१५ माघ, काठमाडौं । स्पेनी महारथी क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम लिग खेलमा बेनफिकासँग पराजित भएको छ ।
गएराति भएको खेलमा बेनफिकाले रियल मड्रिडलाई ४-२ गोलअन्तरले पराजित गरेको हो । बेनफिकाको जितमा आन्द्रेस शेल्डरुपले दुई गोल गर्दा भान्गेलिस पाभ्लिदिस र एनाटोली ट्रबिनले एक-एक गोल गरे । रियलका लागि किलियन एमबाप्पेले दुई गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन ।
खेलको ३०औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा शेल्डरुपले बराबरी गोल फर्काए । इन्जुरी समयमा पाभ्लिदिसले गोल गर्दै बेनफिकालाई पहिलो हाफमा २-१ ले अगाडि राखे ।
५४औं मिनेटमा शेल्डरुपले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को अग्रतामा पुर्याए । ५८औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे ।
खेलको तनावपूर्ण इन्जुरी समयको आठौं मिनेटमा बेनफिकाका गोलरक्षक ट्रबिनले गोल गर्दै ४-२ को जित पक्का गरे ।
इन्जुरी समयको दोस्रो मिनेटमा राउल एसेन्सियो अनि सातौं मिनेटमा रोड्रिगोले रातो कार्ड पाएपछि रियल अन्तिम केही समय ९ खेलाडीमा सीमित भएको थियो ।
हारपछि रियल मड्रिड च्याम्पियन्स लिगको शीर्ष ८ मा पर्न नसक्दा सिधै अन्तिम १६ खेल्न पाएन । नवौं स्थानमा झरेको रियलले अब प्लेअफ खेल्नुपर्नेछ ।
यस्तै साविक विजेता फ्रेन्च क्लब पीएसजी र उपविजेता इटालियन क्लब इन्टर मिलान पनि शीर्ष ८ मा पर्न सकेनन् । पीएसजीले गएराति न्युकासलसँग १-१ को बराबरी खेल्दा इन्टरले डर्टमन्डमाथि २-० को जित निकाले पनि पर्याप्त हुन सकेन ।
प्रतिक्रिया 4