News Summary
Generated by OK AI. Editorially reviewed.- डिसेम्बर १० देखि १२ मा लण्डनमा भएको ईएसएमओ इम्यूनो–अंन्कोलोजी २०२५ सम्मेलनमा विश्वका क्यान्सर विशेषज्ञहरूले इम्युनोथेरापीका नवीनतम अनुसन्धान र प्रयोगबारे छलफल गरे।
- नेपालमा इम्युनोथेरापी सीमित अस्पतालमा उपलब्ध छ र यसको उच्च खर्च, विशेषज्ञको कमी र परीक्षण अभावले चुनौतीहरू बढाएका छन्।
- इम्युनोथेरापीले क्यान्सरलाई नियन्त्रणयोग्य बनाउने आशा दिएको छ र नेपालमा सरल, सुरक्षित उपचार लागू गर्न सरकार र स्वास्थ्य संस्थाको सहकार्य आवश्यक छ।
डिसेम्बर १० देखि १२ मा लण्डनमा भएको ‘ ईएसएमओ इम्यूनो–अंन्कोलोजी २०२५’ मा सहभागी हुने अवसर मेरा लागि अत्यन्त सिकाइपूर्ण र प्रेरणादायी रह्यो । यो सम्मेलन इम्युनो–अन्कोलोजी क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ विश्वका विभिन्न देशका क्यान्सर विशेषज्ञहरूले इम्युनोथेरापीका नवीनतम अनुसन्धान, क्लिनिकल ट्रायलहरू र व्यावहारि प्रयोगबारे छलफल गरे ।
विश्वका विशेषज्ञहरूसँग भेटघाट, अनुभव आदान–प्रदान र क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगतिबारे प्रत्यक्ष बुझ्ने अवसर मिल्यो ।
इम्युनोथेरापी के हो र यसले कसरी काम गर्छ ?
सरल भाषामा भन्नुपर्दा, इम्युनोथेरापी भनेको हाम्रो शरीरको रोगसँग लड्ने शक्ति प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सर कोशिकाहरूसँग लड्ने उपचार विधि हो ।
क्यान्सर कोशिकाहरूले प्राय: पिडि–१/पिडि–एल १ जस्ता चेकपोइन्टहरू प्रयोग गरेर प्रतिरक्षा प्रणालीलाई छल्छन् । इम्युनोथेरापीका औषधिहरू जस्तै पेम्ब्रोलिजुमाब, निभोलुमाबले यी चेकपोइन्टहरूलाई ब्लक गरेर टिसेललाई क्यान्सर कोशिकाहरू आक्रमण गर्न सक्रिय बनाउँछन् ।
परम्परागत किमोथेरापीले छिटो बढ्ने सबै कोशिकाहरू क्यान्सर र स्वस्थ कोशिका दुवैलाई नष्ट गर्छ, जसले गर्दा कपाल झर्ने, वाकवाकी लाग्ने, रक्तकोष कमी जस्ता गम्भीर साइड इफेक्टहरू हुन्छन् । तर इम्युनोथेरापीले मुख्य रूपमा प्रतिरक्षा प्रणालीलाई लक्षित गर्छ, जसले गर्दा साइड इफेक्टहरू कम र दीर्घकालीन फाइदा दिन सक्छ ।
विश्वभरका अध्ययनहरू जस्तै किनोट र चेकमेट ट्रायलहरूले देखाएका छन् केही बिरामीमा इम्युनोथेरापीले किमोथेरापीभन्दा राम्रो र लामो समयसम्मको नियन्त्रण दिन्छ । उदाहरणका लागि, मेलानोमा र फोक्सोको क्यान्सरमा इम्युनोथेरापीले ५ वर्षभन्दा बढी बाँच्ने दर उल्लेखनीय रूपमा बढाएको छ ।
इम्युनोथेरापीको विश्वव्यापी प्रयोग र नवीनतम प्रगति
२०२५ सम्म आइपुग्दा इम्युनोथेरापी क्यान्सर उपचारको मुख्य हिस्सा बनेको छ । ईएसएमओ इम्यूनो–अंन्कोलोजी २०२५ मा छलफल भएका मुख्य बुँदाहरू:
व्यक्तिगत उपचार : बिरामीको ट्युमरको जेनेटिक प्रोफाइल अनुसार औषधि छनोट गर्ने । यसले उपचारको सफलता दर बढाउँछ ।
नयाँ संयोजनहरू : इम्युनोथेरापी+ किमोथेरापी वा लक्षित थेरापीको संयोजनले धेरै क्यान्सरहरू फोक्सो, मूत्राशय, पेटमा राम्रो नतिजा दिएको छ ।
नयाँ प्रविधिहरू : एमआरएनए खोपहरू , सिएआर–टी कोषिकीय उपचार र नियोएन्टिजेन–लक्षित खोपहरूले ‘कोल्ड ट्युमर’लाई ‘हट ट्युमर’ मा रूपान्तरण गरी प्रतिरक्षा प्रणालीको प्रतिक्रिया बढाउँछन् ।
बायोमार्करहरू : पिडि–एल १, एमएसआई स्टाटस र सिटी डिएनए मोनिटरिङले कुन बिरामीले फाइदा लिन्छन् भन्ने पूर्वानुमान गर्न मद्दत गर्छ ।
सम्मेलनमा क्यान्सरको प्रकारअनुसार इम्युनोथेरापी कसरी प्रयोग गर्ने, कुन बिरामीलाई बढी फाइदा हुन्छ र सुरक्षित रूपमा कसरी दिने भन्नेमा महत्वपूर्ण छलफल भए ।
नेपालमा इम्युनोथेरापीको अवस्था र चुनौतीहरू
नेपालमा क्यान्सर बिरामीहरूको संख्या तीव्र रूपमा बढ्दै छ । यस्तोमा इम्युनोथेरापी जस्ता औषधिहरू काठमाडौंका केही सीमित अस्पतालमा उपलब्ध छन्, तर चुनौतीहरू धेरै छन् ।
उच्च खर्च
एक डोजको मूल्य १ देखि ४ लाख रुपैयाँसम्म पर्न सक्छ, जसले गर्दा धेरै बिरामीले पूरा कोर्स लिन सक्दैनन् ।
सीमित उपलब्धता
सबै अस्पतालमा नहुनु, विशेषज्ञहरूको कमी र बायोमार्कर टेस्टिङ पिडि–एल १ आदिको अभाव ।
सबै बिरामीका लागि उपयुक्त नहुनु
केवल उच्च पिडि–एल १ स्तर भएका वा विशिष्ट जेनेटिक मार्कर भएका बिरामीमा प्रभावकारी हुन्छ । तर, सही बिरामी छनोट, उचित परीक्षण र विशेषज्ञ निगरानीमा नेपालमै पनि राम्रो परिणाम देखिएको छ । सरकारी सहयोग, बीमा कभरेज र जेनेरिक औषधिहरूले यसलाई थप पहुँचयोग्य बनाउन सक्छ ।
बिरामीहरूप्रति आभार
क्यान्सर उपचारको नयाँ प्रविधिबारे सिक्ने, बुझ्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अनुभव सेयर गर्ने अवसरको मूल कारण बिरामीहरूको भरोसा हो । बिरामीहरूको धैर्य, साहस र विश्वासले मलाई अझ राम्रो उपचार खोज्न प्रेरित गर्छ । उहाँहरूबाट मैले चिकित्सक मात्र होइन, मानवताको पाठ पनि सिकिरहेको छु ।
अबको बाटो
विश्व मञ्चमा सिकेका नयाँ ज्ञानलाई नेपाली सन्दर्भमा मिलाएर सरल, सुरक्षित र सम्भव उपचार लागू गर्नु हाम्रो उद्देश्य हो । सरकार, स्वास्थ्य संस्था, चिकित्सक, समाज र अन्तर्राष्ट्रिय सहयोग मिलेर अघि बढ्न सकेमा नेपालले पनि क्यान्सर उपचारमा आशाको उज्यालो भविष्य देख्न सक्छ । इम्युनोथेरापीले क्यान्सरलाई ‘नियन्त्रणयोग्य’ बनाउने आशा दिएको छ ।
प्रतिक्रिया 4