News Summary
Generated by OK AI. Editorially reviewed.- २७ सदस्यीय समूह विश्व संघको शिविरका लागि विराटनगरबाट पूर्णिया हुँदै हैदरावाद पुगेको थियो जहाँ कान्हा शान्ति वनममा अनुशासन र शान्तिको अभ्यास भइरहेको थियो।
- हैदरावादमा बिरयानी धनी र गरिब दुवैको साझा खाना र संस्कार हो भने तेलंगाना सरकारले महिलालाई सार्वजनिक बसमा नि:शुल्क यात्रा सुविधा दिएको छ।
- बैंग्लोरमा सरकारी र निजी बस सेवामा जवाफदेहिता र जिम्मेवारीपन देखिएको छ र शहरले व्यवस्थित जीवन र समयको सम्मान सिकाएको छ।
विराटनगरको जाडोले शरीर खुम्च्याइरहँदा, मन भने यात्राको कल्पनाले तातिसकेको थियो । २७ जनाको हाम्रो समूह विश्व संघको शिविरका लागि दक्षिणतिर लाग्दै थियो । हवाई यात्रा सुरु गर्न पूर्णियाको विमानस्थल रोजेका थियौँ । ठूलो समूह भएकाले पूर्णियासम्म बस नै रोज्यौँ । विराटनगरदेखि पूर्णियासम्मको सडक यात्रामा थकान थियो, तर त्यस थकानमा पनि एउटा साझा उत्साह मिसिएको थियो- कुनै साधारण घुमफिर होइन, साधनासँग जोडिएको यात्रा थियो ।
पूर्णियाबाट करिब २ घण्टा १० मिनेटको उडानपछि, जब जहाज हैदरावादको धर्तीमा झर्यो, शरीरले मौसमको फरकपन तत्कालै महसुस गर्यो । त्यहाँ जाडो थिएन । घाम तिखो थियो, हावा न्यानो थियो । विमानस्थलमा संघका कार्यकर्ताको स्वागत केवल औपचारिक थिएन, त्यसमा अपनत्व थियो । त्यहाँबाट हामीलाई लगियो कान्हा शान्ति वनम । करिब ५० किलोमिटर टाढा, र संसारको कोलाहलबाट पनि धेरै टाढा । बसले शहर छोड्दै जाँदा, मेरो मनले पनि एउटा तह फुकाल्दै थियो- भीड, हतार, आवाजबाट क्रमशः शान्तितर्फ केन्द्रित हुँदै थियो ।
कान्हा शान्ति वनम केवल बस्ने ठाउँ होइन रहेछ । त्यो त अनुशासनमा बाँच्ने अभ्यास रहेछ । मद्यपान निषेध, धुम्रपान निषेध, शुद्धता र सरलता । तर निषेधको कठोरता होइन, स्वतः स्विकारिएको मर्यादा थियो । साँझको ७:३० बजे शिविरस्थलमा पुग्दा, विशाल परिसरमा करिब दुई हजार सहभागीहरू शान्त भावमा देखिन्थे।
रातिको खाना, सुत्ने शय्या, हिँड्ने बाटो सबैमा व्यवस्था भन्दा बढी संवेदनशीलता देखिन्थ्यो । शिविरका सत्रहरू गहिरा थिए । धर्म यहाँ उपदेश थिएन, संवाद थियो । अध्ययन यहाँ बोझ थिएन, अनुभव थियो । मौनता पनि बोल्थ्यो, र बोलाइ पनि मौनजस्तै गम्भीर हुन्थ्यो । महसुस गरियो- विद्वानहरूको मौनता पनि कति शक्तिशाली हुने रहेछ ।
तर मन, मन नै हो । मनले शान्त वनमको गहिराइभित्र पनि हैदरावादको पुरानो शहरले बोलाउँदै गरेको अभास गर्दै थियो । त्यसैले शिविर सुरु हुनुअघि एक बिहान, म र साथीहरू- अरविन्द ठाकुर, जयराम यादव, भीम यादव र राजकुमार मेहता शहरतिर लाग्यौँ । बालाजी मन्दिर, स्ट्याच्यु अफ इक्वालिटी, सम्साबाद क्षेत्र… । त्यो घुमफिर पर्यटकको जस्तो थिएन । त्यो हेर्ने होइन, महसुस गर्ने यात्रा थियो ।
हैदरावादी बिरयानी
शिविर सुरु भएपछि बाहिर निस्कन सजिलो थिएन । तर एक दिन, एक साथीको साथमा बाहिर निस्किएँ । गन्तव्य थियो- चारमिनार । चारमिनार कुनै स्मारक मात्र होइन । त्यो त सास फेर्दै गरेको इतिहास हो । त्यहाँका गल्ली साँघुरा छन्, तर जीवन फराकिलो छ । मोतीका चम्किला पसलहरूसँगै बेच्नेका आँखामा परम्पराको गर्व झल्किन्छ । चुरा, माला, रङ सबैमा समयको लय महसुस गरियो ।
र त्यसपछि… हैदरावादी बिरयानी । पाराडाइज बिरयानीको नाम सुन्नु र हैदरावादमै बसेर खानु, दुई छुट्टाछुटै अनुभव हुन् । नामले जति उत्सुकता जगाउँछ, स्वादले त्योभन्दा धेरै आनन्दित बनाउँछ । प्लेटमा राखिएको त्यो बिरयानी केवल भात र मासु थिएन । त्यसमा शहरको इतिहास मिसिएको थियो, पुस्तौँको श्रम मिसिएको थियो, र सबैभन्दा गहिरो कुरा समानताको स्वाद मिसिएको थियो । हो, बिरयानीबाट नै हैदरावादको विशेषता सुरु हुन्छ भन्दा फरक नपर्ला ।
बिरयानी शब्द फारसी भाषाबाट आएको हो । फारसीमा ‘बिरिंज’ को अर्थ भात हुन्छ । चामललाई तारेरे पकाएकाले बिरयानी भएको हो । यो खानेकुरा मध्य एसियाबाट मुगलहरूले भारतमा भित्र्याएको इतिहास छ । मुगलहरूले सेनालाई चामल र मासु मिसाएर बिरयानी तयार गर्थे । भारतमा अझ विशेष मसलाहरू हालेर स्वाद थपेपछि लोकप्रिय बन्दै गयो । पछिल्ला दिनमा हैदरावाद, लखनउ, कलकत्ता बिरयानीका लागि निकै प्रख्यात छन् ।
हैदरावादमा बिरयानी धनी–गरिब सबैको साझा खाना हो । अझ खाना भन्दा यो एक संस्कार नै हो । जसरी हाम्रोतिर गल्ली–गल्लीमा म:म:, चाउमिन पसलहरू भेटिन्छन्, हैदरावादमा त्यसैगरी बिरयानी त्यहाँका मानिसको दैनिकीसँग जोडिएको छ ।
हामी एयरकन्डिसन रेस्टुरेन्टमा बसेर बिरयानी खाइरहँदा, केही पर सडकछेउका साना भाँडामा पनि उही बिरयानीको बाफ उड्दै गरेको देखिन्थ्यो । त्यहाँ कतै–कतै १० रुपैयाँमा पनि बिरयानी पाइँदोरहेछ । त्यो बिरयानीले कुनै फाइभ–स्टार स्वादको दाबी गर्दैनथ्यो । त्यसले गरिब, मजदुर र यात्रुको पेट भरिरहेको थियो ।
त्यस क्षण मलाई महसुस भयो- यहाँ स्वाद विलास होइन अधिकार हो । हैदरावादले बिरयानीलाई केवल खानाको रूपमा होइन, सामाजिक सेतुको रूपमा जोगाएको रहेछ । एउटै स्वादले धनीको टेबल र गरिबको हात जोडिदिने काम यसले गरेको रहेछ । सायद यही कारण होला, हैदरावादी बिरयानी पेटमा मात्र होइन, मनमा बस्छ ।
चारमिनार र वरपरको क्षेत्र घुमफिरपछि हामी सार्वजनिक बस चढेर फर्कियौँ ।बसमा देयौँ- महिलाहरू नि:शुल्क यात्रा गरिरहेका थिए । तेलंगाना सरकारको महालक्ष्मी योजना अन्तर्गत महिलाहरूलाई दिइएको सुविधा थियो त्यो। महिला यात्रुलाई सुरक्षित र स्वतन्त्र बनाउने नीति—कागजमा होइन, सडकमा लागू गरिएको थियो ।
बैंग्लोरको सयर
यात्रा यहीँ रोकिएन । मलाई बैंग्लोर घुम्ने रहर पनि थियो । त्यहाँका साथी डा. शिवशंकरले धेरै पटक आउन आग्रह गरेको बिर्सेको थिइनँ ।
२८ डिसेम्बरको रात थियो । हैदरावाद अझै निदाएको थिएन, म भने बैंग्लोरतर्फ लाग्दै थिएँ । तेलंगाना सरकारको बस साथीले नै टिकट काटिदिएको । सरकारी बस भन्नेबित्तिकै मनभित्र कतै एउटा सानो शंका पलाएको थियो । सायद पुरानो होला, ढिलो होला, बेवास्ता होला । तर जब बस नजिक पुगेँ, ती सबै पूर्वानुमानले हावा खाए । बस सफा थियो, समयमै आयो र सबैभन्दा महत्त्वपूर्ण कुरा जिम्मेवार थियो ।
त्यो जिम्मेवारी कुनै घोषणा पत्रमा होइन, साना–साना व्यवहारमा देखिन्थ्यो । चालकको आँखामा, कन्डक्टरको स्वरमा, यात्रुप्रतिको व्यवहारमा । त्यो रात मलाई पहिलो पटक महसुस भयो- व्यवस्था भनेको सुविधा मात्र होइन, सम्मान पनि हो ।
दुई दिन बसियो बैंग्लोर । विशाल शहर । अन्तहीन सडक । ट्राफिक जामले कहिलेकाहीँ समय स्थिर भएको जस्तो लाग्ने । हामीले स्कुटरको यात्रा रोज्यौँ । र त्यो यात्रामा सबैभन्दा ठूलो सहारा थिए- मित्र डा. शिवशंकर साह । वर्षौँदेखि बैंग्लोरमा बस्दै आएका, शहरबारे सबै जानकार ।
बैंग्लोर शिक्षा र स्वास्थोपचारका लागि पहिल्यैदेखि प्रसिद्ध शहर हो भन्ने थाहा थियो । तर मैले त्यहाँ अर्को बैंग्लोर देखेँ । ईस्कन मन्दिर, प्रसिद्ध शपिङ कम्प्लेक्सहरू, वायु सेनाको प्रशिक्षण र उपचार केन्द्र लगायत अनेकौँ महत्त्वपूर्ण केन्द्रहरू।
यो शहर केवल व्यापारको केन्द्र होइन, तयारीको शहर रहेछ । भविष्यका लागि मानिस तयार पार्ने शहर । तर एउटा ठाउँबाट अर्को ठाउँ पुग्न कम्तीमा एक घण्टाको यात्रा गर्नुपर्ने । स्थानीयलाई पनि यात्रा गर्न गुगल नक्सा हेर्नुपर्नेसम्मको विशालता । भाषा फरक छ । संस्कृति फरक छ । तर व्यवहारमा एउटा मौन समानता छ- व्यवस्थित जीवनप्रतिको सम्मान । सडक, ट्राफिक प्रहरी र ट्राफिक जामहरू नेपालीपनको अनुभूति दिलाउने खालका थिए । दुई पाङ्ग्रे (स्कुटर, मोटरसाइकल) हरू पेलपाल गरेर निस्किहाल्ने, ट्राफिक प्रहरीले केरकार गरे १००–२०० दिएर सम्हाल्ने चलन यहाँ पनि रहेछ ।
ओरिएन्टल मल । जहाँ दीपिका पादुकोण किनमेल गर्छिन् भन्ने सुनेको थिएँ । त्यही मलमा, आफ्ना परिवारका लागि सामान किन्दा मनमा न्यानो अनुभूति आयो । त्यो क्षण मैले बुझेँ—यात्रा केवल ठाउँ हेर्नका लागि हुँदैन । यात्रा त सम्झना लिएर फर्किनका लागि पनि हुन्छ ।
फर्किने बेला ३० डिसेम्बरको रात निजी कम्पनीको रात्री बस थियो । बैंग्लोर आउँदा चढेको सरकारी बस र यसको तुलना गरेँ । फरक व्यवस्थापन, फरक संरचना तर महत्त्वपूर्ण कुरा साझा थियो- जवाफदेहिता र जिम्मेवारीपन । यात्रुसँग लाइभ–ट्र्याकिङ, फोन गरेर यात्रु चढेको सुनिश्चित गर्ने । कुन स्टपमा चढ्ने, कति समयमा पुग्ने- सबै स्पष्ट । बाटोमा अलमल छैन, अनावश्यक रोक छैन । गन्तव्य समयमै । त्यहाँ अनुशासन भाषणमा होइन अभ्यासमै रहेछ ।
हैदरावाद र बैंग्लोर—दुवै दक्षिण भारतका ठूला शहर हुन् । नक्सामा हेर्दा दुवै महानगर । तथ्यले हेर्दा दुवै विकासका प्रतीक । तर भित्र पस्दा, यी शहरहरू एक-अर्काका प्रतिरूप होइनन्, स्वभावले नै दुई फरक धार हुन् । हैदरावाद स्वादले चिनिन्छ। यो शहर जिब्रोबाट मनमा पस्छ । यहाँ मानिसभन्दा पहिला बिरयानी बोल्छ । सडक, गल्ली, बजार- सबै ठाउँमा एउटै बास्ना । धनीको प्लेट र गरिबको हातमा एउटै परिकार । पुरानो शहरका साँघुरा गल्लीहरू ।
बैंग्लोर चिनिन्छ- संरचनाले । यो शहर आँखाले होइन, घडीले बुझिन्छ । यहाँ समय पैसा होइन, समय नै जीवन हो । गल्लीभन्दा ठूलो यहाँ सडक होइन, नेटवर्क हो । यहाँ मानिसले शहरलाई चलाउँदैनन्, शहरको तालिकामा आफूलाई फिट गर्छन् । हैदरावादमा भाषा भाव हो । उर्दूको मिठास, तेलुगुको लय । बोलाइमा अपनत्व । बैंग्लोरमा भाषा उपकरण हो । कन्नड, अंग्रेजी- कामका लागि, स्पष्टताका लागि । हैदरावादमा महिलालाई बसमा नि:शुल्क यात्रा । नीति सरल छ, तर सन्देश गहिरो विश्वासमा अडेको छ । अनि बैंग्लोरमा महिला स्वतन्त्र देखिन्छिन्, स्कुटरमा, अफिसमा, सडकमा । तर त्यो स्वतन्त्रता अनुशासनको घेराभित्र बाँचिरहेको हुन्छ ।
हैदरावादले भन्यो, ‘बस, खाऊ, स्वीकार गर ।’ अनि बैंग्लोरले भन्यो, ‘हिँड, समय मिलाऊ, अगाडि बढ ।’ यी दुई शहर प्रतिस्पर्धी होइनन् । यी त यात्राका दुई चरण हुन् । एकले मन भर्छ, अर्काले दिशा दिन्छ । सायद त्यसैले होला, हैदरावादबाट निस्किँदा पेट भरिएको थियो । र बैंग्लोरबाट फर्किँदा मन स्पष्ट थियो ।
हैदरावाद, कान्हा शान्ति वनम्, बैंग्लोर—यी सबै ठाउँहरू अलग थिए । तर मलाई एउटै कुरा सिकाए । शहर ठूलो हुनुपर्दैन, सोच ठूलो हुनुपर्छ । सुविधा महँगो हुनुपर्दैन, समावेशी हुनुपर्छ । र यात्रा सफल हुन दूरी होइन, अनुभूति चाहिन्छ ।
प्रतिक्रिया 4