+
+
Shares

कुनै खबर पढेपछि कहिलेकाहीं…

…नवराज विक भागिरहेका छन् भेरीको किनारैकिनार र, प्रेमको हत्यार्थ जमजमाइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते ७:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाजमा हिंसा, अन्याय र शोषणका घटनाले मानिसहरूलाई निराश र असहाय बनाएको महसुस भयो।
  • अधिकारहीन र निर्दोष मानिसहरू पीडित बनेका छन् र उनीहरूको भविष्यप्रति अभिभावकहरू चिन्तित छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
कुन खबर ?
फेरि जङ्गल उनीहरूकै कब्जामा परेको खबर ।
ए, त्यही खबर ?
हो, त्यही खबर ।
ए, ए… फेरि झ्यास–पतिङ्गरहरूले वसन्त चुनेको खबर ?
हो, हो… त्यही खबर ?
अच्छा, दुम्सीहरूले आफ्ना गन्धोस्ताद
र कण्टककेशरी रोजेको खबर ?
हो, हो… सोही खबर ।
ए, ए, ए… फेरि रैतीहरूले पुरानै महाराज वरण गरेको खबर ?
हो, हो, हो… उही खबर ।
यो खबर पढेर मलाई कस्तो महसुस भयो ?
हो, भन्दिनुस् न,

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

मलाई यस्तो महसुस भयो-
जस्तो: दुःशासनले द्रौपदीको सारीको
सप्कोमा झम्टा मार्‍यो
र तमासबीनहरूले करतलध्वनिमा
अनुमोदन गरे निरीह नग्नता

जस्तो: वर्तमानको बचेखुचेको-
करिब १ सय ४० नानोग्राम-
लुसिफेरिन उज्यालोलाई
निल्यो भविष्यको अन्धकारले
र, बिलखबन्दमा छन् जूनकिरीहरू
रुनु कि हाँस्नु ? टिमटिमाउनु कि नटिमटिमाउनु ?

जस्तो: नवराज विक भागिरहेका छन् भेरीको किनारैकिनार
र, प्रेमको हत्यार्थ जमजमाइरहेको छ
लाठी, भाला र ढुङ्गा बोकेर
ठकुरी भीड

जस्तो: जर्ज फ्लोयडको घाँटी छटपटाइरहेको छ
डेरेक सोभनको घुँडामुन्तिर
र, सिङ्गै पोलिटिकल इको सिस्टम
गरिरहेको छ घ्यारघ्यार- कि,
आई क्यान्ट ब्रिद

जस्तो: कार्ल मार्क्स
लगाइरहेछन् आफैंलाई सिस्नुपानी
र, गरिरहेछन् भ्लादिमिर लेनिनलाई कानेखुसी
यिनको अश्लील कोरसभन्दा
कार्डी बीको र्‍याप राम्रो !

जस्तो: कविहरू
प्रज्ञा–प्रतिष्ठान वा संस्थान वा आयोग ताकेर
छन् ध्यानस्थ
र, आगामी महाकाव्यको शीर्षक नफुरेर
बेचैनीवश थपिरहेछन्
ठर्रामाथि ठर्रा

जस्तो: मृतकहरूलाई पुनः मर्ने निम्तो
आएको छ
सिंगो सुपारीसहित

जस्तो: केवल र केवल चिर्पट–लायकहरूका
गलामा फसेका छन् निर्दोष खादाहरू
र, ग्लानिले मरेतुल्य भएका छन्

जस्तो: अभिभावकहरू आफ्ना नानीहरूको
भविष्यलाई लिएर
थप सजग भएका छन्
र, थोपरिरहेछन् तिनमाथि
छुद्रता र नीचताको ट्युसन

जस्तो: हत्याराको हातको रगत
पखाल्दा–पखाल्दा
विरक्त भएको छ साबुन
र, गरिरहेको छ अपसोच
आफ्नो जन्मदिनमाथि

यो खबर पढेर
साँच्चै भनूँ भने
पुनः एक चोटि
समयले
मलाई
अन्धागल्छीमा
धकेलेको
महसुस भयो

खस्दाखस्दै
यत्ति जान्न चाहन्छु म-
हाल कुन चाहिँ
खाडी मुलुक जानु
राम्रो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?