News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचनमा डा.अरुण शाहीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको छ।
१४ पुस, कामाडौं । नेपाल चिकित्सक संघको निर्वाचनमा डा.अरुण शाहीको उम्मेदवारी कायम राख्न अदालतले अन्तरिम आदेश दिएको छ । डा.शाहीको उम्मेदारी खारेज गर्नुपर्ने आधार नदेखिएको भन्दै सोमबार उच्च अदालत पाटनले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले डा.शाहीको उम्मेदवारी खारेज गर्ने चिकित्सक संघको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्नू भनी आदेश दिएको छ ।
नोटरी पब्लिक ऐन, २०६३ मै नभएको व्यवस्थालाई चिकित्सक संघ निर्वाचनको उम्मेदवारी दर्ताका लागि शर्तका रुपमा राखिएको ठहर अदालतले गरेको छ । नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार पनि डा.शाहीको उम्मेदवारी खारेज गर्नुपर्ने कुनै कारण नदेखिएको आदेशमा भनिएको छ ।
विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेशमा भनिएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अंकोलोजिस्ट डा.शाहीले बागमती प्रदेश संयोजक तथा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
प्रकिया नमिलेको भन्दै निर्वाचन समितिले उनको उम्मेदवारी रद्द गरेको थियो । यो निर्णयविरुद्ध डा. शाहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालयले उनको उम्मेदवारी कायम राख्न निर्देशन दिएको थियो । तर पनि संघले उम्मेदवारी रद्दको निर्णय कायम राखेको थियो ।
आफूमाथि अन्याय भएको भन्दै डा.शाही अदालत गएका थिए ।

प्रतिक्रिया 4