News Summary
Generated by OK AI. Editorially reviewed.- सभापति शेरबहादुर देउवाले सहमतिको प्रस्ताव नल्याए कांग्रेस विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने लगभग पक्का भएको छ।
- महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट नीति र नेतृत्व दुवै बदल्ने घोषणा गरिसकेका छन्।
- विशेष महाधिवेशनमा २ हजार ६६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्, जुन कुल प्रतिनिधिको ५६ प्रतिशत हो।
२७ पुस, काठमाडौं । सभापति शेरबहादुर देउवाले अडान त्याग्दै भोलिसम्म सहमतिको कुनै ठोस प्रस्ताव नल्याए भृकुटीमण्डपमा सुरु भएको कांग्रेस विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने लगभग पक्का भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूले विशेष महाधिवेशनबाट नीति र नेतृत्व दुवै बदल्ने घोषणा गरिसकेका छन् ।
५४ प्रतिशत प्रतिनिधिहरूको माग बमोजिम विशेष महाधिवेशन गर्ने कार्यको नेतृत्व गरेका नेताहरूले हलको निर्णय स्वीकार्ने बताइसकेका छन् ।
‘कांग्रेसको विधानमा महाधिवेशन भन्दा ठूलो केही होइन,’ महामन्त्री थापाले भने, ‘महाधिवेशनले चाह्यो भने नेता पनि छान्न सक्छ, नेतृत्व पनि बदल्न सक्छ । विधान पनि बदल्न सक्छ । त्यो अधिकार राख्नेको भेला हो, यो ।’
उनकै जस्तो भाषामा अर्का महामन्त्री शर्मा सहितका नेताहरूले नेतृत्व परिवर्तन हुन सक्ने प्रष्ट सन्देश दिएका छन् ।
‘भोलि नेताहरू हलमा आउनु हुन्छ भन्ने विश्वास छ । नेताहरू आउने–नआउने उहाँहरूको मर्जी । निर्णय गर्ने तपाईँहरूको मर्जी । तपाईहरूले नै गर्ने निर्णय हो,’ महामन्त्री थापाले भने । अर्थात् सभापति देउवा सहितका नेताहरू यो महाधिवेशन हलमा नआए पनि नयाँ नेतृत्व चयन रोकिने छैन ।
उद्घाटन सत्रमा सम्बोधन गर्ने नेताहरूको अभिव्यक्ति सँगसँगै अरू तथ्यले पनि कांग्रेस यथास्थितिमा रहन नसक्ने अनुमान गर्न सकिन्छ । मुख्यकुरा त महाधिवेशन प्रतिनिधिहरुको संख्या हो । आयोजकले आइतबार साँझ दिएको जानकारी अनुसार विशेष महाधिवेशनमा २ हजार ६६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । यो भनेको चौधौं महाधिवेशनमा भाग लिएका ४ हजार ७४३ प्रतिनिधिहरूको ५६ प्रतिशत हो ।
बहुमत प्रतिनिधिको सहभागिता हुनुको अर्थ विशेष महाधिवेशन पक्षधरको हिम्मत बढ्नु हो, नेतृत्व परिवर्तन गर्ने प्रष्ट आधार हो । तयारीका हिसाबले पनि यो महाधिवेशनले नेतृत्व फेर्दैछ ।
महामन्त्री शर्माले बन्दसत्रमा विधान संशोधन प्रस्ताव लैजाँदैछन् । प्रस्ताव बमोजिम पदाधिकारीको संख्या बढ्नेछ, युवाहरूलाई प्राथमिकता दिएर केन्द्रीय समिति बन्नेछ ।

जेनजी आन्दोलनको भावनालाई सम्बोधन गर्न भनेर एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसद बन्न पाउने प्रस्ताव लगिँदैछ ।
उद्घाटन सत्रमा देखिएको उपस्थिति र सहभागिताहरूको धैर्यताले पनि सम्भवतः नेतृत्व परिवर्तनको प्रस्ताव बलियो भएको छ । यसको संकेत गगन थापाले सभा गरेको भाषणमै दिएका छन् ।
भृकुटीमण्डपमा दिउँसो एक बजे सुरु भएको सभा साढे सात घण्टा बढी चल्यो । महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्दा अँध्यारै भइसकेको थियो । तर सहभागी नघटेको देखेर उनीहरू उत्साहित भाषण गरे ।
‘देउवालाई उक्साए’
विशेष महाधिवेशनको औचित्यबारे नेताहरूले सम्बोधन गर्दा पार्टी सभापति देउवामाथि थुप्रै प्रश्न उठाएका छन् । यदि नियमित महाधिवेशन आयोजना गरिन्थ्यो भने विशेष महाधिवेशनको आवश्यकता नपर्ने तर्कमा लगभग वक्ताहरूको साझा मत थियो ।
तर विशेष महाधिवेशन समेत नबोलाउने गल्ती देउवाबाट हुन पुगेको उनीहरूले तर्क गरेका छन् । र, विधानको व्यवस्था बेवास्ता गर्न कांग्रेस भन्दा बाहिरका शक्तिले देउवालाई उक्साएको समेत उनीहरूले प्रतिनिधिहरूलाई प्रष्ट संकेत गरिदिए ।
नामै उल्लेख नगरे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै सल्लाह मानेर देउवाले आफ्नो निर्णय बदलेको आरोप लगाए । ‘मंसिरभित्र महाधिवेशन गर्नुस्, अब मैले कार्यवाहक दिएँ, सबै कुरा छाडेर गएँ भन्नुभएको होइन ?,’ महामन्त्री थापाले प्रश्न गरे, ‘त्यो दिन कांग्रेस मात्र होइन, कांग्रेस बाहिरका मान्छेले पनि नेता हुनु त शेरबहादुर देउवाजस्तो भनेको होइन ?’
तर पछि देउवाले निर्णय बदल्दै महाधिवेशन नगर्ने र नेतृत्व पनि नछोड्ने अडान लिनुमा अरुको उक्साहट रहेको समेत थापाले लुकाएनन् । उनले भने, ‘यो मञ्चमा बस्नेहरू तपाईंलाई माया नगर्ने होइनन् ? तपाईंलाई माया गर्नेहरू हुन् । तपाईंप्रतिको सम्मान नघटोस् भनेर बारम्बार भनेको हुँ– दाई अब छोड्दिनुस् । जसले घुमीघुमी तपाईंलाई बोलाउन गए, वास्तवमा ती तपाईंलाई माया गर्ने मान्छे होइनन् ।’
ओलीले देउवालाई भेट्न गएर सभापति पदमा सक्रिय बनाएको सन्दर्भ पनि महामन्त्री थापाले सम्झाउन खोजे । तर कांग्रेसलाई एमाले जस्तो नसम्झन चेतावनीकै भाषामा थापाले आफ्ना कुरा राखे ।
‘यो प्रयासले नेपाली कांग्रेसको बारेमा एउटा कुरा स्थापित गरेको छ– कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो । कांग्रेसमा प्रश्न मरेको छैन,’ थापाले भने, ‘यहाँ कोही बा छैन, जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन ।’
कांग्रेसमा कोही मालिक र कोही दास नभएको पनि उनले बताए । ‘यहाँ कोही मालिक, कोही दास छैन । यहाँ सब बराबर छ,’ उनले भने, ‘पार्टीका सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो, यो ।’
महामन्त्रीद्वय थापा र शर्मा सहितका वक्ताहरूले जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमै संस्थापनसँग भिन्न मत राखेका छन् । उनीहरूका अनुसार जेनजी आन्दोलन हुनुमा तत्कालीन सत्ताको नेतृत्व गर्ने नेता र दलहरूको कमजोरी छ ।
‘पार्टीभित्रको सत्ताको संघर्षले, शक्तिको संघर्षले यहाँ कोही उपस्थिति भएको र कोही उपस्थित नभएको भन्ने पनि लागेको होला,’ महामन्त्री थापाले भने, ‘तर यो शक्तिको संघर्ष होइन । यो विचारको संघर्ष हो, मूल्य र मान्यताको संघर्ष हो ।’
अर्थात् जेनजी आन्दोलनपछि परिवर्तन भएको राजनीतिक कोर्सलाई बुझ्ने मामिलामै विशेष महाधिवेशनसम्मको उपक्रम विकास भएको हो । जेनजी विद्रोह, त्यसक्रममा भएको हताहती र विध्वंसबारे लामै व्याख्या गरेका महामन्त्री शर्माले पार्टीबाट हुन पुगेको गल्ती कमजोरीहरू प्रस्तुत गरेका थिए ।

जेनजी विद्रोहपछि नेतृत्व छोड्ने निष्कर्षमा पुगेका देउवालाई आफ्नो निर्णयबाट पुनर्विचार गराउने भूमिका ओलीले खेले पनि त्यसलाई सफल हुन नदिने गगन थापाहरूले सन्देश दिएका छन् ।
थापाले अब कांग्रेसले बदलिएको परिस्थितिमा बदलिएर जान प्रष्ट संकल्प गर्नुपर्ने प्रस्ताव राखे । ‘मूल प्रश्न तपाईं मेरो घर जल्यो भन्ने होइन, कयौंको जीवन जल्यो त्यति मात्र प्रश्न होइन, सिंहदरबार जल्यो त्यति मात्र प्रश्न होइन,’ महामन्त्री शर्माले भने, ‘सबभन्दा ठूलो प्रश्न आज नेपाली र नेपाली बीचको विश्वास जलेको छ । नेपाली र नेपाली बीचको प्रेम जलेको छ ।’
यदि यो देशमा जलेको मनलाई जोड्न सकिएन भने भवनहरु जोडेर मात्र देश बनाउन नसकिने उनले तर्क गरे । ‘आज नेपाली कांग्रेस विशेष महाधिवेशनमा उभिरहँदा ध्वस्त भएको संरचनालई जोड्ने मात्र होइन, मनहरूलाई जोड्ने संकल्प गर्नुपर्छ,’, उनले भने ।
विगतमा भएका परिवर्तनका सबै आन्दोनको नेतृत्व कांग्रेसले गरेपनि जेनजी विद्रोह फरक पृष्ठभूमिमा भएको तथ्य बुझ्नुपर्ने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया 4