News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले सुरु गरेको \'मनको कुरा गरौँ\' अभियानले मानसिक स्वास्थ्यलाई सामाजिक प्राथमिकता बनाउने र मौनता तोड्ने राष्ट्रिय पहल हो।
- अभियानले किशोर–किशोरी, युवा र आम व्यक्तिहरूमा मानसिक स्वास्थ्यबारे सचेतना, सहानुभूति र सहयोग खोज्न हौसला दिने उद्देश्य राखेको छ।
हामी सामूहिक सोच र संस्कृतिमा बाँधिएको समाजमा बस्छौँ । एकअर्कासँग कुराकानी गर्ने, भेला हुने, अनुभव साटासाट गर्ने हाम्रो बानी नै हो । घर-परिवार, चिया पसल, कार्यालय वा सामाजिक सञ्जाल–जहीँतहीँ शब्दहरूको कमी हुँदैन । तर यति धेरै संवादका बीच एउटा महत्त्वपूर्ण कुरा प्रायः ओझेलमा पर्छ– मनको कुरा।
बाहिरबाट हेर्दा धेरै मानिस सामान्य र खुसी देखिन्छन् । अनुहारमा मुस्कान हुन्छ, व्यवहारमा सहजता देखिन्छ । तर त्यो मुस्कान सधैँ वास्तविक हुँदैन । कतिपयले आफ्ना पीडा कसैले नदेखोस् भनेर देखावटी हाँसेका हुन्छन् । भित्रभित्रै उनीहरू थाकेका, डराएका, अन्योलमा परेका र निराश हुन सक्छन् । । बाहिरी रूपले नदेखिने यी मानसिक संघर्षहरू सजिलै बुझिँदैनन्, र धेरैजसो बेवास्ता गरिन्छन्।
‘मनको कुरा गरौँ’ अभियानको महत्व
नेपाल सरकारले सुरु गरेको ‘मनको कुरा गरौँ’ अभियान केवल जानकारी दिने कार्यक्रम होइन, यो मानसिक स्वास्थ्यलाई सामाजिक प्राथमिकता बनाउने, मौनता तोड्ने, बोल्ने साहस दिने र सहयोग खोज्न प्रेरित गर्ने राष्ट्रिय पहल हो।
यस अभियानले विशेषगरी किशोर–किशोरी, युवा र आम व्यक्तिहरूमा मानसिक स्वास्थ्यबारे सचेतना, सहानुभूति, करुणा र संवाद प्रवर्द्धन गर्न केन्द्रित छ । यसले भेदभाव र भ्रम हटाउने, तनाव व्यवस्थापन र विभिन्न सीपहरू विकास गर्ने, र आवश्यक पर्दा पेशेवर सहयोग खोज्न हौसला दिने उद्देश्य राखेको छ । साथै, अभियानले डिजिटल सुस्वास्थ्य, पारिवारिक तथा सामुदायिक सहयोग, र ११६६ हेल्पलाइन जस्ता सामाजिक सुरक्षा तथा सहयोग सेवाहरूलाई पनि समेटेको छ ।
मुस्कानभित्रको व्यथा
दैनिक जीवनमा धेरै मानिस मुस्कानसहित आफ्ना जिम्मेवारी पूरा गरिरहेका हुन्छन्, तर भित्रभित्रै गलिरहेका हुन्छन् । उनीहरू आफ्ना भावना व्यक्त गर्न चाहन्छन्, तर उनीहरूलाई डर लाग्छ– ‘यदि मैले मेरो पीडा सुनाएँ भने समाजले मलाई कमजोर ठान्ला कि, आलोचना गर्ला कि, ‘दोष लगाउला कि ?’ जस्ता चिन्ताले उनीहरूलाई बोल्नबाट रोक्छ ।
यिनै सोच र डरका कारण मनका पीडाहरू भित्रै गुम्सिरहन्छन् । समयसँगै ती समस्या झन् गहिरिँदै जान्छन् र व्यक्तिको कार्यक्षमता, सम्बन्ध, तथा जीवनप्रतिको उत्साहमा असर पार्न थाल्छन् । अन्ततः सामान्य कामसमेत गर्न गाह्रो हुने अवस्था आउन सक्छ ।
मानसिक समस्या कसरी देखिन्छ ?
अझै पनि हाम्रो समाजमा धेरैले मानसिक समस्यालाई ‘पागलपन’ सँग जोडेर हेर्ने गरिन्छ । धेरैजसो मानिसले कुनै व्यक्तिले उदासी, चिन्ता, थकान वा ध्यान केन्द्रित गर्न नसक्ने जस्ता लक्षण देख्दा पनि सजिलै ‘उसलाई डिप्रेशन भयो’ वा ‘ऊ पागल भयो’ भनेर ठान्छन् । तर वास्तविकता यस्ता साधारण धारणाभन्दा फरक हुन्छ ।
मानसिक समस्या विभिन्न प्रकारका हुन्छन् र ती प्रत्येक व्यक्तिमा फरक–फरक रूपमा देखिन सक्छन् । कसैलाई निरन्तर उदासी, आत्मविश्वासको कमी वा अनिन्द्राले पीडित बनाउन सक्छ भने कसैमा अत्यधिक रिस, चिन्ता, सामाजिक दूरी वा व्यवहारमा परिवर्तन देखा पर्न सक्छ ।
कतिपय व्यक्तिले आफ्ना भावनाहरू व्यक्त गर्न नसक्ने, काम वा पढाइमा ध्यान नजाने, वा दैनिक जिम्मेवारी पूरा गर्न कठिनाइको अनुभव गर्न सक्छन् । त्यस्तै, कुनै कडा खालको मानसिक समस्या पनि हुन सक्छ, जसले लामो समयसम्म प्रभाव पार्न सक्छ ।
महत्त्वपूर्ण कुरा के हो भने, सबै खालका मानसिक समस्या बाहिरबाट सधैं स्पष्ट देखिँदैनन् । कतिपय मानिसले आफ्ना पीडा लुकाएर सामान्य जस्तो व्यवहार देखाउँछन्, जसले समाजलाई भ्रममा पार्न सक्छ । त्यसैले मानसिक समस्यालाई केवल बाहिरी व्यवहारका आधारमा निर्णय नगरी, प्रत्येक व्यक्तिको अनुभव, परिस्थिति र भित्री भावनालाई बुझ्ने संवेदनशील दृष्टिकोण आवश्यक छ ।
किन अहिले मानसिक स्वास्थ्य अभियान आवश्यक छ ?
नेपालमा मानसिक समस्या नयाँ होइन । तर यसबारे खुलेर कुरा गर्ने वातावरण लामो समयसम्म बनेको थिएन । मानसिक स्वास्थ्यलाई अझै पनि धेरैले ‘कमजोरी’ वा ‘पागलपन’सँग जोडेर हेर्ने प्रवृत्ति कायम छ । अहिलेको समय चुनौतीपूर्ण छ– भागदौडयुक्त जीवनशैली, आर्थिक असुरक्षा, बढ्दो बेरोजगारी, सामाजिक अपेक्षा र भविष्यप्रतिको डर, साथै अत्यधिक सामाजिक सञ्जालको प्रभावले मानसिक दबाब अझ बढाइरहेको छ ।
यिनै कारणले मानिसहरूलाई भित्रभित्रै तनावग्रस्त बनाइरहेका छन् । यस्तै परिस्थितिमा ‘मनको कुरा गरौँ’ अभियानले मौनता तोड्न, बोल्नका लागि हौसला प्रदान गर्ने र सहयोग खोज्न प्रेरित गर्ने वातावरण निर्माण गर्ने काम गर्छ ।
सुनिदिनु : हाम्रो साझा जिम्मेवारी
धेरै मानिस सोध्छन्– हामी उपचार गर्ने डाक्टर होइन के पो गर्न सक्छौँ र ?’ जवाफ सरल छ– सुनिदिन सक्छौँ । यसको अर्थ ध्यान दिएर सुन्नु, बीचमा नबोल्नु र तुरुन्त समाधान नथोपर्नु हो । भावनालाई अस्वीकार नगरी, कहिलेकाहीँ ‘म तिमीलाई बुझ्दैछु’ भन्ने एउटा वाक्य नै ठूलो सहारा बन्न सक्छ ।
कहिले विशेषज्ञसँग सहयोग लिन आवश्यक हुन्छ ?
सबै समस्या आफैं वा साथीको साथले समाधान हुँदैन । यदि समस्या लामो समय उस्तै रह्यो, काम, पढाइ वा सम्बन्धमा असर गर्न थाल्यो, निरन्तर नकारात्मक सोच बढ्यो, वा आत्महानी/आत्महत्यासम्बन्धी विचार आउन थालेको छ भने तुरुन्तै सहयोग खोज्नु अत्यावश्यक हुन्छ ।
यस अवस्थामा चिकित्सक मनोसविद, मनोचिकित्सक वा अन्य मानसिक स्वास्थ्य पेशेवरसँग परामर्श लिनु जीवनरक्षक कदम हुन सक्छ । समयमै सहयोग खोज्दा मानसिक स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न सजिलो हुन्छ र व्यक्तिको जीवन, कार्यक्षमता तथा समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
जब हामी मनको कुरा गर्छौँ, अरूको कुरा बुझ्छौँ र सहानुभूति देखाउँछौँ, तब मात्र स्वस्थ, सहकार्ययुक्त समाज निर्माण सम्भव हुन्छ । ‘मनको कुरा गरौँ’ अभियानले हामीलाई यही सन्देश दिन्छ– बोल्नु कमजोरी होइन, साहस हो । सुन्ने संस्कार र सानो सहाराले नै कहिलेकाहीँ जीवन बचाउन सकिन्छ ।
प्रतिक्रिया 4