News Summary
Generated by OK AI. Editorially reviewed.- अस्मिता विष्टले नेपाली तथा अङ्ग्रेजी भाषामा साहित्य सिर्जना र समीक्षा गर्दै गद्यकवितामा सक्रिय छन्।
- उनको 'ब्ल्याकहोलमा गीतहरू' कविता सङ्ग्रहमा प्रणयचेतना, नारीवादी चेतना, राष्ट्रप्रेम र सामाजिक विषयवस्तु समेटिएका छन्।
- विष्टका कवितामा स्वच्छन्दतावादी शैली, प्रतीकात्मक अभिव्यक्ति र क्रान्तिकारी चेतना प्रष्ट देखिन्छ।
अङ्ग्रेजी विषयमा विद्यावारिधि गरी प्राध्यापन तथा लेखनमा क्रियाशील अस्मिता विष्ट नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा साहित्यको सिर्जना र समीक्षा गर्ने स्रष्टा तथा द्रष्टाचेत भएकी प्रतिभा हुन् । उनको सर्जक व्यक्तित्व गद्यकविताका क्षेत्रमा ऊर्जाशील रहेको छ । समीक्षक व्यक्तित्वचाहिँ समीक्षक टिप्पणीकार विवेचक तथा समालोचकका रूपमा प्रवेगका साथ गतिशील रहेको छ ।
विधागत मूल्यका साथै वैचारिक विविधताका धरातलबाट साहित्यिक रचना तथा कलाको समीक्षा गर्ने सन्दर्भमा उनी बहुआयामिक बन्दै गएकी छिन् । विशेषतः आख्यान तथा फिल्मका समीक्षामा केन्द्रित हुँदै चार दर्जनबढी समीक्षात्मक लेखहरूमार्फत् उनले नेपाली समीक्षाजगत्मा आफूलाई नवचेतनावादी अब्बल समीक्षकका रूपमा उभ्याउन सफल भइसकेकी छिन् । समीक्षकका रूपमा साहित्यिक समारोहमा बाक्लो उपस्थिति जनाउँदै आएकी विष्टको समीक्षाचेत पूर्णतः वस्तुवादी तथा निर्णयात्मक छ ।
विद्यालयीय शिक्षासँगै कविताका क्षेत्रमा सक्रिय रहेकी विष्ट पुस्तकाकार रूपमा चाहिँ २०८० का दशकदेखि मात्रै सार्वजनिक भएकी छिन् । पुस्तकाकार रूपमा उनी ‘ब्ल्याकहोलमा गीतहरू’ कवितासङ्ग्रहमार्फत् २०८२ भदौमा सार्वजनिक भएकी छिन् । विष्टको यो कविता सङ्ग्रह एन्डिगो इन्क प्रा.लि.बाट प्रकाशन भएको छ । ३५ वटा गद्य कविताहरू रहेको यस कृतिले विष्टलाई नेपाली कविता कित्ताकी स्वच्छन्दतावादी धारकी बिम्बात्मक शैलीकी कविका रूपमा परिचय दिएको छ ।
यस सङ्ग्रहका कविताहरू विषयवस्तुका दृष्टिले विवधतामय भए पनि यिनीहरू मूलतः ऋतुचक्र, प्रणयचेतना, युवाशक्तिप्रतिको सम्मान, युद्धविरोधी चेतना, मानवीय सङ्घर्ष, प्रकृति र क्रान्तिको समीकरण, नारीवादी चेतना, मातृ तथा पितृवात्सल्य तथा भक्तिभाव, देशप्रेम तथा प्रतिभा पलायन, विसङ्गतिप्रतिको विद्रोह एवम् पहिचानवादी चेतनासँग सम्बन्धित रहेका छन् । यी विविध विषयक्षेत्रसँग सम्बन्धित अनुभूतिलाई कलात्मक उचाइका साथ प्रस्तुत गर्ने विशिष्ट किसिमको काव्यकला विष्टमा रहेको कुरालाई यी कविताहरूले पुष्टि गरेका छन् ।
विष्टका यस सङ्ग्रहका ‘तिम्रो आगमन’, ‘नयाँ वर्षको प्रतीक्षा’ जस्ता कवितामा ऋतुचक्रले सिर्जना गरेका अनुभूतिलाई प्रस्तुत गरिएको पाइन्छ । यी कवितामा कविका रोमान्सेली भावनाहरू कलात्मक बान्कीका साथ अभिव्यक्त भएका छन् । ‘तिम्रो आगमन’ वसन्तऋतुमा मनाइने होली पर्वलाई विषयवस्तु बनाइएको कविता हो । वासन्तीय होलीले मानवीय जीवनका साथै प्रकृतिमा भित्र्याउने उत्साहलाई कवितामा व्यक्त गरिएको पाइन्छ । प्रकृति र मानव बीचको सम्बन्धलाई कवि यसरी व्यक्त गर्छिन् :
प्रिय होली !
तिम्रो आगमनमा जवान बन्छ वसन्त
पाउलिन्छन् सम्बन्धका हरिया बोटहरू
मनभरि फस्टाउँछन् पिरतीका बाली
गुन्जिन्छ गगनमा मायाको सङ्गीत !
(तिम्रो आगमन, पृ. १२)
‘नयाँ वर्षको प्रतीक्षा’ ऋतु परिवर्तनसँग नै सम्बन्धित कविता हो । यस कविताले समय परिवर्तनसँगै मान्छेका चाहना तथा अपेक्षाहरू फेरिँदै जाने र नयाँ समयमा नयाँ उमङ्गका साथ गतिशील हुनचाहने मानवीय स्वभावलाई प्रस्तुत गरेको छ । समयको परिवर्तनपछिको अपेक्षालाई विम्बात्मक रूपमा प्रस्तुत गरिएको यस कवितामा पनि मानव र प्रकृतिका बीचको आत्मीय तथा तादात्म्य सम्बन्धलाई यसरी व्यक्त गरिएको छः
वर्षको अन्तिम रात
इनारमा प्रतिविम्बित जून
रूखका पातहरूमा टाँसिएका शीत
लहरै उभिएको पहाड
हिउँदे झरीमा निथ्रुक्क भिजेका
एकहुल भँगेरा
पर्खिरहेका छन्
एउटा नयाँ आशा
बुन्दै छन् एउटा नयाँ सपना ।
(नयाँ वर्षको प्रतीक्षा, पृ. ५८)
कवि अस्मिता विष्टका यस सङ्ग्रहका करिब १ दर्जन कविताहरू प्रणय चेतनामा आधारित रहेका छन् । यी कविताले कविका युवासुलभ संयोग र वियोगमा आधारित प्रणयचेतनाको प्रतिनिधित्व गर्दछन् । सम्झनाको धागोमा उनेर, प्रेमवर्षामा रुझिरहेका हामी, ह्वाट्स एपमा अश्वत्थामाको मेसेज, बैँस फुलेको साँझ, नीरमायाहरू, गलैँचीको फूल, सुस्तरी खसेर हिउँफूलहरूमा, दुश्मन प्रेमीको खोजीमा, यादको धागो, तिम्रो बेवास्ताको झरीले, बिजुली तारमा उँघिरहेका भँगेराहरू, दोहोरो मृत्यु, घुङ्ग्रिएको केश लगायतका कवितामा प्रेमभावको कलात्मक अभिव्यक्ति रहेको छ । यी कविताहरू पनि पूर्णत: स्वच्छन्दतावादी प्रणय चेतनासम्बन्धी भावहरूको अभिव्यक्ति रहेको पाइन्छ ।
ब्ल्याकहोलमा गीतहरू सङ्ग्रहको ‘सम्झनाको धागोमा उनेर’ वियोगजन्य प्रणयचेतनामा आधारित कविता हो । यसमा कविको कल्पनाशक्ति विशिष्ट किसिमको उचाइमा विचरणशील देखिन्छ । आफ्नो प्रेमीको वियोगमा उसैको अनुभूति बाँच्ने कविको चेतनाले प्रेमको शाश्वततालाई यसरी व्यक्त गरेको छः
एक तमासले चहार्छु तिमीले कुल्चिगएका पाइतालका डोब
ओठमा सजाउँछु तिम्रै गीतको भाका
हेरिबस्छु तिम्रो प्रिय जून !
छाता ओढेर छेक्छु तिमीलाई झर्को लाउने बर्खे झरी
तिम्रो अनुपस्थितिमा
म तिम्रो अस्तित्व बाँच्छु ।
(सम्झनाको धागोमा उनेर, पृ. १४)
‘यादको धागो’ कविता पनि यही किसिमको वियोगजन्य प्रणयचेतनामा आधारित कविता हो । यस कवितामा पनि वियोग हुँदैमा प्रेम समाप्त नहुने भावको अभिव्यक्ति रहेको छ । व्यक्तिहरू छुट्न सक्छन् तर स्मृति छुट्न सक्तैन प्रेममा विछोड हुन सक्छ तर प्रेम समाप्त हुँदैन यो अजरामर शाश्वत् चिज हो भन्ने प्रेमदर्शनको अभिव्यक्ति यस कवितामा निम्नअनुसार भएको पाइन्छः
छुट्टियौँ हामी, तर टुट्न सकेन यादको धागो
छुट्टियौँ हामी, तर निभ्न सकेन यादको आगो
तिमीसँग अनुभूत गरेको स्वर्णिम सुख
अझैँ पनि यादको तलाउमा डुब्दै उत्रन्छन्
अझैँ पनि हृदयको एउटा कुनामा
बलिरहन्छ धिपधिपे प्रेमको उज्यालो ।
(यादको धागो, पृ.७८)
‘प्रेमवर्षामा रुझिरहेका हामी’ कविताले प्रेमतत्परा प्रकृतिको पुरुषप्रतिको समर्पणको भावलाई व्यक्त गरेको छ । यस कवितामा जड प्रकृति र चेतन पुरुषका बीचको सम्बन्धलाई प्रस्तुत गरी सृष्टिसौन्दर्यमा अन्तर्निहित तादात्म्य भावलाई नारी र पुरुषका आत्मीय प्रेमसम्बन्धका माध्यमबाट यसरी प्रस्तुत गरिएको छः
युगौँदेखि खरानीको पत्रमा चेपिएको आगो
अनायासै बलेको बखत ,
प्रदीप्त हुन्छ जब सन्तुष्टिमा उसको मुहार
ए गुलाफ ! तिमी ढकमक्क फूल्नू
मेरो देहभरि फैलाउनू चरम सुगन्ध मायाको
मूर्छित होउन् पिरतीको खेदो खन्नेहरू
टुलुटुलु हेरिबसुन् हाम्रो मायाको खेल ।
(प्रेमवर्षामा रुझिरहेका हामी, पृ. १५)
ब्ल्याकहोलमा गीतहरू सङ्ग्रहको ‘दुश्मन प्रेमीको खोजीमा’ प्रणयचेतनामा आधारित उत्कृष्ट कविता हो । यस कविताले प्रेमप्रतिको प्रेमीको समर्पणको याचना गरेको छ । व्यक्ति जसले अरूलाई समर्पणका साथ जसरी प्रेम गरेको हुन्छ उसको प्रेमीले पनि त्यसरी नै समर्पणका साथ उसलाई प्रेम गरोस् भन्ने भावनाको अभिव्यक्ति यस कवितामा भएको छ । अरूप्रति दुश्मनजति चिन्तित रहन्छ प्रेमी पनि आफूप्रति त्यतिकै चिन्तित रहोस् भन्दै यस कवितामा प्रेमप्रतिको प्रेमीको समर्पण भावलाई यसरी प्रस्तुत गरिएको पाइन्छः
गरेर हमला मेरो कलेजीमा
प्रणयको फूल फुलाउने
उसले हरघडी यस्तै गरोस्
मलाई दुश्मनलेझैँ प्रेम गरोस् ।
(दुश्मन प्रेमीको खोजीमा, पृ. ६२)
कवि विष्टका यस सङ्ग्रहका एक चौथाई कविताले युवासुलभ मानवीय प्रणयभावलाई कतै संयोगात्मक संवेगमा त कतै वियोगात्मक करुणामा उनेर भावात्मक रूपमा प्रस्तुत गरेका छन् । वियोग वा संयोग जुनसुकै अवस्थामा पनि प्रेमको मूल्य र स्वरूप एउटै हुने जीवनदर्शनलाई विष्टका यी कविताले प्रस्तुत गरेका छन् । यस तात्पर्यमा विष्ट प्रेमको शाश्वततालाई मूल्य दिने प्रतिभाका रूपमा देखापरेकी छन् ।
युवाशक्तिप्रतिको सम्मान कवि विष्टको ब्ल्याकहोलमा गीतहरू सङ्ग्रहका कवितामा पाइने अर्को अभिलक्षण हो । कवि आफू पनि युवा हुन् । उनी युवामा सबै किसिमका समस्यासँग जुधेर नवनिर्माणको ढोका खोल्ने सामर्थ्य रहने धारणा राख्तछिन् । यिनै युवामा विश्वबन्धुत्वको भावनाका साथ विश्वमानवता र विश्वसभ्यताको निर्माण गर्ने अजस्र शक्ति रहने भावलाई ‘यौवनका चराहरू’ कवितामा यसरी प्रस्तुत गरिएको पाइन्छः
मेहनतमा अविच्छिन्न चलेका हातहरू
सम्याएर समस्याको अग्लो पहाड
विरह लाउने मरुस्थलमा
कठाङ्ग्रिने पठारहरूमा
फुलाइरहेका हुन्छन्
यौवनका जोसिला फूलहरू
(पृ.२४ र २५)
यस सङ्ग्रहका केही कविताहरूमा युद्धविरोधी चेतनाको अभिव्यक्ति भएको छ । युद्ध मानवताको विपरीत हुन्छ भन्ने मूल चिन्तन उनका कवितामा पाइन्छ । योद्धाहरू क्रूरमात्र हुँदैनन् उनीहरूमा पनि अरूजस्तै मानवीय संवेदना रहने भावको अभिव्यक्ति उनको ‘नियतिको धारमा रेटिएका तिमी’ शीर्षकको कवितामा पाइन्छ । युद्धको सुरुवात पुरुषहरूले नै हजारौँ वर्ष पहिलेदेखि गरेको र पुरुषत्वको अहम् रटाएर पुरुषहरूलाई मानवीय संवेदनाभन्दा माथि उठी युद्धमा होमेको प्रसङ्गलाई यस कवितामा यसरी प्रस्तुत गरिएको छः
लेखिएन कहिल्यै बिछोडको पीडामा भक्कानिएको तिम्रो हृदयको व्यथा
राखिएन कहिल्यै प्रियजनको यादमा तिमीले बगाएको आँसुको हिसाब
कोरिएन कहिल्यै मृत्युको भयले काँपेको तिम्रो हृदयको फेहरिस्त
खिचिएन कहिल्यै तिम्रो मनको तस्वीर
(पृ.२९)
कवि विष्टका कवितामा मानवीय जीवनका सङ्घर्षहरूको अभिव्यक्ति पनि पाइन्छ । यस सङ्ग्रहको ‘प्रेमको फूल’ शीर्षकको कवितामा प्रतीकात्मक रूपमा क्याक्टसका माध्यमबाट मानवीय जीवनका सङ्घर्षहरूलाई प्रस्तुत गरिएका आधारमा उनी प्रतीकात्मक शैलीमा मानवीय जीवनसङ्घर्षलाई कवितामा उतार्ने कवि हुन् भन्ने कुरालाई निम्न कवितांशका आधारमा स्पष्ट पार्न सकिन्छ :
उत्खनन गरेर स्मृतिको माटो
अतीव सघन मरुभूमिमा प्रतिक्षण उमार्छ प्रेमको शतबीज
यसरी मरुभूमिमा क्याक्टस
प्रेमको फूल फुलिरहेछ ।
(पृ.३२)
मान्छे प्रतिकूल परिस्थितिमा पनि सङ्घर्ष गर्दै जीवनलाई प्रेमरसले सिञ्चित गर्ने अभिलाशामा रहन्छ भन्ने सुन्दर विचारको अभिव्यक्ति यस कवितामा रहेको छ ।
अस्मिता विष्टका केही कवितामा सशक्त रूपमा क्रान्ति चेतनाको अभिव्यक्ति भएको पाइन्छ । ‘बदमास झरी’ शीर्षकका कवितामा कवि शोषणलाई झरीका बिम्बमा प्रस्तुत गर्दै वर्गीय शोषणको स्वरूपलाई आलोचनात्मक दृष्टिले प्रस्तुत गर्छिन्।’रच्नु छ फेरि एउटा इतिहास’ शीर्षकको कवितामा चाहिँ कवि खुलेरै क्रान्तिको आह्वान यसरी गर्छिन् :
मुक्त गर्नु छ जन्जिरबाट बन्धनमै रमाउन थालेकाहरूलाई
तोड्नु छ उन्मुक्तिको घनले बेथितिको पर्खाल
मिल्काउनु छ काटेर चेतनाको कैँचीले विसङ्गतिको क्यान्सर
सल्काउनु छ इन्कलाबको आगो
रच्नु छ फेरि एउटा विप्लवी इतिहास ।
(पृ.७९)
यस सङ्ग्रहका आधादर्जनजति कवितामा नारीसंवेदना, नारीविद्रोह र नारीजागरणको स्वरलाई सशक्त रूपमा प्रस्तुत गरिएको पाइन्छ । उनको ‘विनिर्मित पहिचान’ शीर्षकको कवितामा नारीलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि विद्रोह गरिएको छ । यस कवितामा कविले आफूलाई समुद्र नभई सूर्यका रूपमा तथा आगाको लप्काका रूपमा उभ्याई पितृसत्तात्मक समाजका रूढिहरूमाथि धावा बोल्ने क्रान्तिकारी चरित्रका रूपमा प्रस्तुत गरेकी छन् ।
तिमीले वर्षौँ वर्ष
मानसपटलमा अङ्कित गरिराखेको थोत्रो विम्बलाई
खरानी बनाइदिने
हुँ आगोको लप्का
‘आधुनिक पिँजरा’ पिँजरा कवितामा नारीमाथि हुने शोषणको नयाँ स्वरूपलाई प्रस्तुत गर्छिन् । अहिले नारीहरूलाई कानुनी रूपमा स्वतन्त्र र अधिकारसम्पन्न बनाइएको भ्रम छरे पनि आज पनि नारीहरूमाथि शोषण भइरहेको सन्दर्भलाई यस कवितामा विम्बात्मक रूपमा प्रस्तुत गरिएको छ । ‘मेटामर्फोसिस’ कवितामा सभ्यता तथा परम्पराका नाममा नारीलाई कसरी बन्धनमा पारेर यन्त्रका रूपमा स्वरूप परिवर्तन गरिन्छ भन्ने कुरालाई यसरी प्रस्तुत गरिएको छः
प्रतिस्थापन गरियो
आँट, साहस र उत्साह पैदा गर्ने ग्रन्थीहरू
लज्जा, डर र हिच्किचाहट पैदा गर्ने ग्रन्थीहरूसँग
यसरी एउटा अत्याधुनिक प्रयोगशालामा
योजनाबद्ध ढङ्गले उनको मेटामोर्फोसिस भयो
‘आमाहरू निरीह हुँदैनन्’ कवितामा चाहिँ पुरानो पुस्ताका नारीहरू पनि अहिले प्रविधिमा दक्ष भइसकेको सन्दर्भलाई व्यक्त गरिएको छ । वृद्ध अवस्थामा पुगेका आमाहरू पनि अहिले कम्प्युटरका किबोर्ड थिच्दै फोनबाटै बिजिनेस गर्नसक्ने विचारका माध्यमबाट नारीहरू पनि पुरुष जत्तिकै सक्षम भएको विचारलाई प्रस्तुत गरिएको छ । ‘सहअस्तित्व’ कवितामा चाहिँ कवि पुरुषलाई सूर्य र नारीलाई पृथ्वीका रूपमा प्रस्तुत गर्दै नारी र पुरुपका बीचको सहकार्य र सहअस्तित्वको वकालग गर्छिन्। यसरी उनका नारीवादी चिन्तनमा आधारित कविताहरूमा उग्र नारीवादी विचारलाई नभई सहअस्तित्वमा आधारित समतामूलक नारीवादी चिन्तनलाई विम्बात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत गरिएको पाइन्छ ।
विष्टका केही कविताहरू आफ्ना आमाबुबाको स्मृतिमा रचिरएका छन् । आफ्ना दिवंगत मातापिताप्रतिको आस्था र प्रेमभावलाई यो कवितामा प्रस्तुत गरिएको पाइन्छ । कवि ‘बाको रहर’, ‘सम्झनाको तोरणमा टाँगिएका बा’ लगायतका कवितामा सन्तानका लागि आफ्ना रहरहरूलाई बन्धकी राखेर कष्ट झेलिरहेका बाहरूको अवस्था र नवपुस्तामा आएको विचलनलाई प्रस्तुत गर्छिन्। छोराछोरीहरूका लागि बाहरूले गरेको त्याग र बाबुहरूप्रतिको छोराछोरीको बेवास्थालाई निम्न पङ्क्तिले चोटिलो व्यङ्ग्य गरेको पाइन्छः
सम्झना छ तिमीलाई
मेरो छातीमा टेकेर आकाश नियालेको ?
मेरो करङको सिँढी चढेर शिखरको स्वाद चाखेको ?
तिम्रो निम्ति भनेर मेरो सपना बन्दकी राखेको ?
तिम्रो खुसीसँग मेरो रहर साटेको ?
(बाको रहर, पृ. ४४)
केही कवितामा आमाप्रतिको प्रेमको सशक्त अभिव्यक्ति पाइन्छ । मातृवियोगबाट प्रताडित विष्ट हरेक क्षण आमाको सम्झना गरिरहेकी हुन्छिन् ।उनी ‘बिदाइ आमा’ शीर्षकको कवितामा आमाको बिदाइसँगै चाडबाडमा आउने खुशीयाली हराएको धारणा राख्तछिन् । ‘जीवनगीत’ कवितामा उनी आफू हतास हुँदा आमाकै प्रेरणाले गतिहुने गरेको सन्दर्भलाई यसरी प्रस्तुत गर्छिन्:
बोकिहिँड्दा मस्तिष्कमा
कर्तव्यको भारी
भासिन थाल्छन् जब पाइतालाहरू
निराशाको दलदलमा
मधुरो हुन थाल्छ जब आँटको उज्यालो
खिइन थाल्छ हौसलाको बाती
सुनिन्छ त्यसै बेला आमाको गोडाको अथकित पदचाप
(पृ. ७२)
देशप्रेम र प्रतिभा पलायन अस्मिता विष्टका यस सङ्ग्रहका कवितामा पाइने अर्को विषयवस्तुगत सन्दर्भ हो । यस सङ्ग्रहको एक सर्को उज्यालो कविताले कविभित्र अन्तरनिहित राष्ट्रप्रेमको गहिराइलाई यसरी अभिव्यक्त गरेको पाइन्छ :
भएर भूकम्प ल्याउनु छ प्रलय
चट्टानी हृदयमा
अनि फुलाउनु छ
चिरा परेको त्यही चट्टानमा
सुन्दर सुनगाभा ।
कवि आफ्नो जन्मभूमिमा चेतनाको मूल फुटाउन र जडतालाई समूल समाप्त पार्न मात्र होइन सिर्जनाको सुनगाभा फुलाउन चाहान्छिन् । राष्ट्रप्रेमसँग सम्बन्धित कविको यो अनुभूति भावात्मक मात्र नभई पूर्णरूपमा सिर्जनात्मक चेतनासँग सम्बन्धित रहेको छ । गाउँमा खुलेको डिपार्ट्मेन्ट स्टोर नेपालको वर्तमान परिदृश्यमा आधारित कविता हो । देशमा शिक्षा तथा रोजगारको उपयुक्त व्यवस्था नहुँदा प्रतिभा पलायन भएको र यसले देशलाई नै कमजोर बनाएको अभिव्यक्ति यस कवितामा पाइन्छ ।
देशमा भौतिक समृद्धि केही देखिए पनि प्रतिभा पलायनका कारण यस किसिमका विकासले सार्थकता नपाएको अभिव्यक्ति यस कवितामा पाइन्छ । प्रतिभा पलायन हुनुपर्दा देश नै धुलाम्मे भएको जुन भावविचार कवितामा व्यक्त भएको छ । त्यसले पनि देशकै लागि यो पुस्ताले अब सोच्न ढिला गर्न नहुने कविको आशयलाई विम्बित गरेको पाइन्छ । कवि कवितामा देशको विकट अवस्थालाई यसरी प्रकट गर्छिन्:
जुन दिनदेखि जीवनलाई उकालोतिर ठेल्न
झरे ओरालैओरालो कलिला छोराहरू
हिँडे तेर्सैतेर्सो काँचै उमेरका छोरीहरू
त्यसै दिनदेखि गाउँमा
आशाहरूले ठोक्न थाले सुइँकुच्चा
प्रतिभापलायनकै पीडाबाट विक्षिप्त बनेको देशको अवस्थालाई कविले तिमी आउनू कवितामा प्रस्तुत गरेकी छन् । यस कवितामा प्रतिभाहरूलाई देशमै फर्किएर सिर्जनाको गीत गाउन तथा देशविकासमा समर्पित हुन यसरी आग्रह गर्दछिन्:
म फैलाएर चट्टानभन्दा बलियो विश्वासको अँगालो
तिम्रो स्वागतमा खडा रहुँला
तिम्रै लागि कलकल झरना बगिरहुँला
राताम्मे गुराँस फुलिरहुँला
हिउँभन्दा सेतो कात्रोमै बेरिएँछु भने पनि
तिम्रो आगमनको प्रतीक्षामा बाटोजस्तो
बाँचिरहुँला युगयुगसम्म ।
कवि देशभित्र रहँदाको सन्तुष्टिको भाव जब म आफ्नो देशमा हुन्छु कवितामा सहज रूपमा अभिव्यक्त गर्छिन् । देशमा रहँदा र आमाको काखमा रहँदा उस्तै अनुभूति हुने विचारका साथै स्वतन्त्र निर्भय तथा स्वाभिमानपूर्वक देशभित्र सङ्घर्ष गर्नुको आनन्द बेग्लै हुने धारणाका साथ कवि राष्ट्रप्रेमको भावलाई यसरी प्रस्तुत गरिरहेकी छन् :
ननापेरै मापन गर्न सक्छु म
पानीको बोझ बोकेर
खरानी रङमा फैलिएको आकाशको विशालता
राजनीतिक विसङ्गतिप्रतिको विद्रोह तथा व्यङ्ग्य ब्ल्याकहोलमा गीतहरू सङ्ग्रहका केही कवितामा पाइने अर्को विषय हो । कवि हरेक युगमा कुपात्रहरू जन्मिएर हाम्रो आस्थाको धरोहरलाई छिन्नभिन्न बनाउने विषयवस्तुका माध्यमबाट देशमा विद्यमान निरङ्कुश तानाशाही प्रवृत्तिप्रति हरेक युगमा जन्मन सक्छ कुपात्र कवितामा व्यङ्ग्य एवम् विद्रोह गर्छिन्। यस किसिमको तानाशाही प्रवृत्तिले देशलाई नै खतरामा पार्ने भावको अभिव्यक्ति यस कवितामा निम्नअनुसार व्यक्त भएको छ :
हरेक युगमा जन्मन सक्छ कुपात्र
जो जन्मनुअघि नै बुन्छ सायद शकुनिको भन्दा कुटिल चाल
धुजाधुजा पार्छ मानव सभ्यता ।
कवि अस्मिता विष्टका केही कवितामा पहिचानवादी स्वरलाई समेत प्रस्तुत गरिएको पाइन्छ । आगोको बीउ यस किसिमको पहिचानको खोजी गरिएको कविता हो । यस कवितामा कविले जनजातिहरूको पहिचानको मुद्दालाई विषयवस्तुका रूपमा चयन गरेकी छन् । कवितामा सीमान्तकृत जनजातिहरू आफ्नै भूगोलमा पराधीन भएर बाँच्नुपरेको तिक्त यथार्थलाई कथ्य बनाएर स्वपहिचानका लागि उनीहरू विद्रोही बन्दै गएको क्रान्तिकारी चेतनाको अभिव्यक्ति निम्नअनुसार भएको पाइन्छ :
पीडामा चेत हराएको म
मेरो पहिचानको बन्चरोले
तिम्रो घरको मूल खाँबो ताक्दै छु ।
अस्मिता विष्टको ब्याकहोलमा गीतहरू कविता सङ्ग्रहका कविता पूर्ण रूपमा विम्बात्मक ढाँचामा निर्मित छन् । अनुभूतिलाई विम्बका माध्यमबाट तरलताका साथ प्रस्तुत गर्ने कौशल विष्टमा पाइने लोभलाग्दो प्रवृत्ति हो । प्राय गरी प्राकृतिक स्रोतका विम्बको सहायताबाट कवितालाई अन्योक्तिमूलक बनाउनु उनका सबैजसो कविताको विशेषता हो । यसका लागि निम्न कवितांशलाई प्रस्तुत गर्न सकिन्छ:
चुटेर जिन्दगीको असिनाले
थिलथिलो पारेको शरीरलाई
थन्क्याएर स्मृतिको चिसो सिटमा
मिहिन केलाउँदै छु विगत
बियाँझैँ खस्रिएका
कनिकाझैँ टुक्रिएका सम्बन्धहरू
(बाको रहर)
प्रायगरी समापिका क्रियालाई सुरुमा राखेर मानकको अतिक्रमणमार्फत् भाषिक सौन्दर्य सिर्जना गर्न विष्टको कवि शिल्पकार निकै सक्षम बनेको देखिन्छ । संक्षिप्त आयामका अलङ्कारपूर्ण वाक्यहरू र पदविन्यासको शैल्पिक कारीगढीले उनका कविताको शिल्प निकै उत्कृष्ट भनेको छ । सरल भइकन पनि तरल हुनु र तरल भईकन पनि भावगत विविधतालाई कलात्मक मूल्यका साथ अभिव्यक्त गर्नु उनको निजी पहिचान हो । यस तात्पर्यमा विष्टको यस सङ्ग्रहको कवि सम्पूर्ण रूपमा स्वच्छन्दतावादी क्रान्तिकारी कविता लेखन पररम्परामा निजत्वका साथ गतिशील भएको छ ।
खासगरी ब्याकहोलमा गीतहरू कविता सङ्ग्रहका कवितामा प्रतीकात्मक र विम्बात्मक अभिव्यक्ति छ; भाषिक कलासौन्दर्यको साजसज्जा छ; गद्यलयात्मक सङ्गीतिक रागको विशिष्ट गुञ्जन छ, विचारको बोझनभई भावगत तरलता छ र स्वच्छन्तावादी कवित्वको उत्कर्ष छ ।
समग्रमा यस सङ्ग्रहमा प्रयुक्त कविताहरूका आधारमा शाश्वत प्रणयचेतना, नारीसंवेदना र नारीविद्रोह, अभिभावकप्रतिको आदर्शभाव, देशभक्ति, समाजिक रूपान्तरण तथा साइबर कल्चरसम्मका विषयवस्तुलाई विम्बात्मक गद्यकवित्वमा सरल भाषिक शिल्पका साथ व्यक्त गर्नु कवि अस्मिता विष्टको विशिष्ट पहिचान बनेको छ ।
प्रतिक्रिया 4