+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
143/5 (19.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares
पुस्तक समीक्षा :

मौन सुस्केरा : आधा आकाशको दाबी

बजारमा कविता कृतिको प्रकाशनमा व्यापकता छाइरहेको यो समयमा लक्ष्मी थापाका कविताहरूले आफ्नै अनुहार बोकेर यात्रामा निस्किएका छन्। उनी निबन्धका हातखुट्टा भाँचेर कविता बनाउने स्तरको कवि होइनन्।

शिव पलाँस शिव पलाँस
२०८२ मंसिर २० गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी थापाको 'मौन सुस्केरा' कविता सङ्ग्रहमा महिला जागरण, राष्ट्रप्रेम, सामाजिक न्याय र मानव संवेदनाका पचास कविता सङ्कलित छन्।
  • उनले कवितामा महिलामाथि पितृसत्ताको असमानता र अपमानको जञ्जिर चुँड्न विद्रोहको भाषा प्रयोग गरेकी छन्।
  • कविताले राज्यसत्तालाई नागरिक रोजगारमा म्यानपावर होर्डिङ बोर्डको भूमिका र परदेशमा बेचिएका युवाहरूको अवस्था देखाएको छ।

पोखराको माटोले जन्माएको, हुर्काएको एउटा जागरुक कविको नाम हो लक्ष्मी थापा। शिक्षण कर्म, सञ्चार कर्म, चुल्हो-चौको र सन्तानको जिम्मेवारी उठाएर बचेको अलिकति समय पनि उनले साहित्यमा समर्पण गरिन्। यस अर्थमा उनी एक स्वाभिमानी र सङ्घर्षशील नारी हुन्।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखराले प्रकाशन गरेको ‘मौन सुस्केरा’ कवि थापाको नवीन कविता सङ्ग्रह हो। यस पुस्तकमा महिला जागरण, राष्ट्रप्रेम, सामाजिक न्याय र मानव संवेदनाका पचास थान कविता सङ्कलित छन्।

विषयवस्तु र भावगत गहिराइ

कवि लक्ष्मी थापाका कवितामा जीवन हिँड्दै जाँदा पछाडि छोडिँदै गएका अनेकौँ पैतालाका डोबहरू छन्। त्यहाँ जीवन भोगाइका भिन्न-भिन्न रङहरू पोतिएका छन्, जस्तो कि आँसु, हाँसो, आक्रोश, विद्रोह, आशा, निराशा, खबरदारी र प्रश्नहरू।

त्यसो त, कवि स्वयंले स्वीकार गरेकी छन्— उनले आफ्नो जीवनका भोगाइहरूलाई नै कविताको आकार दिएकी हुन्। कविका भोगाइहरू फगत कविका भोगाइहरू मात्र पनि होइनन्; ती आधा आकाश र आधा जमीन ओगटेका समग्र नेपाली नारीहरूका पनि भोगाइ हुन्।

किनभने हाम्रो समाज त्यही हो, चेतना त्यही हो, प्रवृत्ति त्यही हो, अनि सत्ता र शक्तिमा दोहोरिने चेहरा अक्सर तिनै हुन्। समानता, प्रगतिशीलता, न्याय, सुव्यवस्था र माटोप्रेम उनका कविताहरूले देखेका सपना हुन्।

भूमिका लेखनका दौरानमा वरिष्ठ साहित्यकार सरुभक्तले लक्ष्मी थापालाई सामाजिक विकासप्रति प्रतिबद्ध कवि भनेका छन्। त्यसैगरी छन्दकवि माधव वियोगीले शुभेच्छाका शब्द गुच्छा अर्पण गर्दै लक्ष्मी थापा भाव अभिव्यक्तिमा परिपक्व कवि भएको बताएका छन्।

विद्रोह र विसङ्गतिको स्वर

आइमाईको

बुद्धि घुच्चुकमा

रिस नाकको टुप्पोमा हुन्छ

अलिकति गलत भन्यौ कि महाशय

यतिबेला मेरो रिस

नाकबाट सर्वाङ्ग फैलिँदै, फैलिँदै

पाखुरामा एकत्रित भएको छ। (‘आइमाईको बुद्धि र रिस’, पृ. १६)

यस कवितामा कवि थापाले युगौँदेखि महिलामाथि थोपरिएको असमानता र अपमानको जञ्जिर चुँडाल्न विद्रोहको भाषा बोलेकी छन्। समग्र नारी जातिलाई दोस्रो दर्जाको मान्छेका रूपमा चित्रित गर्ने पितृसत्ताको मनोविज्ञानप्रति मुट्ठी कसेकी छन्।

महिलाहरू निम्न चेतनाका र कमजोर मनोबल भएका मान्छेहरू होइनन् भन्ने जिरह गरेकी छन्।

राज्यसत्तालाई ऐना

नागरिक रोजगारको जिम्मा

म्यानपावर होर्डिङ बोर्डलाई सुम्पेर

बेला कुबेला

नयाँ नेपालको चुट्किला सुनाइरहन्छ सत्ता

तिनै होर्डिङ बोर्डका स्वप्निल बल्छीमा पसेर

उड्छन् र भरिन्छन्

बम्बई, दुबई, इजरायल

आदि नाम गरेका गोठहरूमा

हाम्रा निर्दोष

सुकोमल यौवन र पाखुरीहरू

(‘गोठहरूको स्वरूप’, पृ. ३०)

माथि उल्लेखित काव्य अंशले आफ्नो देशका नागरिक विदेशका गल्लीमा बेचेर विप्रेषणले पेट पालिरहेको राज्यसत्तालाई राम्रैसँग ऐना देखाइदिएको छ। त्यसैगरी ‘चिसा बाकस र आर्यघाट’ शीर्षकको कविताले पनि उस्तै प्रकृतिको भाव सम्प्रेषण गर्दछ।

रोजगारका निम्ति नेपालका गाउँ-शहरबाट विदेश नभासिएको त्यस्तो कुनै घर भेट्न अहिले मुस्किल हुन थालेको छ। परदेशबाट सधैँ सबैका निम्ति पैसाको बाकस मात्र आउँदैन। त्यस्ता बग्रेल्ती घटना-परिघटनाहरू पनि छन् जहाँ धन कमाउन परदेश उडेका छोराछोरीहरू काठको बाकसभित्र निर्जीवन फर्किएका छन्।

राजनीतिक विसङ्गतिमाथि प्रहार

बाजेले एक थाल मासुभातमै

बेचिदिए भोट

बाबुले एक बोरा चामलमा

तर तिमीले त्यसलाई

देश दोहनको लाइसेन्स बनाइदियौ (‘सम्बोधन चुनावलाई’, पृ. ५७)

प्रस्तुत कविताका पङ्क्तिहरूले एकातिर दाल, चामलमा बिक्नुपरेको जनताको गरिबी र अशिक्षालाई व्यङ्ग्य गरेका छन् भने अर्कोतिर चुनाव जित्नु भनेको राष्ट्रको ढुकुटीमा मनपरी गर्ने अनुमतिपत्र पाउनु हो भन्ने जनताका प्रतिनिधिको बुझाइमाथि पनि एकसाथ प्रहार गरेका छन्।

वास्तवमा देश खोक्रो हुनुमा कर्मचारीतन्त्र पनि कम्ती जिम्मेवार छैन। त्यो पाटोलाई पनि इङ्गित गर्न सकेको भए कविता शायद थप प्रभावशाली हुन्थ्यो। तथापि, नेताहरूका झुठ, बेइमानी र अपराधका कारणले लोकतन्त्र बदनाम भएको तथा नागरिकमा निराशा व्याप्त भएको विषयलाई भने कविताले मज्जैसँग बोलेको छ।

स्वाभिमानको मूल्यबोध

नाथे स्वाभिमान

कहिले शिरमा चढेर घाँटी निमोठेको छ

कहिले मुटुमा छिरेर कैँची चलाएको छ

न कसौँडीमा छड्काएर माड बनाउन मिल्ने

न तुनेर माघे ठिही छेक्न सकिने

न नाबालक छोराछोरीको दूधको तिर्खा मेटिदिन्छ

न बा-आमाको अस्पतालको बिल तिरिदिन्छ

(‘नाथे स्वाभिमान’, पृ. ८१)

‘स्वाभिमान’ नामको प्रस्तुत कविताले यो धूर्त, स्वार्थी र बेइमानहरूको आधिपत्य भएको दुनियाँमा भुइँ तहको मान्छेको अनुशासन, नैतिकता र स्वाभिमानको कुनै मूल्यबोध नभएको नमीठो सामाजिक यथार्थलाई झल्काएको छ।

हुन पनि, जसले गर्छ पाप, उसैको फलिफाप जस्तै देखिँदै गएको कलिजुगमा नाथे स्वाभिमानले आफैँलाई यातना दिनेबाहेक के नै गरेको छ र? न गास, बास दिएको छ न त कपास दिएको छ।

समष्टिमा हेर्दा कवि लक्ष्मी थापाका कविताका बुनोट सरल छन् तर तिनले सम्प्रेषण गर्ने भाव खँदिला छन्। उनका कवितामा समाजले पाखा लगाएको वर्गको साझा चासो सम्बोधन गरिएका छन्।

पाठकलाई पढ्दै जाँदा कविताहरूले आफ्नै कथा, आफ्नै व्यथा र आफ्नै सपनाहरू बोलिरहेका हुन् भन्ने महसुस भयो भने ती सफल सिर्जना हुन्। कवितामा विचार पक्ष बलियो छ। यी ‘मौन सुस्केरा’ कविता सङ्गालोका सकारात्मक पाटा हुन्।

लक्ष्मी थापाको लेखनमा सुधारात्मक पाटोहरू बारे चर्चा गर्दा, कवितालाई थप कलात्मक बनाउनका निम्ति सिँगार्न सकिने ठाउँहरू यदाकदा बाँकी देखिन्छन्। केही कवितामा उस्तै विषयवस्तु र भाव दोहोरिएको प्रतीत हुन्छ।

यसबाहेक, बजारमा कविता कृतिको प्रकाशनमा व्यापकता छाइरहेको यो समयमा लक्ष्मी थापाका कविताहरूले आफ्नै अनुहार बोकेर यात्रामा निस्किएका छन्। उनी निबन्धका हातखुट्टा भाँचेर कविता बनाउने स्तरको कवि होइनन्। कविता पढ्दा पाठकलाई कविता नै पढेको स्वाद मिल्दछ। उनका कविताहरू निरन्तर हिँडिरहून्। निकै पर-परसम्म पुगून्।

हाल – अमेरिका

लेखक
शिव पलाँस

शिव पलाँस कवि तथा गीतकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?