+

रोमाञ्चक दोस्रो लेगपछि बायर्न सेमिफाइनलमा, रियल मड्रिड बाहिरियो

२०८३ वैशाख  ३ गते ८:०८ २०८३ वैशाख ३ गते ८:०८
रोमाञ्चक दोस्रो लेगपछि बायर्न सेमिफाइनलमा, रियल मड्रिड बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बायर्न म्युनिखले रियल मड्रिडलाई ६–४ को समग्र स्कोरले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • खेलमा रियलले सुरुवाती अग्रता लिएर पहिलो हाफमा अग्रता बनाएको थियो ।
  • बायर्नले फाइनल प्रवेशका लागि पीएसजीसँग खेल्नेछ ।

३ वैशाख, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा बायर्नले स्पेनी महारथी रियल मड्रिडलाई ४–३ ले हराउँदै समग्रमा ६–४ को जित निकालेको हो ।

एलियान्ज एरेनामा भएको खेल निकै रोमाञ्चक रह्यो । खेलको पहिलो मिनेटमै आर्डा गुलेरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको केहीबेरमा नै छैटौं मिनेटमा बायर्नका एलेक्जेन्डर पाभ्लोभिकले बराबरी गोल फर्काए ।

गुलेरले २९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । ३८औं मिनेटमा ह्‍यारी केनले गोल गर्दे फेरि बराबरी गरे । ४२औं मिनेटमा किलियन एमबाप्पेले गोल गरेपछि पहिलो हाफमा रियल ३–२ ले अघि रह्यो । यतिबेलासम्म समग्र स्कोर ४-४ भएको थियो ।

दोस्रो हाफमा खेल केही शान्त बने पनि अन्त्यतिर नाटकीय मोड आयो । ८६औं मिनेटमा रियलका एडुआर्डो कामाभिंगा दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भयो ।

८९औं मिनेटमा लुइस डियाजले उत्कृष्ट गोल गर्दै बायर्नलाई जिततर्फ नजिक ल्याए । त्यसपछि इन्जुरी समयमा माइकल ओलिसले अर्को गोल थप्दै ४–३ को जितसहित समग्रमा ६-४ को जित सुनिश्चित गरे । इन्जुरी समयको अन्त्यतिर गुलेरले पनि रातो कार्ड पाएका थिए ।

बायर्नले अब फाइनल प्रवेशका लागि साविक विजेता पीएसजीसँग खेल्नेछ ।

बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय