News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति रूसले युक्रेनमा ४७० ड्रोन र ४८ मिसाइल आक्रमण गरेको जानकारी दिनुभयो।
- आक्रमणमा कम्तीमा ९ जना युक्रेनीको मृत्यु भएको र भग्नावशेषमा फसेकाहरूको उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो।
- जेलेन्स्कीले यसै हप्ता टर्की भ्रमण गरी शान्ति वार्ता निरन्तरता दिने योजना रहेको उल्लेख गर्नुभयो।
३ मंसिर, काठमाडौं । रूसले गएराति युक्रेनमा भीषण ड्रोन आक्रमण गरेको छ । रूसले मंगलबार राति ४७० ड्रोन र ४८ वटा मिसाइल आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका हुन् ।
आक्रमणमा कम्तीमा ९ जना युक्रेनीको मृत्यु भएको उनले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य चलिरहेको बताएका छन् ।
‘हाम्रा धेरै क्षेत्रहरूमा रूसको आक्रमणपछिको अवस्थामा उद्धार कार्य चलिरहेको छ, रूसले युक्रेनविरुद्ध ४७० भन्दा बढी ड्रोन र एउटा ब्यालेस्टिक र बाँकी क्रुजसहित विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रहार गरेको पुष्टि भएको छ,’ राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा एक्समा लेखेका छन् ।
टर्नोपिलमा नौतले आवासीय भवनहरूमा क्षति पुगेको छ । आक्रमणपछि भत्किएको भवनको भग्नावशेषमा धेरै फसेको आशंका छ । दर्जनौं घाइतेलाई उद्धार गरिएको छ ।
जेलेन्स्कीले रूससँग ४ वर्षदेखि जारी युद्ध अन्त्य गर्न शान्ति वार्तालाई निरन्तरता दिन यसै हप्ता टर्की भ्रमण गर्ने बताएको एकदिन अघि भीषण आक्रमण भएको हो ।
टर्कीले दुई देशबीच शान्ति वार्ताको पहल गरेको थियो । टर्कीमा भएको वार्तापछि कैदी आदानप्रदानमा केही प्रगति देखिएको थियो । अमेरिकाको नेतृत्वमा व्यापक अन्तर्राष्ट्रिय प्रयासहरू भएपनि सफलता हाँसिल भएको छैन ।
प्रतिक्रिया 4