News Summary
Generated by OK AI. Editorially reviewed.- वैज्ञानिकहरूले होमो सेपियन्स, नियन्डरथल र डेनिसोभान्सको उद्विकास होमो हाइडलबर्गेन्सिसबाट भएको हाइपोथेसिस आंशिक रूपमा मात्र समर्थन गर्छन्।
- काठमाडौं उपत्यकामा गोपाल–महिषपाल वंशको कुनै पुरातात्त्विक प्रमाण फेला परेको छैन र प्रारम्भिक बसोबास किरात समूहको रहेको देखिन्छ।
- नेपाल खाल्डोमा किरात वंशले शासन गरेको पुष्टि गर्न थप उत्खनन आवश्यक छ, अहिलेसम्म उपलब्ध प्रमाणले किरात सभ्यता मात्र देखाउँछ।
वैज्ञानिकहरूले हिजोआज मानव उद्विकास सम्बन्धी प्रस्तुत गरेको एक हाइपोथेसिस (Hypothesis) निकै अनुसन्धानात्मक लेखहरूमा पढ्न पाइन्छ। त्यो भनेको आधुनिक मानव अर्थात् होमो सेपियन्स (Homo sapiens) सहित लुप्त भइसकेका दुई प्रजाति होमो नियन्डरथल (Homo neanderthal) र होमो डेनिसोभान्स (Homo Denisovans) को उद्विकास सम्भवतः मध्य प्लास्टोसिन कालको होमो हाइडलबर्गेन्सिस (Homo heidelbergensis) बाट भएको हुन सक्छ। यद्यपि, अहिलेसम्म फेला परेका जीवाष्म तथा आनुवंशिक अध्ययन नतिजाहरूले यसलाई आंशिक रूपमा मात्र समर्थन गर्छ।
सेपियन्समा मिश्रित जिन
रोचक कुरा, ५०/६० हजार वर्षअघि ताका सेपियन्स, नियन्डरथल र डेनिसोभान्स बीच एकआपसमा संसर्ग भई (Interbreeding) सन्तान जन्मन्थे। यसको प्रमाण नियन्डरथलको केही डीएनए युरोपेली समुदायमा र डेनिसोभान्सको डीएनए शेर्पा लगायत दक्षिणपूर्व एसियाली मूलका मानिसको जिनोम (समग्र आनुवंशिक सामग्री) मा अझै जीवित छ। अहिलेसम्म, डेनिसोभान्सको जीवाष्म साइबेरिया र तिब्बतको उच्च पठारमा मात्र फेला परेको छ।
डेनिसोभान्सको शेर्पा समुदायमा भएको जिनको नाम EPAS1 (Endothelial PAS domain-containing protein 1) हो। EPAS1 जीनले शरीरमा अक्सिजनको स्तर कम भएको अवस्थामा अनुकूलन गर्न मद्दत गर्ने विशेष प्रोटिन बनाउन प्रोटिन–निर्माण संयन्त्र (कोशिकाको केन्द्रक अर्थात् न्युक्लियस) लाई सङ्केत दिन्छ। यो प्रोटिनले रगतमा रातो रक्तकोष उत्पादन बढाउने प्रक्रिया सक्रिय गर्छ, जसले शरीरका तन्तुहरूमा अधिक अक्सिजन पुर्याउन सम्भव बनाउँछ।
साथै, ईपीएएसवान जीनले नयाँ रक्तनली निर्माणलाई उत्तेजित पार्छ। यसबाट अक्सिजनको वितरण मार्गलाई फैलाउन सहयोग पुग्छ। यही प्रोटिनले शरीरभित्र फलामको उपयोग, सञ्चय र सन्तुलनलाई पनि व्यवस्थित बनाउँछ, ताकि कम अक्सिजनको अवस्थामै रक्त निर्माण र अक्सिजन परिवहन प्रभावकारी हुन सकोस्। फलामले रगतमा अक्सिजन घुलाएर लैजाने काम गर्छ।
यसरी, सेपियन्समा नियन्डरथल र डेनिसोभान्सको जिन रहनु भनेको सेपियन्सको उद्विकास निकै जटिल, धेरै तह, धेरै समूह र धेरै पुस्ताबाट जटिल प्रक्रियाबाट बनेको सङ्केत गर्छ। तर, सेपियन्स, नियन्डरथल र डेनिसोभान्समा जिन मिश्रित नहुँदै करिब २ लाख वर्षअघि होमो सेपियन्स अफ्रिका नजिकका युरोप (ग्रिस) र एसियाका केही भूभाग (इस्राइल) मा पुगेको थियो।
तर, सेपियन्सको प्रभावकारी आप्रवासन चाँहि करिब ७० हजार वर्षअघि ताका मात्र भयो। त्यसबेला, सेपियन्स उत्तरपूर्वी अफ्रिकाबाट अरब प्रायद्वीप र तटीय मार्ग हुँदै दक्षिण एसिया प्रवेश गरे। त्यसबेला, दक्षिण एसिया मानवरहित थिएन। सम्भवतः होमो डेनिसोभान्स अस्तित्वमा थिए।
पुरातत्त्व अध्येता गुड्रन कर्विनसले लेखेको Prehistoric Cultures in Nepal, Vol. One शीर्षक पुस्तकमा लुम्बिनी प्रदेशस्थित दाङ–देउखुरी उपत्यकामा करिब ६० हजार वर्षअघि होमो सेपियन्सको उपस्थिति थियो (सन् २००७)।
यही शीर्षक पुस्तकको दोस्रो भोलममा दाङ–देउखुरी उपत्यकामा त्यतिखेर बनाइएका ढुङ्गाका हतियारका तस्बिरहरू समावेश छन्। ६० हजार वर्षअघि दाङ–देउखुरी उपत्यकामा भेटिएका पुरातात्त्विक प्रमाण (विशेषगरी ढुङ्गाका औजार तथा पुराना शिविर–सङ्केत) ले मानिस दक्षिण एशिया हुँदै नेपालका तराई तथा नदी–घाटी प्रणालीमा फैलिन थालेको इङ्गित गर्छ।
ती प्रारम्भिक मानवहरू नदीका किनार (Riverbank settlements) नजिक बसोबास गर्थे। तिनले नदी किनारमा रहँदा सफा पिउने पानी, माछा–कछुवादेखि वन्यजन्तु सम्मका स्रोत सजिलै पाउँथे। यो तिनले बनाएका काठकै साना शिविरजन्य वस्तु, ढुङ्गाका चिरपट औजार, र आगो (Charcoal) प्रयोगका चिन्ह फेला परेबाट अनुमान लगाइएको हो।

दाङ–देउखुरी, बबई र कर्णालीका खोँच–घाटीबाट ती प्राचीन मानिसहरू मौसम अनुकूल हुँदा क्रमशः पहाडतिर सर्न थाले। तर ६०–५० हजार वर्षअघि मानिस उच्च हिमालतर्फ गएनन्। किनभने वातावरण कठ्याङ्ग्रिने थियो। ती प्रारम्भिक मानिसहरू उच्च उचाइ, कम अक्सिजन र हिमाली चिसोसँग अनुकूलित थिएनन्।
त्यसैले उनीहरू उत्तरतिर सोझै चढेनन्, बरु पहिले मध्य–पहाडका न्यानो खोँच–घाटी (राप्ती–तनहुँ–स्याङ्जा–पाल्पा–नुवाकोट–दोलखा) हुँदै विस्तार भए। जलवायु न्यानो हुँदा मात्र उनीहरू करिब १० हजार वर्षअघि उच्च हिमाली घाँसे मैदानतर्फ अघि बढे।
काठमाडौंको पारिस्थितिकीय प्रणाली
बाह्र हजार वर्षयता, काठमाडौं उपत्यका पानी सुकेर बिस्तारै खुला जमिन हुँदै थियो। सुरुमा यसको केही भाग दलदली थियो। वरिपरि खुला वन र झाडीहरू विस्तार बढ्दै थिए। फूल फुल्ने वनस्पतिको रजकण (पोलेन ग्रेन) जीवाष्म अध्ययनले त्यसताका उपत्यकामा सबभन्दा पहिले बाँझ, उत्तिसजस्ता चिसो मन पराउने रुखहरू फैलिएका थिए भन्ने देखाएको छ।
यसबारे जानकारी खुमनारायण पौडेललिखित Study of Pollen & Spores (सन् २०१७) शीर्षक पुस्तकमा समावेश छ। उपत्यकामा अन्य के कस्ता वनस्पतिहरू थिए भन्ने विस्तृत जानकारी उनै पौडेललिखित Vegetation History of Nepal Himalaya (सन् २०१८) शीर्षक पुस्तकमा पढ्न पाइन्छ। पुस्तकमा उल्लेख धेरै प्रजाति लोप भइसकेका छन्। ती लोप भएका प्रजातिका नाम विश्वव्यापी मान्यता पाएको छैन।
उपत्यकाको खुला घाँसे मैदानमा हरिण, लोप भइसकेको जङ्गली गाईगोरु, स्याल, खरायो र नदीमा माछा, कछुवा, पानी छेउछाउ विचरण गर्ने जलचर चराको आगमन हुन थाल्यो। बोटबिरुवाको फैलावट र साना–मझौला जनावरहरूको वृद्धि भएपछि शिकारी–सङ्ग्रहकर्ताहरूका लागि उपत्यका वरिपरि बस्न अनुकूल वातावरण बन्न पुग्यो। यही प्राकृतिक रूपान्तरणले मानिसलाई क्रमशः उपत्यकातिर आकर्षित गर्यो।
मानिसले सर्वप्रथम बर्खामा बाढीबाट जोगिन उचो र समथर भूभाग रोजे। प्रारम्भिक मानवले विशेषगरी गोकर्ण, हाँडिगाउँ, थानकोट, चोभार लगायत क्षेत्र रोजे, जहाँ दलदल थिएन र पानी–स्रोत थियो। ती ठाउँहरू उपत्यकाको सरदर सतहभन्दा ३०–४० मिटर उचो थियो।
उपत्यकाको केन्द्र भागमा अहिलेको हाँडिगाउँ त्यसबेला वर्षायाममा डुबानबाट सुरक्षित थियो। त्यहाँ नदी–खोला नजिक भएकाले पानी, माछा, कन्दमूल, घाँसे मैदानको स्रोत सजिलै उपलब्ध थियो। यस्ता मध्यम उचाइ, जहाँ दिनभर घाम लाग्ने ठाउँ भएकाले त्यो भूभाग सुरक्षित बास, छिटो शिकार–स्रोत, कृषियोग्य जमिन, र सिँचाइका प्रारम्भिक सम्भावना प्रदान गरेको हुनुपर्छ। बूढानीलकण्ठ क्षेत्र त डुबान हुनबाट सुरक्षित थियो। तर, बिहानको घाम कम र जलचर जनावर अलि कम भएकाले त्यति उपयोगी थिएन होला।
उता हिमालपारि, तिब्बतमा सेपियन्सका लागि वातावरण प्रतिकूल थियो। त्यसैले तिब्बतमा सेपियन्स निकै पछि मात्र बसोबास गर्न थालेका हुन। ७० हजार वर्षअघि अफ्रिकाबाट निस्केको सेपियन्स दक्षिण र दक्षिणपूर्व एसिया हुँदै ३०, ३५ हजार वर्षअघि साइबेरियासम्म पुगेका थिए। चीनमा विशेषत येलो याङ्जे नदी आसपासका क्षेत्रमा करिब १० हजार वर्षअघि ताका खेतीपाती सुरु भइसकेको थियो।
तिनीहरूमध्ये केही तिब्बत हुँदै हिमालय पार गरेर यता नेपालको उच्च पहाडी भेगमा आइपुगे। त्यसबेला, नेपाल खाल्डोमा चोभारबाट पानी बाहिर निकास भएर सुक्दै थियो। त्यहाँ विशाल दलदली क्षेत्र र त्यसपछि खुला घाँसे मैदानमा रूपान्तरण भइरहेको थियो।
मानव आप्रवासन
काठमाडौं उपत्यकामा आइपुग्ने दाङ–देउखुरी तर्फबाट नभई, उत्तर र उत्तर–पूर्व (सुनकोशी–भोटेकोशी–मेलम्ची–तामाकोशी मार्ग) हुँदै आएका प्रारम्भिक टिबेटो–बर्मन (Proto–Kiranti) समूहहरू थिए।
काठमाडौं उपत्यकाको उत्तरी पहाडमा सबैभन्दा पहिले मानव आगमन करिब १०–९ हजार वर्षअघि उत्तरी लाङटाङ–हेलम्बु करिडोरबाट आएको अनुमान छ। यो कुरा एपी गजुरेल, बीएन उप्रेती र अरूहरूले सन् १९९८ मा लेखेको Geological and Geomorphological Studies of the Kathmandu Valley शीर्षक लेख पढ्दा थाहा पाइन्छ।
लेखमा शिवपुरी क्षेत्रमा करिब १० हजार वर्षअघि मानव बसोबास अनुकूल वातावरण बनेको लेखिएको छ। सम्भवतः त्यतिखेर आइपुगेको समूह प्रोटो–तामाङ थिए होलान्। उनीहरू भ्याली (Valley) भित्र खासै स्थायी बसोबासका निम्ति आएनन्। किनभने उनीहरू उच्च हिमाली भेगमा जीविका यापन गर्न मात्र अभ्यस्त थिए। अहिलेसम्म पनि तामाङहरूको काठमाडौं खाल्डो वरिपरिका जिल्लाहरूमा सघन रूपमा बसोबास छ।
भाषाविद्हरूले टिबेटो–बर्मन भाषी समूहहरूको आदिम जन्मथलो चीनको दक्षिणपश्चिम क्षेत्र युनान, सिचुवान, हाङ्हो–याङ्जे नदीको मध्यम पहाडी क्षेत्र बताउँछन्। ती क्षेत्रमा प्रोटो–इन्डो–टिब्बेटन (Proto–Ino–Tibetan) नाम दिइएको आदिम भाषा बोलिन्थ्यो। यसैबाट हिमालपारि असम–मेघालय क्षेत्रमा बोलिने बाडो–ग्यारो, किराँती, बर्मा–तिब्बतीसमूह, तामाङिक, कुकी–चिन, नेवारी (टिबेटो–वर्मन मूल अंश) भाषाहरू बने।
भाषाविद्हरूका अनुसार, टिबेटो–बर्मन भाषा बोल्नेहरूको आदिम प्रवासन पूर्वी तथा मध्य हिमालय क्षेत्रमा ८/९ हजार वर्षअघि भएको थियो। यसले चीनबाट मानिस नेपाल खाल्डोमा उसै ताका आइपुगेको सङ्केत दिन्छ। किनभने तिनले टिबेटो–बर्मन भाषा परिवारका प्रारम्भिक शब्दहरू लिएर आएका थिए।

नेपालमा उत्तर र उत्तरपूर्व तर्फ चीनको कुन भूभागबाट मानिस आएका थिए भनेर पहिल्याउँदै जाँदा किरातीहरूको सम्बन्ध च्याङ/छयाङ सभ्यता समूह (Qiang Civilization) सँग सामीप्य देखिन्छ। तिनको संस्कृति विशेषतः लिम्बु समुदायसँग निकै मिल्दोजुल्दो देखिन्छ। प्राचीन कालमा छयाङ पहाडी समुदायहरू मुख्यतः चीनको दक्षिण–पश्चिम उच्चभूमि र हिमनदी क्षेत्र वरिपरि फैलिएका थिए। हिजोआज त्यहाँ लिजियाङ, निङलाङ, युलोङ, क्याङिक नामका भूभाग छन्। तिनीहरू याङ्जे, येलो रिभर, मेकाङ लगायतका ठूला नदीहरू आसपासका क्षेत्र हुन्।
त्यहाँका मानिस लगभग ९ हजारदेखि ६ हजार वर्षअघि पूर्वी र मध्य हिमाली भूभागतर्फ फैलिन सुरू भइसकेको देखिन्छ। तिब्बती पठारको पूर्वी किनार, मिन नदी–सिचुआन पहाडी भेग र याङ्जी–माथिल्लो धारहरू प्राचीन कालमा उच्च जनघनत्व भएको क्षेत्र थियो, जहाँ कृषि, पशुपालन र हिमाली जलवायु–अनुकूलनसँग सम्बन्धित जीन–चिन्हहरूको विकास हुँदै थियो।
डीएनए–आधारित जनसङ्ख्या विचलन–मापन (जेनेटिक डाइभर्जेन्स एनालाइसिस) ले यही समयलाई उत्तर–पूर्वी हिमाली समूहहरू दक्षिणोन्मुख फैलिन सुरु भएको सबैभन्दा सम्भावित पहिलो चरण मान्न सहयोग गर्छ—अर्थात् करिब ८–७ हजार वर्षअघिदेखि जनसङ्ख्या र वंशीय उपशाखाको भौगोलिक प्रसारण तीव्र हुँदै गयो।
यसै प्रसारण–धारा समातेर ८–७ हजार वर्षअघि केही उपशाखाहरू तिब्बती पठारको पूर्व–दक्षिणी ढलान पछ्याउँदै यार्लुङ–ब्रह्मपुत्र घाटी हुँदै हिमाली जलाधार–माथिल्लो जङ्गली–पहाडी करिडोरमा झर्न थाले। पछिल्लो ७–६ हजार वर्षको अवधिमा पूर्व–हिमाली भञ्ज्याङ र नदी–मार्ग समात्दै अरुण–बरुण प्रणाली, ताप्लेजुङ–ओलाङ्चुङगोला, काबेली–तमोर बेसिनतर्फ आवागमन तीव्र रूपमा भएको हुनुपर्छ।
हिजोआज माथि उल्लिखित चीनमा छयाङ सभ्यता अन्तर्गत रहेको नासी (Naxi) समुदाय मुख्य रूपमा बसोबास गर्छन्। तिनले बोल्ने केही शब्दहरू हाम्रा यताका टिबेटो–बर्मन भाषा परिवारका केही भाषाहरूमा अर्थ र उच्चारण मिल्छ। थोरै उच्चारण फरक छन्। जस्तो– नासी समुदायले आगोलाई मेई (mbei, fire) र आमालाई आ–मी (a–mi, mother) भन्दो रहेछ। तामाङ भाषामा आगोलाई मे (me, fire) वा मेय (meyh) र आमालाई आमो वा आमा (aamho, mother) र नेवारले आगोलाई मी (mi, fire) र आमालाई मां (mā, mother) भन्छन्। यस्तै, लिम्बुले आगोलाई मि (mi, fire) र आमालाई अम्मा (amma, mother) नै भन्छन्।
यी सबै भाषाहरू प्राचीन प्रोटो टिबेटो–बर्मन मूल भाषाबाट छुट्टिँदै अलग–अलग दिशामा फैलिन क्रममा क्रमशः विभाजित भएका हुन्। आगोका लागि मी, मे, मेई, मि र आमाका लागि अम्मा, आमो, मां जस्ता शब्दहरू भाषा विभाजन हुनुभन्दा अघिकै साझा जरामा बनेका थिए, त्यसैले तिनको अर्थ उही रह्यो, उच्चारणमा मात्र भिन्नता आयो।
पूर्वी तथा मध्य नेपालमा भेटिएका हाते बन्चरो लगायतका पुरातात्त्विक सामग्रीले पनि मानिस उसै ताका आइपुगेको अनुमान लगाउन सकिन्छ। यो कुरा कोर्विनस गुड्रनले लेखेको Prehistory Cultures of Nepal (२००७) शीर्षक पुस्तकमा पनि उल्लेख छ।
यिनै माथिका विवरणहरू अनुसार नेपाल खाल्डोमा पूर्वी कोशी–अरुण करिडोर भएर आएका समूहहरू नै प्रारम्भिक प्रोटो–किराती समूह हुन्। त्यसै ताका काठमाडौं उपत्यकाभन्दा दक्षिणतर्फ लागेकाहरू कपिलवस्तु, तिलौराकोट आसपासमा ईसापूर्व १५ औं शताब्दीमा सभ्यता सुरु गरे। उनीहरू सम्भवतः पछि शाक्य, कोलिय आदि रूपमा चिनिए। यिनीहरू पछि गण–राज्यहरू बने।
पाली भाषाविद् टमस विलियम रीस डेभिड्सले बुद्धकालमा बोलिने शाक्य, कोलिया, मोरिय, भग्ग भाषाहरू द्रविड, मुण्डा र टिबेटो–बर्मन मूलका धेरै शब्द मिसिएको रोयल एसियाटिक सोसाइटीले प्रकाशन गरेको The Pali Language and Literature (१८९६) शीर्षक पुस्तकमा लेखेका छन्। यसले उत्तरबाट गएका समूहमा दक्षिणतिर प्रचलनमा रहेको भाषा पनि मिसियो। भाषा मात्र होइन, मानिसमा मिसमास भयो। रक्त मिश्रण भयो।
करिब ४ हजारदेखि ३५ सय वर्षअघिसम्म नेपालको तराई भाग के कस्तो थियो भन्ने केही जानकारी मेघराज धिताललिखित Geology of Nepal Himalaya (सन् २०१५) शीर्षक पुस्तकमा उल्लेख छ। त्यसबेला तराई क्षेत्रमा धेरै घना सालको जङ्गल फैलिएको थियो। त्यतिबेला मलेरिया र भारी वनले ढाकिएको हुनाले तराई–पहाड आवत–जावत सम्भव थिएन।
त्यसकारण दक्षिणतिर बसोबास गर्नेहरू तराई हुँदै उपत्यका प्रवेश गर्न अत्यन्त कठिन थियो। करिब ३ हजार वर्षअघि मात्र तराईमा वन फडानी सुरु भयो। जङ्गल फडानी भएपछि खेत, बस्ती, व्यापारिक बाटो र तराई–पहाड जोड्ने मार्गहरू विकास हुन थाले। यसपछि मात्र मकवानपुर–भीमफेदी–चित्लाङ पास हुँदै काठमाडौं उपत्यकामा मानव आगमन सुरु भयो।
खेतीपातीको सुरुआत
काठमाडौं उपत्यकामा करिब ४–३ हजार वर्षअघि वातावरण स्थिर, मनसुन प्रणाली स्पष्ट, र जमिन खेतीयोग्य हुँदै गयो। यही समयदेखि मानिसहरूले स–साना खुला भू–भाग र नदी किनारको फाँटिलो जमिनमा कोदो, फापर, कागुनो, गहत–मसुर जस्ता दाल बाली, तथा पहाडी क्षेत्रमा सजिलै फैलिन सक्ने कोदो–फापर प्रणाली रोप्न थाले।
बाख्रा, गाईवस्तु, कुकुर पाल्न सुरु गरे। खेती र पशुपालन मिलेर नयाँ प्रकारको स्थायित्व दियो। मानिस घरबारी, गोठसँग जोडिँदै लामो समय एउटै ठाउँमा बस्न थाले।
कृषि र स्थायी बसोबास विस्तार हुँदै गएपछि गाउँको प्रारम्भिक स्वरूप देखा पर्न थाल्यो। सुरुमा ४–५ वटा परिवारका झुपडीहरूले बनेका बासस्थानहरू समयसँगै ठूलो बस्तीमा रूपान्तरित भए। यिनै बस्तीहरूमा सामूहिक काम, उत्पादन जोगाउने उपाय, सिँचाइ, र जनावर व्यवस्थापन जस्ता सामाजिक संयन्त्र विकास हुन थाले। यसले स्थानीय समुदायलाई एकीकृत बनायो।
स्थायी गाउँ बनेपछि प्रकृतिबाट सम्भावित क्षतिबाट बच्न आध्यात्मिक परम्परा उदाए। विशेषगरी मौसम–वर्षा–जलसँग प्रत्यक्ष रूपमा जोडिएको कृषि प्रणालीका कारण मानिसले खोला, पानीका मुहान, तालतलैया, महालक्ष्मी–जस्ता भूमिपूजा, र सिँचाइसम्बन्धी देवताहरू मान्न थाले।
यही सांस्कृतिक वातावरणमा नाग–विश्वास, पानी स्रोतको पूजा, उर्वरताको पूजा, वर्षाको निम्ति पूजा र भूमि पूजा बिस्तारै जरा गाड्न थाल्यो। हाँडिगाउँ, लुभू, चोभार, गोकर्ण जस्ता प्रारम्भिक गाउँका उत्खननमा भेटिने नाग–रेखा, नाग–घेरा, घुम्ती आकृति, जल–देवता जस्ता मूर्तिहरूले यो विश्वास कृषि–आधारित जीवनसँग गाँसिएको थियो भन्ने स्पष्ट देखाउँछ।
यिनै परिवर्तनसँगै उपत्यकामा बोलिने प्रारम्भिक भाषिक–सांस्कृतिक समूहहरूको रूपरेखा बन्यो। पहाड, उच्च हिमाली भेगबाट आएका समूहहरू मिसिँदै गए, जसले पछि उपत्यकाको प्रारम्भिक किरात–ताम्सालिङ पहिचान, र त्यसपछि प्रोटो–नेवार सांस्कृतिक जग निर्माण गर्न सहयोग पुर्यायो।
प्रकृति पूजाको सुरुआत
खेतीपाती विस्तार भएसँगै काठमाडौं उपत्यकामा मानिसहरूको संख्या बढ्दै गयो। स–साना २–३ परिवारका बस्तीहरू विस्तार हुँदै ठूला गाउँ बन्दै गए। मानिस धेरै भएपछि खेतबारीको बाँडफाँट, पानी व्यवस्थापन, जनावर र बस्तीको सुरक्षा, र सामूहिक काम गर्न नेतृत्व चाहिन्थ्यो। यही आवश्यकताले अनुभव, उमेर र सामुदायिक विश्वासका आधारमा गाउँका मुखिया देखिन थाले— जो स्थानीय निर्णय, विवाद समाधान र सामुदायिक काम सम्हाल्थे।
गाउँ विस्तारसँगै प्रकृति–पूजामा आधारित धार्मिक केन्द्रहरू देखा परे। त्यो समय न हिन्दु न बौद्ध दर्शन विकसित थियो, त्यसैले मानिसले वरिपरिका नदी, पहाड, रूख, ढुङ्गा, नाग, कुवा, मुहान, गुफा, र ‘भूमि–रक्षक आत्मा’लाई पवित्र मान्थे। तिनैलाई पुज्थे। दुष्ट आत्मा वा सम्भावित खतराबाट बच्न बलिष्ठ पहरेदारको परिकल्पना गरे। तिनलाई काठमाडौं उपत्यकामा यक्ष भनेर अहिले पनि मानिन्छ। यसको एक प्रतिमा कीर्तिपुरस्थित बागभैरव मन्दिर परिसरमा पञ्चमातृका अगाडि दाहिनेपट्टि सानो कदको प्रतिमा छ।

त्यसबेला, पुरुषहरू शिकार गर्ने, फलफूल टिपेर आश्रय स्थलमा ल्याउने र ती सामग्रीको उपभोग व्यवस्थापनसहित परिवारको रेखदेखमा महिलाको अहम् भूमिका हुन्थ्यो। महिला नै ज्ञान, सीप, करुणाको खानी हुन्थे। ती महिलालाई यक्षिका भनिन्थ्यो। यस्ता यक्षिकाका ईसापूर्व केही सय वर्षअघिका ढुङ्गाका मूर्तिहरू हाँडीगाउँको सत्यनारायण मन्दिर, टेकु नजिक पचली भैरव, कीर्तिपुरस्थित बागभैरव, पाटन बङ्गलामुखी, पशुपति, दक्षिणकाली, बनेपामा छन्। तर, तिनका नाम हिन्दुहरूले मातृका राखेका छन्। पहिले पञ्चमातृका राखेका थिए। पछि अष्टमातृका (आठजना आमा) राखे।
यस्ता साझा आस्था र नियमहरूले गाउँलाई एक ठाउँमा बाँध्यो र नेतृत्वलाई सांस्कृतिक वैधता दियो। टेकु पचली भैरवको मुख्य मन्दिरको बीचमा रहेको रूखको फेदमा पश्चिमपट्टि राखिएका स–साना मूर्तिहरू सबैभन्दा पुराना देखिन्छन्।
ती मातृकाका मूर्तिहरू पचली भैरवमा कतैबाट त्यहाँ ल्याइएको जस्तो देखिन्छ। मूर्तिहरू खिइँदै गएर तिनको आकार मूर्ति हो कि होइन भनेर ठम्याउन गाह्रो हुन्छ। बङ्गलामुखीका मूर्तिहरू त माटाका ढिस्का जस्ता मात्रै छन्। तिनीहरू काटिएका हुनुपर्छ।
तर, आजसम्म- हाँडिगाउँ, चोभार, गोकर्ण, लुभू जस्ता स्थानमा गरिएको उत्खननबाट गोपाल–महिषपाल वंशका कुनै प्रमाण, चाहे बस्ती, मूर्ति, हड्डी, औजार वा लेखिएको अभिलेख कुनै पनि भेटिएको छैन।
काभ्रेमा यही वर्ष फेला परेको मूर्ति पनि किरात सभ्यताअन्तर्गत बनाइएको हुनुपर्छ। यसको स्वरूप आर्य मूलको छैन। यो मूर्ति अहिले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ। हनुमानढोका सङ्ग्रहालयमा छविकार सुनिल ढङ्गोल काठमाडौं उपत्यकामा मातृकाका मूर्तिहरू कहाँ–कहाँ छन् भन्ने जानकार छन्।
उपत्यकाको बस्तीहरू जोड्ने प्राचीन पैदल मार्गहरू—चोभार हुँदै तराई, गोकर्ण–भक्तपुर हुँदै पूर्व, नक्साल–नुवाकोट हुँदै उत्तरतिर—व्यापार, आदान–प्रदान र बाहिरी सम्पर्कका केन्द्र बने। बाटो व्यवस्थापन कसको हातमा थियो भन्ने कुराले समुदायको आर्थिक शक्ति, प्रतिष्ठा र प्रभाव निर्धारण गर्थ्यो। जसले बाटो सम्हाल्थ्यो, उसकै समूह गाउँमा शक्तिशाली बन्दै जान्थ्यो।
जनघनत्वको वृद्धि, स्थानीय नेतृत्वको स्थापना, प्रकृति–पूजामा आधारित सांस्कृतिक–आस्था, र व्यापारिक मार्गको उदयबाट उपत्यकामा पहिलो राजनीतिक संरचना बन्ने आधार बन्न पुग्यो। यही सामाजिक–आर्थिक सङ्गठनबाट पछि प्रारम्भिक किरातहरू उदाए।
नभएको गोपाल–महिषपाल वंश
काठमाडौं उपत्यकाको वास्तविक इतिहास पुरातत्त्व, भूगोल, भाषा र मानव बस्तीका प्रमाणले देखाउँछ कि समय क्रममा मानिस शिकारी–सङ्ग्रहकर्ताबाट सुरु भएर कृषि समुदाय हुँदै किरात नेतृत्वसम्म पुगे।
तर उपत्यकाको उत्पत्ति र प्रारम्भिक रूपको वर्णन गर्ने नेपालमाहात्म्य – स्कन्द पुराणको एक अध्याय नवौँ शताब्दीको मध्यतिर लेखिएको धार्मिक ग्रन्थले उपत्यकामा गोपाला र अभिर/महिषपाला (भैंसी पाल्ने समूह) जस्ता पौराणिक पात्रहरू सिर्जना गर्यो। पछि, मल्लकालका पण्डितहरूले यही कथालाई मूल आधार मानेर वंशावलीमा गोपाल–महिषपाल वंशबाट नेपाल खाल्डोमा शासन गरेको पौराणिक इतिहास बनाए।
यसको कारण, मल्लकालका राजाहरूले उनीहरू प्राचीन तथा पवित्र र देव–परम्परासँग जोडिएको देखाउन चाहन्थे। नेपालमाहात्म्य वैदिक–पौराणिक शैलीमा लेखिएको ग्रन्थ भएकाले त्यसको आधारमा वंश सुरु गर्दा राज्यलाई पुरानो जरा भएको जस्तो देखिन्थ्यो। यही कारणले वंशावलीमा उपत्यकाको इतिहास गोपाल नामक गाईपालक समूहबाट सुरु भएको भनी लेखियो।

यस्तै, मल्ल कालका लेखकहरू इतिहास लेख्दा पुराण, ऋषि–कथा र लोक–कथालाई नै आधार मान्थे। वैज्ञानिक तरिकाले इतिहास जाँच्ने चलन थिएन। नेपालमाहात्म्यमा गोपाल र महिषपाल उल्लेख भएकाले पण्डितहरूले तिनै पात्रलाई उपत्यकाको अघिल्ला राजवंशका रूपमा राखे।
तर, आजसम्म- हाँडिगाउँ, चोभार, गोकर्ण, लुभू जस्ता स्थानमा गरिएको उत्खननबाट गोपाल–महिषपाल वंशका कुनै प्रमाण, चाहे बस्ती, मूर्ति, हड्डी, औजार वा लेखिएको अभिलेख कुनै पनि भेटिएको छैन।
उपत्यकाको वास्तविक प्रारम्भिक बसोबासकर्ताहरू किरात समूह भएको अहिलेको पुरातात्त्विक, भाषिक र सांस्कृतिक प्रमाणले देखाउँछ। तर, यदि इतिहासमा किरातहरूले नै पहिलोपटक उपत्यकामा शासन सुरु गरेका थिए भनियो भने मल्लकालीन वैदिक–ब्राह्मणिक सत्ता प्राचीन कालको देखिन्थ्यो। पछि आएका हुन् भन्ने स्पष्ट हुन्थ्यो। त्यसैले वंशावलीका लेखकहरूले किरातहरूलाई धेरै पछि राखे र तिनभन्दा अगाडि नेपालमाहात्म्यमा वर्णित गोपाल–महिषपाल जस्ता पात्र राखेर कृत्रिम ऐतिहासिक क्रम बनाइदिए।
महिषपाल पनि नेपालमाहात्म्यकै कथाबाट आएको नाम थियो। तर वंशावलीमा यसलाई गोपालपछि राखेर “गोपाल–महिषपाल र त्यसपछि किरात” भन्ने क्रम बनाइयो—जसले उपत्यकाको इतिहास पौराणिक कथाबाट सुरु भएको जस्तो देखाउँछ।
कपोलकल्पित देववंश
भारतीय राज्य–इतिहासलाई वंशावलीमार्फत पुराणहरू (विशेषगरी विष्णु पुराण, भागवत पुराण आदि) मा देवता वा देववंशसँग जोड्ने परम्परा रहेको देखिन्छ। जस्तो: मनु–इक्ष्वाकु–हरिशचन्द्र–भगीरथ–रघु–दशरथ–राम। यी राजा रामायण र अन्य पुराणीय कथासँग जोडिन्छन्। यस्तै, चन्द्र (सोम)–पुरु, यदु, कुरु, पाण्डव, कृष्ण आदि महाभारत र कृष्ण–परम्परासँग जोडिएको वंश हो।
भारतका राजाहरूले तिनलाई यी दुईमध्ये कुनै एक वंशसँग जोडेर पौराणिक राजखलक बनाउन प्रयास गर्ने गरेका थिए। यसको उद्देश्य तिनीहरूको शासन दैवी रूपले अनुमोदित छ, राजसत्ता अत्यन्त प्राचीन र अविच्छिन्न थियो भन्ने धारणा स्थापना गर्नु थियो।
नवौँ शताब्दीको मध्यताका लेखिएको नेपालमाहात्म्यमा नेपाल पवित्र देवभूमि मानिएकाले यहाँका राजाहरू पनि देववंशसँग जोडिएका देखाउन वंशावली लेखाइयो। किनकि नेपालमाहात्म्यमा श्रीकृष्णले सुदर्शन चक्रबाट चोभारको डाँडो चिरेर पानी बाहिर निकास गरेको चर्चा छ। त्यसपछि काठमाडौंको प्रागैतिहासिक ताल सुक्यो र मानव बस्न योग्य भयो। अन्य पुराणहरूमा श्रीकृष्णले एकजना गोपालालाई राजा बनाएको वर्णन पढ्न पाइन्छ।

गोपाल वंश श्रीकृष्णकै वंशज भएकाले गोपालवंशलाई चन्द्रवंशका हुन् भन्ने गरिन्छ। भारतमा चन्द्र वंशअन्तर्गत ग्वालाहरू अर्थात् यादव समुदायसँग जोडिएको दाबी गरिन्छ। यही कुरा थाहा पाएर होला, नेता उपेन्द्र यादवले एक कार्यक्रममा काठमाडौं उपत्यकाका सबैभन्दा पुराना बासिन्दा त यादवहरू हुन् भनेका थिए। यस्तै, नेपालका पौराणिक मान्यतालाई सत्य मान्नेहरूले लिच्छविहरूलाई चन्द्रवंशी वंशसँग जोड्छन्। यस्तै, मल्ल वंशलाई सूर्यवंशी/रघुवंशी भनिने गरिएको छ। शाह वंशले पनि आफूहरूलाई सूर्यवंशीय हौँ भन्ने दाबी गर्छन्।
भगवान्को वंशवृक्ष पुराणमा लेखिएको हो। पुराण नै पौराणिक कथा भएकाले भगवानका वंशवृक्ष पनि पौराणिक कथा अर्थात् काल्पनिक मात्र हुन्।
राजनीतिक–धार्मिक स्वार्थ
गोपालराज वंशावली १४–१७ औँ शताब्दीबीच मल्ल कालमा क्रमशः तयार पारिएका विभिन्न पाण्डुलिपि र प्रतिलिपिहरूको मिश्रित सङ्ग्रह हो। मल्ल शासनकालको राजनीतिक–धार्मिक वातावरण ब्राह्मण–वैदिक परम्पराले निर्देशित थियो, जहाँ राज्यसत्ता वैदिक देववंशीय आदर्शसँग जोडिनु नै शासकको वैधता (Legitimacy) प्रदर्शन गर्ने मुख्य साधन मानिन्थ्यो। यस्तो सन्दर्भमा, इतिहासको वास्तविक तथ्य सङ्कलनभन्दा पनि ‘राजकीय उत्पत्ति’ र ‘दैविक मूल’ बनाउने प्रयास बढी देखिन्छ।
यसै कारण, गोपालराज वंशावलीले स्थानीय जातीय, भाषिक र सांस्कृतिक समुदायहरूको प्रारम्भिक इतिहासलाई व्यवस्थित रूपमा खोज्नेभन्दा पनि, नेपालका पुराना शासकहरूलाई वैदिक किम्वदन्तीसँग जोडेर वैधता निर्माण गर्ने उद्देश्यलाई प्राथमिकता दियो।
गोपाल–महिषपाल वंशहरूको कथित राजवृत्त वंशावलीमा राखिनु पनि यसै राजनीतिक–धार्मिक उद्देश्यसँग सम्बन्धित छ। राजवृत्त भनेको राजाहरूको कथा–इतिहास, शासन–क्रम, वंश–परम्परा र तिनीहरूसँग सम्बन्धित मिथक–किम्वदन्तीहरूको समग्र विवरण हो।
नेपाल खाल्डोको राजवृत्तमा गोपाल–महिषपाल वंश मिथकीय रूपमा जोड्नुको एक मात्र उद्देश्य नेपाल खाल्डोमा प्रागैतिहासिक कालदेखि वैदिक आस्था राख्ने प्राचीन राजवंश थिए भन्ने छाप सिर्जना गरेर मल्लकालीन राज्यसत्तालाई देववंशीय आधार दिनु थियो।
यसरी, गोपालराज वंशावली इतिहास लेखनको दस्तावेजभन्दा, नेपालको राजनीतिक–धार्मिक पहिचान निर्माण गर्ने ‘राजकीय उपकरण’ का रूपमा स्थापित गरियो। कालान्तरमा इतिहास लेखन गर्नेहरूले ती दुई वंशका पुरातात्त्विक वा भाषिक प्रमाण खोजेर कायम गर्नु पर्थ्यो, होइन भने हटाउनु पर्थ्यो।
नेपालमा पुरातत्त्व, भाषाविज्ञान, मितीकरण आदिका तथ्याङ्क विश्लेषण गर्ने प्रविधि अझै कमी छ। नेपालको इतिहास मूलतः पण्डित परम्पराबाट अघि बढेको हो। अतः नेपाली इतिहासकारहरूले हिन्दु मिथक, देववंशीय कथा र पुराणमा उल्लेख भएका सन्दर्भहरूलाई इतिहासका रूपमा ग्रहण गरे। यसलाई प्रश्रय दिने काम अंग्रेज लेखक डानियल राइटले पनि गरे। उनले The History of Nepal (सन् १८७७) शीर्षक पुस्तकमा गोपालराज वंशावलीलाई शाश्वत सत्य मानेर लेखेका छन्।
यसो भन्ने आधार के पनि हो भने उनीहरू इतिहासमा धार्मिक–आस्थामूलक कृतिहरू बारम्बार जोड्छन्। लेखाइ पनि कस्ता छन् भने ती कथाहरूलाई ऐतिहासिक यथार्थजस्तो गरी प्रस्तुत गरिन्छन्। यसैकारण, नेपालको प्राचीन इतिहास अस्पष्ट त छँदैछ, भ्रमपूर्ण पनि बनाइयो।
यसरी, वैज्ञानिक मान्यताका अभावका कारण, वंशावलीमा उल्लेखित गोपाल–महिषपाल वा अत्यन्तै लामो किरात–राज्यजस्ता मिथकीय संरचनाहरूलाई पनि वस्तुगत परीक्षण नगरी स्वीकार गरियो। अर्कोतिर, मिथकलाई इतिहासका रूपमा स्थापित गर्दा उपत्यकाको वास्तविक प्रागैतिहासिक मानव बसोबास, संस्कृतिको विकास, भाषा–परिवर्तन, पुरातत्त्वीय तहक्रम आदि गम्भीर रूपमा ओझेलमा परे।
नेपालमा वैज्ञानिक तथ्य भन्दा पनि पुरानो इतिहासलाई धार्मिक–कथात्मक सत्यका रूपमा बुझ्ने समूह हिजोआज पनि मनग्गे छन्। उनीहरूलाई के थाहा छैन भने कुनै कुरा इतिहास हुन यसले निश्चित कुराहरू प्रमाण माग्छ, जस्तो: पुरातत्त्व, जीवाष्म, भाषा इत्यादि।
निष्कर्ष
नेपाल खाल्डोको इतिहास लेखनमा वास्तविक भौतिक प्रमाणलाई खुलारूपमै स्वीकार नगरी, उपत्यकाको सभ्यता हिन्दु धार्मिक आरम्भबाटै शुरू भयो भन्ने छवि बनाउन खोजियो। यसले पूर्व–हिन्दु सभ्यता रहेको तथ्यलाई परोक्ष रूपमा ओझेल पारेर उपत्यकाको पहिलो मौलिक सभ्यता हिन्दु थियो भन्नु गलत इतिहास स्थापित गर्नु हो। यहाँ हिन्दुहरूले सभ्यता सुरु गरेको भए, यहाँका प्राचीन शब्दहरू भारोपेली भाषा परिवारका हुन्थे। तर, त्यस्तो छैन।
काठमाडौं उपत्यकाको इतिहासलाई बुझ्न ढुंगा, औजार, बस्तीका तह र पुराना प्रतीकहरूको अध्ययन महत्त्वपूर्ण हुन्छ। तर, उपलब्ध उत्खनन–तहबाट यहाँको सभ्यता गोपाल–महिषपालबाट सुरू गरेको भन्ने प्रमाण छैन।
अर्कोतिर, उपलब्ध प्रमाणहरूले काठमाडौं उपत्यकामा किरातलाई सांस्कृतिक–समुदायको रूपमा मात्र पहिचान वा स्वीकार गरेको छ। किरातलाई राजकीय वंशका रूपमा पुष्टि गर्ने अहिलेसम्म पुरातात्त्विक प्रमाण फेला परेको छैन।

नेपाल खाल्डोमा राजाको मूर्ति अहिलेसम्म जय वर्माको मात्र हाँडीगाउँ नजिक माली गाउँका रामभक्त खड्काले घर बनाउने क्रममा जग खन्दा ०५४ सालताका फेला पारेका थिए। त्यो पूर्ण कदको सुन्दर प्रस्तर शालिकको पादपीठमा प्राचीन लिच्छवि लिपिमा राजा जयवर्मा लेखिएको छ। यो सन् १८५ ताका बनाइएको रहेछ। यो शालिक छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ।
नेपाल खाल्डोमा किरात वंशले शासन गरेका थिए भन्ने पुष्टि गर्न थप उत्खनन आवश्यक छ। यसका लागि किरात मुद्रा, किरात राजाका शालिक, दरबार वा अन्य केही प्राप्त हुनुपर्छ। उत्खननमा यस्ता पुरातात्त्विक सामग्री वस्तुहरू फेला परे किरात राज्य रहेको पुष्टि हुन्छ। अन्यथा, अहिलेसम्मका उपलब्ध प्रमाणहरूले काठमाडौं उपत्यकामा किरात सभ्यता मात्र थियो भन्ने बताउँछ।
थोरै सम्भावना, यदि किरात राज्य थियो भने यसका प्रमाणहरू नष्ट गरिएको हुन सक्छ।
प्रतिक्रिया 4