+
+
Shares

सिन्धुपाल्चोक : विरासत जोगाउने र फर्काउने प्रतिस्पर्धा

दिपक खत्री दिपक खत्री
२०८२ फागुन १७ गते १७:०१

१७ फागुन, सिन्धुपाल्चोक । २१ फागुनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकका दुई वटै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाताको घरदैलोदेखि खेतबारीसम्म पुगेर मत मागिरहेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकका दुवै क्षेत्र हारेको नेकपा एमाले पुरानो विरासत फर्काउने लक्ष्यमा छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो पकड कायमै राख्ने दाउमा छ । नेपाली कांग्रेस भने आफूले जितेको क्षेत्र सुरक्षित गर्दै अर्को क्षेत्र पनि खोस्ने रणनीतिमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने परम्परागत दलप्रतिको असन्तुष्टिलाई मतमा रूपान्तरण गर्ने प्रयासमा देखिन्छ ।

संघीय राजधानी काठमाडौंसँग जोडिएको, अरनिको राजमार्गमार्फत चीनसँग सम्बन्ध गाँसेको र जुगल हिमालको काखमा बसेको सिन्धुपाल्चोक रणनीतिक रूपमा महत्वपूर्ण जिल्ला हो । मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पुर्‍याइँदै आएको छ भने चीनसँगको सबैभन्दा नजिकको व्यापारिक नाका तातोपानी नाका पनि यही जिल्लामा पर्छ । भोटेकोशी, ब्रह्मायणी र इन्द्रावती नदीबाट ठूलो मात्रामा विद्युत उत्पादन हुने यो जिल्लाको चुनावी माहोल भने मध्य गर्मीझैँ चर्किएको छ ।

कुविण्डे, पिस्कर, भोटेनाम्लाङ जस्ता ऐतिहासिक राजनीतिक थलो रहेको सिन्धुपाल्चोकमा दल र स्वतन्त्र गरी दुवै निर्वाचन क्षेत्रमा समान रूपमा १८–१८ जना उम्मेदवार मैदानमा छन् ।

क्षेत्र नम्बर १ : चारपक्षीय भिडन्तको आकलन

सिन्धुपाल्चोक–१ मा यसपटक चारपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र नेकपा (तत्कालीन माओवादी केन्द्र) बीचको गठबन्धन निर्णायक बनेको थियो । उक्त निर्वाचनमा माओवादी केन्द्रका माधव सापकोटा ३० हजार ४०८ मतसहित विजयी हुँदा नेकपा एमालेका सरेश नेपालले २७ हजार ६६ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने ३ हजार ५०३ मत प्राप्त गरेको थियो ।

यसपटक नेकपाबाट पुन: उम्मेदवार बनेका सापकोटा अघिल्लो अपूरो कार्यकालमा तातोपानी नाका खोलिएको लगायत उपलब्धि देखाउँदै समृद्धिको एजेन्डासहित मतदातामाझ छन् । एकै दिन काठमाडौं–जुगल यात्रा, पाँच वर्षमा पाँच हजार रोजगारी जस्ता प्रतिबद्धता उनको चुनावी नारामा छन् । दोस्रो कार्यकालका लागि संसद् छिर्न प्रयासरत सापकोटालाई कांग्रेस, एमाले र नयाँ दल रास्वपा मुख्य चुनौती हुन् ।

एमालेबाट सरेश नेपाल पनि दाहोरोरिएका छन् । गठबन्धन नहुँदा समीकरण बदलिने दाबी एमालेले गरे पनि पार्टी भित्रको आन्तरिक असन्तुष्टि र कमजोर व्यवस्थापनले असर पार्न सक्ने चर्चा स्थानीयस्तरमा छ ।

यो क्षेत्रमा २०५१ सालमा एमालेबाट अमृतकुमार बोहरा १३ हजार ३६९ मतसहित विजयी भएका थिए । त्यसयता एमालेले संघीय संसद्मा आफ्नो उपस्थिति जनाउन सकेको छैन । अघिल्लो निर्वाचनमा गठबन्धनसहित उत्रिएका दलहरू यसपटक भने एकल रूपमा चुनावमा होमिएपछि समीकरण बदलिने दाबी एमालेले गरेकोे छ । नेकपा र रास्वपाझैं तामझामको प्रचारप्रसार पनि एमालेमा देखिएको छैन ।

कांग्रेसबाट जंग तामाङ उम्मेदवार छन् । जनजाति समुदायमा केही प्रभाव जमाउन सफल भए पनि उनी प्रचार र व्यवस्थापन दुवै पक्षमा कमजोर देखिएका छन् । पूर्वमन्त्री मोहन बस्नेतको गृह क्षेत्र बाह्रबीसेमा भेटिएका कांग्रेसका कार्यकर्तामा विगतमा जस्तो चुनावको रौनक देखिएन ।

यता, रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुलीले मुख्य दलप्रतिको असन्तुष्टिलाई समात्दै आफ्नो पकड विस्तार गरिरहेका छन् । रास्वपाको मत बढ्दै जाँदा एमाले, कांग्रेस र नेकपाकै मत कटौती हुने अवस्था बन्ने आकलन पनि गरिएको छ ।

क्षेत्र नम्बर २ : रैथानेबीच प्रतिस्पर्धा

लामो समय ‘टुरिस्ट उम्मेदवार’ हावी भएको सिन्धुपाल्चोक–२ मा यसपटक भने रैथाने उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा छ । नयाँ संविधानले क्षेत्र पुनर्संरचना गरेपछि यो क्षेत्रबाट २०७४ मा एमालेका शेरबहादुर तामाङ विजयी भए भने २०७९ मा कांग्रेसका मोहनबहादुर बस्नेतले गठबन्धनको साथमा जित निकाले ।

यसपटक कांग्रेसबाट इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष बंशलाल तामाङ उम्मेदवार छन् । स्थानीय तह सञ्चालनको अनुभव र इन्द्रावती–हेलम्बु क्षेत्रमा राम्रो प्रभाव उनका बलिया पक्ष मानिन्छन् । यो क्षेत्रमा कांग्रेसको प्रचार र मतदाता आकर्षण राम्रो देखिएको छ ।

एमालेबाट पूर्वमन्त्री शेरबहादुर तामाङ छैटौं पटक चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमाले उनलाई पुन: संसद् पठाएर आफ्नो पकड कायम राख्ने रणनीतिमा छ । एमालेको प्रचार र मतदाता आकर्षण कमजोर देखिए पनि संगठनात्मक व्यवस्थापन भने सन्तोषजनक रहेको स्थानीयको मूल्याङ्कन छ । एमालेले भने अनुभवी नेतृत्व र परम्परागत मत आधारमा भरोसा गरेको छ ।

नेकपाबाट पूर्वप्रदेश मन्त्री युवराज दुलाल सिन्धुपाल्चोक–२ मा उम्मेदवार छन् । ‘बाकसभरि मत, बाकसभरि विकास’ नारासहित मैदानमा उत्रिएका दुलालले एमाले, कांग्रेस र राप्रपाका असन्तुष्ट मत तान्ने रणनीति बनाएका छन् ।

दुलालका पक्षमा मतदाता आकर्षणको बढिरहेको दाबी नेकपाका नेता/कार्यकर्ताको दाबी छ । उनको मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेसँग हुने देखिन्छ ।

यो क्षेत्रमा रास्वपाले लिसंखुपाखरका झलक श्रेष्ठलाई उम्मेदवार बनाएको छ । व्यावसायिक पृष्ठभूमिका उनी सामाजिक अभियन्ताका रूपमासमेत परिचित छन् ।

१ नम्बर क्षेत्रको ठिक विपरीत रास्वपाको प्रचार शैली राम्रो भए पनि व्यवस्थापन र समग्र मतदाता आकर्षण अत्यन्तै फितलो देखिएको छ । बालेनको प्रभाव र रास्वपाप्रतिको नयाँ पुस्ताको आकर्षणले विगतको भन्दा रास्वपाको मत बढ्ने आकलन छ ।

राप्रपाले केही स्थानमा प्रचार र भित्री संगठन राम्रो बनाएको भए पनि सबै क्षेत्रमा समान रूपमा प्रचार गतिविधि विस्तार गर्न नसकेको देखिन्छ । राप्रपाबाट इन्जिनियर गोपीकृष्ण चौलागाईं उम्मेदवार छन् ।

नाका, रोजगारी र पुनर्निर्माण: पुरानै संकट

तातोपानी नाका र मेलम्ची खानेपानी आयोजनाका कारण चर्चामा रहने सिन्धुपाल्चोकमा नाका सहज सञ्चालनमा नआउँदा सीमा क्षेत्रका गाउँबाट युवाको विदेश पलायन बढ्दो छ । कृषि, पर्यटन र व्यापार मुख्य आय स्रोत भए पनि मल, बीउ, बजार अभाव र जंगली जनावरका कारण किसान मर्कामा छन् ।

भूकम्प र मेलम्ची बाढीले क्षति पुर्‍याएका हेलम्बु र मेलम्ची क्षेत्रमा पुनर्निर्माण अझै सुस्त छ । १९ वर्षदेखि बन्द नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग, अलपत्र पुल र अधुरा सडकले विकासप्रति निराशा थपेको छ ।

२०७८ को जनगणनाअनुसार २ लाख ६२ हजारभन्दा बढी जनसंख्या रहेको सिन्धुपाल्चोकमा बसाइँसराइ तीव्र बन्दै जाँदा गाउँ–बस्ती रित्तिँदै गएका छन् । उम्मेदवार घरदैलोमा जाँदा मतदाता भेट्नै मुस्किल पर्ने अवस्था छ । विकास, रोजगारी र सुरक्षित पुनर्स्थापनाका लागि संघीय सरकारको विशेष ध्यान अपरिहार्य रहेको मतदाता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?