News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौंडामा सर्वोच्च अदालतको सडक विस्तार रोक्ने आदेशको उल्लंघनलाई कानुनी राज्यको नाङ्गो उपहास भनेका छन्।
- अध्यक्ष थापाले निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको र जनतामाथि गलत आरोप नलगाउन आग्रह गरेका छन्।
- उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले हेटौंडामा सडक विस्तारको विरोधमा पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।
२० मंसिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका हुन् ।
‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नू’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दै छ,’ अध्यक्ष थापाले लेखेका छन् ।
बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती र जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको उनले जिकिर गरेका छन् ।
‘शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ,’ अध्यक्ष थापाले भनेका छन् ।
यसअघि हेटौडामा भइरहेको सडक विस्तारको विरोध गर्दै नवगठित उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामाको घोषणा गरेकी थिइन् ।
प्रतिक्रिया 4