News Summary
Generated by OK AI. Editorially reviewed.- बल टेम्परिङ गरेको आरोपमा लाहोर कलन्दर्सका खेलाडी फखार जमानलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
- फखारले कराँची किङ्ससँगको खेलमा बलसँग छेडछाड गरेको ठहर भएको हो ।
- फखारले अब मुल्तान सुल्तान्स र इस्लामाबाद युनाइटेडविरुद्धको खेल गुमाउनेछन् ।
१७ चैत, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) मा बल टेम्परिङ गरेको आरोपमा लाहोर कलन्दर्सका खेलाडी फखार जमान दुई खेलको प्रतिबन्धमा परेका छन् ।
गत आइतबार भएको कराँची किङ्ससँगको खेलमा बलसँग छेडछाड गरेको ठहर भएपछि उनलाई अधिकतम सजायस्वरूप दुई खेल प्रतिबन्ध दिइएको हो । उक्त खेलमा लाहोर ४ विकेटले पराजित भएको थियो ।
म्याच रिफ्री रोशन महानामा ले अनुशासन सुनुवाइपछि फखरले पीएसएल आचारसंहिताको धारा ४१.३ उल्लंघन गरेको निष्कर्ष निकालेका हुन् । फखारले आरोप अस्वीकार गरेपछि औपचारिक सुनुवाइ गरिएको थियो ।
घटना कराँचीको रन चेजको अन्तिम ओभर सुरु हुँदा देखिएको थियो । फिल्ड अम्पायर फैसल अफ्रिदीले बल शंकास्पद देखेपछि अर्को अम्पायरसँग परामर्श गरी बल परिवर्तन गरेका थिए ।
पीएसएल नियमअनुसार पहिलो पटकको लेभल–३ अपराधमा कम्तीमा एकदेखि बढीमा दुई खेलसम्म प्रतिबन्ध लाग्ने व्यवस्था छ ।
यस निर्णयसँगै फखारले अब मुल्तान सुल्तान्सविरुद्ध अप्रिल ३ र इस्लामाबाद युनाइटेडविरुद्ध अप्रिल ९ मा हुने खेल गुमाउनेछन् ।
साथै, उनले ४८ घण्टाभित्र यस निर्णयविरुद्ध अपिल गर्न सक्नेछन् ।
प्रतिक्रिया 4