News Summary
Generated by OK AI. Editorially reviewed.- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकता सहमतिको प्रक्रिया अघि बढिरहेको छ।
- दुई दलबीच नीतिगत सहमतिका विषयहरू पहिल्याइएको र सहमतिको खाका तयार पार्ने जिम्मा जसपाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र नेकपाका नेता प्रकाश ज्वालालाई दिइएको छ।
- जसपाका महासचिव मोहम्मद इस्तियाक राईले आफूहरू नेकपासँग एकताको पक्षमा नभएको बताउँदै पार्टीमा छलफल नगरी टुंगो लगाउन नहुने बताउँछन्।
५ कात्तिक, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को एक पक्ष नेपाली कम्युनिस्ट पार्टीसँग एकताका लागि तयार नहुँदै सहमतिका लागि प्रक्रिया भने अघि बढेको छ ।
जसपाको कार्यकारिणी समितिको बैठक सकिए लगत्तै दुई दलको वार्ता सुरु भएको थियो ।
सोमबार र मंगलबार जसपाको कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकले एकताका लागि विभिन्न पक्षसँग संवाद गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णयको आधारमा जसपाले गठन गरेको वार्ता कार्यदलले नेकपासँग बुधबारदेखि छलफल सुरु गरेको थियो । जसपाले वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
बुधबार र बिहीबार भएको दुई दलको वार्तामा जसपाका महासचिव मोहम्मद इस्तियाक राई भने सहभागी भएनन् । जसपा महासचिव मोहम्मद इस्तियाक राईले नेकपासँग भएको वार्तामा सहभागी नभएको जानकारी गराए ।
जसपाका तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ सहित अन्य सदस्यहरू रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी थिए । नेकपाका तर्फबाट बुधबारको छलफलमा नेकपाका तर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल सहभागी भए ।
बिहीबारको बैठकपछि दुई दल एकतान्मुख भएको नेकपाका नेता प्रकाश ज्वालाले अनलाइनखबरसँग बताए । हिजोको बैठकले एकताको लागि सहमति तयार पार्ने जिम्मेवारी नेकपाबाट ज्वाला र जसपाबाट श्रेष्ठलाई दिएको छ ।
‘अब सहमति अन्तिम टुंगोमा पुग्ने स्थिति बनेको छ । अब वार्ता समितिमा सहमतिपत्रलाई फाइनल गर्ने गरि बसाइँ हुन्छ,’ ज्वालाले अनलाइनखबरसँग भने ।
दुई दलको वार्तामा नीतिगत सहमतिका विषयहरू पहिल्याउने कार्य समेत भइसकेको छ ।
समाजवादी कार्यक्रमलाई पार्टीको लाइनको रुपमा रूपमा स्वीकार्ने, जनवादी केन्द्रीयताको सिद्धान्तको अबलम्बन, विगतमा कमी–कमजोरीको समीक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रतिबद्ध, सुशासन समृद्धिका लागि अघि बढ्ने नीतिगत सहमति दुई दलमा भएको छ ।
साथै, संविधान संशोधनको विषयलाई पनि एकताका लागि सहमतिको एजेण्डा बनाइएको छ । अग्रगामी एजेन्डा र जेनजी आन्दोलनबाट स्थापित सुशासनको मुद्दालाई समेत समेटेर एकताको सहमति गर्न लागिएको छ ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठले एकताका लागि नेकपासँग एकताका लागि अघि बढिरहँदा सोही दलको अर्को पक्ष भने एकीकरणको पक्षमा देखिएको छैन । विचार र सिद्धान्त मिल्नसक्ने शक्तिहरूसँग छलफल गर्ने नीति पार्टीको भएपनि नेकपासँग एकता नै गर्ने गरी बैठक नभएको जसपाका एक नेता बताउँछन् ।
दलहरूसँग एकता, कार्यगत एकता, मोर्चा, चुनावी सहकार्य गर्ने उद्देश्यले जसपा नेपाल, लोसपा, राष्ट्रिय उन्मुक्ति पार्टी, नाउपा लगायतसँग प्रारम्भिक कुराकानी गरिएको ती नेताले जानकारी गराए ।
उनी भन्छन्,‘एकता गर्ने हो भने पहिले खाका आउनुपर्ला नि । अहिलेसम्म एकताको कुरा शून्य छ,’ जसपाका शीर्ष तहका ती नेताले भने, ‘कार्यकारिणी समितिमा १/२ जनाले नेकपासँग मिल्ने भनेर हुन्छ र ? पार्टी अध्यक्ष स्वयं मिल्ने पक्षमा हुनुहुन्न ।’
जसपाका उपमहासचिव प्रदीप यादव पनि नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणको पक्षमा नभएको ती नेताले बताए ।
विगतमा एकीकृत समाजवादीसँग समेत जसपाले एकताका लागि संवाद गरेको थियो । तत्कालीन समयमा जसपाका अध्यक्ष अशोक राईले पार्टीको नामप्रति असहमति राखेका थिए ।
नेकपाका नेता ज्वालाका अनुसार दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ मा असहमति राखेका छैनन् । ज्वाला भन्छन्,‘ हामीले उहाँहरूको सबै बुझ्ने कुरा त भएन । वार्ता समितिमा सबै व्यक्तिहरू एकताको निम्ति तयार हुनुहुन्छ ।’
ज्वालाका अनुसार नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू प्रचण्ड र माधवकुमार नेपालसँग जसपाका अध्यक्ष अशोक राई बीचमा छलफल भएर एकताका लागि थप आधार बनेको हो ।
दुई दलमा भएको विषयमा पार्टीमा छलफल नगरी एकताको टुंगो लगाउने विषयले समेत जसपामा असन्तुष्टि देखिएको छ ।
कुनै दलसँग एकताका लागि भएका संवाद र मोडालिटी पहिले दलमा ल्याएर छलफल गरेर मात्रै टुंगिने महासचिव मोहम्मद इतिस्याक राई बताउँछन् ।
‘त्यहाँ भएको पदाधिकारी बैठकमा आउनुपर्यो । एकताको मोडालिटी ब्लुप्रिन्ट आउनुपर्ने विषय हो नि,’ महासचिव राईले भने ।
प्रतिक्रिया 4