१३ पुस, जनकपुरधाम । सिरहा बरियारपट्टी गाउँपालिका–२ का सत्यनारायण साफीलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । एमबीबीएसका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनलाई बधाई दिनेको ओइरो लागेको हो ।
फुसको झुपडीबाट गरेको संघर्ष र लगनले विपन्न दलित परिवारका सत्यनारायण एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । यससँगै चिकित्सक बन्ने उनको सपना साकार हुने बाटो खुलेको छ ।
‘मिहिनेत गर्दै गयो भने एक दिन अवश्य सफलता मिल्छ भन्ने विश्वास थियो । अब चिकित्सक बन्ने मेरो सपना साकार हुने सम्भावना बढेको छ,’ मजदुरीसँगै अध्ययन गर्दै आएका सत्यनारायणले भने ।
चिकित्सा शिक्षा आयोगले १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा सत्यनारायणले पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् । सम्पत्तिका नाममा करिब साढे चार धुर जग्गामा फुसको घर मात्र रहेको उनको परिवार अत्यन्तै विपन्न छ । २१ वर्षीय सत्यनारायण बुबा मधुरी साफी र आमा सुनिता साफीका पाँच सन्तानमध्ये जेठा छोरा हुन् ।
छोराले एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि बुबा मधुरी र आमा सुनिताको अनुहार खुसीले चम्किएको छ । घरमा बधाई दिन आउने पाहुना र सामाजिक सञ्जालमा भएको चौतर्फी चर्चा उनीहरूलाई सपनाझैं लागिरहेको छ । ‘छोराले डाक्टर बन्न नाम निकाल्यो । हामी धेरै खुसी छौं । उनले मजदुरीसँगसँगै धेरै मिहिनेत गरेका छन्,’ आमा सुनिता खुसी व्यक्त गर्छिन् ।
उनले २०७७ सालमा बरियारपट्टी गाउँपालिका जनता माध्यमिक (प्राविधिक) विद्यालयबाट ३.९५ जीपीए ल्याएर कक्षा १० उत्तीर्ण गरेका थिए । घरको आर्थिक अवस्था कमजोर भएकाले बुबा मधुरी साफी वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए । बुबा विदेशमा हुँदा उनको कमाइले नै परिवार चल्थ्यो ।
चिकित्सक बन्ने सपना बोकेर सत्यनारायण प्लस टु अध्ययनका लागि विराटनगर पुगे । अरनिको कलेजबाट विज्ञान विषय लिएर २०७९ मा कक्षा १२ उत्तीर्ण गरे । प्लस टु सकेपछि चिकित्सक बन्ने उनको मनोबल अझै बलियो भयो । तर आर्थिक अवस्था कमजोर भएकाले छात्रवृत्तिमै नाम निकाल्ने अठोट गरे ।
सत्यनारायण कक्षा १२ पढ्दै गर्दा बुबा मधुरी विदेशबाट फर्किसकेका थिए । यद्यपि, आँट गरेर उनी एमबीबीएस प्रवेश परीक्षाको तयारीका लागि काठमाडौं पुगे । बुबा मधुरी घर चलाउन र छोरा पढाउन गाउँघरमै मजदुरी गर्न थाले । तर त्यसले घर चलाउन र छोराको पढाइ खर्च जुटाउन गाह्रो भयो ।
सत्यनारायणलाई काठमाडौंमा बस्न र पढ्न कठिन हुन थाल्यो । बाध्य भएर उनी डेढ महिनामै काठमाडौं छोडेर गाउँ फर्किए । बुबालाई जनमजदुरीमा सहयोग गर्दै घरको आर्थिक अवस्था सम्हाल्न उनले पनि मजदुरी गर्न थाले ।
दिउँसो मजदुरी र साँझ–राति पढाइ नै उनको दैनिकी बन्यो । मजदुरीबाट जोगिएको पैसाले किताब किनेर उनले नियमित रूपमा राति ६–७ घण्टा अध्ययन जारी राखे ।
‘काठमाडौं पढ्न गएको डेढ महिना मात्र भएको थियो । बुबाले भन्नुभयो– घर चलाउन मुस्किल भयो । म एक्लैले सक्दिनँ । घर तिमीले नै सम्हालुपर्छ,’ सत्यनारायण सुनाउँछन्, ‘अनि म डेढ महिनामै घर फर्कें । र, बिल्डिङ बनाउने काममा मजदुरी गर्न थालें । कामबाट फर्केपछि रातिराति ६–७ घण्टा अध्ययन गर्न थालें ।’
कठिन परिस्थितिका बाबजुद चिकित्सक बन्ने सपना सत्यनारायणले कहिल्यै त्यागेनन् । २०८१ सालमा उनले एमबीबीएसको प्रवेश परीक्षा दिएका थिए । तर त्यसबेला नाम निस्किएन । तर उनी निराश भएनन् । अन्तत: निरन्तर मिहिनेत, धैर्य र आत्मविश्वासको फलस्वरूप सत्यनारायणले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए ।
‘पहिलो पटक नाम ननिस्किए पनि हिम्मत हारिनँ । दोस्रो पटक बल्ल मेरो नाम पूर्ण छात्रवृत्तिमै निस्केको छ,’ सत्यनारायण भन्छन् ।

पूर्ण छात्रवृत्तिमा नाम निस्किएपछि परिवारमा खुसियाली छाएको छ । तर एमबीबीएस पढाइ पूर्ण गर्न चाहिने आर्थिकको लागि परिवारको चिन्ता भने हटेको छैन । होस्टेल, खानपान, यातायात र अध्ययन सामग्रीका लागि अतिरिक्त खर्च आवश्यक पर्छ ।
सत्यनारायणका अनुसार पाँच वर्षको अध्ययनका क्रममा बस्न, खान, किताब किन्न लागायतको व्यवस्थापनमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
आमा–बुबाले ८० हजार रुपैयाँ सरसापट जुटाएपछि सत्यनारायण पुस ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना भएका छन् । कलेज भर्ना तथा प्रारम्भिक प्रक्रियामा मात्रै करिब ६४ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।
सत्यनारायणको नाम निस्केपछि आर्थिक सहयोगको लागि चौतर्फी आश्वासन भने पाइरहेका छन् । केही स्थानबाट आर्थिक सहयोगसमेत जुटेको छ । सामाजिक अभियन्ता आशिका तामाङ घरमै पुगेर सम्मानसहित एक लाख रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । छिटफुट रूपमा आर्थिक सहयोग पाएको सत्यनारायणले बताए ।
बरियारपट्टी गाउँपालिका प्रमुख सन्तोषकुमार महतोले घरमै पुगेर उनलाई बधाई तथा सम्मान गर्दै पढाइमा पालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
घरको आर्थिक अवस्थाकै कारण उनकी १३ वर्षीया बहिनी सञ्जिलाले पढ्न पाएकी छैनन् । सत्यनारायण एसईई पढेको सामुदायिक विद्यालय जनता माध्यमिक (प्राविधिक) मा अर्की कान्छी बहिनी मञ्जिला कक्षा ५ मा र भाइ रितेश कक्षा ३ मा अध्ययनरत छन् । जेठी बहिनीको बिहे भइसकेको छ ।
‘बुबा अहिले पनि गाउँमै खेती–किसानी गर्नुहुन्छ । सम्पत्तिको नाममा घर बाहेक केही छैन,’ सत्यनारायणले भने । पढाइमा आर्थिक सहयोग गरदिन सत्यनारायणले सबै पक्षसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया 4