राजनीतिक दलहरूको रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहेकै बेला नेपालमा जेनजी विद्रोह भएको छ र उक्त बहस थप चुलिएको छ। यही पृष्ठभूमिमा एक प्रमुख दल नेकपा एमाले आफ्नो राष्ट्रिय महाधिवेशनको सँघारमा छ। देशको राजनीतिक अवस्था, जेनजी आन्दोलनले उठाएका शासकीय प्रश्नहरू र पार्टीको आगामी नेतृत्व चयन प्रक्रियालाई लिएर एमालेभित्रै फरक-फरक मत र गुटगत भेलाहरू भइरहेका छन्।
यही सन्दर्भमा, नेकपा एमालेका युवा नेता तथा विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक समेत रहेका महेश बर्तौला पार्टीभित्र लोकतान्त्रिक अभ्यास पूर्ण रूपमा खुला रहेको जिकिर गर्छन्। फरक मत राख्नेहरूलाई महाधिवेशनपछि पनि सबै नेताले ‘सँगै काम गर्नुपर्छ‘ भन्ने कुरा स्मरण गर्न उनले घुमाउरो भाषामा सचेत गराए।
पार्टीमा ओलीको नेतृत्व अपरिहार्य रहेको बताउने उनले युवा पुस्ताको प्रतिनिधित्व बारे भने, ‘पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिवमा त धेरै भन्न सक्दिनँ, तर सचिवमा पूरै नयाँ अनुहार आउनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं।‘
उनै बर्तौलासँग अनलाइनखबरका रघुनाथ बजगाईंले गरेको कुराकानीः
भक्तपुरको गुण्डुबाट सिधै मुख्यालय च्यासल आउनुभएको रहेछ। के छ गुण्डुको हालखबर ?
ठिक छ। भेटघाट, छलफल चलिरहेको छ। देशैभरिबाट नेता/कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरू आउनुभएको छ। पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग भेटघाट गर्ने, छलफल गर्ने, शुभेच्छाहरू प्रकट गर्ने, महाधिवेशनका बारेका विषय, सुझाव र नेतृत्व बारेमा कार्यकर्ताको तर्फबाट आफ्ना जिज्ञासाहरू नेता/अभिभावकलाई बताउने क्रम चलिरहेको छ।
महाधिवेशन केन्द्रित छलफल पनि त्यतै भइरहेको छ ?
महाधिवेशनसँग सम्बन्धित व्यवस्थापकीय कामका विषयहरूमा पनि त्यहाँ छलफल चलिरहेको छ। नेताहरू विभिन्न समितिका साथीहरूसँग छलफल गरिरहनुभएको छ। मिडियाकर्मी साथीहरूसँग पनि भलाकुसारी र छलफल चलिरहेको छ। यी नियमित प्रक्रियाको काममै अध्यक्ष हुनुहुन्छ।
पार्टीको मुख्यालय च्यासल, अनि महाधिवेशन केन्द्रित छलफल चाहिं अध्यक्षको निवासमा किन ?
पार्टी कार्यालयमा पनि उहाँको आगमन भइरहेको छ। यहींबाट पनि गतिविधि भइरहेकै छ। विभिन्न औपचारिक कार्यक्रमहरूमा ठूला–ठूला भेटघाट त सबै पार्टी कार्यालय मार्फत नै भइरहेको छ। सानातिना व्यक्तिगत प्रकृतिका भेटघाट र कार्यक्रमहरू सहजताका हिसाबले उहाँको निवासमा उपयुक्त हुन्छ।
यहाँ च्यासलमा पनि देशैभरिका कार्यकर्ताहरूको चाप बढिरहेको छ। महाधिवेशन केन्द्रित व्यवस्थापकीय कामका धेरै पक्ष यहींबाट भइरहेका छन्। तयारीका बैठकहरू यहीं चलिरहेका छन्। साथै, यहाँ भवन पुनर्निर्माण पनि भइरहेको छ। सबै विषयहरू सहज ढङ्गले उपलब्ध भइसकेका छैनन्। यी सबै कारणले गर्दा निवासबाटै र त्यहीं वरिपरिका केही कार्यालय मार्फत काम र भेटघाटहरू भइरहेका हुन्। यसलाई नियमित र स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्छ।
महाधिवेशन पार्टी जीवनको टर्निङ प्वाइन्ट पनि हो। जसले समय अनुसारको नीति र नेतृत्व चयन गर्ने विश्वास गरिन्छ। यहाँहरू यसपटक आफ्नो नीति र नेतृत्वमा कस्तो परिवर्तन ल्याउँदै हुनुहुन्छ ?
मुख्य कुरा, पार्टीको वैधानिक र नीतिगत पक्षका सन्दर्भमा हामीले व्यापक बहस गरिसकेका छौं। दोस्रो विधान महाधिवेशनमै यो काम भएको हो। अहिले विशेषगरी नेतृत्व निर्माणकै कुरामा ध्यान केन्द्रित गर्छौं। यो महाधिवेशनमा स्वाभाविक रूपमा अहिलेको विशिष्ट राजनीतिक परिस्थितिमा निकासका लागि कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा स्वाभाविक रूपमा बहस पैरवी हुने नै भयो। तथापि, मुख्यतया नेतृत्व निर्माणकै तहमा बढी ध्यान केन्द्रित गरेर अगाडि जान्छौं। मुलुक आज जुन असामान्य परिस्थिति, राजनीतिक अन्तरविरोधमा फसेको छ, विभिन्न चुनौतीका बीचबाट हामी अगाडि बढिरहेका छौं, यसलाई चिरेर अगाडि बढ्न सक्ने नेतृत्व नै चुन्छौं।
कस्तो नेतृत्व भन्दा पनि कुन नेतृत्व भन्ने प्रश्नमा हो ? किनभने, मूल नेतृत्वका दुई दाबेदार स्पष्ट देखा परेकै छन् !
अहिलेको अवस्थामा बाह्य चुनौतीसँग सामना गर्नका लागि आन्तरिक एकता र समझदारीलाई सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने हाम्रो जिम्मेवारी र कार्यभार हो। यो कार्यभारलाई पूरा गर्ने सामर्थ्यका आधारबाट यो महाधिवेशनले नेतृत्व चयन गर्छ।
त्यसपश्चात्, अहिलेको असामान्य परिस्थितिलाई लोकतान्त्रिक र संवैधानिक धार मार्फत मुलुकलाई अगाडि बढाउने, नागरिकका अपेक्षाहरू पूरा गर्ने, मुलुकको स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतालाई सुदृढ बनाउँदै जाने हाम्रो लक्ष्य हो।
यस सन्दर्भमा हाम्रो पार्टीले विशेष पहलकदमी लिन्छ। नागरिकका तमाम मुद्दालाई केन्द्र भागमा राखेरै जनताका बीचमा जोडिने हो। यस प्रकारका काम यो महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व मार्फत अगाडि बढाउँछौं। यसकारण यो महाधिवेशनमा हाम्रो ध्यान उपयुक्त नेतृत्व चयनमा छ- केन्द्रीय निकायहरूमा, केन्द्रीय पदाधिकारीमा र समग्र लिडरसिपमा उपयुक्त र सक्षम नेतृत्व निर्माणको कुरा हो।
नेतृत्व चयन गर्ने यो महाधिवेशन जेनजी आन्दोलन अगाडि नै तय भएको हो। दुई दिनको आन्दोलनले सत्तापलट गऱ्यो, दुई तिहाइ बहुमतको सरकार विस्थापित भएर नागरिक तहबाट सरकार बनेर मुलुक अगाडि बढ्दैछ। यो विषयमा केही छलफल हुनुपर्दैन ?
पहिलो कुरा, नागरिकका केही गुनासाहरू नभएका होइनन्। शासकीय कार्यशैली र प्रवृत्तिप्रति केही प्रश्न र जिज्ञासाहरू जेनजी युवाहरूको प्रदर्शनका क्रममा उठाउनुभएको छ। उहाँहरूले उठाएका सृजनात्मक र रचनात्मक माग मार्फत ती कुराहरूको प्रकटीकरण थियो।
मुलुकमा फेरि केही पनि नभएको भन्ने होइन। केही हुँदाहुँदै पनि कतिपय हाम्रा शासकीय कार्यशैलीका कारणले गर्दा केही सृजनात्मक मागभित्र केही घुसपैठ भएर मुलुकले एउटा ठूलो क्षति बेहोर्नुपऱ्यो।
तथापि, त्यो परिस्थितिबाट हामीले नागरिक अपेक्षा र शासकीय भूमिकामा रहेका तहबाट खेल्नुपर्ने, निर्वाह गर्नुपर्ने क्रियाकलाप र भूमिकामा ग्याप सिर्जना हुँदाका परिणामबारे चाहिं हामीले कहिलेकाहीं महसुस गरेका पनि छौं।
यो महसुस महाधिवेशन प्रतिनिधिले महाधिवेशनको हलभित्र पनि अभिव्यक्त गर्न पाउँछन् पाउँदैनन्? कि नेतृत्वले जे खालको निचोड निकाल्छन् त्यसलाई समर्थन गरेर अगाडि बढ्ने हो ?
यस्तो छ- सिङ्गो मुलुकलाई सरल, सहज ढङ्गबाट, वैधानिक मार्गबाट अगाडि बढाउने कुरामा सबैको साझा कर्तव्य हो। सरकारले आफ्नो भूमिका, कर्तव्य र जिम्मेवारीहरू निर्वाह गर्नुपर्छ। आम नागरिकहरूले पनि त्यो भूमिका निर्वाह गर्नुपर्छ। त्यसकारण एउटा मात्रै पाटोबाट जेनजीको प्रदर्शन र त्यसबाट सिर्जित घटनाहरूलाई हेरिनुहुँदैन।
त्यसभित्र त्यो समग्र परिस्थिति सिर्जनाका कारणहरू राजनीतिक कारण मात्रै हुन् त? तत्कालीन सरकारको जिम्मेवारी मात्रै थियो त? राज्यका अन्य स्टेट मेसिनरीहरूको भूमिका के थिए त? आम नागरिकहरूको भूमिका के हो ?
तपाईंले उठाउनुभएका यी प्रश्नहरू सहितको समीक्षा एमालेको हुँदै गरेको महाधिवेशन हलभित्र हुन्छ कि हुँदैन ?
हामीले जेनजी प्रदर्शनपछिको उत्पन्न परिस्थिति पश्चात् नै केन्द्रीय कमिटी बैठक राख्यौं र त्यहाँ तीन दिन लगातार यही नै विषयमा छलफल गऱ्यौं। अध्यक्षज्यूले विशेष राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो, यही प्रस्तावकै बारेमा व्यापक बहस, छलफल गरेर केन्द्रीय कमिटीको बैठकबाटै २३ बुँदे सर्वसम्मत प्रस्तावहरू पारित गरेर आयौं।
त्यतिबेला केन्द्रीय कमिटीले जे दृश्य देख्यो, जे समस्या देख्यो, सबै नेताहरूको सहभागितामा, सबैको धारणा लिएर जे निष्कर्ष निकाल्यौं, त्योभन्दा विल्कुल फरक निष्कर्ष फेरि महाधिवेशनको मञ्चमा हुने त होइन।
तर, यसलाई आन्तरिक लोकतन्त्रसँग जोडेर हेरिंदैछ, छलफल नै गर्न नपाउने, कुरा उठाउन नै नपाउने भन्ने पनि हुन्छ त ?
पार्टीका श्रद्धेय वरिष्ठ नेताको लेभलको नेताहरूको मैले धेरै कुराहरू गर्न सुहाउँदैन। हामी भुइँपुस्ताकै कार्यकर्ता हौं। तथापि यति भन्न सक्छु— जुन ढङ्गको उहाँले आफ्नो औपचारिक उम्मेदवारी दावी गरिरहनुभएको छ, अवधारणा पत्रहरू सार्वजनिक गरिरहनुभएको छ, अध्यक्षज्यूलाई पेश गरिरहनुभएको छ, खुलमखुला रूपमा पार्टीको विषयमा विभिन्न कोणबाट नेतृत्वकै बारेमा, अन्य पक्षका बारेमा जसरी बोलिरहनुभएको छ, यही नै होइन विधि ?
हाम्रो पार्टीभित्रको लोकतान्त्रिक विधि र प्रक्रियाका माध्यमबाट समग्र क्रियाकलापहरू अगाडि बढ्छ भन्ने कुराको सबैभन्दा फराकिलो नमूना नै यही हो। त्यसकारण कुनै कुराको बन्देज छ ? कुनै कुराको छल/छेकबार छ ? छैन।
तथापि, केही विषय छन्। एकातर्फ पार्टी महाधिवेशनलाई भव्यताका साथ लाखौं जनताको सहभागितामा गराउनुपर्छ भनेर तयारीमा जुटिरहनुभएको छ। उहाँहरू भने विभिन्न ठाउँमा, होटलहरूमा पत्रकार सम्मेलन गर्दै, भेलाहरू गर्दै, विभिन्न खालका दस्तावेजहरू सार्वजनिक गरिरहनुभएको छ।
एउटा छलफल र भेला गुण्डुमा, अर्को छलफल र भेला थापागाउँमा। कार्यक्रमहरू पनि फरक–फरक। यस्तै हुन्छ लोकतान्त्रिक अभ्यास ?
नेकपा एमाले जनवादको कार्यनीतिलाई स्वीकार गरेर अगाडि बढेको छ। प्रतिस्पर्धालाई हामी स्वीकार पनि गर्छौं। हामीले हाम्रो पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक विधिको अभ्यासलाई उच्चतम ढङ्गबाट उपयोग पनि गर्दै आएका छौं। यस बमोजिम आठौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गर्दै आयौं।
पार्टीहरू जनताबाट अनुमोदित हुने, नेताहरू कार्यकर्ताबाट अनुमोदित हुने यस प्रकारको कार्यनीतिलाई स्वीकार गरेर अगाडि बढेको पार्टी हो। महाधिवेशनको बेलामा, त्यो पनि नेतृत्व चयनको सन्दर्भमा, कुन नेतृत्व ठिक छ भन्ने ढङ्गको बहस हुने कुरालाई आजको खुला समाजमा र खुला राजनीतिमा बन्देज लगाउन जरूरी छैन, हुँदैन। त्यसकारणले यो खुला पनि छ, बन्देज लगाइएको छैन। तथापि, एउटा सीमामा सबै बस्नुपर्छ।
यो महाधिवेशन तीन दिनमा सम्पन्न हुन्छ, त्यसपछि फेरि पनि पार्टीमा एकै ठाउँमा बसेर एउटै छातामुनि बसेर काम गर्नुपर्छ। त्यसकारणले पार्टीमा महाधिवेशन सकिएपछि पनि सँगै काम गर्नुपर्छ भन्ने कुरा चाहिं सबैले सम्झेर आफ्ना गतिविधि गर्नुपर्छ। यो नेतृत्वहरू, पद वा जिम्मेवारी भनेका सब अस्थायी कुराहरू हुन्।
यो कुरा अध्यक्ष केपी ओलीको हकमा पनि लागू हुँदैन ?
पार्टीका अध्यक्षज्यू सिङ्गो पार्टीका सबै नेताहरूको साझा अध्यक्ष हो। यसकारण सबै त्यहाँ (गुण्डु) पुग्नुहुन्छ। त्यहाँ र हाम्रो अध्यक्षजीले कुनै गुटबन्दी गर्नुपर्ने, कुनै फरक ढङ्गबाट कसैलाई हेलाँहोचो गर्नुपर्ने, यो पार्टीमा को ठीक को बेठीक भनिरहनुपर्ने त्यो छँदै छैन। उहाँले त्यो गरिरहनु पनि भएको छैन। त्यस आधारमा उहाँले सबैलाई समेटेरै यो पार्टीको एउटा सर्वस्वीकार्य नेताको रूपमा हुनुहुन्छ। भोलि पनि उहाँ यो महाधिवेशनबाट सर्वस्वीकार्य नेताकै रूपबाट अगाडि बढ्नुहुन्छ।
चुनाव जिते पनि सर्वस्वीकार्य, हारे पनि सर्वस्वीकार्य ?
म यति कुरा स्पष्ट शब्दमा भन्छु— हरेक नेताहरूले प्रतिस्पर्धाको तहमा आफूलाई उभ्याउँदै गर्दा पनि उहाँहरू स्वयंलाई थाहा छ – समग्र पार्टीको अहिलेको स्थिति, सिङ्गो देशको आजको जे वास्तविकता हो, जे अवस्था छ, यो विषम परिस्थितिमा यो चुनौतीको सामना गर्न सक्ने नेतृत्वबारे उहाँहरू जानकार हुनुहुन्छ।
यसकारण यो महाधिवेशनको अन्तिमसम्म नेताहरूको बीचमा एउटा उच्चतम समझदारीमा पुग्नुहुन्छ, हार्दिकता कायम गरेरै अन्तिमसम्म सबै पदाधिकारीमा सर्वसम्मत हुने अवस्था बन्छ। भएन भने पनि मुख्य पदहरूमा सर्वसम्मत भएर अगाडि बढ्ने परिस्थिति देखिन्छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकै प्रस्ताव र समर्थनमा सम्मानित पूर्वप्रधानमन्त्री हाम्रा पार्टीका अध्यक्ष आगामी एक कार्यकालका लागि यो पार्टीको अध्यक्ष हुनुहुन्छ।
व्यक्तिगत रूपमा केपी शर्मा ओलीका लागि यो महाधिवेशनबाट नेतृत्वमा पुग्ने नपुग्ने वा अध्यक्ष बन्ने नबन्ने विषय उहाँ स्वयं व्यक्तिको लागि गौण विषय हो। यो एमालेको लागि, सिङ्गो एमाले जनको लागि उहाँको उपस्थिति आवश्यकता हो। एमालेका लागि मात्र होइन सिङ्गो देशको लागि उहाँ आवश्यक हो।
जेनजी आन्दोलनले दलहरूमा पनि पुस्तान्तरण चाहेका छन्। यो एमालेले नस्वीकार्ने पक्का भयो हो ?
त्यही पुस्ताहरू, त्यही युवाहरू पनि सम्मिलित भएको पार्टी हो नेकपा एमाले। त्योभन्दा बाहिरको पार्टी होइन। जनताको बीचमा स्थापित लोकप्रिय पार्टी हो। हाम्रो पार्टीको नेतृत्व निर्माणको हाम्रो आफ्नै एउटा विशेष खालको संस्कृति, परम्परा र विधि छ। त्यही विधिबाटै निर्देशित भएर हामीले हाम्रा काम अगाडि बढाउँछौं। बाहिर एमालेलाई नरुचाउने पक्षहरूले एमाले कमजोर देख्न चाहन्छन्। त्यसकारण एमाले कमजोर भइदिनुपर्छ भन्ने हुँदैन।
एमालेको नेतृत्व चाहिं फरक अरू कोही आइदियोस् भन्ने कसैले चाहना गर्छ भने त्यस्तै चाहना बमोजिम नै हामीले नेतृत्व चयन गरिदिनुपर्छ भन्ने पनि हुँदैन। हामी हाम्रो नेतृत्व चयन सुझबुझपूर्ण ढङ्गबाट गर्छौं। एघारौं राष्ट्रिय महाधिवेशनमा छनोट भएर आएका २२ सय ६८ जना प्रतिनिधिहरूको सार्वभौम अधिकार छ। उहाँहरूले जसलाई तय गर्छन्, त्यसैले नै नेतृत्वको रूपमा आफूलाई उभ्याएर अगाडि जाने हो।
भनेको जेनजी पुस्ताले एमाले महाधिवेशनबाट पाउने सन्देश यही हो, होइन ?
म भन्न चाहन्छु– भ्रष्टाचार मुक्त, सुशासनयुक्त, विधिको शासनयुक्त, संवैधानिक सरोकार भएको देश बनाउनुपर्छ, सुदृढ स्वाभिमान र सहिष्णुता भएको देश बन्नुपर्छ। यो चाहना रहेका आजका युवा पुस्ताहरू हाम्रो पार्टीमा छन्। हामीले प्रत्येक चार जनामा एक जना त्यही पुस्तालाई यो महाधिवेशनमा समावेश गरेका छौं। उहाँहरूले निर्णय गर्नुहुन्छ अब।
झन्डै ५०० को हाराहारीमा आजका योङ जेनेरेसनहरू यो महाधिवेशनमा छन्। अझ त्योभन्दा बढी वरिपरि उमेर समूहका हिसाबले पनि रहेका छन्। त्यो पुस्ताले, त्यो उमेर समूहले उपयुक्त नेतृत्व निर्माणको लागि यो महाधिवेशनको हलमा आफैं उपस्थित भएर निर्णय गर्नुहुनेछ। यति कुरा हो कि – आजका जेनजी युवाहरूले उठाएको, उहाँहरूका जे माग छ, जे चाहना छ, त्योभन्दा बाहिर एमाले छैन।
‘अन्डर फोर्टी’ युवाहरूलाई यो महाधिवेशनको औपचारिक हलमा उपस्थित हुन वैधानिक बाटो बनाइएको छ। केन्द्रीय समितिदेखि तलसम्म समेट्ने वैधानिक काम भएको छ। युवाहरूलाई केन्द्रीय लिडरसिपमा पुऱ्याउनका लागि ‘सेन्टर पहुँच’ स्थापित गर्न जसरी अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थित गर्नुभएको छ, यो कुराले के देखिन्छ भने– नेकपा एमालेको आजको नेतृत्व युवा पुस्तालाई अगाडि लगाउनका लागि तयार हुनुहुन्छ।
युवाहरूको प्रतिनिधित्व केन्द्रीय समितिसम्म सीमित हुन्छ कि माथितिर पनि उक्लन्छ ?
स्वाभाविक रूपमा केन्द्रीय निकायहरूमा युवाको उपस्थिति भारी हुन्छ यो पटक, यो कुरा उपस्थितिले देखाएको छ। नयाँ अनुहारहरूको उपस्थिति पनि व्यापक हुन्छ। र अर्को कुरा के छ भने, जहाँसम्म पदाधिकारीको कुरा छ, भोलि पोलिटब्युरो हुन्छ, भोलि हामीले पदाधिकारी बनाउँछौं। पदाधिकारीमा मैले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिवमा त धेरै भन्न सक्दिनँ, तर सचिवमा पूर्ण रूपमा (टोटल) नयाँ अनुहार आउनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं।
ती अनुहारमा युवाको प्रतिनिधित्व पनि हुन्छ। यो अवस्था अवश्य देखिन्छ। नयाँ भन्ने बित्तिकै नयाँ नेतृत्व आउनुहुन्छ भन्ने बित्तिकै युवा साथीहरूको, युवा नेतृत्वको त्यहाँ उपस्थिति जरूर हुन्छ। अब व्यक्तिगत रूपमा को पर्नुहुन्छ, पर्नुहुन्न दोस्रो कुरा हो। तर अहिले सचिवहरूमा चाहिं अलमोस्ट शतप्रतिशत सचिवको पदमा चाहिं युवाहरूको सङ्ख्या रहने अवस्था म देख्छु।
तपाईं पनि पदाधिकारीकै लाइनमा हो ?
म अहिले पार्टीको केन्द्रीय सदस्यको रूपमा छु। स्वाभाविक रूपमा हामीले पार्टीले दिने जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न सक्छौं भन्ने त्यो सक्षमता पहिलो कुरा हामीले आफूलाई त्यस तहबाट उभ्याउन जरूरी छ। र युवाहरू चाहिं पदका लागि मात्रै र पदलाई केन्द्रमा राखेर वा पदलाई गन्तव्य बनाएर हिंड्छन् भन्ने एउटा पछिल्लो भाष्य स्थापित पनि हुन खोजिरहेको छ, त्यसकारणले गर्दा त्यो चिजलाई पनि हामीले ख्याल गर्नुपर्छ।
युवाहरू पदका लागि मात्रै होइनन्। आएका सबै जिम्मेवारी पूरा गर्न त सक्छन्। त्यो क्षमता राख्छन्। त्यस प्रकारको तयारीमा हुनुपर्छ। हो, त्यो ठाउँबाट पनि आफूलाई उभ्याउँदै आवश्यक जिम्मेवारीको लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्छ। मेरो व्यक्तिगत रूपमा चाहिं हाम्रो कम्युनिस्ट पार्टीमा विशेष गरी नेतृत्व निर्माणको आफ्नै खालको एउटा शृङ्खला छ।
उठ्दा जितिएला एउटा पाटो हो, तर जितिने कुराबाट मात्रै सबथोक निर्धारण हुँदैन। त्यसकारणले गर्दा अब सिनियर नेताहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। उहाँहरू त्यो प्रतिस्पर्धाको तहमा जाँदै गर्दाखेरि उहाँहरूले पनि मेरो भावना प्रकट गर्नुहुन्छ भन्ने बुझाइका आधारमा हामी अगाडि बढ्नुपर्छ।
अहिले पछिल्लो चरणमा हामी युवाहरूले दुई तीनोटा कुरामा ख्याल गर्नुपर्नेछ:
पहिलो, युवाहरूले आफूलाई सबै तहको जिम्मेवारी पूरा गर्न सकिन्छ भन्ने त्यो तयारीमा सक्षमताका साथ उपस्थित हुनुपर्छ।
दोस्रो, एकल एकल आफू–आफूलाई केन्द्रमा राखेर हेर्ने प्रवृत्ति पनि पछिल्लो चरणमा युवाहरूमा विकास भइरहेको छ। त्यो चिजबाट हामी चाहिं आफूलाई बाहिर राखेर एकीकृत पहलकदमी गर्नुपर्छ त्यो पार्टीभित्र।
तेस्रो, युवाहरूको बीचमा सबै अन्तरराजनीतिक दलहरूको बीचमा पनि संवाद र सहकार्यहरू, पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक विधिको माध्यमबाट ‘सेन्ट्रल पहुँच’ स्थापित गर्नका लागि अन्तर पार्टी एक प्रकारले सहकार्य पनि जरूरी छ। ताकि सबै पार्टीमा वैधानिक सुनिश्चितताको मात्रै माध्यमबाट युवाहरूको प्रतिनिधित्व केन्द्रीय निकायहरूमा, त्योभन्दा माथिल्लो तहहरूमा हुने कुराको आधार सुनिश्चित गर्ने काम गर्नुपर्नेछ।
युवाको प्रतिनिधित्व युवा चेत सहितको हुन्छ कि आलोचना र समर्थनको आधारमा? चयन गर्दा मूल्याङ्कनको आधार के हो ?
जरूर कम्युनिस्ट पार्टीहरूमा आलोचनात्मक चेतकै आधारबाट ठीक सत्यलाई समर्थनको दृष्टिबाट हेर्नुपर्छ। असत्यलाई आलोचनाको दृष्टिबाट हेर्नुपर्छ। प्रतिनिधि सार्वभौम सङ्गठित सदस्यहरूको बीचबाट अनुमोदित भएका छन्। कतिपय सर्वसम्मतको प्रक्रियामा पनि खुला छलफल र बहसको माध्यमबाट भएर आएका छन्। त्यसकारण समर्थन र आलोचना पनि छ।
कहिलेकाहीं राजनीतिक पार्टीमा कतिपय अवस्थामा यहाँले भनेकै जस्तो नहुन सक्छ। कतिपय अवस्थामा व्यक्ति पक्षधरताको कुरा होला। आम रूपमा भन्ने हो भने हाम्रो पार्टीमा नीति, दृष्टिकोण, सिद्धान्तमा धेरै बहस चाहिं विभाजित हुने गरी छैन। जब नीतिमा धेरै बहस विभाजित हुने गरी छैन भने कैयौं कुराहरूमा चाहिं अब एक साथीले पाउने अवसर र अर्को साथीले तुलना गर्दा खेरि एकआपसमा असमानताको जस्तो देखिएला।
अन्यथा, आम रूपमा पार्टीभित्रकै साथीले जिम्मेवारी पाउँदै गर्दा प्रतिनिधित्व छ। म शतप्रतिशत त भन्दिनँ, तर औसतमा चाहिं ठीक ढङ्गबाटै, सन्तुलित, उपयुक्त ढङ्गबाट सबैलाई समेटेर पार्टी अगाडि बढ्दै आएको छ र फेरि पनि अगाडि बढ्छ।
प्रतिक्रिया 4