News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले खेलमा ध्यान दिनबाट विचलित पार्ने बताएका छन्।
- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा इंग्ल्यान्डसँग ४ रनले हार र इटलीसँग १० विकेटले पराजय भोगेको छ।
- प्रशिक्षक लले सामाजिक सञ्जालमा धेरै समय दिनु टोलीको काममा नकारात्मक असर पार्ने र खेलाडीहरूको व्यक्तिगत अनुभव फरक हुने बताए।
२ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले धेरै असर गर्ने र त्यसमा भन्दा खेलमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
हाल नेपाली क्रिकेट टोलीले मुम्बईमा आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरू खेलिरहेको छ । पहिलो खेल खेलपछि सामाजिक सञ्जालमा नेपाली क्रिकेटको बारेमा धेरै चर्चाहरू भइरहेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा विश्वभरबाट नेपालले प्रंशसा पाएको थियो ।
तर दोस्रो खेलमा इटलीसँग १० विकेटको हार अविश्वसनीय थियो र यसले नेपाली टिम र खेलाडी मात्र नभएर सारा नेपाली क्रिकेट समर्थक निराश बनेका थिए ।
नेपालमा अहिले जे कुरा पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको हुन्छ । ‘नेपालमा सामाजिक सञ्जाल एउटा ठूलो हिस्सा हो भन्ने म बुझ्छु । मेरो लागि सामाजिक सञ्जाल ठूलो ड्रिस्ट्राक्सन हुन सक्छ’ प्रशिक्षक लले वेस्ट इन्डिजसँगको खेलअघि शनिबार वानखेडे मैदानको प्रेस रुममा आयोजित प्रि-म्याच प्रेस कन्फेरेन्समा भने ।
लले आवश्यकता भन्दा धेरै समय सामाजिक सञ्जालमा ध्यान दियो भने यसले आफ्नो काममा नै असर पर्ने बताए । ‘यदि हामी टोलीको आवश्यकता र खेल भन्दा बढी सामाजिक सञ्जालमा मानिसहरूले के भनिरहेका छन् भन्ने कुरामा ध्यान दिन्छौं भने, हामी आफ्नो कामबाट विचलित हुन्छौं’ लले भनेका थिए ।
उनले खेलमा नतिजा आयो भने सामाजिक सञ्जालमा पछ्याउनेहरुको संख्या आँफै बढ्ने बताए ।
प्रशिक्षक लले नेपालमा सामाजिक सञ्जालको संस्कृति रहेको भन्दै धेरै खेलाडीहरूको प्रायोजक रहेकोले पनि सामाजिक सञ्जालमा देखिएको हुन सक्ने बताए ।
यस्तै टी-२० विश्वकपकै समयमा नेपाली खेलाडीहरूले बाहिर घुमेको तस्बिरहरू पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
‘यो प्रत्येक व्यक्तिको अनुभवमा भर पर्छ जस्तो लाग्छ । केही खेलाडीहरूले सामाजिक सञ्जाल हेर्छन्, केहीले हेर्दैनन् । त्यसैले यो पूर्ण रूपमा व्यक्तिगत कुरामा निर्भर गर्छ’ रोहितले भनेका थिए ।
प्रतिक्रिया 4