+

‘आयुर्वेदिक औषधि साइडइफेक्टरहित हुन्छ भन्ने होइन’

२०८२ फागुन  १९ गते १७:३९ २०८२ फागुन १९ गते १७:३९

बिरामी चिकित्सककोमा कम जानुको सबैभन्दा ठूलो कारण आर्थिक समस्या हो डाक्टरको शुल्क, ल्याब जाँच, औषधि र अस्पतालको खर्च धेरैलाई महँगो लाग्छ ।

‘आयुर्वेदिक औषधि साइडइफेक्टरहित हुन्छ भन्ने होइन’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेदिक औषधि सबैभन्दा सुरक्षित भन्ने धारणा आंशिक सत्य भए पनि यसको सही प्रयोग र व्यक्तिका लागि मात्र साइड इफेक्ट कम हुन्छ।
  • एलोपेथिक र आयुर्वेदिक औषधि सँगै खान सकिन्छ तर दुवै चिकित्सकको सल्लाह र पर्यवेक्षणमा मात्र प्रयोग गर्नुपर्छ।
  • नेपालमा धेरैले चिकित्सकको सल्लाह बिना फार्मेसीबाट आयुर्वेदिक औषधि किनेर आफैं सेवन गर्ने चलन छ, जसले स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ।

हामीलाई लाग्छ, आयुर्वेदिक औषधि सबैभन्दा सुरक्षित हुन्छ । यसको साइड इफेक्ट हुँदैन । एलोपेथिक वा अन्य औषधि खाइरहेका बेला पनि हामी आयुर्वेदिक औषधि खाइदिन्छौं । त्यो पनि आफ्नै मर्जीमा ।

चिकित्सकलाई सोध्नुपर्ने झन्झट पनि लिँदैनौं । आफूखुसी आयुर्वेदिक औषधि खाने प्रवृत्ति एकातिर व्याप्त छ भने अर्कोतिर यसको बजार पनि उस्तै छ । चिकित्सको प्रेस्किप्सन बिना यस्तो औषधि छ्यापछ्याप्ती पाइन्छ ।

खासमा आयुर्वेदिक औषधि के हो ? यो कसरी तयार हुन्छ ? के यसको कुनै साइड इफेक्ट हुन्न ? यसको प्रभावकारीता कस्तो हुन्छ ? यावत विषयमा वरिष्ठ आयुर्वेद पञ्चकर्म विशेषज्ञ डा. निर्मल भुसालसँग अनलाइनखबरका लागि सुमित्रा लुइटेलले कुराकानी गरेकी छिन् ।

आम नेपालीमा एउटा धारणा छ आयुर्वेदिक औषधिको कहिल्यै साइड इफेक्ट हुँदैन, यो कति सही हो ?

यो धारणा धेरै हदसम्म सत्य छैन, तर आंशिक रूपमा बुझ्न सकिन्छ । आयुर्वेद मुख्य रूपमा प्राकृतिक जडीबुटी, हर्बल प्रोडक्ट र पञ्चमहाभूत पृथ्वी, जल, वायु, तेज, आकाशमा आधारित हुन्छ । शरीर पनि यही पञ्चमहाभूतबाट बनेको हुन्छ । त्यसैले समग्र रूपमा प्रयोग गर्दा साइड इफेक्ट निकै कम हुन्छ ।

तर, आयुर्वेदिक औषधि साइड इफेक्टरहित हुन्छ भन्ने होइन । यसको सही प्रयोग, सही व्यक्तिका लागि, सही ढंगले हुनुपर्छ । नभए आयुर्वेदिक औषधिले पनि हानि गर्न सक्छ। कुनैपनि चिकित्सकले आयुर्वेदिक औषधिको नकारात्मक असर हुँदैन भन्दैनन् र भन्न मिल्दैन पनि । औषधि बिक्रेताले भन्न सक्छन् । किनभने उसका लागि त्यो व्यापार न हो ।

केमिकल÷सिन्थेटिक औषधिको तुलनामा नेचुरल बेस्ड प्रोडक्टको साइड इफेक्ट कम देखिन्छ भन्ने कुरा सही हो । तर ‘पूर्णरूपमा साइड इफेक्ट हुँदैन’ भन्नु गलत हो ।

उदाहरणका लागि अमला खाँदा प्रायः समस्या हुँदैन किनकी यो फल पनि हो । तर त्रिफला (अमला + हर्रो + बर्रो) मा मात्रा बढी भयो भने डायरिया, ड्राइनेस बढ्न सक्छ । सही मात्रामा त्रिफला रसायन हो, जसले दीर्घायु दिन्छ । बढी भयो भने विषाक्तता निम्त्याउछ ।

संस्कृत श्लोक छ ‘पथ्ये सति गदार्तस्य किमौषधनिश्चय’ अर्थात् सही आहार–विहार (पथ्य) छ भने खानालाई नै औषधि मान्न सकिन्छ । पथ्य नभए खाना पनि औषधिको काम गर्दैन, बरू साइड इफेक्ट दिन्छ । औषधिको कुरा पनि उस्तै हो । मात्रा र उपयोग विधिले फरक पार्छ ।

एलोपेथिक र आयुर्वेदिक औषधि सँगै खान मिल्छ कि मिल्दैन ? विशेष गरी बाथ, ग्यास्ट्रिक, थाइरोइड जस्ता क्रोनिक रोगमा ?

केही अवस्थामा एलोपैथिक र आयुर्वेदिक औषधि सँगै खान सकिन्छ, तर यो सधैं १०० प्रतिशत सुरक्षित र स्वतः ठीक हुन्छ भन्ने कुरा होइन । मुख्य कुरा दुवै चिकित्सक एलोपेथिक चिकित्सक र आयुर्वेदिक चिकित्सकलाई पूर्ण जानकारी दिनुपर्छ र उनीहरूको सल्लाह तथा पर्यवेक्षणमा मात्र प्रयोग गर्नुपर्छ ।

धेरैजसो सामान्य आयुर्वेदिक औषधिहरू जस्तैः अश्वगंधा, गुग्गुलु, त्रिफला, अमलकी/आँवला, यष्टिमधु/जेठीमधु, कमदुधा रस, अविपत्तिकर चूर्ण आदिलाई सही समयमा र सही मात्रामा खाँदा एलोपैथिक औषधिसँग ठूलो समस्या हुँदैन । धेरै बिरामीहरूले वर्षौंदेखि यस्तो संयोजन प्रयोग गरेर राम्रो नतिजा पाइरहेका छन्, विशेष गरी जब दुवै डाक्टरले सहमति दिएका हुन्छन् ।

तर केही विशेष अवस्थामा सावधानी अपनाउनुपर्छ, किनकि केही जडीबुटीले एलोपैथिक औषधिको प्रभाव बढाउन वा घटाउन सक्छन् । जस्तो थाइराइडको औषधि । यो बिहान खाली पेटमा खानुपर्छ । अश्वगंधा जस्ता केही जडीबुटीले थाइरोइड हर्मोनको स्तर बढाउन सक्छन्, जसले औषधिको प्रभाव दोब्बर हुन सक्छ वा रिपोर्ट बिग्रिन सक्छ । त्यसैले कम्तीमा ३–४ घण्टा वा डाक्टरले भने जतिको अन्तर राख्नुपर्छ । नियमित टिएसएच जाँच पनि गर्नुपर्छ ।

ग्यास्ट्रिक/एसिडिटीका लागि प्रयोग हुने पीपीआई ‘प्रोटोन पम्प इन्हिबिटर’औषधिहरू जस्तै ‘प्यान्टोप्राजोल’, ‘रेबेप्राजोल’ आदि सँग यष्टिमधु, अविपत्तिकर जस्ता पेट शान्त पार्ने जडीबुटीहरूले सामान्यतया सहयोग नै गर्छन् । तर केही कडा काढा वा चूर्णले पीपीआई औषधिको अवशोषण प्रक्रियामा असर पार्न सक्छ । त्यसैले यी औषधि र जडीबुटीबीच निश्चित समयको अन्तर राखेर सेवन गर्नु राम्रो हुन्छ ।

बाथ/जोर्नी दुखाइको औषधि स्टेरोइड, मेथोट्रेक्सेट आदि गुग्गुलु, शल्लकी जस्ता जडीबुटीहरूले जोर्नीको सुधारमा मद्दत गर्छन्, तर केहीले कलेजोमा असर पार्न सक्छन् वा रक्तचाप÷रक्तसञ्चारमा प्रभाव पार्न सक्छन् । त्यसैले चिकित्सकको सल्लाह बिना यस्ता औषधिलाई सँगै खानु हुँदैन ।

सबैभन्दा सुरक्षित र भरपर्दो तरिका भनेको हाल खाइरहेको सबै एलोपैथिक औषधिको नाम, डोज र समय आयुर्वेदिक डाक्टरलाई देखाउनुपर्छ । साथै आयुर्वेदिक डाक्टरले लेखेको औषधिको नाम, मात्रा र समय एलोपैथिक डाक्टरलाई पनि बताउनुपर्छ । दुई प्रणालीका औषधिबीच कम्तीमा २–४ घण्टाको अन्तर राख्ने प्रयास गर्नुपर्छ । थाइरोइडको हकमा बढी सावधानी अपनाउनुपर्छ ।

कहिल्यै पनि आफैंले एलोपेथिक औषधि बन्द वा घटाउने गर्नु हुँदैन । यो डाक्टरले मात्र बिस्तारै ‘ट्यापरिङ’ गरेर गर्नुपर्छ, नत्र समस्या बढ्न सक्छ । गुणस्तरीय औषधि मात्र प्रयोग गर्नुपर्छ । औषधि व्यवस्था विभागमा दर्ता भएको कम्पनीको, प्याकेटमा दर्ता नम्बर भएको, चिकित्सकले लेखेको औषधि प्रयोग गर्नुपर्छ । नाम–ठेगाना नभएको, अनरजिस्टर्ड चूर्ण÷ट्याब्लेटबाट टाढा रहनुपर्छ । यिनमा भारी धातु मिसिएको हुन सक्छ ।

नेपालमा आफूखुसी आयुर्वेदिक औषधि किन्ने चलन निकै छ । यसले कस्तो समस्या निम्त्याउछ ?

आयुर्वेद पर्सनलाइज्ड मेडिसिन हो । व्यक्ति अनुसार प्रकृति वात, पित्त, कफ, दोष अवस्था, जीवनशैली, खानपान हेरेर औषधि फरक पर्छ । फार्मेसीमा गएर ‘यो चूर्ण खान्छु, त्यो ट्याब्लेट खान्छु’ भन्नु गलत अभ्यास हो ।

नेपालमा ओभर–द–काउन्टर आयुर्वेदिक औषधि फार्मेसीबाट सजिलै किनेर खाने चलन निकै छ । यो चलनले छोटो समयमा सजिलो राहत दिन सक्छ, तर यसले धेरै गम्भीर समस्या निम्त्याउछ जसलाई धेरैले बेवास्ता गर्छन् ।

सबैभन्दा ठूलो समस्या भनेको गुणस्तर थापा नपाउनु हो । बजारमा धेरै आयुर्वेदिक चूर्ण, ट्याब्लेट, काढा वा रस औषधिहरू नाम–ठेगाना नभएका, दर्ता नम्बर नभएका वा चिकित्सकले नलेखेका हुन्छन् ।

यस्ता औषधिमा कहिलेकाहीँ भारी धातुहरू जस्तैः सिसा/लेड, पारा/मर्करी, आर्सेनिक मिसाइएको पाइन्छ । जुन शरीरमा जम्मा भएर लामो समयपछि कलेजो÷मिर्गौला बिगार्न सक्छ, रक्तचाप बढाउन सक्छ, पेट दुखाउन सक्छ, एलर्जी वा गम्भीर अवस्थामा विषाक्तता निम्त्याउन सक्छ ।

दोस्रो समस्या गलत औषधि र गलत मात्रा हो । आयुर्वेद व्यक्तिगत प्रकृति वात, पित्त, कफ अनुसार काम गर्छ । फार्मेसीमा बसेको व्यक्ति जसलाई प्रायः आयुर्वेदको गहिरो ज्ञान हुँदैन । यस्तोमा उसले यो चूर्ण खानु भनेर दिए पनि त्यो दोष, उमेर, जीवनशैली वा अन्य औषधिसँग मिल्दैन । परिणामस्वरूप पखाला, कब्जियत, रूखोपन बढ्नु, एलर्जी, पेट दुखाइ, वा रोग झन् बढ्न सक्छ ।

आयुर्वेदिक औषधिलाई एलोपेथिक औषधिसँग मिसाउँदा इन्टरएक्सन हुन्छ । धेरैले थाइरोइड, बीपी, सुगर वा बाथको एलोपेथिक औषधि खाइरहेका हुन्छन् र आयुर्वेदिक थप्छन् यसले औषधिको प्रभाव घटाउँछ वा बढाउँछ, जसले रिपोर्ट बिगार्न सक्छ वा साइड इफेक्ट निम्त्याउछ ।

औषधि पसलमा गएर ओभर द काउन्टर औषधि किनेर खाँदा, रोग ढिलो पत्ता लाग्छ वा उपचार नै गलत हुन्छ । सानो समस्या ठान्दै आफूखुसी वा मेडिकलको सल्लाहमा औषधि खाँदा गम्भीर रोग जस्तैः क्यान्सर, क्रोनिक लिभर समस्या ढिलो थाहा हुन्छ, जसले उपचार जटिल बनाउँछ ।

नेपालमा आयुर्वेदिक उपचार कति प्रतिशत बिरामीले चिकित्सकबाट लिन्छन् र कति प्रतिशतले ‘ओभर द काउन्टर’ वा आफैं औषधि लिन्छन् ?

नेपालमा आयुर्वेदिक उपचारको बारेमा ठूलो स्तरको राष्ट्रिय सर्वेक्षण वा आधिकारिक तथ्यांक उपलब्ध छैन जसले चिकित्सकबाट परामर्श लिने र ओभर–द–काउन्टर वा आफैं औषधि लिने प्रतिशतलाई स्पष्ट रूपमा अलग–अलग देखाउँछ । तर विभिन्न सानो–ठूलो अध्ययन, अनुभव र स्वास्थ्य क्षेत्रका रिपोर्टहरूबाट यो कुरा प्रष्ट हुन्छ कि धेरैजसो बिरामीहरू आयुर्वेदिक औषधि चिकित्सकको परामर्श बिना नै फार्मेसी वा आफैंबाट किनेर प्रयोग गर्छन् ।

उदाहरणका लागि नेपालमा सामान्यतया सेल्फ–मेडिकेसन आफैं औषधि खानेको प्रचलन निकै उच्च छ । धेरै मानिसहरूले आफैं औषधि प्रयोग गर्छन् । जसमा एलोपेथिकसँगै आयुर्वेदिक पनि मिसिन्छ ।

आयुर्वेदिक औषधिको हकमा यो झन् बढी हुन्छ किनकि धेरैलाई लाग्छ ‘प्राकृतिक’ भएकाले सुरक्षित छ र फार्मेसीमा सजिलै पाइन्छ जस्तैः त्रिफला, अश्वगंधा, गुग्गुलु, च्यवनप्राश आदि । धेरै बिरामीहरू पहिला ओभर द काउन्टर प्रयास गर्छन्, समस्या जटिल भएपछि मात्र रजिस्टर्ड आयुर्वेदिक चिकित्सककहाँ पुग्छन् ।

आयुर्वेदिक अस्पताल र ओपीडीमा आउने बिरामीहरूको संख्या न्यून छ । स्वास्थ्य मन्त्रालयका रिपोर्टहरूमा एलोपेथिकको तुलनामा निकै कम देखिन्छ । धेरैजसोले सानो समस्या जस्तैः खोकी, ज्वरो, पेट दुखाइ, जोर्नी दुखाइ अदिमामा फार्मेसीबाट चूर्ण÷ट्याब्लेट किनेर खान्छन् ।

बिरामी किन चिकित्सककहाँ कम आउँछन् ? मुख्य कारण के होला ?

नेपालमा बिरामीहरू चिकित्सककहाँ कम आउने कारणहरू धेरै छन्, जसले गर्दा धेरैजसोले आफैं औषधि खाने वा फार्मेसीबाट सल्लाह लिएर उपचार गर्छन् । यो समस्या विशेष गरी रुघाखोकी, टाउको दुखाइ, ज्वरो, पेट दुखाइ, जोर्नी दुखाइमा बढी देखिन्छ ।

बिरामी चिकित्सककोमा कम जानुको सबैभन्दा ठूलो कारण आर्थिक समस्या हो डाक्टरको शुल्क, ल्याब जाँच, औषधि र अस्पतालको खर्च धेरैलाई महँगो लाग्छ । धेरै नेपालीहरूले ‘सानो समस्या छ, ठिक होला’ भनेर सोच्छन् र खर्च गर्न हिचकिचाउँछन् । विशेष गरी गाउँ/टाढा ठाउँमा बस्नेहरूका लागि अस्पताल वा चिकित्सकसम्म पुग्न समय र पैसा दुवै लाग्छ, त्यसैले नजिकैको फार्मेसीबाट औषधि किनेर खान्छन् ।

अर्को मुख्य कारण स्वास्थ्य शिक्षा र जागरणको कमी हो । ‘डाक्टरको सल्लाह बिना औषधि नखानू’ भन्ने कुरा परिवार, समुदाय तथा स्कुलमा राम्ररी सिकाइँदैन । धेरैलाई लाग्छ ‘यो प्राकृतिक वा आयुर्वेदिक हो, सुरक्षित छ’ वा ‘पहिला पनि यस्तै खाएर ठिक भएको थियो’ भनेर आफैं प्रयोग गर्छन् । फार्मेसीका कर्मचारीहरूले पनि अनुभवका आधारमा सल्लाह दिन्छन्, जसले गर्दा बिरामी चिकित्सकसम्म पुग्दैनन् ।

स्वास्थ्य सेवा र पूर्वाधारको कमी पनि एउटा कारण हो । प्रायगरी ग्रामिण क्षेत्रमा राम्रो अस्पताल र चिकित्सकहरू कम छन् । स्वास्थ्य चौकीहरूमा पनि पर्याप्त औषधि-डाक्टर हुँदैनन् । शहरमा पनि लामो लाइन, भीड र समय लाग्ने भएकाले मानिसहरूले ‘समय छैन’ भनेर ओभर–द–काउन्टर औषधि रोज्छन् ।

नेपालमा एन्टिबायोटिकदेखि सामान्य औषधिसम्म प्रिस्क्रिप्सन बिना किन्न सकिन्छ । फार्मेसीहरूले सजिलै दिन्छन्, जसले गर्दा डाक्टरकोमा जाने बानी नै बस्दैन । विदेशी बिरामीहरू भने कन्सल्टेसन फि तिर्न इच्छुक हुन्छन् । औषधिभन्दा परामर्शलाई महत्व दिन्छन् । तर, हाम्रो समाजमा उल्टो छ पारमर्शलाई पैसा तिर्नुभन्दा औषधिलाई पैसा तिर्नु सहज ठान्छन् धेरै ।

‍औषधि आयुर्वेद
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय