कुनै पनि खेलमा
जसरी पनि जित्नै पर्ने ऊ
अनि
कसैगरी हार्नै नमान्ने म
जब एउटै युद्ध मैदानमा
एउटै युद्ध लड्न सामेल भयौं
लागिरह्यो- अब नतिजा के होला ?
सुनेको हो
युद्ध विनाश हो,
देखेकै हो
युद्ध भयानक हुन्छ
अनि महसुस पनि गरेकै हो
युद्ध अप्ठ्यारोमै लड्नुपर्छ ।
र यो भन्दा बढी
यो भन्दा माथि गएर
युद्धको नियम
योद्धाले आफैं निर्धारण गर्न पनि त सकिने रहेछ
आफ्नो युद्धको स्थिति
आफैं बसाल्न पनि त मिल्ने रहेछ
हामीले यही गर्यौं ।
युद्ध न हो
दुवै मिली लड्यो भने
जिन्दगीको युद्धमा
आइलाग्ने प्रहारहरूलाई
दुवै मिली छेक्न सकिने रहेछ,
एउटाको जितमा अर्काले हार मान्नै पर्दैन
त्यहींभित्र जित भेट्न सकिने रहेछ ।
आखिर जिन्दगीको युद्ध यस्तै त रहेछ
मिलेरै लड्न पनि मिल्ने रहेछ
अर्कोलाई नखसाली अघि बढ्न पनि मिल्ने रहेछ
युद्धमा जित्नै पर्नेले जितिरहँदा
अर्कोले नहार्न पनि मिल्ने रहेछ,
युद्ध भन्दैमा
एउटा अर्कोसँग क्रुद्ध बन्नै पर्छ र ?
सहयोद्धा बन्न पनि मिल्ने रहेछ
समान उद्देश्यको लागि लड्न पनि मिल्ने रहेछ ।
युद्धमा विनाश मात्र हुन्छ र ?
दुवैले जित्ने युद्ध पनि त हुने रहेछ ।
सबै मैदानका युद्ध
जिन्दगीकै युद्ध जस्तो त कहाँ हुन्छ र
जहाँ लड्दा लड्दै सहयोद्धा भेटियोस् !
प्रतिक्रिया 4