१५ फागुन, काठमाडौं। ‘सबैभन्दा नराम्रो चिल्लो केमा पाइन्छ ?’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफूकहाँ जँचाउन आउने बिरामीलाई प्राय: नछुटाई सोध्ने प्रश्न हो यो।
जँचाउन आउनेमध्ये धेरैको जवाफ हुन्छ, ‘रेड मिट, घ्यू, दूध, बटर।’
कतिपयले थप्छन्, ‘तेलको चिल्लो नराम्रो हुन सक्छ।’
उनी बुझाउँदै भन्छन्, ‘संसारकै सबैभन्दा नराम्रो चिल्लो ट्रान्सफ्याटयुक्त खानेकुरामा पाइन्छ।’
डा. अनिलका अनुसार लामो समय ट्रान्सफ्याट मिसिएका खानेकुरा खाँदा मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कका लागि घातक हुन्छ। तर हामीलाई बिहान चियासँग बिस्कुट, दिउँसो चाउचाउ–पफ, बेलुकी साथीहरूसँग फ्रेन्चफ्राइज खानु असामान्य लाग्दैन।
तर यही सजिलो र स्वादिलो विकल्पभित्र लुकेको छ– ‘ट्रान्सफ्याट’ अर्थात् अति खराब चिल्लो (अखचि)।
चिकित्सकका अनुसार ट्रान्सफ्याटयुक्त खानेकुराले शरीरमा दीर्घकालीन रोग निम्त्याइरहेको छ। यो कुनै ‘सामान्य चिल्लो’ होइन, दीर्घ रोगको ढोका खोल्ने मौन विष हो।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गत मंसिरमा गरेको अनुगमनले यही भयावह अवस्था देखाएको छ। अनुगमनको क्रममा नाङ्लो बेकरीको ‘क्रोइसेन्ट’ र खजुरी नेपाल प्रालिले उत्पादन गरेको पफ स्वास्थ्यका लागि हानिकारक भेटियो। सरकारले तोकेको सीमाभन्दा बढी ‘ट्रान्सफ्याट’ भेटिएपछि खाद्य विभागले बिक्री–वितरणमा पूर्ण रोक लगाई नष्ट नै गर्यो।
स्वास्थ्यका दृष्टिले ट्रान्सफ्याट सबैभन्दा हानिकारक चिल्लोमध्ये एक मानिन्छ। विशेषज्ञहरूका अनुसार ट्रान्सफ्याट बढ्नुको कारण हो, अस्वस्थ खानपान र शहरिया जीवनशैली। ट्रान्सफ्याटका कारण युवा अवस्थामा नै हृदयघातका घटना बढ्दै गएका छन्।
‘हामीले बिरामीमा देखिरहेको हृदयघातको ट्रेन्ड खानपानसँग प्रत्यक्ष जोडिएको छ’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, ‘ट्रान्सफ्याट त्यसको महत्वपूर्ण कारण हो।’
के हो ट्रान्सफ्याट ?
ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट पाइन्छ। राँगा, भैंसी, खसी, बोका आदि जनावरको रातो मासुमा हुने बोसो र दूध–दहीबाट बनेको परिकारमा पाइन्छ। चिकित्सकका अनुसार थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटले स्वास्थ्यमा धेरै नकारात्मक असर पार्दैन। तर अत्यधिक मात्रा सेवन गर्नाले भने नकारात्मक असर गर्छ।
खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्सफ्याट स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ। जुन कृत्रिम स्रोतबाट पाइन्छ।
औद्योगिक ट्रान्सफ्याट मुख्यतः वनस्पति तेललाई हाइड्रोजेनेसन विधिबाट घिउमा परिणत गर्दा उत्पन्न हुन्छ। यस प्रक्रियामा उच्च तापक्रममा तताएर वनस्पति तेलमा हाइड्रोजन अणु मिसाएर उत्पादन गरिन्छ। यस्तो प्रक्रियामा तरल तेललाई ठोस पदार्थको अवस्थामा अर्थात् वनस्पति घिउमा रूपान्तरित हुन्छ।
यस प्रक्रियाबाट उत्पादित वनस्पति घिउमा बेकरी उत्पादन, बिस्कुट, कुकिज, तयारी चाउचाउ, भुजिया, दालमोठ, आलु चिप्स लगायतका विभिन्न प्रशोधित खाद्य पदार्थ बनाउनका लागि प्रयोग हुन्छ।

उद्योगमा सस्तो तेललाई तताएर हाइड्रोजन मिसाएर गरिने ट्रान्सफ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्छ। साथै यस्तो अति खराब चिल्लोमा पकाएको खानेकुरा स्वादिलो बन्छ र धेरै दिनसम्म भण्डारण गर्न सकिन्छ।
यस्तो तेलमा पकाइएको खानेकुरा बढी प्याकेट फुडको लागि प्रयोग भएका हुन्छन्। बाहिरबाट हेर्दा आकर्षक देखिएका खानेकुरा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन् । वनस्पति तेललाई धेरै पटक तताउँदा पनि ट्रान्सफ्याटको मात्रा बढ्छ। यस्तो तेलमा पकाइएको पकौडा, समोसा, आलु, चिकेन खानेकुरा खाँदा स्वादिलो हुन्छन्।
अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य भन्छन्, ‘घ्यू बरु दिनको एक चम्चा खान राम्रो मानिन्छ। तर, ट्रान्सफ्याटयुक्त खानेकुरा अति नै घातक हुन्छन्।’
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल अहिले ३०–४० वर्षका मानिसमा हृदयघात बढ्दो छ। जसको महत्त्वपूर्ण कारण खराब जीवनशैली र ट्रान्सफ्याटयुक्त खानेकुरा खाँदाले भएको हो। उनी भन्छन्, ‘ट्रान्सफ्याटयुक्त खानेकुराले स्वस्थ व्यक्तिको मुटुको रक्तनलीमा ब्लकेज निम्त्याउने र हृदयघात हुने हुन्छ। बच्चादेखि ज्येष्ठ नागरिकसम्म, गर्भवती सबैलाई असर गर्ने हुन्छ।’
रक्तनलीमा विष घोल्ने ट्रान्सफ्याट
अति खराब चिल्लो (ट्रान्सफ्याट) खानेकुराले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ। त्यसैगरी धमनीको भित्री भागमा नकारात्मक असर पारी धमनी साँघुरिने क्रमलाई बढाउँछ।
‘रक्तनली साँघुरो बनाउने मात्र होइन, भित्री भागमा इन्फ्लामेसन (सुन्निने घाउ जस्तो अवस्था) पनि गराउँछ’ डा. रेग्मी भन्छन्, ‘कोलेस्ट्रोल जम्दा रगत ब्लकेज हुन्छ। जसले हृदयघात वा मस्तिष्कघात निम्त्याउन सक्छ।’ यति मात्रै होइन, ट्रान्सफ्याटले इन्सुलिन प्रतिरोध बढाउने भएकाले टाइप–२ मधुमेहको जोखिम बढ्छ।
व्यापारिक प्रयोजनका लागि तयार पारिएका प्रशोधित खानेकुराहरूका कारण पेट वरिपरि बोसो जम्ने, तौल बढ्ने र मेटाबोलिक सिन्ड्रोम देखिने क्रम बढ्दो छ। अहिले बालबालिकामा जंकफुडको बढ्दो लत छ। विद्यालय उमेरमै मोटोपन, उच्च रक्तचाप र प्रि–डायबिटिज देखिन थालेको डा. वैद्य बताउँछन्।
गर्भवती महिलाले अत्यधिक ट्रान्सफ्याट सेवन गर्दा भ्रूणको विकासमा असर पर्ने विज्ञहरू बताउँछन्। ‘स्तनपान मार्फत पनि ट्रान्सफ्याटको असर नवजात शिशुसम्म पुग्न सक्ने सम्भावना रहन्छ’ डा. वैद्य भन्छन्, ‘यसको जोखिम एक पुस्तासम्म सीमित छैन। यसले गर्भमा रहेको बच्चाको स्वास्थ्यमा नराम्रो असर गर्छ।’

बजारमा अत्यधिक रूपमा तारेर बनाइएका खाना र प्याकिङ गरिएका खानेकुरा ट्रान्सफ्याटयुक्त हुन्छन्। जसको अत्यधिक प्रयोगले कम उमेरमै घातक रोग लागेर थुप्रैको ज्यान जाने गरेको चिकित्सक बताउँछन्।
डा. रेग्मीले विज्ञापन हेरेर भुजिया खाँदा एक युवतीको ज्यान गएको दावी गरे। केही वर्ष अगाडिको घटना स्मरण गर्दै उनले भने, ‘सोनी टीभीमा अमिताभ बच्चनले अत्यन्तै आकर्षक शैलीमा विकाजी भुजियाको प्रचार गरेका थिए। एक युवती अमिताभ फ्यान रहिछन्। लामो समयसम्म भुजियाको सेवन गर्दा उनको हार्ट फेलियरको अवस्थामा पुगेको थियो।’
डा. रेग्मीका अनुसार निरन्तर भुजियाको नशाले मुटुका मांसपेशीलाई कमजोर तुल्यायो, रक्तचाप र कोलेस्ट्रोल बढाएको थियो। जसको कारण मुटुले पम्प नै गर्न नसक्ने अवस्थामा पुर्याएको थियो।
विश्वमा मृत्युको प्रमुख कारण मुटु रोग बनिरहेको छ। प्रमुख जोखिम कारकहरू अस्वस्थकर आहार, शारीरिक निष्क्रियता, सुर्तीजन्य पदार्थ र मदिरा सेवन हुन्। विश्व स्वास्थ्य संगठनको एक अध्ययनले ट्रान्सफ्याटको उच्च सेवनले मृत्युको जोखिम ३४ प्रतिशत बढाउने देखाएको छ।
खानपानको असर मस्तिष्कमा
आधुनिक जीवनशैलीसँगै बदलिंदो खानपानले नेपाली युवामा मस्तिष्क सम्बन्धी रोग बढ्न थालेको विज्ञहरू बताउँछन्। न्युरो विशेषज्ञ डा. सुशील मोहन भट्टराईका अनुसार ट्रान्सफ्याटयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीले गर्दा स्ट्रोक, अल्जाइमर्स, पार्किन्सन्स लगायत गम्भीर न्युरोलोजिकल रोगहरू ३० वर्षकै युवाहरूमा समेत देखिन थालेको छ।
निजामती अस्पतालमा कार्यरत डा. भट्टराई भन्छन्, ‘पहिला प्यारालाइसिस, मस्तिष्कघात ७० वर्ष पुगेपछि हुने रोग मानिन्थ्यो। तर अहिले ३० वर्षका युवाहरूमा देखिएको छ।’
डा. भट्टराईका अनुसार ट्रान्सफ्याट शरीरभित्र प्रवेश गरेपछि सोझै कोषिकाको भित्तामा (सेल मेम्ब्रेन) गएर बस्दछ। सेल मेम्ब्रेन शरीरको संरचना कायम राख्न र एक कोषिकादेखि अर्को कोषिकासम्म सञ्चार (कम्युनिकेसन) गर्नका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ।
दिमागले सोचेको कुरा हातले कार्यान्वयन गर्नका लागि नसाहरू बीच निरन्तर सञ्चार हुनुपर्छ। तर ट्रान्सफ्याट सेल मेम्ब्रेनमा मिसिन थालेपछि सञ्चारमा अवरोध आउँछ र क्रमशः मस्तिष्कका कार्यहरू ह्रास हुँदै जान्छन्।
डा. भट्टराईका अनुसार ट्रान्सफ्याटले मस्तिष्कमा उत्पन्न हुने ‘खुसीको रसायन’ भनिने सेरोटोनिनको मात्रा घटाउँछ। यसले गर्दा आधुनिक युगमा मानिसहरू बढी दुःखी, नकारात्मक र उदास हुने प्रवृत्ति देखिन थालेको छ। त्यतिमात्रै होइन, नयाँ कुरा सिक्ने क्षमता र सम्झनाशक्तिमा गिरावट आउँछ।
‘कलेज जाने धेरै विद्यार्थी सम्झने एकाग्रताको समस्या लिएर क्लिनिकमा आउँछन्’, डा. भट्टराई भन्छन्।
त्यसैगरी वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार शरीरमा बोसोको मात्रा बढ्दा रगत बग्ने नसाहरू जम्न थाल्छ। नसामा बोसो जम्दा रगतको प्रवाह अवरुद्ध हुन्छ, जसका कारण मस्तिष्कसम्म पुग्नुपर्ने अक्सिजनको मात्रा घट्छ।

डा. झाका अनुसार मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध भएमा स्ट्रोक हुने जोखिम अत्यधिक हुन्छ। ‘अत्यधिक फ्याट जम्दा नसाहरू साँघुरा वा कडा हुन्छन्। त्यसले ब्रेन ह्यामरेज वा स्ट्रोक निम्त्याउने गर्छ’, डा. झा भन्छन्।
डा. भट्टराईका अनुसार युवाहरूमा मस्तिष्कघात हुने जोखिमको पहिलो नम्बरमा धूम्रपान पर्छ। दोस्रो स्थानमा अस्वस्थ खानपान र अत्यधिक ट्रान्सफ्याटयुक्त खानेकुरा मानिन्छ।
‘शहरी युवामा मस्तिष्क सम्बन्धी रोगहरू बढी देखिन्छन् र उनीहरू सानै उमेरदेखि धूम्रपान र ट्रान्सफ्याटयुक्त खानेकुरा खान्छन्’, डा. भट्टराईले भने।
ट्रान्सफ्याट सेवन र मस्तिष्कघात बीच प्रत्यक्ष सम्बन्धबारे डा. झा भन्छन्, ‘अस्पतालमा आउने धेरै बिरामीमा मोटोपना र उच्च रक्तचाप प्रमुख समस्या देखिन्छ। युवावस्थामै स्ट्रोक भएका बिरामीहरूमा प्रायः अस्वस्थ जीवनशैली, जंकफुडको अत्यधिक सेवन र शारीरिक गतिविधिको कमी देखिन्छ।’
बजारमा छ्यापछ्याप्ती ट्रान्सफ्याटयुक्त खाद्यान्न
खाद्य विभागको तथ्यांकले बजारका केही उत्पादित खानेकुरा स्वास्थ्यका लागि अति हानिकारक रहेको देखाउँछ। विभागले गत एक वर्षमा ६७ वटा तयारी खाद्य वस्तु र त्यसमा प्रयोग हुने कच्चा पदार्थ अनुगमन गरेको थियो।
जसमध्ये १६ प्रतिशत अर्थात् ११ वटामा मापदण्ड भन्दा बढी ट्रान्सफ्याटयुक्त खानेकुरा भेटिएका थिए। जसमा खाद्य पदार्थको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी थियो।
विभागकी महानिर्देशक मनिता वैद्य भन्छिन्, ‘अनुगमनको क्रममा साढे १५ प्रतिशतसम्म ट्रान्सफ्याटको मात्रा पाइएको थियो। जुन स्वास्थ्यका लागि धेरै हानिकारक हो।’
अनुगमनको क्रममा ८ वटा पफको परीक्षण गरिएको थियो। चार वटा पफमा मापदण्डभन्दा बढी ट्रान्सफ्याटको मात्रा थियो। ६ वटा वनस्पति घ्यूको परीक्षण गर्दा ४ वटामा ट्रान्सफ्याटको मात्रा अत्यधिक थियो। मापदण्डभन्दा बढी ट्रान्सफ्याट भेटिएका उत्पादित वस्तुलाई बजारमा फिर्ता गरिएको वैद्यले दाबी गरिन् ।
डा. अनिल भन्छन्, ‘बजारमा साढे १५ प्रतिशत ट्रान्सफ्याट खानेकुरा भेटिनु स्वास्थ्यका लागि विष नै हो। यस्ता खानेकुराले खाँदा मुटुको रगतनलीलाई सिधै ब्लक गराउँछ, हृदयघात गराउँछ।’
नाफा बढाउने दौडमा पकौडा, समोसा, पुरी, चिकेन फ्राई, ससेज लगायतका फास्टफूड बनाउन होटल–रेस्टुराँ र सडकछेउका पसलले तेललाई पटक–पटक प्रयोग गरिरहेका हुन्छन्। जसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ। डिप फ्राई गरेपछि खानेकुरामा भएको पौष्टिक तत्व सबै नष्ट हुन्छन् र त्यस खानामा हानिकारक चिल्लो थपिन्छ।
‘बजारका अधिकांश मिठाई पसलहरूले मिठाई बनाउन ट्रान्सफ्याटयुक्त वनस्पति घिउ–तेल प्रयोग गरिरहेका छन्। चिल्लो, चम्किलो र टिकाउ देखिने ती परिकार वास्तवमा मुटु र रक्तनलीका लागि विषसरह हुन्छन्’, डा. वैद्यले भने।
डा. रेग्मी थप्छन्, ‘तेल बारम्बार तताएर प्रयोग गर्नु हानिकारक हुन्छ। यसको प्रयोग मुटुरोग मात्र होइन, क्यान्सरको जोखिमसँग पनि जोडिएको छ। वनस्पति घ्यूको प्रयोग सकेसम्म नगर्नु उपयुक्त हुन्छ।’
मृत्युको प्रमुख कारण मुटु र स्ट्रोक
नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। तथ्यांक अनुसार कुल मृत्युको ठूलो हिस्सा श्वासप्रश्वास, मुटु रोग, स्ट्रोकबाट भइरहेको छ।
विशेषज्ञहरूका अनुसार अस्वस्थ खानपान र प्रशोधित खाद्य पदार्थको बढ्दो प्रयोग यसका प्रमुख कारणमध्ये एक हो।
‘नेपाल बर्डेन अफ डिजिज’ को सन् २०२३ को तथ्यांक अनुसार नेपालमा पहिलो नम्बरमा श्वासप्रश्वास, दोस्रोमा मुटु रोग र तेस्रोमा स्ट्रोकका कारणले मृत्यु हुन्छ।
नसर्ने रोग फैलिनुमा हाम्रो खानपान, आनीबानी र जीवनशैली मुख्य जडको रूपमा देखापरेका छन्। पछिल्लो समय विकासोन्मुख राष्ट्रहरूमा नसर्ने रोग ‘सुषुप्त’ प्रकोपको रूपमा बढिरहेको विशेषज्ञ बताउँछन्। त्यसैको अनुपातमा मृत्युदर पनि बढिरहेको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुन्छ।
जनस्वास्थ्यविद् डा. रिता थापा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको बताउँछिन्। थापाका अनुसार विलासी जीवनशैली र खानपानमा गरिने लापरबाही, उच्च रक्तचाप, मधुमेहसँग सम्बन्धित समस्या बढेको कारण नसर्ने रोग बढिरहेको छ।
डा. थापाका भनाइमा, कारणहरू हाम्रै हातमा छन्। हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन्। हाम्रो आनीबानी, पत्रु खाना, रहनसहन, कलिलैमा सुर्तीजन्य पदार्थको प्रयोग, व्यायाम नगर्दाको परिणाम हो।
‘कलिलै उमेरका बालबालिकाले सुर्तीजन्य पदार्थ, पत्रुखाना, मद्यपान सेवन गर्छन्। अभिभावकले पनि स–साना केटाकेटीलाई खाजामा जंगफुड दिन्छन्’ डा. थापाले स्पष्ट पार्दै भनिन्, ‘शारीरिक परिश्रम कम हुँदा र अत्यधिक तनावले नसर्ने रोगको भार बढिरहेको छ।’

राज्य मौन, उपभोक्ताको स्वास्थ्य जोखिममा
सन् २००० को दशकको सुरुवातसँगै विश्वका विभिन्न देशका स्वास्थ्य निकायहरूले खाद्य पदार्थमा प्रयोग हुने ट्रान्सफ्याट नियन्त्रण गर्न नियम लागू गर्न थाले। डेनमार्कले सन् २००३ मा कडा मापदण्ड लागू गर्यो भने स्विट्जरल्याण्डले २००८ मा प्रतिबन्ध लगायो।
संयुक्त राज्य अमेरिका भित्रै सन् २००६ मा न्यूयोर्क र २००८ मा क्यालिफोर्नियाले ट्रान्सफ्याटमा प्रतिबन्ध लगायो। क्यानडाले पनि सन् २००८ मा यस्तै कदम चाल्यो। यी निर्णयपछि धेरै खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा अत्यन्तै न्यून मात्रामा सीमित गरियो र धेरै उत्पादनमा पूर्ण प्रतिबन्ध लगाइयो।
त्यसपछि युवा अवस्थामा हुने हृदयघात, उच्च रक्तचाप, मोटोपन र मधुमेह घटेको घोषणा गरेको थिए। डेनमार्कले युवा अवस्थामा हुने रोग ५० प्रतिशत घटेको भन्दै घोषणा गर्यो। तर उक्त समयमा डेनमार्कले घोषणा गरेको कुरा धेरै देशलाई पत्याउन मुस्किल पर्यो।
विश्व स्वास्थ्य संगठनले उक्त विषयमा अनुसन्धान गर्दै डेनमार्कलाई ‘ट्रान्सफ्याट फ्रि’ देश घोषणा गरेको थियो।
अमेरिका र क्यानडामा बिक्री हुने प्याकेज खाद्य पदार्थको लेबलमा ट्रान्सफ्याटको मात्रा अनिवार्य रूपमा उल्लेख गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनले सन् २०२३ भित्र विश्वका सबै मुलुकबाट औद्योगिक ट्रान्सफ्याट हटाउने लक्ष्य राखी अभियान सञ्चालन गरेको थियो।
२४ माघ २०७८ मा सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१–२०२५) पारित गर्यो। यस योजना अन्तर्गत ट्रान्सफ्याटलाई खाद्य पदार्थको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा कम राख्ने नीति छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्तर निर्धारण समितिबाट मापदण्ड पारित भएसँगै २५ साउन २०८१ देखि मापदण्ड लागू भएको छ। तर यो पर्याप्त रूपमा अनुगमन हुनसकेको छैन।
बजारमा खुलेआम बिक्री भइरहेको ट्रान्सफ्याटयुक्त खाद्य पदार्थप्रति राज्य संयन्त्र अझै गम्भीर नदेखिएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना राज्यले स्पष्ट र कठोर नीति नल्याएसम्म समस्या झन् विकराल बन्दै जाने बताउँछन्। उनका अनुसार समस्या उत्पादनदेखि नियमनसम्मै फैलिएको छ।
‘सबैभन्दा पहिला कच्चा पदार्थ आयातमै कडाइ हुनुपर्छ। भन्सार र क्वारेन्टाइन नाकामा ट्रान्सफ्याटको मात्रा परीक्षण अनिवार्य गरिनुपर्छ। तर त्यो प्रभावकारी रूपमा भइरहेको देखिंदैन’, तिमल्सिनाले भने।
मापदण्ड बनाउनु मात्र पर्याप्त नभएको भन्दै कार्यान्वयनमा कठोरता आवश्यक रहेको बताउँछन्।
‘नीति कागजमा सीमित छ। कार्यान्वयन गर्ने इच्छाशक्ति देखिंदैन। सरकार, उद्योगी, आयातकर्ता र उपभोक्ता बीच व्यापक सचेतना अभियान नचालेसम्म बजारमा ट्रान्सफ्याटको आतंक रोकिने छैन’, तिमल्सिनाले भने।
विभागकी प्रवक्ता बालकुमारी शर्मा पछिल्लो समय खाद्य पदार्थको अनुगमन नियमित रूपमा भइरहेको दाबी गर्छिन्।
‘गत मंसिरमा खजुरीले उत्पादन गरेको पफ गुणस्तरहीन भएपछि बजारबाट फिर्ता गरेका थियौं’ शर्मा भन्छिन्, ‘त्यसको पछिको अनुगमनमा खाद्यमा सुरिक्षत नै भएको पाएका छौं।’

फितलो नियमन
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले खाद्य तथा पेय पदार्थमा अनिवार्य लेबलिङको व्यवस्था स्पष्ट रूपमा गरेको छ। उपभोक्तालाई उत्पादनको प्रकृति, गुणस्तर, मात्रा, म्याद र सम्भावित जोखिमबारे सही र स्पष्ट जानकारी दिनु उत्पादक र बिक्रेताको दायित्व तोकिएको छ।
त्यसैगरी, उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्तालाई मूल्य, गुणस्तर, परिणाम र शुद्धताबारे जानकारी पाउने अधिकार सुनिश्चित गर्नुका साथै मानव स्वास्थ्यमा हानिकारक वस्तुको बिक्री–वितरणबाट जोगाउने कानूनी आधार दिएको छ।
तर कानून कागजमै सीमित देखिन्छ। लेबलिङ नभएका खाद्यवस्तु बजारमा खुलेआम बिक्री भइरहेका भेटिन्छन्। कतिपय उत्पादनमा सामग्री विवरण, उत्पादन र म्याद समेत उल्लेख हुँदैन। जसका कारण राज्यको अनुगमन फितलो हुँदा उपभोक्ता प्रत्यक्ष जोखिममा परिरहेका छन्।
विज्ञापन (नियमन) ऐन, २०७६ र उपभोक्ता संरक्षण ऐन, २०७५ ले भ्रामक तथा स्वास्थ्य–पोषण सम्बन्धी झुटा विज्ञापनलाई स्पष्ट रूपमा निषेध गरेको छ। यी कानूनी प्रावधान बालबालिकालाई लक्षित गरी अस्वस्थकर खाद्यान्न, चिनीजन्य पेय पदार्थ र औद्योगिक ट्रान्सफ्याटयुक्त उत्पादनको आक्रामक बजार विस्तार रोक्न पर्याप्त हुन सक्थे। तर कार्यान्वयन कमजोर छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र प्रदेशस्तरीय प्रयोगशालाहरू जनशक्ति अभावलाई कारण देखाउँदै प्रभावकारी अनुगमन गर्न नसकेको जवाफ दिन्छन्।
खाद्य विभाग, प्रदेश प्रयोगशाला र स्थानीय तहमा सीमित प्राविधिक क्षमता र कमजोर प्रयोगशाला पूर्वाधारको तर्क दोहोरिंदै आएको छ। अत्यधिक प्रशोधित खाद्यवस्तुको बढ्दो बजार, लेबलिङ पालना नगर्ने प्रवृत्ति र कमजोर अनुगमन प्रणालीले अवस्था झन् जटिल बनाएको छ। नियमन संयन्त्र अस्तव्यस्त हुँदा उपभोक्ताको स्वास्थ्य जोखिम बढिरहेको छ।
स्वास्थ्य विज्ञहरू औद्योगिक ट्रान्सफ्याट नियन्त्रणका लागि खाद्यान्नको लेबलमा ट्रान्सफ्याट मात्राको अनिवार्य उल्लेख, स्पष्ट दृश्य चेतावनी र लक्षित कार्यान्वयन रणनीति आवश्यक रहेको बताउँछन्। प्रदेश तहमा कर नीति र कडाइका साथ लेबलिङ कार्यान्वयन गर्दै निरीक्षण तथा प्रयोगशाला क्षमता सुदृढ पार्नुपर्ने उनीहरूको सुझाव छ।
उपभोक्ता अधिकारकर्मी तिमल्सिना स्थानीय तहले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै विद्यालय र समुदायमा उच्च ट्रान्सफ्याटयुक्त उत्पादनको बिक्री तथा प्रवर्धनमा प्रतिबन्ध लगाउन ढिलाइ गर्न नहुने बताउँछन्।
बहुक्षेत्रीय कार्ययोजना ल्याउने तयारी
सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि नयाँ बहुक्षेत्रीय कार्ययोजना ल्याउने तयारी भइरहेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार सन् २०२१ देखि २०२५ सम्म लागू गरिएको कार्ययोजनाको म्याद सकिएको छ। अब २०२६ देखि २०३० सम्मका लागि नयाँ रणनीति निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
नसर्ने रोगको मुख्य कारण स्वास्थ्य क्षेत्रभन्दा बाहिर रहेको उल्लेख गर्दै बहुक्षेत्रीय सहकार्य अपरिहार्य रहेको डा. देवकोटा बताउँछन्।

‘नसर्ने रोगका करिब ८० प्रतिशत कारण स्वास्थ्य क्षेत्रभन्दा बाहिरका तत्वसँग सम्बन्धित छन्’ डा. देवकोटा भन्छन्, ‘वातावरणीय प्रदूषण, रासायनिक पदार्थ, फोहोर व्यवस्थापन, कीटनाशक वस्तु जस्ता विषयमा अन्य मन्त्रालय र निकायसँग जोडिएका छन्।’
उनका अनुसार अघिल्लो कार्ययोजनाले बहुक्षेत्रीय अवधारणा समेट्ने प्रयास गरे पनि व्यावहारिक कार्यान्वयनमा पर्याप्त सफलता हासिल हुन सकेन।
‘स्वास्थ्य क्षेत्र मात्र जिम्मेवार ठानेर हुँदैन, अन्य क्षेत्रहरूले पनि आफ्ना नीति, लगानी र अभ्यास मार्फत स्वास्थ्यमा नकारात्मक असर पार्ने कारण न्यूनीकरण गर्नुपर्छ’, उनले जोड दिए। साथै, विभिन्न मन्त्रालय र सरोकारवाला निकायलाई नीति, स्रोत र कार्यक्रम मार्फत स्पष्ट योगदान गर्न सक्ने गरी रणनीति तयार गरिने उनको भनाइ छ।
‘अघिल्लो अवधिबाट सिकेका पाठलाई नयाँ रणनीतिमा समेट्दै, कार्यान्वयनमा देखिएका कमजोरी र चुनौतीलाई समाधान गर्ने गरी योजना तयार गरिंदैछ’ डा. देवकोटा भन्छन्, ‘नसर्ने रोग नियन्त्रणका लागि अब अझ प्रभावकारी र स्पष्ट बहुक्षेत्रीय दृष्टिकोण आवश्यक छ।’
प्रतिक्रिया 4