News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा ३ फागुन मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजसँग भिड्नेछ।
- नेपालले सुरुवाती दुई खेलमा पराजित भई बाँकी दुई खेल जित्नुपर्ने दबाबमा छ भने वेस्ट इन्डिजले लगातार दुई जितसहित सुपर ८ मा पुग्ने सम्भावना बनाएको छ।
- प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिजलाई धेरै राम्रो टिम भन्दै बाँकी दुई खेल जित्नुपर्ने बताए भने बलर अकिल होसेनले नेपाललाई विश्वकपको अर्को खेलको रूपमा लिने बताएका छन्।
३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।
नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
खेलअघि शनिबार भएको प्रि-म्याच प्रेस कन्फेरेन्समा नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिज धेरै राम्रो टिम भएको र धेरै राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताएका छन् । ‘अब बाँकी दुई खेल जित्नेबारेमा नै सोच्नुपर्छ, नत्र त झोला प्याक गरेर घर फर्किनेबाहेक विकल्प छैन’ प्रशिक्षक लले भनेका थिए ।
प्रशिक्षक लले सुरुवाती दुई खेलमा फरक किसिमको हार बेहोरेको भन्दै त्यसबीचको ग्याप पत्ता लगाउनुपर्ने बताएका थिए । साथै उनले सामाजिक सञ्जाल प्रयोगको विषयलाई लिएर पनि कडा टिप्पणी गरेपछि अहिले त्यस विषयमा पनि गम्भीर रूपले चर्चा भइरहेको छ ।
वेस्ट इन्डिजका बलर अकिल होसेनले नेपाली टिमको क्षमताबारे जानकार रहेको र यो खेललाई विश्वकपको अर्को एक खेलको रूपमा नै लिने बताए । ‘नेपालको क्षमता के हो र नेपालले के गर्न सक्छ भन्ने बारे हामी राम्रोसँग जानकार छौं’ गत सेप्टेम्बरमा शारजाहमा भएको टी-२० अन्तर्राष्ट्रिय सिरिज र अहिले टी-२० विश्वकप खेलिरहेको नेपाली टिमबीचको फरकबारे सोधिएको प्रश्नमा होसेनले भने ।
हेड टु हेड
वेस्ट इन्डिज दुईपटकको च्याम्पियन टोली हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप उपाधि जितेको थियो ।
वेस्ट इन्डिज आईसीसी टी-२०आई वरियतामा सातौं स्थानमा छ । शाइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिज पनि पावर हिटिङका लागि परिचित टोली हो ।
नेपालले वेस्ट इन्डिजसँग हालसम्म ३ खेल खेल्दा २ खेल जितेको छ भने १ खेलमा पराजित भएको छ । गत अक्टोबरमा भएको ऐतिहासिक टी-२०आई शृंखलामा नेपालले वेस्ट इन्डिजमाथि २-१ को शृंखला जित निकालेको थियो ।
यद्यपी त्यतिबेला वेस्ट इन्डिजका लागि खेलेकामध्ये २ खेलाडी मात्र विश्वकपको टोलीमा छन् । विश्वकपका लागि वेस्ट इन्डिजले बलियो टोली खेलाएको छ ।

टिम कम्बिनेशन र सम्भावित ११
इटलीको टोलीमा दाँयाहाते ब्याटरको बाहुल्यता भएकाले नेपालले बाँयाहाते स्पीनर ललित राजवंशीलाई टोलीमा समावेश गरेको थियो । यस क्रममा शेर मल्ल बाहिरिएका थिए ।
अब वेस्ट इन्डिजको टोलीमा दुई आक्रामक बाँयाहाते ब्याटर रहेकाले मिस्ट्री स्पीनर शेर मल्ल फेरि टोलीमा फर्कन सक्छन् । यस्तै नेपालले पेस बलरमा पनि परिवर्तन गरेर सोमपाल कामीलाई भित्र्याउन सक्छ । आसिफको स्थानमा लोकेश बमले विकेटकिपिङ गरेर उनको स्थानमा सन्दीप जोराले मौका पाउन सक्छन् ।
वेस्ट इन्डिजले भने अघिल्लो खेलको टोलीलाई निरन्तरता दिने सम्भावना रहेको छ । वेस्ट इन्डिजको ब्याटिङ लाइनअप बलियो देखिएको छ ।
नेपालको सम्भावित ११ : कुशल भुर्तेल, लोकेश बम, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप जोरा/आसिफ शेख, करण केसी, नन्दन यादव/सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी/शेर मल्ल
वेस्ट इन्डिजको सम्भावित ११ : ब्रान्डन किङ, शाइ होप, शिम्रोन हेटमायर, शेरफन रदरफोर्ड, रोमारियो शेपहर्ड, रस्टन चेज, रोभमन पावेल, जेसन होल्डर, शमार जोसेफ, गुडाकेश मोटी, अकिल होसेन

प्रभाव पार्न सक्ने खेलाडी
नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलमाथि फेरि नजर रहनेछ । यद्यपी उनले वेस्ट इन्डिजको लेफ्ट आर्म स्पीन बलिङ सम्हालिएर खेल्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नचलेपनि आजको उनको प्रदर्शन नेपालका लागि ‘क्रुसियल’ रहनेछ ।
यस्तै दीपेन्द्रसिंह ऐरीबाट सदाझैं अलराउन्ड प्रदर्शनको अपेक्षा रहनेछ । बलिङमा सन्दीप लामिछाने प्लेयर्स टु वाचका रूपमा हुनेछन् ।
वेस्ट इन्डिजका लागि कप्तान शाइ होप र शिम्रोन हेटमायर टप अर्डरमा मुख्य खेलाडीका रूपमा हुनेछन् । टप अर्डरमा उनीहरूको योगदान राम्रो भएमा आक्रमक मिडल अर्डर फिनिसिङमा हुनेछन् ।
यस्तै जेसन होल्डर र रोमारियो शेपहर्डको अलराउन्ड प्रदर्शन तथा अकिल होसेनको बलिङ मुख्य हतियारका रूपमा रहनेछ ।
***
खेल : नेपाल भर्सेस वेस्ट इन्डिज, समूह ‘सी’
मिति र समय : ३ फागुन, आइतबार, विहान ११:१५ बजे
स्थान : वानखेडे स्टेडियम, मुम्बई
मौसम : सफा
प्रतिक्रिया 4