केन्द्रीय कार्यालयमा एउटा प्रस्ताव दर्ता गरिएको छ । त्यो प्रस्ताव पार्टीको सम्पत्ति हो । त्यसलाई कसैले बेवास्ता गर्न सक्दैन । दबाउन पनि सक्दैन । सम्बोधन गर्नैपर्छ । त्यसलाई पार्टीले सर्वसम्मत निर्णय गरेको अवस्थामा १० दिन भित्रमा विशेष महाधिवेशन सम्पन्न हुन्छ । कार्यकर्तामाथि विश्वास छ भने महाधिवेशनमा जानुपर्‍यो नि । हिम्मत गरेर विशेष महाधिवेशन गर्नुपर्‍यो नि ।

नियमित महाधिवेशन गर्न समय छैन भन्ने हो भने विशेष महाधिवेशन गर्नुपर्‍यो । विशेष महाधिवेशनबाट कति दिन भाग्न सक्नुहुन्छ ?

तपाईं नियमित हुन नसके विशेष महाधिवेशन गर्नैपर्छ भन्नुहुन्छ । संस्थापन पक्षका नेताहरू अहिले महाधिवेशन नै हुन नसक्ने अडानमा हुनुहुन्छ । महाधिवेशनमार्फत नयाँ नेतृत्वसहित चुनावमा जान सम्भव होला र ?

कसैले पनि विधान मान्दिनँ भन्न पाउनुहुन्न । विधानलाई मान्दिनँ भन्ने हो भने त संस्था रहँदैन । त्यसकारण विधानलाई मान्नुपर्ने बाध्यता छ । नियमित हुन नसके विशेष महाधिवेशनमा पार्टी जान्छ, जान्छ । विशेष महाधिवेशन पार्टीले गराउनेमा कुनै दुईमत छैन । छिटो निर्णय नगरेर गलाउन खोजिएको छ । समयमा निर्णय नगर्नु अन्याय गर्नु जस्तै हो ।

तपाईंले विशेष महाधिवेशन गरी भावी प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गरेर चुनावमा जाऔं भन्नुभएको थियो । उहाँलाई देखाएर चुनावमा किन जानुपर्‍यो ?

पार्टी बैठकमा मैले दुइटा प्रस्ताव राखेको थिएँ । चुनावमा जाँदा जनताले कांग्रेसको नयाँ नीति र कार्यक्रम खोजिरहेका छन् । कांग्रेस पार्टीबाट युवा पुस्ता र परिवर्तन खोजिरहेका छन् । ती नीतिहरू लिएर हामी जनताकहाँ जानुपर्छ । नयाँ नीति, नयाँ नेताका लागि विशेष महाधिवेशनबाट पारित गरौं । नयाँ अनुहार लिएर जाँदा चुनावमा जनताको आकर्षण हुन्छ ।

म एउटा उदाहरण दिन चाहन्छु । २०१४ सालमा सभापति सुवर्ण शमशेर राणाले विशेष महाधिवेशन गराउनुभएको थियो । विशेष महाधिवेशनबाट सभापति बीपी कोइराला बन्नुभयो । २०१५ सालको चुनावपछि प्रधानमन्त्रीमा बीपीलाई प्रस्ताव गर्नुभयो । नयाँ अनुहारको रूपमा बीपीलाई अघि सारेर २०१५ सालको निर्वाचन भयो । निर्वाचनबाट कांग्रेसले दुई तिहाई सिट जित्यो ।

भावी प्रधानमन्त्री गगन थापा प्रस्ताव गरी नयाँ नीति र नेतृत्व लिएर जनताकहाँ जानुपर्छ ।

फागुनपछिको चुनावमा हामी २०१५ सालको जस्तै कांग्रेस देख्न चाहन्छौं । फागुन २१ गते हुने निर्वाचनमा जानुभन्दा पहिले कांग्रेसले नयाँ नीति र नयाँ नेता लिएर जानुपर्छ ।

अहिले नेपाली कांग्रेस र आम जनताको बीचमा लोकप्रिय व्यक्ति महामन्त्री गगन थापा हुनुहुन्छ । महामन्त्रीमा सबैभन्दा बढी मत ल्याएर जित्नुभएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले देखेको लोकप्रिय चेहरा र स्थापित नेता थापा नै हो । त्यसकारण उहाँलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर निर्वाचनमा गयौं भने कांग्रेसको पक्षमा माहोल बन्छ । राम्रो परिणाम आउँछ ।

२०१४ सालमा महाधिवेशन हुँदा सभापति बाहेक अन्य पद चुनिएको थिएन । अब विशेष महाधिवेशन भयो भने सभापति मात्रै चुन्ने हो ?

विशेष महाधिवेशनले सभापति र केन्द्रीय कमिटी चयन गर्छ । चुनावपछि फेरि नियमित अधिवेशन गर्न सक्छौं । अरू धेरै कुरा समेट्न सक्छौं ।

तपाईंले १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको पक्षबाट सहमहामन्त्रीमा जित्नुभएको थियो । अहिले महामन्त्री गगन थापातिर लाग्नुभएको छ । संस्थापन पक्ष किन छोड्नुभयो ?

नेपाली कांग्रेस राजनीतिक पार्टी हो । चुनाव लड्दा प्यानलहरू बन्छन् । सबैको चाहना चाहिँ नेपाली कांग्रेस कसरी राम्रो बनाउने भन्ने नै हुन्छ । राजनीति र नेताले बनाउने कार्यक्रमको आधारमा नेता समूहहरू बन्छन् । मूल कुरा पार्टी नै हो ।

२०१४ सालमा विशेष महाधिवेशन हुँदा कांग्रेस किन फुटेन त । विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन हुने हुँदा पार्टी फुट्दैन ।

रुपान्तरण सहितको कांग्रेसबारे संस्थापन पक्षका अरू नेताको बुझाइ ढिलो गरी आउन सक्ला । मेरो विचारमा साथीहरू गोलबद्ध भइराख्नुभएको छ । मैले जुन विचार राखेको छु, त्यो विचार सही छ भनेर जिल्लाजिल्लाका साथीहरूले भनिरहनुभएको छ । गगन थापाले राखेको प्रस्ताव पारित गराउन सबैले दबाब दिनुपर्छ ।

महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न तयार नभए विशेष महाधिवेशन हुने र त्यसका लागि २७ मंसिरको मितिसमेत प्रस्ताव गर्नुभएको छ । कांग्रेस अब विशेष महाधिवेशनबाहेक अन्य विकल्प नभएको निष्कर्षमा पुग्नुभएको हो ?

सुन्नुहोस् न । उहाँहरू त नियमितमा जानुहुने नै थिएन । त्यसकारण आजसम्म आलटाल गर्दै आउनुभएको छ । विशेष महाधिवेशन अब नभई छाड्दैन । जसले महाधिवेशन गर्न मानिरहनुभएको छैन, चुनावअघि महाधिवेशन हुँदैन भनिराख्नु भएको छ, उहाँहरूले महाधिवेशनको कार्यतालिका निकालेर तलको गर्दै गरौं न भन्नुभएको छ । महाधिवेशनको कार्यतालिको काम गर्दै गर्दा चुनाव आयो भने यसलाई चुनावपछि सारौं न भन्ने उहाँहरूको कुरा छ । यो एक किसिमको षड्यन्त्र हो । सबैलाई थाहा छ, समयको दबाब आइसक्यो । विशेष महाधिवेशन १० दिनको म्याद राखेर मजाले गर्न सकिन्छ ।

केही नेताहरू विशेष महाधिवेशन भयो भने पार्टी विभाजन हुने चिन्ता गरिरहनुभएको छ नि ?

२०१४ सालमा विशेष महाधिवेशन हुँदा कांग्रेस किन फुटेन त । विधानमा राखेको व्यवस्थाअनुसार विशेष महाधिवेशन भएको हुँदा फुटेन नि । विधानको धाराअनुसार पार्टी सञ्चालन भएपछि पार्टी फुट्छ ?

विधानको त्यो धारा आज बनाएको हैन, बीपी कोइरालाको समयदेखि छ । विधानको १७ (२) मा विशेष महाधिवेशन हुने लेखिएको छ । अहिले भय देखाएर शासन गर्न खोजिएको छ । पार्टी विभाजनको भय देखाएर पदमा बस्न खोजिएको छ । अग्रगमनलाई रोक्न खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?