+
+
Shares

निर्वाचन सफल पार्न सबै पक्षलाई राष्ट्रिय सभा अध्यक्षको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १६:३८

२० पुस, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रमुख दलका नेताहरुले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उनले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गरेका हुन् ।

आइतबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौति र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीहरुको साझा कर्तव्य भएको समेत बताए ।

संविधानको आवश्यक समीक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलहरूको उनले ध्यानाकर्षण गराए ।

‘जेनजी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षको यथेष्ट ध्यान जान जरुरी पनि छ । साथै माग ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु हामी सबै नेपालीको साझा कर्तव्य हो भनेर बुझ्न पनि म अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताए ।

‘संविधानलाई अझ प्रभावकारी, उत्तरदायी, जनमुखि बनाउन यो पुस्तकले सकारात्मक योगदान पुर्‍याउन सकोस् । संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ होस् । र जनताको बलिदानको सधैं सम्मान रहोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?