१ मंसिर, काठमाडौं । सबै ठिकठाक हुँदो हो त राकेश महतो यतिबेला लोकसेवा आयोगको परीक्षामा भिडिरहेका हुन्थे । या लोकसेवा पास गरेर सरकारी जागिर सुरु गर्थे । अनि, अभाव र गरिबीले थिचिएको परिवारलाई खुसी बाँडिरहेका हुन्थे ।
तर, नियतिले त्यसो हुन दिएन ।
२३ भदौको जेनजी आन्दोलनका क्रममा राकेशको कम्मरमा गोली लाग्यो । त्यो एक गोली, जसले उनको सुनौलो भविष्य भताभुङ बनाइदियो । र, रुमानी सपना चकनाचुर बनाइदियो ।
यतिबेला राकेश लम्पसार छन्, अस्पतालको शय्यामा । उनको कम्मर मुनिको भाग चल्दैन । दुःखजिलो गरेर पढ्ने, जागिर खाने अनि परिवारलाई सुख दिने लक्ष्य थाती नै रहे । अब त्यो लक्ष्य पूरा हुन्छ वा हुँदैन ? यसको कुनै जवाफ छैन ।
सर्लाहीका राकेश गरिब परिवारमा जन्मिए । दुःख र अभाव झेल्दै हुर्किए । भोकसँग जुध्दै स्कुल गए । यी सबै सहनुको एउटै कारण थियो, ‘कुनै दिन ठूलो हुनेछु, जागिर खानेछु, आमाबुबाको दुःख सधैका लागि हटाउनेछु । तर आज उनी स्वयं दुःखको भुमरीमा छन् ।

राकेश सरकारी सेवामा जान चाहन्थे । त्यसैका लागि ६ वर्षअघि उच्चशिक्षाका लागि बिरानो शहर काठमाडौं आए । बीबीएसमा अध्ययनरत राकेश दुई वर्षदेखि निरन्तर लोकसेवाको तयारीमा जुटेका थिए । लगनशिलताको फल पनि देखिन थालेको थियो । पहिलो पेपरमा तीन पटक नाम निस्किसकेको थियो ।
‘यसपालि त जसरी पनि निकाल्छु भनेर सोचेको थिएँ । तर भाग्यले अर्कै खेल खेल्यो,’ यति भन्दै गर्दा राकेशका आँखा रसाए ।
त्यो कालो दिन
त्यो दिन सामाजिक सञ्जाल बन्द थियो । देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवाहरू सडकमा ओर्लिएका थिए । गरिब र निमुखाका लागि शिक्षा र स्वास्थ्यको हालत दयनीय थियो । परिवर्तनको आकांक्षा लिएर हजारौं युवा माइतीघर परिसरमा जम्मा भएका थिए ।
राकेश पनि सुन्दर नेपालको सपना बोक्दै माइतीघरको भिडमा मिसिएका थिए । दिउँसो बानेश्वर चोकमा शान्तिपूर्ण आन्दोलन चलिरहेको थियो । राकेश संसद् भवनको मुख्य गेटभन्दा थोरै अगाडि उभिएका थिए ।
तर, अचानक गोली चल्न थाल्यो । चारैतिर भागदौड मच्चियो । राकेश पनि डरले थुकुच्कै बसे । त्यही बखत कम्मरमा चर्को पीडा भयो । यसो हेर्दा कम्मरबाट रगत बगिरहेको थियो ।
साथीहरूले घाइते राकेशलाई हतारहतार ट्रमा सेन्टर पुर्याए । दुई दिनसम्म होस आएन । जीवन र मृत्युबीच लडिरहेका राकेशको शल्यक्रिया भयो । डाक्टरले मेरुदण्डमा रहेको गोली निकाले ।
आईसीयूमा २५ दिन राखेर उपचार भयो ।
तर, डाक्टरले एक महिनापछि परिवारलाई भने, ‘बचाउन त सफल भइयो । तर उहाँको दुवै खुट्टा जीवनभर चल्दैन ।’
यो सुन्नासाथ राकेशका दाजु छाँगाबाट खसेझैं भए । आमा रुँदै भुइँमा ढलिन् । बुवाको आँखाबाट आँसु बगे । पूरै परिवार पीडामा डुब्यो ।
डाक्टरले थोरै आशा दिलाए, ‘थेरापी गराउनुभयो भने केही सुधार हुनसक्छ । तर लामो हिँडाइका लागि ह्विलचेयरकै आवश्यकता पर्छ ।’
नयाँ जीवनसँग जुध्दै
एक महिना अघिदेखि राकेश स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (बनेपा) मा उपचार गराइरहेका छन् । बेडमा सुतिरहन्छन्, यताउता हिँड्न ह्विलचेयरको सहारा चाहिन्छ । खुट्टा र कम्मरमा निरन्तर पीडा भइरहन्छ । कम्मरमुनिको भाग पूर्ण रूपमा अचल छ ।
पढाइ अधुरै छ । लोकसेवाको तयारी रोकिएको छ । विवाह भएको छैन । आर्थिक समस्या दिनदिनै बढ्दै गएको छ । उपचार खर्च धान्न गाह्रो भइसकेको छ ।
तर, राकेशको हौसला अझै जीवित छ । उनी हारेका छैनन् ।
‘खुट्टा नचले पनि हात र दिमाग त चलिरहेछ नि !,’ उनी भन्छन्, ‘अझै पनि केही गर्न सक्छु भन्ने आँट छ ।’
त्यस दिनको घटना सम्झँदा राकेशको मन भारी हुन्छ । अहिलेसम्म मानसिक आघातबाट बाहिर निस्कन सकेका छैनन् । कहिलेकाहीं एक्लै रुन्छन् ।
‘यति धेरै साथीहरूको ज्यान गयो, हजारौं घाइते भए,’ उनी भावुक सुनिन्छन्, ‘आफ्नै आँखाले हेरेको त्यो घटना जीवनभर बिर्सन सक्दिनँ ।’
अहिले राकेश आफ्नो नयाँ जीवनसँग जुध्न थालेका छन् । उनको अदम्य हिम्मतले साथ दिइरहेको छ ।
‘भाग्यले साथ दियो र त बाँचे नि ! अब पढाइलाई नै निरन्तरता दिन्छु । सरकारी जागिरमा नाम निकालेर छोड्छ,’ राकेश थोरै मुस्कुराउँछन् ।

सरकारप्रति निराशा
जेनजीको सरकार बनेको छ । तर राकेशको स्वरमा गहिरो निराशा छ । प्रदेश खारेजी, भ्रष्टाचारलाई कारबाही, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री– यी मागहरू अझै अधुरै भएको उनी बताउँछन् ।
डेढ महिना भइसक्यो सरकार बनेको । तर परिवर्तन कतै नदेखिएको उनले महसुस गरेका छन् ।
‘हामीले आन्दोलन परिवर्तनका लागि गरेको हो,’ राकेश भन्छन्, ‘मलाई त कहिलेकाहीँ सरकार बनाउँदा गल्ती भएछ जस्तो लाग्छ । यतिकाले बलिदान दिए, हजारौं घाइते भए । केको लागि ?,’ उनी प्रश्न गर्छन् ।
राकेश बनेपा बसेको एक महिना हुन लाग्यो । अहिलेसम्म सरकारका कुनै मन्त्री आएनन्, सम्बन्धित साधारण अधिकारी पनि आएनन् । कसैले खोजी गरेका छैनन् । तिमीलाई कस्तो छ ? कसरी खर्च चलाइरहेका छौ ?, कसैले सोधिखोजी गरेका छैनन् ।
राकेश जीवनभरको अपाङ्ग भएका छन् । तर सरकारले अहिलेसम्म घाइतेको वर्गीकरण नगरेकोमा उनी दुखेसो पोख्छन् । उनका अनुसार दीर्घकालीन रूपमा अशक्त हुनेहरूको छुट्टै व्यवस्था हुनुपर्थ्यो ।
‘म जीवनभर अपाङ्ग भएँ । सरकारले केही राहत दिनुपर्छ । तर त्यो आश्वासन पाइएको छैन,’ उनी भन्छन् ।
पीडा र निराशाका बीचमा पनि राकेशको आँखामा अझै सपना छन् । शरीरले साथ नदिए पनि मनले हार मानेको छैन । ह्विलचेयरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास उनीसँग छ ।
‘म हार मान्दिनँ । परिस्थिति जस्तोसुकै भए पनि अगाडि बढ्नेछु । मेरो सपना अझै अधुरो छ,’ उनी दृढताका साथ भन्छन् ।
आन्दोलनमा घाइते भएका हजारौं युवाहरू अझै पनि फ्लोअपका लागि अस्पताल गइरहनुपर्छ । कतिपयलाई पुनर्स्थापनाकै आवश्यकता छ । तर त्यसका लागि सरकारको नजर नपुगेको उनी बताउँछन् ।

‘भाइ जीवनभरको अपाङ्ग भयो, राज्यले रोजगारीको व्यवस्था गर्नुपर्छ’
दाइ राजेशले राकेशको हेरचाह गरिरहेका छन् । तीन महिना बितिसक्दा पनि केही सुधार भएको छैन ।
राजेशलाई अब चिन्ता छ– यस्तै हो भने जीवन कटाउन मुस्किल पर्नेछ ।
अस्पतालमा रहँदासम्म केही सहयोग र सरकारको उपचार खर्च हेरको छ । तर, भोलिका दिनमा ? उनी नाजवाफ छन् ।
राजेश एक्लैको कमाइले घरको गुजारा चल्थ्यो । उनी काठमाडौंमा रहँदा घरमा भएका बुढा बाआमा र कलिला सन्तानको मायाले रातभर निदाउन सक्दैनन् ।
‘तीन महिनादेखि भाइको रेखदेखमा छु । बुढा भएका आमा–बुवाले के खानुभएको होला,’ राजेश भावुक हुँदै भन्छन्, ‘ भाइको हालत यस्तो छ । कोही सोच्न सकेको छैन ।’
राजेशले कक्षा ८ मा हुँदै पढाइ छाडे । घरको आर्थिक अवस्था कमजोर हुँदा कमाउन भारत गए ।
‘सबै दाजुभाइ यस्तै नहोउन् भनेर भाइ (राकेश)लाई पढाएँ,’ उनी भक्कानिए, ‘तर भाइ जीवनभरको अपाङ्ग भयो ।’
सरकारलाई राजेशको प्रश्न छ, ‘सरकारकै गोलीले भाइको यो हालत भयो । उसको जिन्दगीभरको खर्च र सम्मान कसले बेहोर्छ ? सरकारले केही व्यवस्था गर्छ कि गर्दैन ?’
घरको अवस्था दयनीय छ । बर्खामा घरको छानो चुहिन्छ । दाजुभाइले नै कमाउन थालेपछि घर बनाउने सोच थियो । राजेशले लामो सुस्केरा हाले, ‘बुढा बा–आमा, श्रीमती–छोराछोरी सबै मलाई हेरेर बसेका छन् । एक्लै यहाँ भाइलाई कुरेर बसेको छु ।’
चिकित्सक भन्छन्– जीवनभर नै ह्विलचेयरको सहारा चाहिन्छचिकित्सकका अनुसार गोलीले राकेशको मेरुदण्ड (एलथ्री) पूर्ण रूपमा भाँचिएको र त्यस भित्रको स्पाइनल कर्ड (सुसुम्ना नसा) मा करिब ९० प्रतिशत क्षति पुगेको छ । नसामा क्षति भएकोले कम्मरमुनिको भाग र दुवै खुट्टा अचल भएको छ ।
स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार राकेशको खुट्टामा स्पर्श अनुभूति न्यून छ । दिसा–पिसाबमा पूर्ण नियन्त्रण छैन भने कम्मरमुनिको भागमा सधैं करेन्ट लागेजस्तो झमझमाउने र दुख्ने समस्या छ ।
‘स्पाइनल कर्डमा धेरै क्षति भएको छ । उनी पहिलेको जस्तो सामान्य अवस्थामा फर्किँदैनन्,’ डा. ढकाल भन्छन्, ‘जीवनभर ह्विलचेयरको सहारामा नै जीवन चलाउनुपर्ने हुन्छ ।’

तर, राकेशलाई केन्द्रले पूर्ण रूपमा आत्मनिर्भर बनाउन तालिम दिने काम गरिरहेको छ ।
छालाको हेरचाह गर्ने, ह्विलचेयर चलाउने, लुगा लगाउने–फेर्ने, खाना पकाउने–खाने जस्ता दैनिक कामहरू, मांसपेसी बलियो बनाउने व्यायाम र मनोवैज्ञानिक तथा भावनात्मक परामर्श दिने काम भइरहेको छ ।
‘शारीरिक आघातमा छन् । तर मानसिक आघात नहोस् भनेर आत्मविश्वासी बनाएर पठाउन चाहन्छौँ,’ डा. ढकालले भने, ‘ह्विलचेयरमै बसेर पढ्न, काम गर्न र सामान्य जीवन जिउनका लागि आत्मबल दिने काम गरिरहेका छौं ।’
केन्द्रले राकेशको सम्पूर्ण उपचार र पुनर्स्थापना निःशुल्क गरिरहेको छ । डा. ढकालका अनुसार राकेशलाई अझै डेढ–दुई महिना राखेर आत्मनिर्भर बनाएर मात्र घर पठाउने योजना छ ।
प्रतिक्रिया 4