News Summary
Generated by OK AI. Editorially reviewed.- जापानका ६ शहरमा अभिनेता राजेश हमालको जीवनगाथा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ को ‘बुक-टूर’ फागुन २८ देखि फागुन ९ सम्म सम्पन्न भएको छ।
- एनआरएनए जापान र अनेसास जापानको आयोजनामा भएको कार्यक्रममा हमालले आफ्नो जीवन, दर्शन र विचारबारे प्रेरणादायी प्रवचन दिएका थिए।
- हमालले प्रवासी नेपालीको दोस्रो पुस्तालाई भाषा, संस्कृति र नेपालसँग जोड्ने चुनौती रहेको र डायस्पोराको ज्ञान-सीप नेपालले फाइदा लिनुपर्ने बताए।
टोकियो । जापानका ६ शहरमा अभिनेता राजेश हमालको जीवनगाथा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ को ‘बुक-टूर’ सम्पन्न भएको छ । फागुन २८ मा टोकियोबाट सुरु भएको ‘बुक-टूर’ सिजुओका, नागोया, ओसाका, फुकुओका हुँदै ओकिनावा शहरमा पुगी फागुन ९ मा सम्पन्न भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) र अनेसास जापानको आयोजना तथा नेपाल एयरलाइन्सको सहयोगमा भएको कार्यक्रममा नेपाली पाठक र हमालका शुभेच्छुकको उत्साहजनक सहभागिता रहेको एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले बताए ।
कार्यक्रममा पुस्तक ‘युगदेखि युगसम्म’ मा हमालले हस्ताक्षर गर्नुका साथै आफ्नो जीवन, दर्शन र विचारबारे प्रेरणादायी प्रवचन पनि दिएका थिए । पछिल्लो २०-२५ वर्षमा नेपालबाट विदेशिने क्रम बढेको र यो संसारको इतिहासमा नयाँ कुरा नभएको उल्लेख गर्दै उनले यसमा गुनासो गर्नुभन्दा डायस्पोरामा फैलिएका नेपालीको ज्ञान-सीपको फाइदा नेपालले लिन सक्नुपर्ने उनको भनाइ थियो ।
‘यतिखेर नेपालको राजनीति जुन किसिमको संक्रमणबाट गुज्रिरहेको छ, प्रवासी नेपालीको पहिलो पुस्ता पनि संक्रमणबाट गुज्रिरहेको छ,’ हमालले भने, ‘विदेश बस्ने नेपालीको दोस्रो पुस्तालाई आफ्नो भाषा, संस्कृति कसरी हस्तान्तरण गर्ने र नेपालसँग कसरी जोडिराख्ने भन्ने प्रमुख चुनौती छ ।’

कूटनीतिज्ञ पिताका कारण आफ्नो बाल्यकाल विभिन्न देशमा बितेकाले केही समयसम्म आफ्नो स्थानबारे अलमलमा परेको तर नेपाली चलचित्रले आफूलाई पहिचान दिएको र असंख्य नेपालीको मायाले त्यो पहिचानलाई मजबुत बनाएको पनि हमालले उल्लेख गरे ।
‘आफ्नो थातथलो छोडेर हिँडेका मानिसलाई केही समय आफू उखेलिए जस्तो हुन्छ, त्यहाँ जमेर बस्ने चुनौती हुन्छ । त्यसपछि दोस्रो पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने चुनौती हुन्छ । मानिसका लागि आफ्नो पहिचान सबैभन्दा प्रमुख कुरा बन्न जान्छ’ हमालले भने ।
कार्यक्रममा नेपाली युवा-विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने पुस्तक ‘युगदेखि युगसम्म’ बारे हमाल र लेखक यज्ञशसँग छलफल पनि गरिएको थियो ।
नेपालका नारायणगढ, पोखरा, सुर्खेत, नेपालगन्ज, दाङ, विर्तामोड र इटहरीमा फाइनप्रिन्ट फिभर सम्पन्न भएपछि नेपालबाहिर हमालको यो पहिलो ‘बुक-टूर’ हो ।
नेपाली विद्यार्थी र पाठकको संख्या उल्लेख्य रहेको जापानमा ‘बुक-टूर’ गर्न पाउँदा आफूलाई खुसी लागेको प्रकाशन संस्था फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए ।
प्रतिक्रिया 4