+

बेल्जियम लिगको फ्रेन्चाइजमा जनकपुर बोल्ट्सको स्वामित्व

२०८२ फागुन  २० गते ११:३० २०८२ फागुन २० गते ११:३०
बेल्जियम लिगको फ्रेन्चाइजमा जनकपुर बोल्ट्सको स्वामित्व

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सले बेल्जियमको इयू टी-२० मा जेबी ब्रुग्सको स्वामित्व लिएको छ ।
  • जेबी ब्रुग्सको स्वामित्व लिएको टोलीका प्रमुख उत्सव सिग्देलले जानकारी दिए ।
  • जनकपुरले नेपाली खेलाडीलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित बेल्जियममा किकेट लिगको फ्रेन्चाइज लिएको सिग्देलले बताए ।

२० फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स (जेबी) ले बेल्जियमको इयू टी-२० मा जेबी ब्रुग्सको स्वामित्व लिएको छ।

आगामी जुन ६ देखि १४ सम्म बेल्जियममा हुने पहिलो इयू टी-२० प्रतियोगितामा जनकपुरले जेबी ब्रुग्सको स्वामित्व लिएको टोलीका प्रमुख उत्सव सिग्देलले मंगलबार जानकारी दिए ।

नेपाली खेलाडीलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित बेल्जियममा हुने किकेट लिगको फ्रेन्चाइज लिएको सिग्देलले बताए ।

यसअघि जनकपुर बोल्ट्सले दोस्रो सिजनका मुख्य प्रशिक्षक शिवनाराइन चन्द्रपलको उपस्थितिमा जेबी क्रिकेट एकेडेमीको समेत घोषणा गरेको थियो ।

जनकपुर एनपीएलको सुरुवाती संस्करणको च्याम्पियन टोली हो ।

डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पहिलो पटक आयोजना गर्न लागेको इयु टी२० बेल्जियम क्रिकेटमा ६ टोली सहभागि हुनेछन् ।

जसमा ब्रुग्ससहित एन्टवर्प एन्कर्स र लेइज रेड लायन्स टिम घोषणा भइसेको छ । अब ब्रसेल्स, घेन्ट र लुभेन शहरको टिम नाम र प्रवर्द्धकको घोषणा हुन बाँकी छ ।

इंग्ल्यान्डका पूर्व कप्तान इयान मोर्गन यस प्रतियोगिताको ब्रान्ड एम्बासडरमा छन् ।

यसैगरी श्रीलंकाका एन्जेलो म्याथ्युज, वानिन्दु हसरंगा, दक्षिण अफ्रिकाका फाफ डु प्लेसि, रसी भान डेर डुसेन, रेजा हेन्ड्रिक्स, न्युजिल्यान्डका टिम साउथी, इंग्ल्यान्डका जेम्स भिन्स र एलेक्स हेल्सले प्रतियोगितामा सहभागिता जनाउन निश्चित गरिसकेका छन् ।

खेलाडीहरुलाई ७ क्याटेगोरीमा विभाजन गरेर ड्राफ्टमार्फत टिममा अनुबन्ध गरिनेछ ।

नेपालबाट पनि कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, लेग स्पीनर सन्दिप लामिछाने लगायत खेलाडीले इयु टी२० लिगको लागि ड्राफ्ट लिस्टमा नाम दर्ता गरेका छन् ।

इयू टी२० लिगको खेलाडी ड्राप्ट यही मार्च २४ मा हुनेछ ।

जनकपुर बोल्ट्स जेबी ब्रुग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय