अहिले नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष बनेका घनश्याम भूसालको लामो राजनीतिक जीवन एमालेमा बित्यो । बौद्धिक र चलायमान नेता मानिने भुसालले लेखेका दुई किताब नेपालको अर्थराजनीतिक अध्ययनमा महत्वपूर्ण मानिन्छन् । चुनावले ल्याउने अवसर र त्यसपछिको राजनीतिका बारेमा भूसालले यो वार्तामा थुप्रै तर्क दिएका छन् । उनी स्वयं चाहिं चुनावमा छैनन् । अनलाइनखबरका बसन्त बस्नेतले गरेको यो वार्ता–
तपाईंले केही वर्षअघि भन्नुभएको थियो– ६ महिना वा एक वर्षभित्र संकट आउन सक्छ । तपाईंले भनेको अवस्था आयो पनि । जेनजी मुभमेन्ट भयो त्यसले हामीलाई चुनावतिर लग्यो । अहिले चुनाव आउँदैछ, त्यसले पनि संकट टार्दैन भन्दै हुनुहुन्छ । तपाईंले भन्न खोज्नुभएको के हो ?
यो चुनाव सामान्य चुनाव होइन । असहज अवस्थामा राष्ट्रपतिले भनेजस्तै बडो जुक्तिबुद्धिले उपाय निकालेर भैपरी सरकार बनायौं । त्यो भैपरी सरकारले भैपरी निर्वाचन गर्दैछ । त्यो संकट टार्न राष्ट्रसँग समय थियो, त्यो समय हामीले गुजार्यौं । जेनजी आन्दोलनको धक्का असाधारण धक्का हो । तर, यत्रो धक्काले पनि परिवर्तन ल्याउन सकेन । मुलुकले चुनाव मात्रै खोजेको थिएन । समाजमा जुन उकुसमुकुस छ । सत्ताजसरी चल्दैछ । हाम्रो उत्पादनसँग सम्बन्धित क्षेत्र, वैभव जता थुप्रिँदैछ, यसले मानिसलाई आक्रोशित बनाइरहेको थियो । अहिले पनि छ ।
थुप्रिँदै आएको संकट अभिव्यक्त भएको छ । धेरै लामो समयदेखि थुप्रिँदै गरेका संकट एकैपटक हामीमाथि आएका छन् । त्यसमाथि संकटकै कारणले चुनाव हुँदैछ । पात्रहरू कस्ता छन् भन्दा एकथरि आफ्नो नालायकी सावित गरिसकेका । पात्रका हिसावले भन्दा देउवाजी (शेरबहादुर देउवा), ओलीजी (केपी शर्मा ओली), प्रचण्डजी (पुष्पकमल दाहाल)लगायत हिजोका पुराना नेताहरू जसले आफ्नो नालायकी प्रमाणित गरिसकेका छन् । अर्कोतिर नयाँहरू छन्, जो लायकी प्रमाणित गर्न नसकेको यस्तो बेलामा चुनावमा छौं । मैदानमा कस्ता छौं भन्दा लायकी प्रमाणित गर्न नसकेका र नालायकी प्रमाणित भइसकेकाहरू चुनावका मुख्य शक्ति छन् । यस्तो बेला संकट अझै लम्बिएर जान्छ । यसले निकास दिँदैन । जबसम्म हाम्रा राष्ट्रिय एजेन्डा के हुन् भन्ने यकिन हुँदैन । तबसम्म मुलुकले निकास पाउँदैन ।
अहिले जो मान्छेहरू निस्किएका छन् । उनीहरू अनुहारको पछि मात्र कुदेका हुन् त ? उनीहरूसँग एजेन्डा छैन ? लामो समयदेखि यहाँ रोजगारीको कमी थियो । सुशासन थिएन । मानिस असन्तुष्ट थिए भनिरहेका छन् नि ?
यो त तपाईंले थियो भनेर भएन नि । यो त उनीहरूले भन्नुपर्यो । कहिलेदेखि रोजगारी छैन ? कहिलेदेखि सुशासन भएन ? त्यसका कारण के हुन् ? त्यसको आन्तरिक, बाह्य कारण के हुन् ? उनीहरूले समस्या पुराना पार्टी भनेका छन् । तिनको विचारमा समस्या हो कि वा सिद्धान्तमा समस्या हो कि, कार्ययोजनामा समस्या हो कि संगठनमा समस्या हो कि ? कहाँ समस्या छ भनेर त छलफल नै भएको छैन । कहीं त्यस्तो छलफल र एजेन्डा देखिएको छैन ।
२०७९ मा रास्वपा खुल्दा देशमा भ्रष्टाचार मौलायो, सुशासनको कमी भयो भनेर उहाँहरूले नारा नै एक नम्बरमा सुशासन राख्नुभएको थियो नि ।
यो कुरा धेरै अगाडिदेखि धेरैले भन्दै छन् । जतिखेर म नेकपा एमालेमा थिएँ । १७ वर्षअगाडि एमालेको आठौं महाधिवेशनमै मैले अब कम्युनिष्ट पार्टीको मुख्य एजेन्डा एउटा रोजगारी, अर्को सुशासन हुनुपर्छ भनेको थिएँ । हाम्रोजस्तो तेस्रो विश्वका मुलुकका सबैभन्दा ठूलो समस्या यिनै दुई हुन् भनेर प्रष्ट्याएको थिएँ ।

१७ वर्षअघि समस्या पहिचान भएको रहेछ । यसपछि कम्युनिष्ट पार्टीले पटकपटक सरकारको नेतृत्व पनि गर्यो । तर किन यतातर्फ पाइलो सारिएन ?
यतातिर जानुपर्छ भनेर मुस्किलले चार पाँच वर्ष लगाएर मैले त्यो पार्टीलाई सहमत गराउन त सके । तर, यसका लागि कस्तो कार्यक्रम र कस्तो संगठन चाहिन्छ भनेर व्याख्या हुन पाएन । त्यो गर्न मैले पनि सकिनँ । किनभने, आठौंदेखि नवौं महाधिवेशनसम्म आउँदा अब हिजोको सत्ता हाम्रो हातमा आएपछि जनतालाई मुक्त गर्न सकिन्छ भन्ने भाष्य पुरानो भयो । अब हामीले हाम्रो नेतृत्वमा मान्छेको जीवन बदल्नुपर्छ । जीवन बदल्नका लागि हाम्रोजस्तो तेस्रो विश्वका मुलुकमा गरिबी र कुशासन सबैभन्दा ठूलो समस्यो हो । यसको मुख्य वैचारिक कारण दलाल पुँजीवाद हो । यसर्थ, दलदल पुँजीवादबाट हाम्रो अर्थतन्त्र, राजनीतिलाई जोगाउँदै रोजगारी सिर्जना गर्दै सुशासनतर्फ जानुपर्छ भन्ने मैले सोचेको, लेखेको, भन्दै आएको हो ।
नवौं महाधिवेशनसम्म आउँदा खासगरी अब हाम्रो समाज अर्धसामन्ती, अर्धऔपनिवेशिक होइन, यो पुँजीवादी हो, दलाल पुँजीवादी हो । अब जाने समाजवादीतर्फ हो भन्ने कुरामा सहमत गराउनसम्म सकियो । २००६ सालमा कमरेड पुष्पलालले हाम्रो सामाजिक, आर्थिक विश्लेषण गरेपछिको यो नयाँ ब्याख्या थियो । नयाँ अध्ययन थियो, नयाँ निष्कर्षहरू थिए । त्यो निष्कर्षहरूको नारा हामीले नवौं महाधिवेशनमा टिप्यौं । तर, त्यो नारा जुन पार्टीले पारित गर्यो, त्यसको विरुद्धमा रहेको कमरेड ओली (केपी शर्मा ओली) पार्टी नेतृत्वमा आउनुभयो । त्यसपछि नीति र नेतृत्वको यो विरोधाभासले संकट ल्याउँछ भन्दै आएँ । नभन्दै त्यस्तै भयो ।
यसबीचमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर विशाल नेकपा पार्टी बन्यो । तर, त्यो पनि टिक्न सकेन । किनभने त्यो पार्टीका मुख्य दुवै नेतृत्वले त्यो अवसरलाई हरेक नागरिकले रोजगारी पाउँछन्, मुलुकमा सुशासन आउँछ भन्ने कुरामा कार्यान्वयन गर्न सक्नुभएन । त्यसैले बेरोजगारी र कुशासनको नारा नयाँ होइन । यो कुरा हामी पार्टीभित्र बसेर भन्दै थियौं । उहाँहरूले बाहिर बसेर भन्नुभयो । असन्तोष बढिरहेका बेला त्यो कर्णप्रिय सुनियो । कुरा त्यति हो ।
रोजगारी र सुशासन त पञ्चायतले पनि त चाहन्थ्यो । यो कुरा त राजाले पनि चाहन्थे । दरबार बाँच्ने कुरा रहिरहेर देशमा सुशासन होस् त राजाले पनि भन्थे । त्यसैले यो कुनै नाराका हिसावले नयाँ होइन । तर, हाम्रा छोराछोरीले यहीँ रोजगारी पाउने, रोजगारीका लागि बाध्यताले विदेश जान नपर्ने मुद्दामा कोही पनि केन्द्रित भएन । किनभने, तपाईं त्यसमा जाने बित्तिकै तपाईंले कृषिलाई रुपान्तरण गर्नुपर्दछ । त्यो कसरी हुन्छ ? त्यसमा भूराजनीति आउँछ । आजको विश्वव्यवस्था आउँछ । त्यसमा उदारवाद आउँछ । त्यसमा समाजवाद आउँछ । अनि तपाईंले एउटा न एउटा विचारमा त तपाईंले टेक्नैपर्छ । अब तपाईंले नारा मात्रै लगाइदिनुभयो भने केहीमा पनि टेक्नै परेन । न विचारमा, न सिद्धान्तमा न कार्यक्रममा ।
अहिले जो नयाँ आउनुभएको छ, उहाँहरू कुनै विचारमा टेक्नुभएको छैन ?
अहिलेसम्म मैले त्यस्तो देखेको छैन । उदारवादी बाटो, समाजवादी गन्तव्य भन्ने देख्छु मैले छास्सछुस्स आएका डकुमेन्टहरूमा । यो भनेको मैले धेरै अगाडिदेखि एउटा उदाहरण भन्ने गरेको छु, ‘स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको बाटो हिँडेको ।’ बाटो चैं नर्कको हिँड्छु, तर म पुग्ने चैं स्वर्ग हो ।
तपाईंहरूको पनि त लगभग यस्तै छ नि होइन, उदारवादी बाटोबाट समाजवादमा पुग्ने ?
मेरो हिसावले भन्नुहुन्छ भने यो नै गलत हो । पछिल्लोकालमा उदारवाद भनेको खासगरी अमेरिका युरोपको अर्थतन्त्र संकटमा परेपछि त्यसबाट जोगिनका लागि निकालिएको बाटो हो । यो हाम्रो होइन, यो पश्चिमाहरूको बाटो हो ।
तपाईंको भनाइमा कांग्रेस, एमाले, माओवादीबीच यो १५, १७ वर्षमा जुन खालको सहकार्य भयो । त्यसले मुलुकको समस्याको समाधान दिएन । झन् नयाँ परिस्थितिमा लग्यो । त्यो नयाँ परिस्थितिलाई नेतृत्व गर्नका लागि यी नयाँ शक्ति आएका हुन् । तर, यिनले पनि समस्याको समाधान गर्दैछैनन् र हामी अर्को संकटतर्फ फस्दैछौं भन्दै हुनुहुन्छ ?
मैले यसलाई सैद्धान्तिक रूपमा भन्दा त दलाल पुँजीवादलाई कायमै राखेर जो जता गए पनि केही फरक पर्ने वाला छैन भन्ने गरेको छु । अर्को, संविधान बनेपछि मूल नेताहरूले गरेको भनेको त घुमीघुमी सत्ताको भोग गरेको नै हो । नागरिकलाई हेप्नका लागि कुनै कसर बाँकी राखिएन । त्यो संसद् हेर्नुस्, न्यायिक प्रक्रिया हेर्नुस्, नेताहरू हेर्नुस्, उनीहरूले गरेनन् भनेर जनताले बुझे । पुरानाहरूले लेखेटेको जनमत अहिले नयाँतिर गइरहेको छ । दुर्भाग्यले यो भइदिएको भए राम्रो हुन्थ्यो फेरि । बालेनसँग मुलुकलाई निकास दिने, हाम्रो कृषि अर्थतन्त्रलाई, हाम्रो औद्योगिक उत्पादनलाई संरक्षण गर्ने, शिक्षा स्वास्थ्यमा हाम्रा बच्चा केटाकेटीको पहुँच ग्यारेन्टी हुने, सुशासन बन्ने, पूर्वाधार पर्यटनका क्षेत्र बन्ने, हाम्रो भूराजनीतिको सन्तुलन राम्रो हुने बालेनकै नेतृत्वमा भयो भने म कम्युनिष्ट भएको हुनाले उनको नेतृत्वमा नभइदिए हुन्थ्यो भन्ने सोचुँला । तर, म नेपाली भएर हेर्ने हो भने बालेनकै नेतृत्वमा भयो भने पनि यो ऐतिहासिक कुरा हुन्थ्यो । तर, दुर्भाग्य यो हुँदैछैन ।
बालेनले गर्दै छैनन् ?
गर्दैछैनन् । पुरानाले गरेनन् । नयाँले पनि गरे हुन्थ्यो । दुर्भाग्यले बालेनले पनि त्यो गर्दैछैनन् । किनभने, मैले शान्तिप्रक्रियामा भर्खरै आउँदा प्रचण्डमाथि मैले ‘किन मर्छन् कम्युनिष्ट पार्टीहरू’ भनेर मैलेको थिएँ । जतिखेर उहाँ भयंकर लोकप्रिय हुनुहुन्थ्यो । यति लोकप्रिय हुनुहुन्थ्यो कि उहाँले जसमाथि रिसाएर हेर्नुहुन्थ्यो, त्यसमाथि आगो लाग्थ्यो । उहाँका नजरमा त्यत्रो शक्ति थियो । प्रताप थियो । त्यो बेलाको प्रचण्डजीले भएन । किनभने, उहाँसँग एजेन्डा थिएन । शान्तिप्रक्रियामा आउने परिस्थिति बन्यो तर, मुलुकलाई ड्राइभ गर्ने एजेन्डा थिएन । एउटा बेला यस्तो थियो, उहाँसँग एक लाखभन्दा बढी पूर्णकालीन कार्यकर्ता थिए । ती मान्छेलाई हाम्रो समाजको रुपान्तरणको लागि दश वर्ष तिमीले मेहनत गर भनेर उहाँले भनेको भए कम्तीमा ५० हजार मान्छे ज्यान फालेर लाग्ने शक्ति थियो । त्यो सब उहाँले लगेर बिसाइदिनुभयो ।

हाम्रो ओलीजीको आलोचना गर्दा साथीहरू काठमाडौंमा त ठिकै छ, बाहिर गएर आलोचना नगर है कुटाइ खालास् भन्थे । त्यस्ता दिन थिए, उहाँका प्रतापका । लोकप्रियताका दिनहरू । तर मैले त्यसबेला पनि भन्थेँ, कमरेड ओलीका खुट्टा ढाकिएका छन् र पछाडि फर्किएका छन् । उहाँ जति हिँड्नुहुन्छ, पछाडि मात्रै जानुहुन्छ । आजकै बालेन केवल घण्टी हल्लाएर हिँड्ने बालेन । कुरा नगर्ने बालेन । कुनै एजेन्डा नभएको बालेन । आजसम्म उहाँले लेखेका पोष्टहरूका बालेन, जहाँ उहाँका विचार, सोच, संस्कार, स्तर, सभ्यता, योजना आउँछ । यस हिसावले मैले भनेको हो ।
बालेनजीको असाधारण व्यक्तित्व बनेको छ । उहाँ बिग्रँदा मुलुकले दु:ख पाउँछ, नागरिकले दु:ख पाउँछ । व्यक्तिका हिसावले मैले पनि दु:ख पाउँछु । त्यसैले मैले केहीअघि भएको भेटमा यो असाधारण व्यक्तित्व नबिग्रोस् है भनेर सुझाव दिएको थिएँ ।
तपाईंको सुझावलाई बालेनले कसरी लिनुभयो त ?
उहाँहरू अलग्गै पार्टीको तयारीमा हुनुुहुन्थ्यो । रास्वपासँगको पहिलो वार्ता सायद बिग्रिएको थियो । त्यसबेला कुरा भएको हो । बालेनजीले आफैंले पार्टी बनाउने हुनुभयो भनेर के छ सुझाव भन्ने कुरा भएको थियो । तर, उहाँ पछि रास्वपामै जानुभयो । रास्वपासँग आफ्नै ब्यागेजहरू छन् । रविजीमाथिका प्रश्नलाई कायमै राखेर सुशासनको कुरा गरेर हुन्छ ? स्पष्टीकरण दिनुपर्दैन नागरिकलाई ? ठीक छ आज त हुलमुल छ नदिँदा भयो, कसैले सोध्यो भने घण्टी हल्लाइदिँदा भयो । तर, भोलि घण्टी हल्लाएर त हुँदैन । रविजीमाथिको के हुन्छन् ? रविजीले बोकेको विचार के हुन्छ ? तमामा प्रश्नको उत्तर दिनुपर्छ । त्यसैले आजको बालेनजी जुन अवस्थामा हुनुहुन्छ, त्यसले पनि मुलुकलाई निकास दिँदैन ।
उहाँहरू कांग्रेस, एमाले, माओवादी भ्रष्टाचारको आहालमा डुबेका छन् । त्यसको बदलामा हामी आएका छौं । हामी सुशासन दिन्छौं त्यसका लागि हामीलाई मत दिनुहोस् भनिरहनुभएको छ । रास्वपाले गाउँगाउँमा एकखालको जागरण नै पैदा गरेको छ नि हैन ?
मैले त्यही भएर त भन्दैछु । यो व्यक्तित्व बन्यो । उहाँहरू लोकप्रियताका साथ आउनुभयो । तर, मेरो भाषामा भन्दा अहिले बिचौलियातन्त्र भन्ने गरिएको छ । यो बिचौलियातन्त्र यस्तो चिज हो, जसले एकठाउँमा लगेर सबैलाई बराबर गर्दिन्छ ।
भनेपछि तपाईंहरूको पार्टीलाई पनि गर्दियो ?
मैले पहिलेदेखि नै भनेको छु कि घुस खान राजाबाट कांग्रेसले सिक्यो । कांग्रेसबाट एमालेले र हामी दुवै मिलेर माओवादीलाई सिकायौं ।
त्यसलाई उहाँहरूले ब्रेक गर्नुहोला नि त ?
ठिक छ । तर, ब्रेक गर्नका लागि यसरी ब्रेक गछौं भन्नु त पर्छ होला नि ।
त्यो कार्यक्रम दिइरहनुभएको छैन अहिलेसम्म ?
छैन । मैले त्यही भएर भन्दैछ, उहाँहरू आफ्नै बारेमा सौच्नुस् । त्यसपछि हामीले यसरी अहिलेको वित्तीय पुँजीमा आधारित दलाल पुँजीवादको जराजुरी यसरी काट्छौं भन्नुपर्यो । किनभने, त्यसलाई नकाटी तपाईंले स्रोतलाई जनताको पक्षमा, किसानको पक्षमा उद्योगलाई संरक्षण गर्ने ठाउँमा लैजानै सक्नुहुन्न । कसरी लैजानुहुन्छ ? कसले दिन्छ हामीलाई चैं । त्यो त भन्नुपर्यो नि । हामी आजको वित्तीय पुँजीको शोषणमा आधारित यो दलाल पुँजीवादको विरुद्धमा जान्छौं । जसले हामीलाई गरिब बनाइराख्छ । हाम्रा दूरदराजका कर्णालीका वा तराईका दलितहरू हाम्रा बच्चाबच्चीहरूलाई उखेलिरहन्छ । सहरमा जागिर दिँदैन । विदेश पठाइदिन्छ । अनि तिनले पठाएको रेमिट्यान्सबाट हाम्रो घरखर्च चलाउँछौं । त्यो घरखर्चले बजार चल्छ । त्यो बजारबाट ट्याक्स उठाएर हाम्रो अर्थतन्त्र चल्छ । यसलाई यो उपायबाट तोड्छौं त भन्नुपर्यो नि ।

तपाईं एमालेमा रहेर ओलीजीसँग लामो समय लडिरहनुभयो । लड्दालड्दै उपमहासचिवसम्म पुग्नुभयो । यहीबीच नेपाली कांग्रेसमा गगनकुमार थापा पनि पार्टीभित्र लड्दै आए । तपाईं उपमहासचिवसम्म पुग्दा गगनजी सायद कांग्रेसको केन्द्रीय सदस्य मात्र थिए । एकपटक महामन्त्री हारे । फेरि लडे जिते । अहिले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसजस्तो ठूलो पार्टीको नेतृत्वमै पुगे । तपाईंले यति लामो लडाईं लड्दा पनि एमालेमा ओलीजीलाई किन परास्त गर्न सक्नुभएन र आफैं बाहिरिनुपर्यो ?
म पनि यो कुरा स्वीकार गर्छु कि गगनजीहरूको लडाईं महत्वपूर्ण छ । स्तुत्य छ । यो किन सम्भव भयो भनेर हेर्दा नेकपा एमाले अथवा हाम्रा कम्युनिष्ट पार्टीहरू मोर कन्जरभेटिभ छन् । लोकतान्त्रिक क्षेत्र कांग्रेसमा बढी रहेछ । हाम्रा कम्युनिष्ट पार्टीका विधानमा पनि ५१ प्रतिशतले नेतृत्व परिवर्तन गर्न सक्ने व्यवस्था छन् । तर, कसैले विशेष महाधिवेनको लागि अभियान चलाउँछु भनेर सोच्यो भने मात्रै पनि त्यो मान्छेको राजनीतिक हत्या भइसक्छ । तर, त्यो अभियान चलाउने स्पेश कांग्रेसमा भएको हुनाले गगनजीहरूले नेतृत्व नै फेर्न सक्नुभयो ।
तपाईंले हामी कम्युनिष्टहरू कञ्जरभेटिभ भयौं भन्नुभयो । कम्युनिष्टहरूले अरुलाई कञ्जरभेटिभ भनेर आरोप लगाउँछन् । तर, खासमा कम्युनिष्टहरू नै कञ्जरभेटिभ रहेछन् ?
हो । संगठनको मामलामा र मलाई अहिले लाग्छ कतिपय विचारकै मामलामा पनि खारेज गरिदिने हुन्छ । हामी कम्युनिष्टहरू बुर्जुवा भनिदिन्छौं, मुद्दाहरूलाई अली सजिलो गरेर खारेज गरिदिन्छौं । यसका केही कारणहरू छन् । खासगरी, ऐतिहासिक भौतिकवाद अलिकति पढेपछि मान्छेलाई सबैथोक जानेजस्तो लाग्छ । एउटा यो समस्या छ । दोस्रो पार्टीको सन्दर्भमा हामीले अभ्यास गर्दै आएको जनवादी केन्द्रियताको अभ्यासमा समस्या छ ।

केही अघि मैले प्रचण्डजीसँग भनेको थिएँ– लेनिनपछि अपवादबाहेक यो जनवाद केन्द्रियता भन्ने सिद्धान्त कहाँ लागू भयो ? अझ नेतृत्वको प्रश्न उठेपछि त जनवादी केन्द्रियताले त जहिँ पनि घुँडा टेकेको छ । यत्रो जेनजी मुभमेन्टपछि कम्युनिष्ट पार्टीले के सिक्नुपर्छ भनेर डकुमेन्टमा केही चाहिँदैन ? हामीकहाँ यस अर्थमा कञ्जरभेटिजम डरलाग्दो छ ।
उहाँले बुझ्नुभयो होला नि त ?
यस अर्थमा कांग्रेसमा त्यो स्पेश भएको हुनाले रुपान्तरण भयो । जेनजी मुभमेन्टले त्यत्रो बन्दुक पड्काउँदा (बन्दुक भनेर मैले आवाजको अर्थमा भनेको ) पनि हाम्रा नेताहरू, हाम्रा संरचनाहरू घोर निद्रामा छन् । यो डरलाग्दो छ, घातक छ ।
त्यसो भए नेपालका वामपन्थी पार्टीहरू बदलिनको लागि अहिले पनि तयार छैनन् ?
छैनन् । हामी छुट्टिने बेलाको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा मैले भनेको थिएँ, यिनीहरू सबैजसो पार्टीहरूको केन्द्रीय कमिटी यथास्थितिवादी, बिचौलियातन्त्रसँग कुनै न कुनै हिसावले बिकेको, त्यसको कमाइ त्यसको पारितोषिक खाएर बाँच्ने कतिपय मान्छेहरू बहुमतमा पुगिसकेका छन् । त्यसले गर्दा यी केन्द्रीय कमिटीहरू अब बदलिँदैनन् भन्ने मलाई लाग्छ ।
यसबीच पनि एमालेले समयअगावै महाधिवेशन गर्यो । यसलाई कसरी हेर्नुभएको छ ?
यो आन्तरिक कारण हो । त्यो नगरीकन उहाँ घरबाट निस्कन लागि पनि केही न केही गर्नुपर्ने थियो । मान्छेलाई सडकमा बोलाउनका लागि पनि केही न केही नारा बनाउनुपर्ने थियो । त्यसका लागि उहाँले दुईवटा कुरा गर्नुभयो । आमरूपमा यो देशीविदेशीको षड्यन्त्र हो भन्दिनुभयो । दोस्रो पार्टीलाई केही न केही काम चाहियो । त्यसका लागि उहाँले महाधिवेशन जाऔं भन्दिनुभयो । यो नाराका मातहतमा महाधिवेशनमा गएपछि आफूलाई नवीकरण गर्न सकिन्छ । त्यसपछि समाजमा आफ्नो वैधता पुनर्स्थापित गर्न सकिन्छ भन्ने सोच्नुभयो र त्यही गर्नुभयो ।
यसले के बुझ्ने महाधिवेशन गर्दैमा केही नहुँदोरहेछ । कांग्रेसले पनि महाधिवेशन गर्यो । उनीहरूमा नयाँ ऊर्जा देखिन्छ । एमालेले त्यसअघि नै महाधिवेशन गर्यो । तर, पनि एमालेले कुनै ऊर्जा किन पैदा गर्न सकेन ?
मैले बेलाबेला भन्ने गरेको छु– पुरानो अत्याचार, नालायकीका प्रति ऊ यसरी जाग्छ कि उसले केही पनि सुन्दैन । अर्थात् समाज साँच्चै बहुलाउँछ । समाज बहुलाएपछि कसैको केही लाग्दो रहेनछ । नेपालकै सन्दर्भमा हेर्नुहुन्छ भने २०४५ सालको पुस १४ गते राजा वीरेन्द्रको राज्याभिषेक जसरी मनाइएको थियो, त्यसको दुई वर्षपछिको अवस्था के भयो ? २०४६ मा त्यतिठूलो जनआन्दोलन भयो ।
अहिले एमालेकै कतिपय उम्मेदवारले चुनाव जित्नका लागि केपी ओलीको फोटो प्रयोग नगर्ने र उहाँलाई भाषण गर्न नबोलाउने रणनीति बनाएका छन् रे, यो के हो ?
यो नयाँ कुरा होइन । गत उपनिर्वाचनदेखि नै यो ट्रेन्ड देखिएको हो । एमालेकै साथीहरूले भन्थे, ‘चुनाव जित्ने चारवटा रणनीति छन्, जसमध्ये मुख्य चाहिँ ओलीजीलाई भाषण गर्न नबोलाउनु हो ।’ यो कुरा ओलीजीको वरिपरि बस्नेहरूलाई पनि थाहा छ । महाधिवेशन गर्दैमा वा नेतृत्व अनुमोदन गर्दैमा मात्र हुँदो रहेनछ भन्ने यसले पुष्टि गर्छ । जब जग नै हल्लिन्छ, तब माथि जतिसुकै ठूलो घर बनाए पनि त्यसको अर्थ रहँदैन ।
यसको कारण ऐतिहासिक छ । म रसियन वा फ्रेन्च क्रान्तिको इतिहास सम्झिन्छु । जब समाजमा पुरानो अत्याचार र नालायकीका विरुद्ध जनता जाग्छन्, तब शासकहरूले गर्ने ‘राज्याभिषेक’ वा तामझामले केही काम गर्दैन । रुसमा जार निकोलसको मान बढाउन अनेक प्रयत्न गरिएका थिए, तर ती सबै विफल भए ।
एमालेको संरचना वडा र टोलसम्म छ, तर उनीहरूले भुइँतहको भावना बुझ्न सकेनन् । महाधिवेशनले केपी ओलीलाई ’पुनर्वैधता’ त दियो, तर ऊर्जा दिन सकेन । किनभने त्यो महाधिवेशन विचारको होइन, व्यक्तिको जयजयकारको थियो । ४५ सालमा राजा वीरेन्द्रको धुमधामसँग जन्मोत्सव मनाइएको दुई वर्षमै के भयो, हामीलाई थाहा छ ।
एमाले जस्तो ग्रासरुटसम्म पुगेको पार्टीले मान्छेले के सोच्दैछन् भन्ने किन थाहा पाएन होला त ?
थाहा नपाएको होइन, पाएका छन् । तर एउटा मनोविज्ञान छ– ‘पुरेतलाई थाहा छ कि उसले भनेर ईश्वरले केही मान्नेवाला छैनन्, तर पनि उसले यजमानलाई मन्त्र सुनाइरहन्छ ।’ अहिले एमालेका धेरै नेता–कार्यकर्ता त्यही पुरेतको भूमिकामा छन् । उनीहरूलाई थाहा छ कि भित्रभित्रै सबै बिग्रिसक्यो, तर बाहिर ‘हामी नै जित्छौं’ भनिरहनुपर्ने बाध्यता छ ।

एमालेभित्र अहिले एउटा ‘पुरेत मनोविज्ञान’ छ। पुरेतलाई थाहा छ कि उसले मन्त्र जपेर ईश्वरले केही दिनेवाला छैनन्, तर यजमानबाट आउने फाइदाका लागि उसले मन्त्र जपिरहन्छ । पार्टीको एउटा ठूलो हिस्सा यही फाइदाको लोभमा बाँचेको छ । अर्कोतिर, अलि सोच्ने मान्छेहरू विकल्प देखिरहेका छैनन् । उनीहरूलाई थाहा छ कि सबै बिग्रिसक्यो, तर नयाँ बाटोमा जान हिम्मत गरिरहेका छैनन् । एमाले अहिले ’किमकर्तव्यविमूढ’ छ, त्यहाँ सोच्ने प्रक्रिया बन्द भएको धेरै भइसक्यो ।
तपाईंले एमालेभित्र विद्रोह गर्नुभयो, प्रश्न उठाउनुभयो । तर तपाईंकै कतिपय साथीहरू १० बुँदे गरेर फर्किए, जो अहिले पाखा पारिएकै छन् । तपाईंको एमालेसँगको अन्तिम बिदाइ कसरी भयो ?
मलाई रुपन्देहीमा टिकट दिइएन, बरु मैले नै हराएको पात्र (दिपक बोहरा) लाई समर्थन गरियो । त्योभन्दा अघि स्थायी कमिटीको अन्तिम बैठकमा एउटा रोचक घटना भएको थियो । त्यो बैठक कमरेड ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्न आयोजना गरिएको थियो । मैले लिखित प्रस्ताव राख्दै भनेँ– ‘यो गलत हुँदैछ । कमरेड ओलीले आफूलाई जति पपुलर ठान्नुभएको छ, ग्राउन्ड त्यस्तो छैन । भुइँ हल्लिसक्यो । यदि पार्टी बचाउने हो भने यसपटक सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्रीको रूपमा अघि सारौँ ।’ तपाईं कल्पना गर्न सक्नुहुन्छ, त्यहाँ के भयो होला! ओलीजी आगो हुनुभयो । उहाँले यसलाई ‘विदेशीको षड्यन्त्र’ भन्नुभयो । क्रान्ति भाँड्न र उहाँको विरुद्धमा आक्रमण गर्न कसरी विदेशीले उकास्छन् भन्ने व्याख्या गर्न थाल्नुभयो । अरू कमरेडहरू पनि रातोपिरो भएर मेरो खण्डनमा उत्रिनुभयो । स्थिति यस्तो भयो कि स्वयं सुवास कमरेड पनि आत्तिनुभयो । उहाँले उठेर भन्नुभयो– ‘कमरेड घनश्याम भुसाल…‘मेरो नाम प्रस्ताव गर्नुभएकोमा धन्यवाद । तर, अहिले यो बेला होइन ।’ उहाँले मलाई रोक्न खोज्नुभयो ।
नेतृत्वको देवत्वकरण भएको ठाउँमा यस्तो प्रस्ताव राख्नु भनेको ’पाप’ गरे सरह मानिन्थ्यो । त्यसपछि चुनाव आयो । ओलीजीले मलाई टिकट दिनुहुन्न भन्ने मलाई पहिल्यै थाहा थियो । तर, उहाँले मलाई मात्र होइन, मैले नै हराएको दिपक बोहरालाई समर्थन गर्ने प्रपञ्च रचेपछि मैले सोचेँ— यति ठूलो व्यक्तिगत अपमान सहेर पनि कोही बोल्दैन भने कसरी हुन्छ ? त्यसपछि मैले एमाले छोडेँ । कतिपय साथीहरूले पछि भने– ‘ओलीजीको वर्चस्व भएको ठाउँमा घनश्याम टिक्न सम्भवै थिएन, आफैंले नछोडेको भए पनि कुनै न कुनै निहुँमा लखेटिनु नै हुन्थ्यो ।’
त्यसपछि तपाईं एकीकृत समाजवादीमा जानुभयो, तर त्यहाँ पनि खोजेको जस्तो रूपान्तरण किन भएन ?
म त्यहाँ गएपछि विचार र सिद्धान्त फेर्ने प्रयत्न गरेँ । चार महिना लगाएर ’सुशासन र रोजगारी’ को नयाँ एजेन्डा तयार पारेँ । तर, दुर्भाग्य ! त्यही बेला माधव नेपालजीमाथि भ्रष्टाचारको मुद्दा (ललिता निवास प्रकरण) लाग्यो । जुन नेतामाथि प्रश्न छ, उहाँलाई नै साथमा लिएर सुशासनको आन्दोलन कसरी गर्न सकिन्छ ? मैले प्रश्न उठाए– ‘यस्तो अवस्थामा आन्दोलन अगाडि बढ्दैन, निकास दिनुस् ।’ झलनाथ खनाल कमरेडले राजीनामा माग्नुभयो, तर अन्त्यमा ‘महान एकता’ को नाममा सबै कुरा टालटुल पारियो । नीतिगत भ्रष्टाचारको सिनो काँधमा बोकेर हिँड्न सकिँदैनथ्यो ।
हिजो एमाले जस्तो ठूलो मञ्चबाट बोल्ने घनश्याम भुसाल आज नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष भएर सानो घेरामा खुम्चिनुभएको हो ?
म कहाँ छु र संगठन कत्रो छ भन्ने कुराले मलाई कहिल्यै फरक पारेन । हिजो पनि म एजेन्डा स्थापित गर्न लडेको थिएँ, आज पनि त्यही गर्दैछु । यदि म गलत कुरासँग सम्झौता गरेर एमालेमै बसिरहेको भए, त्यो झन् ठूलो आत्मसमर्पण हुन्थ्यो । म सानो ठाउँमा भए पनि सही एजेन्डाका साथ उभिनुलाई महत्वपूर्ण ठान्छु । एजेन्डा मर्यो भने जतिसुकै ठूलो पार्टी भए पनि त्यो केवल एउटा भीड मात्र हो ।

तपाईंको एजेन्डाले कहिल्यै मूर्त रूप पाउला त ? प्रचण्डजीले त तपाईंलाई ‘तपाईंले भने जस्तो पार्टी जिन्दगीभर बन्दैन’ भन्नुभएको थियो रे ?
हो, प्रचण्डजीसँग छुट्टिने बेला उहाँले भन्नुभयो– ‘घनश्यामजी, तपाईंले भने जस्तो पार्टी तपाईंको जिन्दगीभर बन्दैन ।’ मैले जवाफ दिएँ– ‘ठीक छ, यदि मैले सकिनँ भने मेरो आउने पुस्ताले गर्ला, तर म एजेन्डा छोड्दिनँ ।’ म मेरै जीवनकालमा समाजवाद आउँछ भनेर सोच्दिनँ । ‘म नै सबैथोक गर्छु’ भन्ने सोचले नै स्टालिनहरू जन्माउँछ, जसले शक्तिको अन्धो प्रयोग गर्छन् । मलाई लाग्छ— अहिलेका कम्युनिस्ट पार्टीहरूले यो चुनावमा इतिहासकै ठूलो क्षति बेहोर्नेछन् । तर मलाई संगठन सानो भयो भन्ने चिन्ता छैन। एजेन्डा स्थापित भएन भने गलतहरूको प्रतिस्पर्धामा सबैभन्दा ‘गलत’ ले नै जित्ने हो ।
तपाईंहरू फेरि पनि कम्युनिस्ट एकताको कुरा गर्नुहुन्छ, तर यो एकताले निकास दिन्छ र ?
अहिलेको एकता केवल ‘चुनाव जित्ने’ स्वार्थमा टिकेको छ । यदि साच्चै एजेन्डामा छलफल गर्ने हो भने यो एकता १० टुक्रा हुन्छ । एमसीसीको कुरा उठाउनुस्– भीम रावल र झलनाथ खनालले बगावत गर्नुहुन्छ । उदार लोकतन्त्रको कुरा गर्नुस्– झलनाथजी मान्नुहुन्न, नारायणकाजीजी समर्थन गर्नुहुन्न । वामदेव र झलनाथजीको क्रान्तिको कार्यक्रम मिल्दैन । यी नेताहरूले एक–अर्कालाई चिन्दैनन्, केवल प्रचण्डजीले चिनाइदिनुपर्ने अवस्था छ । यो ‘महान एकता’ भनिएको चिज विचारको जगमा छैन, त्यसैले यसले केही गर्दैन ।
नेपालका कम्युनिस्टहरूको हालत पनि अब भारतीय राज्य पश्चिम बंगालको जस्तै हुनेछ । तपाईंलाई के लाग्छ ?
म पश्चिम बंगालको अवस्थासँग सहमत छैन । म विद्यार्थी हुँदा दश दिनसम्म त्यहाँका गाउँ–गाउँ पुगेर अध्ययन गरेको थिएँ । त्यहाँको नेतृत्व (ज्योति बसु)सहित धेरै मन्त्रीहरूको जीवन निकै साधारण थियो । उनीहरू होस्टल जस्तो कोठामा बस्थे । जनता जस्तै थिए । तर, पश्चिम बंगालमा ‘सीपीएम’ तलबाट, अर्थात् आधारबाट सड्दै गइरहेको थियो । नेपालको सन्दर्भ फरक छ । हाम्रो वामपन्थी आन्दोलन तल (ग्रासरुटमा) अझै जीवित र ठिकठाक छ । हाम्रो समस्या ‘तल’ होइन, ‘माथि’ हो । नेपालको कम्युनिस्ट आन्दोलनलाई ‘ब्रेन ट्युमर’ भएको छ । यदि यो ट्युमरको अप्रेसन हुन सक्यो भने मात्र हाम्रो आन्दोलन बाँच्छ ।
तपाईंको विचारमा यो ‘ब्रेन ट्युमर’ को अप्रेसन कसरी सम्भव छ ?
आज पनि यदि केपी ओली र प्रचण्डले– ‘हामीले जनयुद्ध लड्यौं, नाकाबन्दीविरुद्ध उभियौं, संविधान जारी गर्र्यौँ, तर संविधान जारी गरेकै दिनदेखि हामी ओरालो लाग्यौं, यसको जिम्मा लिएर हामी राजीनामा दिन्छौं’ भन्नुभयो भने निर्वाचनको माहोल अर्कै हुन्छ । आन्दोलन फेरि जाग्छ । तर उहाँहरू पद र शक्तिको मोहबाट मुक्त हुनै सक्नुहुन्न ।
अहिले एमाले र माओवादीको संरचना कस्तो देख्नुहुन्छ ?
अहिले एमालेमा एउटै मात्र पद छ, एउटै भूमिका छ र एउटै मान्छे छ– त्यो हो ‘केपी ओली’ । सम्पूर्ण नेकपा एमाले ओलीजीमा समाहित भएको छ । बाबुरामजीले प्रचण्डमा समाहित भएँ भने जस्तै एमालेको हालत पनि त्यही छ। उपाध्यक्ष र साधारण सदस्यको भूमिकामा कुनै तात्विक अन्तर छैन । एमालेको यो ‘एकल तन्त्र’ ले वामपन्थी आन्दोलनको बिजातीय चरित्र नै सिध्याइदिएको छ । नेपालको कम्युनिस्ट आन्दोलन भारतको भन्दा भिन्न र बलियो हुनुका ऐतिहासिक कारण छन् । हामीले राष्ट्रियता, जनवाद र जनजीविका— यी तीनवटै मुद्दालाई एकसाथ उठाएर लड्यौं । राजा राष्ट्रवादी त बने तर लोकतान्त्रिक थिएनन् । कांग्रेस आफ्नो वैचारिक सीमा र निर्वासित इतिहासका कारण जनजीविकाका मुद्दामा प्रखर हुन सकेन । तर, कम्युनिस्ट (विशेषगरी एमाले) गाउँको चौतारी बनाउने, वनजंगल जोगाउने, र शान्ति–सुरक्षा कायम गर्ने जस्ता जनताका दैनिक जीवनका अंगसँग जोडिए । एमालेको ‘कोर भोट’ अहिले पनि सुरक्षित छ किनकि यो केवल राजनीति होइन, सामाजिक जीवनको हिस्सा बनेको छ । माओवादीको भोट घटेर एउटा विन्दुमा थिग्रिएको छ, अब त्यो ह्वात्तै झर्ने देख्दिनँ ।

गगन थापाहरूले त ‘कांग्रेस बदलियो, अब देश बदल्छौं’ भन्दै भोट मागिरहेका छन् नि ?
३० वर्षसम्म बिग्रेको कांग्रेस गगन आउने बित्तिकै सुध्रियो भन्नु अतिशयोक्ति हुन्छ । यदि उहाँले ‘हामीले सुधार्न सुरु गर्र्यौं’ भन्नुभएको भए त्यो साँचो र विश्वसनीय हुन्थ्यो । केवल नेतृत्व फेरिएर वा केही युवा अनुहार (विश्वप्रकाश, प्रदीप पौडेल) अगाडि आएर मात्र कांग्रेस बदलिएको मान्न सकिँदैन । कांग्रेसले हिजो लिएको गलत आर्थिक नीतिको जिम्मा लिन्छ कि लिँदैन ? मुख्य प्रश्न त्यो हो । हामीले विकास भन्यौं, बाटो बनायौं, बैंक, प्राइभेट स्कुल र हस्पिटल खोल्यौं । तर यी सबै के हुन् ? यी सबै जनताले पैसा तिरेर सेवा लिने क्षेत्र मात्र हुन् । हाम्रो अर्थतन्त्रले जनताको प्रतिव्यक्ति खर्च मात्र बढायो, उत्पादन बढाएन । चीन र भारतले जुन गल्ती गरेनन्, हामीले त्यही गल्ती गर्र्यौं । हामीले उत्पादनका क्षेत्र खोलेनौं, केवल उपभोग र सेवाका क्षेत्र विस्तार गर्र्यौं । यदि कांग्रेसले यो बाटो सुधार्ने संकल्प गर्दैन भने गगनजी जतिसुकै बदलिए पनि अन्तत: जनता फेरि निराश हुनेछन् ।
त्यसो भए यो चुनावको परिदृश्य कस्तो देख्नुहुन्छ ?
सिटको अंकगणित जेसुकै होस्, यो चुनावले सबैलाई शिक्षा दिनेछ । बालेन र रविजीहरूले पनि बुझ्नुपर्छ कि केवल ‘पपुलिज्म’ ले देश चल्दैन । कांग्रेसले सुध्रिएको अभिनय मात्र गर्ने कि साच्चै नीति बदल्ने भन्ने चुनौती छ । यदि गगनजीहरूले अर्थतन्त्रको यो आधारभूत समस्या (उत्पादनको कमी) बुझ्नुभएन भने यो केवल चुनावी अपिलमा मात्र सीमित हुनेछ । विश्वप्रकाशजी र गगनजीहरूले कांग्रेसमा जुन ‘बदलियौं’ भन्ने अभियान चलाउनुभएको छ, त्यो सुन्दा मलाई खुसी लाग्छ । मैले पहिले पनि भन्ने गर्थें– हामी (वामपन्थी) बदलियौं भने कांग्रेसलाई सुध्रन सजिलो हुन्छ, र कांग्रेस बदलियो भने हामीलाई । तर, मेरो चेतावनी के मात्र हो भने यत्तिको भरमा मात्रै ढुक्क भएर नबस्नुस् । ३० वर्ष बिग्रेको पद्धति केही अनुहार फेरिँदैमा रातारात बदलिँदैन । गगनजीहरूले ‘बदलियौं’ भन्नुभन्दा ‘बदल्न सुरु गर्र्यौं’ भन्नु बढी इमानदार हुन्थ्यो ।
तर एमालेमा त योगेश भट्टराईजस्ता तपाईंकै पुराना सहयात्रीले पनि नेतृत्वको विरोध गर्न सकेनन्, बरु कांग्रेसको महाधिवेशनलाई ‘सलाम’ गर्ने ठाउँमा पुगे । कम्युनिस्टहरूमा यो विद्रोह किन सम्भव छैन ?
हाम्रोमा ‘जनवादी केन्द्रीयता’को मन्त्र यस्तो भएको छ कि यसले नेताहरूलाई खुम्च्याउँछ । स्टालिनको पालादेखि नै प्रश्न उठाउनेलाई ‘बुखारिन’ बनाएर सिध्याउने खेल हुन्छ । जबसम्म यो लेलिनकालीन मन्त्रलाई आजको सन्दर्भमा परिमार्जन गरिँदैन, तबसम्म कम्युनिस्ट पार्टीहरू भित्रको लोकतन्त्र फस्टाउँदैन ।
अहिले बालेन, रवि वा हर्क साम्पाङहरूले ’डेलिभरी’ र ’श्रम संस्कृति’ को कुरा गरेर नयाँ आशा जगाएका छन् । कुलमान घिसिङको जस्तो ‘डेलिभरी बेस्ड’ पार्टी बनाउने कुरा पनि आइरहेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?
डेलिभरीकै कुरा गर्ने हो भने त ३० वर्षअघि एमालेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ र ‘वृद्ध भत्ता’ भन्दा ठूलो डेलिभरी अरू के हुन्थ्यो ? तर मेरो प्रश्न अर्कै छ । अहिले केही साथीहरू ६५ वर्षमै वृद्ध भत्ता दिने कुरा गर्छन् । मैले त भरत मोहन अधिकारी अर्थमन्त्री हुँदा पनि उहाँसँग झगडा गरेको थिएँ– ‘ऋण ल्याएर भत्ता बाँड्ने कुरा मार्क्सवादी हुन सक्दैन ।’ हाम्रो एक आना पैसा पनि उत्पादनमा लाग्नुपर्छ । ऋण काढेर घिउ खाने अर्थतन्त्रले देश चल्दैन । अहिले बैंकमा अलिकति पैसा देखिँदैमा ‘हामी सम्पन्न भयौं’ भन्नु भ्रम हो ।
अमेरिकालाई हेर्नुस्, ५० वर्षदेखि त्यहाँका कामदारको स्यालरी बढेको छैन । टेस्ला र अमेजन मात्र भएर अर्थतन्त्र चल्दो रहेनछ, धर्ती टेक्नैपर्छ । अमेरिकाले अहिले इरान वा भेनेजुएलातिर आँखा गाड्नुको कारण उसको आफ्नो अर्थतन्त्र ओरालो लागेर हो । चीनले ‘हामीले भरपेट खायौं र अब गरिब छैनौँ’ भन्नका लागि ५० वर्षसम्म डेढ अर्ब मानिसलाई योजनाबद्ध रूपमा उत्पादनमा लगाउनुपर्यो । सि चिनफिङले अस्ति मात्र यो घोषणा गरे । ५० वर्षको कडा परिश्रम र उत्पादन बिना समृद्धि सम्भव छैन ।

२००४ सालमा खुलेको कांग्रेस र २००६ सालमा खुलेको कम्युनिस्ट पार्टीले यत्रो वर्षमा नगरेको कुरा रास्वपा जस्तो भर्खरै जन्मेको पार्टीले ‘हामी जादु गर्छौँ’ भन्नु सस्तो लोकप्रियता मात्र हो । उत्पादनको ठोस योजना बिना, केवल डेलिभरीको नाराले देशको संरचना बदलिँदैन ।
नयाँ पार्टीहरू (रास्वपा आदि) ले ओलीजीबाट गलत कुरा सिकिरहेका छन् । ओलीजीले ‘ग्यास पाइप’ र ‘पानीजहाज’ को जुन काल्पनिक र ‘फ्याट्ट–फ्याट्ट’ हुने सपना देखाउनुभयो, नयाँहरूले पनि त्यही ‘सर्टकट’ बाटो रोज्दै छन् । उनीहरू विवरण पनि बताउँदैनन्, केवल ‘हुनेवाला छ’ भन्छन् । यो ‘क्रेज’ले यदि सही बाटो भेट्टाएन भने यसले समाजमा ठूलो विध्वंश ल्याउन सक्छ । जब संसदमा ‘हङ पार्लियामेन्ट’ (त्रिशंकु संसद) हुनेछ, यी नयाँ र पुराना सबैले आफ्नो नालायकीको दोष संविधानमाथि हाल्नेछन् र संविधानका पानाहरू च्यात्न सुरु गर्नेछन् ।
अहिलेको युवा पुस्ता राजनीतिमा निकै सक्रिय देखिएको छ, यसले त परिवर्तन ल्याउला नि ?
मलाई त्यस्तो लाग्दैन । ३६ साल र ४६ सालको आन्दोलनले नेताहरू जन्मायो, तर अहिलेको आन्दोलनले झन् कम नेता जन्माउने देख्छु । ‘जेन–जी’ भनेको को हो ? के ती माइतीघरमा आएर आवेशमा बोल्ने मुठ्ठीभर सहरिया युवा मात्र हुन् ? कि ती कालापहाडमा कुपोषणले मर्ने बाबुका छोराछोरी र तराईका दलित युवा पनि हुन् ? अहिले ‘जेन–जी’लाई ग्लोरिफाई गरेर ‘अराजनीतिकरण’ गरिँदै छ । नयाँ पार्टीहरूसँग कुनै राजनीतिक एजेन्डा छैन, केवल ‘घण्टी’ बजाउनु नै सबैभन्दा ठूलो मेसेज भएको छ । यो पुस्तालाई गम्भीर राजनीतिक बहस र जिम्मेवारीबोधमा ल्याउने काम कसैले गरेन ।
तपाईंले भन्दै आउनुभएको ‘चुनावदेखि चुनावसम्म’को यो चक्रबाट हामी कहिले मुक्त हुन्छौं त ?
अहिले चुनाव भनेको केवल ‘हैसियत’ प्राप्त गर्ने माध्यम बनेको छ । त्यो हैसियतले के गरिन्छ ? ‘राज्य दोहन’ । पुरानाले एजेन्डा छोडे, नयाँले समातेनन् । हामी ठूलो संकटमा जाँदै छौं । यदि ओली, प्रचण्ड र देउवाजीले ल्याएको निराशा ‘शीतलहरी’ हो भने, नयाँहरूले ल्याउने निराशा झन् ‘विध्वंसकारी’ हुनेछ । नेपाल कतै ठूलो अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता उत्तर र दक्षिण (चीन र भारत) का बौद्धिकहरूमा पनि देखिन्छ । बाहिरको वातावरण पनि त्यति सहज छैन । यस्तो बेला हामीले एउटा साझा ‘राष्ट्रिय बहस’ सुरु गर्नैपर्छ । हाम्रो इतिहास छ— संविधान बनाउँदा वा नाकाबन्दीको बेला हामी विरोधीहरू पनि एक ठाउँमा आयौं । अब फेरि त्यस्तै ‘कमन कन्सेन्सस’ (साझा सहमति) को खाँचो छ । संसद्भित्र र बाहिरबाट नागरिक समाज, मिडिया र बौद्धिक जमातले दबाब नदिने हो भने निकास निस्कँदैन ।
प्रतिक्रिया 4