News Summary
Generated by OK AI. Editorially reviewed.- करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले २०औं एनएनआइपीए स्पोर्ट्स अवार्ड अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् ।
- श्यान्टुले पेरिस ओलम्पिक्समा नेपालको प्रतिनिधित्व गर्दै टेबल टेनिसबाट पहिलो पटक ओलम्पिक छनोट भएका थिए ।
- एनएनआईपीए अवार्डमा २६ खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत गरिएको थियो र सबैले जनही १५ हजार नगद पुरस्कार पाएका छन् ।
२० चैत, काठमाडौं । करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले २०औं एनएनआइपीए स्पोर्ट्स अवार्ड अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थित चन्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए ।
उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका थिए । उनले पेरिस ओल्मपिक्समा नेपालको प्रतिनिधित्व गरेका थिए । यही सफलताको आधारमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते ।
स्टार कराते खेलाडी एरिका वर्ल्ड कराते वान युथ लिगमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । साथै अस्ट्रेलियन ओपन करातेमा पनि ऐतिहासिक स्वर्ण जितिन् ।
करातेमा अन्तराष्ट्रिय पदक जित्न सिपालु ऐरिका लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी सफल भइन् । ऐरिका र स्यान्टुले सर्वोत्कृष्ट खेलाडी अवार्डसँगै एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिभावान् पुरुषको अवार्ड तेक्वेन्दोका अभिषेक बराल र महिलाको अवार्ड बक्सिङकी स्वस्तिका तिरूवाले जिते । अभिषेकले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । उनले ८० केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।
स्वस्तिकाले आइएसएफ जिम्नासाइड समर गेम्समा स्वर्ण पदक जितेकी थिइन् । यसअघि उनले सन् २०२१ मा दुबईमा सम्पन्न एसियाली जुनियर बक्सिङमा पनि कास्य पदक पनि जितेकी थिइन् ।
पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङ्गदाम्बे सम्मानित भएकी छिन् । प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेको एक वर्ष नपुग्दै उनले उल्लेखनीय उचाइ हासिल गरिन् । राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित विश्वविद्यालय खेलकुदमा १५ सय मिटर दौडपछि उनी पारा खेलतर्फ आकर्षित भएकी थिइन् ।
दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले नयाँदिल्लीमा ३ दशमलव ९६ मिटर जम्प गर्दै टी–४७ लङजम्पमा रजत जितिन् । जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठूलो पदक हो ।
भलिबल प्रशिक्षक कुमार राईलाई गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरिएको छ । उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे ।
एनएनआईपीए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उदिप्त सिंह क्षेत्री सम्मानित भए । उनलाई नगद ३५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरियो । उनीसँग दुई दशक लामो खेलकुद फोटो पत्रकारिताको अनुभव रहेको छ ।
त्यसअघि विभिन्न २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी– २०८२ बाट पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युतकृष्ण खरेल (साइक्लिङ), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलिप यादव (भारोत्तोलन), रविन चेपाङ (र्याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्याष्टिक), श्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) रहेका छन् ।
उत्कृष्ट सबैले जनही १५ हजार नगद पुरस्कार पाए । यिनै २६ खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको हो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी र जगत टमटा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा दाहाल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई एउटै मञ्चमा उपस्थित गराएर पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको बताए ।
काठमाडौं उपत्यकाबाहिर पहिलोपटक अवार्ड आयोजना गरिएको हो ।
प्रतिक्रिया 4