+
+
Shares
विचार :

के हुन्- फिफ्टी फिफ्टी वान मुभमेन्ट, कलर रेभोल्युसन र जेनजी विद्रोह ?

भर्चुअल संसारबाट संगठित भुइँतहका आन्दोलनहरूको तुलना

जेनजी विद्रोहमा ‘कलर रेभोल्युसन’ मा जस्तो प्रतीकका रूपमा कुनै निश्चित रङको प्रयोग नभए तापनि माथि उल्लिखित अधिकांश विशेषता मिल्दाजुल्दा भएकाले यसलाई ‘कलर रेभोल्युसन’ कै आधुनिक रूप र शृङ्खला भन्न सकिन्छ।

केशव खतिवडा केशव खतिवडा
२०८२ पुष ११ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ फेब्रुअरी ५ मा अमेरिकाका ५० राज्यमा 'फिफ्टी-फिफ्टी वान' मुभमेन्ट अन्तर्गत लाखौंले ट्रम्प प्रशासनको अधिनायकवादी अभ्यास विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरे।
  • 'कलर रेभोल्युसन' भनेको युवा नेतृत्वमा शान्तिपूर्ण आन्दोलन हो जसले भ्रष्टाचार अन्त्य र लोकतन्त्र सुधार गर्ने उद्देश्य राख्छ र पूर्वी युरोपमा व्यापक भयो।
  • नेपालको 'जेनजी विद्रोह' पुराना दलहरूको शासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवा नेतृत्वमा भएको स्वतःस्फूर्त आन्दोलन हो जसले राज्यको पुनःसंरचना माग गर्दछ।

१. फिफ्टी फिफ्टी वान मुभमेन्ट

सन् २०२५ जनवरीमा ‘इभोल्ड फङ्गाई’ नामका एक अमेरिकनले बृहत् अनलाइन प्लेटफर्म रेडिटमा एउटा विचार सम्प्रेषण गरे- ‘फिफ्टी प्रोटेस्ट्स, फिफ्टी स्टेट्स, वान डे’ (५० प्रदर्शन, ५० राज्य, १ साझा आन्दोलन)। रेडिट एउटा ठूलो अनलाइन समुदाय भएकाले यो सूचना अत्यन्तै छिटो भाइरल भयो।

उनी कुनै राजनीतिक दलको औपचारिक पदमा रहेका नेता थिएनन्, तर उनले घोषणा गरेको यो अभियानले स्वतःस्फूर्त रूपमा भुइँतहको विशाल आन्दोलनको स्वरूप ग्रहण गर्‍यो। यो आन्दोलन ट्रम्प प्रशासनको दोस्रो कार्यकालको कतिपय अधिनायकवादी अभ्यास विरुद्ध र लोकतन्त्रको रक्षाका लागि गैर-राजनीतिक एवं डिजिटल प्लेटफर्म मार्फत आह्वान गरिएको शान्तिपूर्ण सङ्घर्ष थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालमा अघिल्लोभन्दा बढी अधिनायकवादी चरित्र र प्रवृत्तिका साथ उदय भएका थिए। कार्यकालको सुरुवातदेखि नै उनका केही कदमहरू विवादास्पद बने, जस्तै: महसुल युद्धले अन्तर्राष्ट्रिय व्यापारमा तनाव सिर्जना गर्दै आएको छ। सरकारी खर्च र कर्मचारी दरबन्दीमा भारी कटौती गरिएको छ। संवैधानिक शक्ति सन्तुलन र नागरिक अधिकारमाथिको प्रहार गर्दै अधिनायकवादी नीति अवलम्बन गरिएको छ।

एलन मस्कलाई ‘सरकारी दक्षता विभाग’ मा गरिएको नियुक्ति पनि विवादित बनेको थियो। अल्पसंख्यक र जातीय समूहको अधिकार सुनिश्चिततामा कमी, आप्रवासीहरूको व्यवस्थापनमा कडाइ, र अवैध आप्रवासी भित्र्याएको आरोपमा किल्मर अब्रोगो गर्सियालाई एल साल्भाडोरमा निर्वासन गरिएका विरुद्धको असन्तोष लगायत क्रियाकलाप महत्वपूर्ण हुन्।

यी तमाम कारणहरूले गर्दा ५ फेब्रुअरी २०२५ मा अमेरिकाका ५० वटै राज्यमा पहिलो पटक लाखौं मानिसको सहभागितामा भव्य प्रदर्शन भयो र यसले राष्ट्रिय आन्दोलनको स्वरूप लियो। आन्दोलनका क्रममा “नो किङ” (राजा स्वीकार्य छैन), “ह्यान्ड्स अफ” (हस्तक्षेप बन्द गर), र “नो किङ्स अन प्रेसिडेन्ट्स डे” जस्ता नाराहरू गुञ्जायमान भए।

फिफ्टी-फिफ्टी वानमुभमेन्टको उद्देश्य अमेरिकी सरकार परिवर्तन गर्ने थिएन, जबकि अधिकांश कलर रेभोल्युसनजेनजी विद्रोहले तत्कालीन सरकार परिवर्तन गर्‍यो।

यसको अर्थ थियो— ‘कार्यकारी अधिकारको दुरुपयोग नगर’, ‘हामीकहाँ राजा छैनन्; राष्ट्रपति राजा बन्न सक्दैन’ र ‘कसैले पनि सिंहासन पाउनेवाला छैन’।

विश्लेषकहरूका अनुसार, यस आन्दोलनले अमेरिकामा लोकतन्त्र बचाउन, नागरिकहरूलाई सशक्तीकरण गर्न र संवैधानिक अधिकार सुरक्षित गराउन ठूलो योगदान पुर्‍याएको छ। यो आन्दोलन अमेरिकी इतिहासमा स्वतःस्फूर्त, स्वयंसेवी, गैर-राजनीतिक, युवा सहभागितामूलक र रेडिट, डिस्कोर्ड एवं टिकटक जस्ता डिजिटल प्लेटफर्म मार्फत सञ्चालित ‘भुइँतहको आन्दोलन’ का रूपमा चिनिएको छ।

यसले विश्वव्यापी रूपमा एउटा सन्देश दियो- ‘गैर-राजनीतिक मानिसहरू पनि राजकीय अधिनायकवाद विरुद्ध सङ्गठित भई आन्दोलन गर्न सक्छन्।’ लोकतन्त्र, मानवअधिकार, अल्पसंख्यक अधिकार, न्यायिक निष्पक्षता र प्रेस स्वतन्त्रता जस्ता सवालले आन्दोलनलाई थप ऊर्जा प्रदान गर्दछ भन्ने कुरा यसले प्रमाणित गर्‍यो।

समग्रमा, यो मुभमेन्टले ‘अमेरिका एउटा गणतन्त्रात्मक राज्य हो र यहाँ तानाशाहको स्थान छैन’ भन्ने सन्देश प्रवाह गर्नुका साथै राजनीतिबाट टाढा रहेका युवा, मतदाता, कामदार र आप्रवासीहरूलाई सामाजिक आन्दोलनमा जोड्न सफल भयो।

 २. कलर रेभोल्युसन

कुनै पनि देशको सरकारमाथि परिवर्तनकारी दबाब सिर्जना गरी संस्थागत सुधार र सुशासनको प्रत्याभूति गराउन सञ्चालन गरिने युवा नेतृत्व केन्द्रित, शान्तिपूर्ण नागरिक आन्दोलन वा अभियान नै ‘कलर रेभोल्युसन’ हो।

यस्तो आन्दोलनमा कुनै निश्चित रङ वा प्रतीकलाई पहिचानका रूपमा प्रयोग गरिने भएकाले यसलाई रङ्गीन क्रान्ति भनिएको हो। आकर्षक रङ वा प्रतीकले आन्दोलनलाई सहभागितामूलक र भावनात्मक बनाउनुका साथै सर्वसाधारण र मिडियाको ध्यान केन्द्रित गर्दछ।

मुख्य उद्देश्यहरू राजकीय नेतृत्वमा सुधार र परिवर्तन गर्नु, भ्रष्टाचारको अन्त्य तथा पारदर्शिताको माग; लोकतन्त्र, समानता, स्वतन्त्रता र जवाफदेहिताको सुनिश्चितता; दण्डहीनता, अधिनायकवाद, दलतन्त्र र नेतातन्त्र जस्ता विकृतिको अन्त्य लगायत हुने गरेका छन्। यस्ता आन्दोलनमा सूचनाप्रविधिमैत्री युवाहरूको बाहुल्य रहने हुनाले सामाजिक सञ्जालको व्यापक प्रयोग हुन्छ।

‘कलर रेभोल्युसन’ खासगरी सोभियत सङ्घको पतनपछि वा सन् १९९० को दशकको उत्तरार्धदेखि पूर्वी युरोप र मध्य एशियाका केही देशहरूमा शृङ्खलाबद्ध रूपमा भएको पाइन्छ। जस्तै:

क. सर्बियाको बुल्डोजर रेभोल्युसन (बुल्डोजर क्रान्ति): सर्बियाली राष्ट्रपति स्लोबोदान मिलोसेभिचले लामो समय निरङ्कुश शासन गरे। सन् २००० मा सम्पन्न भएको आम निर्वाचनमा व्यापक धाँधली गरेको भन्दै विद्यार्थीको नेतृत्वमा ठूलो आन्दोलन भयो। आन्दोलनकारीहरू शक्तिशाली बुल्डोजरको साङ्केतिक प्रतीकका रूपमा संसद्भित्र प्रवेश गरे। आन्दोलनको परिणामस्वरूप तानाशाह मिलोसेभिचको शासनको अन्त्य भयो। स्वतन्त्र निर्वाचन मार्फत लोकतान्त्रिक सरकार गठन भयो।

ख. जर्जियाको रोज रेभोल्युसन (गुलाफ क्रान्ति): भ्रष्टाचार, बेरोजगारी, मुद्रास्फीति र आर्थिक सङ्कटबाट गुज्रिरहेको जर्जियाका राष्ट्रपति शेवरनाद्जेले सन् २००३ मा सम्पन्न गरेको निर्वाचनमा धाँधली गरेको आरोपमा त्यसका विरुद्ध आन्दोलनकारीहरू गुलाफ लिएर संसद्मा प्रवेश गरे। गुलाफलाई शान्तिपूर्ण प्रतिवाद वा विरोधको प्रतीक बनाइयो। यस रोज रेभोल्युसनले भ्रष्ट राष्ट्रपति शेवरनाद्जेलाई सत्ताच्युत गर्‍यो।

ग. युक्रेनको ओरेन्ज रेभोल्युसन (सुन्तला क्रान्ति): युक्रेनमा सन् २००४ मा सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा भिक्टर यानुकोभिचले धाँधलीपूर्ण ढङ्गले निर्वाचन जितेको भन्दै युक्रेनी जनताले गरेको शान्तिपूर्ण आन्दोलन नै ‘ओरेन्ज रेभोल्युसन’ हो। जुन रङको प्रयोग विपक्षी नेता भिक्टर युश्चेन्कोले निर्वाचनको प्रचार-प्रसारमा गरेका थिए। राजधानी किभमा ओरेन्ज रङका झण्डासहित लाखौं प्रदर्शनकारी सडकमा आए। युक्रेनको सर्वोच्च अदालतले पुनः मतदान गर्ने आदेश जारी गर्‍यो। पुनः भएको मतदानमा विपक्षी नेता युश्चेन्कोले विजय हासिल गरे। यस आन्दोलनले युक्रेनको लोकतान्त्रिक सुधारका लागि मार्गप्रशस्त गर्‍यो।

अरब स्प्रिङ बाहेक सबै कलर रेभोल्युसनमा निश्चित रङलाई प्रतीकका रूपमा प्रयोग गरिएको थियो भने फिफ्टी-फिफ्टी वानजेनजी विद्रोहमा कुनै निश्चित रङको प्रयोग गरिएको थिएन।

घ. किर्गिस्तानको ट्युलिप रेभोल्युसन (ललित क्रान्ति): किर्गिस्तानमा सन् २००५ मा सत्तासीन राष्ट्रपति अस्गर अकायेवको शासन विरुद्ध भएको लोकतान्त्रिक आन्दोलन नै ट्युलिप रेभोल्युसन हो। संसदीय चुनावमा धाँधली गरेको, भ्रष्टाचार बढेको, नातावाद हावी भएको, बेरोजगारी र आर्थिक सङ्कट बढेको जस्ता मुद्दा प्रमुख थिए। प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति अकायेव देश छोडेर भागे। कुर्मानबेक बाकियेभ नयाँ राष्ट्रपति बने। किर्गिस्तानमा ट्युलिप फूल परिवर्तनको प्रतीक मानिने हुँदा यो आन्दोलनलाई ट्युलिप रेभोल्युसन भनियो।

ङ. अरब स्प्रिङ: सन् २०११-२०१२ को बीचमा अरब मुलुक वा मध्यपूर्व क्षेत्रका इजिप्ट, लिबिया, ट्युनिसिया, सिरिया, यमन जस्ता मुलुकमा भएको बेरोजगारी, धाँधलीपूर्ण निर्वाचन, भ्रष्टाचार, तानाशाही, प्रेस स्वतन्त्रता माथिको बन्देज र मानवअधिकारको उल्लङ्घन जस्ता विकृतिका विरुद्धमा शान्तिपूर्ण रूपमा भएको युवाकेन्द्रित आन्दोलन नै अरब स्प्रिङ हो। यस आन्दोलनले इजिप्टका सरकार प्रमुख होस्नी मुबारकलाई हटायो। लिबियाका तानाशाह कर्णेल गद्दाफीको अन्त्य भयो। ट्युनिसियाका तानाशाह बेन अलिको पतन भयो। यो आन्दोलनले अरब क्षेत्रको राजनीतिक भूगोल नै बदल्यो। यस आन्दोलनमा कुनै पनि रङको प्रयोग नभए तापनि कलर रेभोल्युसनको पृष्ठभूमि र प्रभावले गर्दा यसलाई कलर रेभोल्युसनकै कोटिमा राखिन्छ।

 ३. जेनजी विद्रोह

नेपालमा गत भदौ २३ र २४ गते भएको विद्रोह विगत तीन दशकदेखि ठूला दलहरू (कांग्रेस, कम्युनिष्ट र मधेशवादी) ले आलोपालो शासन गर्दै आएको ‘गैंडातन्त्र’ (शक्तिशाली व्यक्तिहरूको सिन्डिकेट) को परिणाम हो। राज्य संरक्षित भ्रष्टाचार, बेरोजगारी, महँगी, सहकारी ठगी र माफियाकरण जस्ता विकृतिले नागरिकमा असन्तोष चुलिएको थियो।

यसैबीच, सरकारले नियमनको बहानामा कुनै कूटनीतिक पहल विनै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने दुष्प्रयास गरेपछि त्यसको सिधा असर एआई युगका युवामा पर्‍यो। जसको परिणामस्वरूप यो विद्रोह सामाजिक, आर्थिक, राजनीतिक र डिजिटल प्रभावको संयुक्त लहरका रूपमा देखा पर्‍यो।

यी कारणहरूले नागरिकहरूमा असन्तुष्टि निरन्तर बढ्दै गइरहेको थियो। सञ्चारका माध्यमहरूले यी घटनाहरूलाई सम्प्रेषण गरिरहेका थिए, जसमा सामाजिक सञ्जाल सबैभन्दा बढी प्रभावकारी थियो।

अन्ततः शासकहरूले काण्डै काण्डको धब्बाले पोतिएको आफ्नो कुरूप अनुहार सामाजिक सञ्जालको ऐनामा हेर्न नसकेर सामाजिक सञ्जालका सञ्चालकहरू सरकारी निकायमा सूचीकृत नभएको र करको दायरामा समेत नआएको बहानामा, कुनै कूटनीतिक पहल विनै हठात् रूपमा प्रतिबन्ध लगाए। एआईको युगमा मुलुकलाई अन्धकारतर्फ धकेल्ने दुष्प्रयास गरियो।

‘फिफ्टी-फिफ्टी वान’ र ‘जेनजी विद्रोह’ मा औपचारिक तथा केन्द्रीय नेतृत्व छैन, जबकि ‘कलर रेभोल्युसन’ खासगरी विपक्षी दलको नेतृत्वमा भएको देखिन्छ।

यसको नकारात्मक असर सबैभन्दा बढी युवा वा जेनजीहरूलाई पर्‍यो; किनकि उनीहरूको अध्ययन, अध्यापन, पेशा, रोजगारी र व्यवसायदेखि सिङ्गो भाग्य र भविष्य नै सूचनाप्रविधिमा आधारित बन्दै गएको थियो। यसरी जेनजी विद्रोह मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भावनात्मक तथा डिजिटल प्रभावको संयुक्त परिणाम हो। जसले समानता, स्वतन्त्रता, पारदर्शिता, जवाफदेही, दण्डहीनताको अन्त्य र नयाँ अवसर सहितको सुरक्षित भविष्यको चाहना राख्दछ।

तीनथरी आन्दोलनका समानता

दिइएका तीनै नामका आन्दोलनहरूमा केही समानता रहेका छन्। जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

१. युवा पुस्ताको आह्वान, नेतृत्व र उल्लेख्य सहभागिता।

२. सोसल मिडिया मार्फत सङ्गठित, आह्वान र परिचालन।

३. शान्तिपूर्ण आन्दोलन।

४. भ्रष्टाचार, अनुदार र अक्षम नेतृत्वका साथै प्रशासनिक एवं राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि।

५. स्वतःस्फूर्त र मूल नेतृत्वविहीन आन्दोलन।

६. पुराना दल, सोच र शासन शैलीप्रतिको असन्तोष।

७. पुस्तान्तरण र राजनीतिक संस्कृतिको विकासको उद्घोष।

८. राजनीतिक जनचेतना वृद्धितर्फ उन्मुख।

९. आन्तरिक असन्तुष्टिको विस्फोट।

असमानता

यी आन्दोलनहरू आफैंमा फरक पनि हुन्। यसका केही असमानता छन्:

१. ‘फिफ्टी-फिफ्टी वान’ मुभमेन्टको उद्देश्य अमेरिकी सरकार परिवर्तन गर्ने थिएन, जबकि अधिकांश ‘कलर रेभोल्युसन’ र ‘जेनजी विद्रोह’ ले तत्कालीन सरकार परिवर्तन गर्‍यो।

२. अरब स्प्रिङ बाहेक सबै ‘कलर रेभोल्युसन’ मा निश्चित रङलाई प्रतीकका रूपमा प्रयोग गरिएको थियो भने ‘फिफ्टी-फिफ्टी वान’ र ‘जेनजी विद्रोह’ मा कुनै निश्चित रङको प्रयोग गरिएको थिएन।

३. ‘फिफ्टी-फिफ्टी वान’ र ‘जेनजी विद्रोह’ मा औपचारिक तथा केन्द्रीय नेतृत्व छैन, जबकि ‘कलर रेभोल्युसन’ खासगरी विपक्षी दलको नेतृत्वमा भएको देखिन्छ।

४. ‘फिफ्टी-फिफ्टी वान’ लोकतान्त्रिक मूल्य र मान्यता अनुरूपको संरचनागत सुधारसँग सम्बन्धित छ। ‘कलर रेभोल्युसन’ अधिनायकवादी सरकारको अन्त्य र निष्पक्ष निर्वाचनसँग सम्बन्धित छ। ‘जेनजी विद्रोह’ भने पुराना दल, असफल नेतृत्व र अनियमितताका विरुद्ध राज्यको ‘रि-इन्जिनियरिङ’ सँग सम्बन्धित छ।

जेनजी विद्रोहलाई कलर रेभोल्युसन भन्न सकिन्छ?

जेनजी विद्रोहमा ‘कलर रेभोल्युसन’ मा जस्तो प्रतीकका रूपमा कुनै निश्चित रङको प्रयोग नभए तापनि माथि उल्लिखित अधिकांश विशेषता मिल्दाजुल्दा भएकाले यसलाई ‘कलर रेभोल्युसन’ कै आधुनिक रूप र शृङ्खला भन्न सकिन्छ।

लेखक
केशव खतिवडा

लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?