+
+
Shares
अपराध :

मोरङमा दुई बालिकाको हत्या : गुत्थी पत्ता लगाउन प्रहरीलाई सकस

गत असार र असोजमा मोरङका दुई स्थानमा दुई बालिकाका शव  नग्न अवस्थामा भेटिएका थिए । दुवैको बलात्कारपछि हत्या भएको अनुमान गरिए पनि त्यसमा संलग्नसम्म प्रहरी पुग्नै सकेको छैन ।

हरि अधिकारी हरि अधिकारी
२०८२ मंसिर ३ गते १०:०१
लेटाङकी अंशु गौतमको हत्या अनुसन्धानमा खटिएको प्रहरी टोली । फाइल फोटो

३ मंसिर, विराटनगर । गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको शव फेला पर्याे । लगाएको कपडा शवको दायाँ-वायाँ राखिएको अवस्थामा भेटिएको शवमा किरा परिसकेको थियो । दुर्गन्ध फैलिएपछि स्थानीयले हेर्दा शव फेला पारेका थिए ।

अन्दाजी १४–१५ वर्षकी बालिकाको पहिचान खुल्ने कागजात भेटिएन । शवकै छेउमा भेटिएका कपडा र चप्पलमार्फत खोजी गर्दा कोही सम्पर्कमा आएनन् । प्रहरी कार्यालयमा बालिका हराएको उजुरी पनि थिएन । चार महिनासम्म पहिचान नखुलेपछि बेवारिसे शव भन्दै अन्त्यष्टिका लागि विराटगर महानगरपालिकालाई पत्र पठायो ।

*****

२१ असोज साँझ मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि अर्थात् ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्याे । शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।

अनुसन्धानका सबै उपाय प्रयोग गरेको प्रहरी घटनामा संलग्नसम्म पुग्न सकेको छैन । पछिल्लो समय प्रहरी पोलिग्राफ जाँचमा केन्द्रित भएको छ ।

*****

पछिल्लो ३ महिनाको अन्तरमा दुई बालिकाको शव नग्न अवस्थामा भेटिए । तीमध्ये एक जनाको पहिचान खुल्न सकेको छैन भने अर्को घटनामा आरोपीसम्म प्रहरी पुग्न सकेको छैन ।

फरक–फरक मितिमा दुई स्थानमा भेटिएको शवको प्रकृति भने उस्तै देखिन्छ ।

बुढीगंगा र लेटाङमा नग्न अवस्थामा मृत भेटिएका दुई बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष हो । घटनास्थलको प्रकृतिले पनि सोही विषय देखाउँछ । तर दुवै बालिकाको बलात्कार भएको मेडिकलले रिपोर्टले पुष्टि गर्दैन किनकी दुवै शव सडेर किरा परेको अवस्थामा भेटिएका थिए ।

अंशुको हत्या आरोपी खोजिरहेको प्रहरीले बुढीगंगामा भेटिएकी बालिकाको हत्या अनुसन्धान भने मुल्तबीमा राखेको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार सडिसकेको अवस्थामा भेटिएको शवको मेडिकल रिपोर्टले बलात्कार भए–नभएको देखाउँदैन । मेडिकलले पुष्टि नभएको घटनामा आरोपीको बयान र  अन्य प्रमाण जुटाउनुपर्छ ।

लेटाङकी अंशुको हत्यामा संलग्नको खोजी भइरहेको उनले बताइन् । ‘अनुसन्धानका सबै विधि प्रयोग गरिरहेका छौं,’ उनले भनिन्, ‘निष्कर्षमा पुगिसकेको छैन, अनुसन्धान जारी छ ।’

बालिका घरबाट नजिकै रहेको पिङसम्म पुगेको देखिन्छ । पिङ हालेको स्थानबाट हराएकी उनको शव कसरी जंगलमा पुग्यो भन्ने खुलेको छैन । बालिकाले मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान जटिल भइरहेको प्रहरी बताउँछ । सीआईबी, प्रदेश प्रहरीको अनुसन्धान टोली र जिल्लाको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ ।

अंशुको हत्या आरोपी खोजिरहेको प्रहरीले बुढीगंगामा भेटिएकी बालिकाको हत्या अनुसन्धान भने मुल्तबीमा राखेको छ । नहर किनारमा मृत भेटिएकी बालिका नेपाली नभएको निष्कर्षमा प्रहरी पुगेको छ । ‘हामीले सबै जिल्लाहरुमा हुलिया पठाएर खोजी गर्यौं । कतै, त्यसबेला बालिका हराएको सूचना छैन,’ उनले भनिन्, ‘बालिका भारतीय हुन् कि भन्ने शंकाले भारतीय पक्षलाई पनि सम्पर्क गरेका छौं ।’

शरीर माथिको भित्री बस्त्र मात्रै लगाएको अवस्थामा फेला परेकी कालो वर्णकी बालिकाको शवको दायाँबायाँ उनले लगाएको कपडा चप्पल र चिम्टी फेला परेको थियो । चार महिनासम्म शवको पहिचान नभएपछि बेवारिसे शवको अन्त्येष्टिका लागि विराटनगर महानगरपालिकालाई पत्र लेखेको डिएसपी चुँडालले बताइन् ।

१४–१५ वर्ष उमेरकी ती बालिकाको शव अन्त्येष्टिका लागि प्रहरीले कात्तिक ३० गते महानगरपालिकालाई पत्र लेखेको थियो ।

‘तराई मुलकी जस्तो देखिने ती बालिका नेपालकी होइनन् कि भन्ने छ,’ उनले भनिन्, ‘डिएनए रिपोर्ट र हुलियाको विवरण सुरक्षित राखेर शव अन्त्येष्टि गर्न महानगरलाई पत्र लेखिएको छ ।’

लेटाङकी किशोरीको शव भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै छ । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?