News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किङ्सले कर्णाली याक्सलाई १६१ रनको लक्ष्य पछ्याउँदै अन्तिम ओभरको अन्तिम बलमा जित हासिल गर्यो।
- बसिर अहमदले ६९ रनको साझेदारी बनाएर अर्धशतक पूरा गरी विजयी छक्का प्रहार गरेपछि प्लेयर अफ द म्याच घोषित भए।
- कर्णालीको फितलो बलिङ र फिल्डिङले १६० रनको योगफल डिफेन्ड गर्न नसक्दा प्लेअफ सम्भावना कमजोर बन्यो।
१२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पछिल्ला दिनहरूमा एकपक्षीय जस्तै नतिजाहरू आइरहेका थिए । अझ भनौं रातिको खेलमा दोस्रो ब्याटिङ गर्ने टिमले खेल जित्छ भन्ने सबैको अनुमानविपरीत नतिजाहरू आइरहेका थिए ।
कर्णाली याक्स र विराटनगर किङ्सबीच भएको शुक्रबारको दोस्रो खेलमा पनि धेरैको अनुमान थियो कर्णालीले पहिले ब्याटिङ गरेर राम्रो योगफल खडा गर्छ अनि डिफेन्ड गर्छ भनेर । तर उक्त अनुमान आधा मात्र मिल्यो, कर्णालीले राम्रो योगफल खडा गर्न त सक्यो तर डिफेन्ड भने गरेन ।
विराटनगरले अन्तिम ओभरको अन्तिम बल बाँकी छँदा खेल जित्यो । दोस्रो सिजनको १६औं खेलमा आएर खेलले ‘थ्रीलर’को रूप धारण गर्दा त्यसका नायक बने बाँयाहाते ब्याटर बसिर अहमद, जसले टोलीलाई संघर्षपूर्ण अवस्थाबाट जित दिलाए ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट मात्र गुमाएर १६० रन बनाउँदै विराटनगरलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउन आएको विरटनगरको टप अर्डर चल्न नसक्दा दबाबमा आएको थियो जहाँबाट बसिरले संयमित प्रदर्शन गरे र जितको नायक बने ।
कर्णालीले गरेको केही गल्तीहरूको फाइदा उठाउँदै विराटनगरले ५ खेल खेल्दा चौथो जित हासिल गरेको छ र प्लेअफ सम्भावना बलियो बनाएको छ । कर्णालीको पनि ४ खेलमा तेस्रो हार बेहोरेपछि प्लेअफ सम्भावना कठिन बन्न थालेको छ ।

मैदानमा बसिरको शान
१६१ रनको लक्ष्य पछ्याउन मैदान छिरेका विराटनगरका ओपनरद्वय लोकेश बम र जर्ज मन्से आजपनि सस्तैमा आउट भए । खेलको दोस्रो ओभरमै मन्से शून्यमा आउट भए भने चौथो ओभरमा लोकेश पनि आउट भए ।
छैटौं ओभरमा साम हिजलेट पनि आउट भएपछि विराटनगर पावरप्लेमा ३५-३ को अवस्थामा थियो । तेस्रो विकेट गएपछि बसिर क्रिजमा आएका थिए । उनले साहिल पटेलसँग मिलेर साझेदारी बनाइरहेका थिए ।
१२औं ओभरमा साहिल आउट भएपछि क्रिजमा आएका मर्चेन्ट डे लाङ पनि सोही ओभरमा आउट भएपछि विराटनगर ६५-५ को अवस्थामा पुग्यो र पूर्णरूपमा दबाबमा आयो । क्रिजमा त्यसपछि नारायण जोशी आए ।
नारायणसँग मिलेर बसिरले ६९ रनको साझेदारी बनाए । यसक्रममा बसिरले अर्धशतक समेत पूरा गरे । उनले नियमित अन्तरालमा बाउन्ड्री पनि प्रहार गरिरहेका थिए । उनलाई नारायणले पनि साथ दिइरहेका थिए ।
बसिरले १५औं ओभरमा २८ रनमा खेलिरहँदा जीवनदान पनि पाएका थिए । दोस्रो बलमा उनले सिधा ब्याटले खेलेको शटमा बल माथि उठेको थियो । कप्तान सोमपाल मिडअनबाट क्याचका लागि गए । हात लगाए तर क्याच भने भएको थिएन। यो कठिन मौका भएपनि क्याचले खेलको मोमेन्टम शिफ्ट हुन सक्थ्यो ।
१७औं ओभरको दोस्रो बलमा नारायण १२ रन बनाएर खेलिरहँदा सोमपालको बलमा क्याचआउट भएका थिए तर नोबल भएका कारण जीवनदान पाए । त्यसले पनि खेलको मोमेन्टम अझै विराटनगरको पक्षमा ल्याइरहेको थियो ।
१८औं औभरमा नारायण आउट भएपनि अर्धशतक बनाएर क्रिजमा सेट भइसकेका बसिरले खेल जिताएरै छाडे । नारायण आउट भएपछि प्रतिश जिसी आएर एक चौका प्रहार गरेका थिए ।
प्रतिश १९औं ओभरको चौथो बलमा क्याचआउट भएपछि क्रिजमा आएका सन्दीप लामिछानेले पहिलो बलमै चौका प्रहार गरेर त्यसपछि २ रन लिएपछि अन्तिम ओभरमा १० रन आवश्यक थियो र स्ट्राइकमा थिए बसिर ।

बसिरले नन्दन यादवको पहिलो बलमा २ रन लिए । त्यसपछि १ रन लिएर सन्दीपलाई स्ट्राइक दिए । तेस्रो बलमा सन्दीपमार्फत लेग बाइको २ रन आयो अनि चौथो बलमा सन्दीपले १ रन लिएर बसिरलाई स्ट्राइक दिए ।
पाँचौं बलमा नन्दनको बललाई बसिरले हल्का लेगमा सरेर फ्लिक गरी डिप स्क्वायर लेग बाउन्ड्रीमा छक्का प्रहार गरे र त्यो नै विजयी शट रह्यो । विजयी छक्का प्रहार गरेपछि मैदानलाई ढोगेका बसिरलाई सन्दीपले पनि उत्सव मनाएर साथ दिए ।
यसरी कठिन अवस्थाबाट विराटनगर किङ्सलाई जित दिलाएका बसिर नै प्लेयर अफ द म्याच पनि चुनिएका थिए। खेलपछि कुरा गर्दै उनले टिमलाई जिताउन सक्छु भन्ने विश्वास राखेको र त्यसैअनुसार खेल्दा जित सम्भव भएको बताए ।
‘विकेट जाँदा दबाब धेरै थियो तर आफूमा विश्वास राखेर समय लिएँ, पार्टनरसिप बनाए जित्न सकिन्छ भन्ने थियो । एक दुई ठुलो ओभर बनाए जित्न सकिन्छ भन्ने थियो’ उनले भने ।
‘खेल एकदम डीप लैजाने भनेर खेलेको थिएँ, नारायण जोशीलाई पनि आफूमा विश्वास राख्न भनिरहेको थिएँ’ उनले थपे ।
विपक्षी कप्तान सोमपाल कामीले पनि बसिरको इनिङको प्रशंसा गर्दै यस्तो किसिमको खेल जिताउनु राम्रो भएको बताए ।

कर्णालीको फितलो बलिङ र फिल्डिङ
कर्णाली याक्सले आजको खेलमा बलिङ र फिल्डिङ पनि फितलो गर्दा १६० रनको योगफल डिफेन्ड गर्न सकेन । दुई युवा स्पीनहरू बिपिन प्रसाद शर्मा र युवराज खत्री प्लेइङ ११ मा भएर पनि एक ओभर पनि गरेनन् ।
त्यस्तै केही महत्वपूर्ण क्याचहरू ड्रप भएका थिए । कप्तान सोमपालले नै बसिरको क्याच ड्रप गरेका थिए । जुन खेल नै गुमाउने गरी महँगो साबित भयो । त्यसअघि साहिल पटेल शून्यमै हुँदा गुल्शन झाले क्याच छाडेका थिए । विकेटकिपर दीपक डुम्रेले बल मिस गर्दा बाइमार्फत चौकाहरू गएका थिए ।
कर्णालीले विदेशी स्पीनर मार्क वाटबाहेक पार्ट टाइम स्पीनर विलियम बोसिस्टो र पवन सर्राफलाई मात्र बलिङ गरायो । बाँकी ओभर नन्दन यादव, कप्तान सोमपाल कामी र गुल्शन झाले गरेका थिए ।
विराटनगरका ब्याटरहरूले निरन्तर पेस बलरलाई अट्याक गरिरहँदा पनि पेस बलरलाई नै धेरै ओभर गराउनु घातक साबित भयो । त्यसमाथि पनि कप्तान सोमपालले विकेट प्राप्त गरेको बल नै नो बल गर्दा त्यसले खेलको मोमेन्टम विराटनगरतर्फ ल्याएको थियो ।
खेलपछि कुरा गर्दै कप्तान सोमपालले धेरै गल्ती हुँदा हार बेहोरेको बताए । ‘गल्ती धेरै भयो, क्याचहरू ड्रप भयो, नो बलले गर्दा पनि फरक पर्यो । तर त्यो खेलकै एउटा पार्ट हो । ३ खेल बाँकी छ, राम्रो गर्छौं’ उनले भने, ‘बसिरले एकदम राम्रो खेल्यो, हामीले पनि त्यसमा सहयोग गर्यौं।’
यस्तो छ अंकतालिका
विराटनगरले आजको जितपछि ५ खेलबाट ८ अंक जोडेको छ र दोस्रो स्थानमा यथावत् छ । कर्णालीको भने ४ खेलमा २ अंक मात्र छ र पाँचौं स्थानमा छ ।
तालिकाको शीर्षस्थानमा आसीन सुदूरपश्चिम रोयल्सको ४ खेलमा ४ जितसहित ८ अंक छ, नेटरनरेटमा विराटनगरभन्दा अघि रहेर ।
तेस्रो स्थानमा काठमान्डु गोर्खाजको ५ खेलमा ६ अंक छ । काठमान्डुले शुक्रबारकै पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । चितवन ४ खेलमा ४ जितसहित चौथो स्थानमा छ ।
२-२ अंक नै भएका पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स छैटौं र सातौं स्थानमा छन् भने जनकपुर बोल्ट्स ३ खेलमा अंकविहीन रहँदै पुछारमा छ ।
बसिरका बारेमा पढ्नुहोस् : https://www.onlinekhabar.com/cricket-player/basir-ahamad
प्रतिक्रिया 4