+
+
Shares
चरा अध्ययन :

खानेकुरा लुकाउने हिमाली चरा

मैले कागहरू भएको ठाउँमा हेर्न थालें। कागवाला पन्नामा त त्यो चरा थिएन। वरपर हेर्दा भने मैले देखेको चरा भेटें। त्यो थियो सदर्न नटक्र्याकर (त्यसबेला यो चरालाई स्पटेड नटक्र्याकर भन्ने गरिन्थ्यो)। नेपालीमा वनसर्रा! खैरो शरीरमा सेतो सेतो छिर्का अनि कालो पखेटा, पुच्छरको तल्लो भाग सेतो। तिखो देखिने कालो रङको चुच्चो। 

अनुज घिमिरे अनुज घिमिरे
२०८३ वैशाख ५ गते १६:१६
Photo Credit : Polinova
Clarks nutcracker

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङमा १४ वर्षअघि लेखकले सदर्न नटक्र्याकर नामक हिमाली चरा पहिलोपटक देखेका थिए।
  • सदर्न नटक्र्याकरले सल्लाको सिम्टा फोडेर भित्रको बीउ खान्छ र बीउहरू भुईंमा लुकाउने गर्छ।
  • यो चरा नेपालमा २६००-३६०० मिटर उचाइमा हिमालयन सेडार, गोब्रे सल्ला र हिमालयन फर क्षेत्रहरूमा पाइन्छ।

१४ वर्ष अगाडिको कुरा। स्नातकोत्तर थेसिसको क्रममा मनाङका विभिन्न क्षेत्रमा चराहरूको खोजीमा थिएँ। त्यतिबेला मैले भर्खर–भर्खर जस्तो चराहरू लागिपरेर खोज्न थालेको थिएँ।  हिमाली क्षेत्रमा खासै अनुभव पनि थिएन। त्योभन्दा २-३ वर्ष अगाडि गोसाईंकुण्ड र कालिन्चोक क्षेत्रमा अलिअलि चराहरू खोजेको थिएँ तर हिमाली चराहरू खासै चिन्दिनथें। त्यो बेलाको मेरो साथी भनेकै ‘बर्डस् अफ नेपाल’ पुस्तक थियो। केही वर्षदेखि चरा हेर्दै गरेको भएर चराहरूको आकार अनुसार उनीहरूलाई भिन्न परिवारमा राख्न सक्थें। त्यही अनुसार नयाँ चरा देखेपछि पुस्तक हेर्दै के हो भनेर पत्ता लगाउँथें। त्यो यात्रामा धेरै नयाँ चराहरू भेटियो। त्यहाँ भेटिएको मध्ये एउटा रोचक चरासँग भने अलिपछि गएर बल्ल परिचय भयो।

पिसाङ गाउँ पछिको उकालो छाडेर ठ्याक्कै हुम्देको विमानस्थल देख्ने ठाउँबाट ओरालो झरेर करिब १०० मिटर जति मात्र हिंडेको थिएँ, एउटा सल्लाको रूखमा तीनवटा चरा देखें। ती मध्ये दुइटा हिमाली भद्राई थिए। काठमाडौं वरपर पनि सजिलै देखिने भएकोले त्यो चरा चिन्न गाह्रो परेन। तर, त्यही रूखमा भएको अर्को चरा भने अलि ठूलो थियो, झट्ट हेर्दा काग झैं लागेको थियो तर काग भन्दा अलि सानो। मैले पहिले देखेको थिइनँ। हतारहतार क्यामेरा झिकेर फोटो खिचें। फोटोमा हेरेर पनि त्यो के हो भन्ने पत्ता लगाउन सकिनँ। पुस्तक हेर्नै पर्ने भयो।

त्यो चराको आकार हेरेर मलाई त्यो पक्कै पनि कोरभिड अर्थात् कागहरूको परिवारमै पर्छ झैं लागेको थियो। चराहरूको फिल्ड गाइडमा उनीहरूको परिवार अनुसार नै राखेको हुन्छ। त्यसैले त्यसको आकार वा परिवार अनुमान गर्न सकेको खण्डमा उसको फिल्डमार्क हेरेर के होला भनेर पुस्तकमा खोज्न सकिन्छ। मैले कागहरू भएको ठाउँमा हेर्न थालें। कागवाला पन्नामा त त्यो चरा थिएन। वरपर हेर्दा भने मैले देखेको चरा भेटें। त्यो थियो सदर्न नटक्र्याकर (त्यसबेला यो चरालाई स्पटेड नटक्र्याकर भन्ने गरिन्थ्यो)। नेपालीमा वनसर्रा! खैरो शरीरमा सेतो सेतो छिर्का अनि कालो पखेटा, पुच्छरको तल्लो भाग सेतो। तिखो देखिने कालो रङको चुच्चो।

त्यस दिन मनाङमा मैले देखेको नटक्र्याकर

सल्लाको प्रजाति त थाहा भएन तर, त्यो चरा एक प्रकारको सल्लाको रूखमा बसेर सल्लाको सिम्टा टोक्दै थियो। म केहीबेर त्यहीं बसेर उसको गतिविधि हेरिरहें। कति मज्जाले उसले त्यो सिम्टालाई टुक्रा पारेर भित्रको बीउ खाँदैथियो। सल्लाको सिम्टा त्यसरी फोडेर खाने भएर उसको नाम नटक्य्राकर भएको होला शायद।

त्यस बेला देखेको त्यो चरा कतै यादमै बसिरहेको थियो। स्नातकोत्तर सकेर म पीएचडी गर्न अमेरिका आएँ। आफ्नो अध्ययनको क्रममा एक दिन मैले अमेरिकामा पाइने क्लार्क्स  नटक्र्याकरको बारेमा रोचक–रोचक कुरा पढ्न पाएँ। र धेरै वर्षपछि मलाई मनाङमा देखेको त्यो चराको याद आयो। त्यो चराको व्यवहार, आनीबानी बारे थाहा पाएँ!

चराहरू मध्ये एकदम बाठो चराहरूमा कोर्भिड परिवारमा पर्ने चराहरू पर्छन्, जस्तै काग, लामपुच्छ्रे चरा, कोकल, वनकाग। यी चराहरू बाठो मात्र नभएर अरू चराहरूको आवाज निकाल्न माहिर हुन्छन्। अमेरिकामा पाइने ब्लु जे वा नीलो वनकागले एउटा बाजको आवाज निकालेर मलाई १५ मिनेट जति झुक्याएको छ।

यी वनसर्राहरूको प्राथमिक आहारा भनेको सल्लाको गुदी वा सिम्टा हो। तर उनीहरूले रूखको बोक्रा भित्र लुकेर बसेका कीरा-फट्याङ्ग्रा पनि खाने गर्छन्। वनसर्राहरू धेरैजसो उच्च हिमाली भेगमा पाइने चरा हुन्। अर्थात् उनीहरू बस्ने ठाउँमा गर्मी महिना बाहेक अरू बेला चिसो मात्र नभएर हिउँ पनि हुने गर्छ। त्यसैले गर्दा यी वनसर्राहरूले गर्मी महिनामै प्रशस्त सल्लाको बीउहरू जम्मा गर्छन् र लुकाउँछन्। हो! लुकाउँछन्। कहाँ लुकाउँछन् भन्ने प्रश्न तपाईंको मनमा आयो होला।

उनीहरूले ती बीउहरू भुईंमा खाल्डो खनेर लुकाउँछन्। र उनीहरूको वर्षभरिको आहार त्यही बीउमा निर्भर गर्ने भएकोले उनीहरूले हजारौंको सङ्ख्यामा ती बीउहरू लुकाउने गर्छन्। उनीहरूको त्यो बीउ सङ्कलनलाई क्यास भन्ने गरिन्छ भने उनीहरूको एक वर्षमा ३० हजार वटासम्म क्यास हुन सक्छ। गर्मी महिनामा लुकाएको ती सबै बीउहरू उनीहरूले जाडो महिनामा फेरि खोजेर खाने गर्छन्। मलाई आफूले हिजो बेलुका अफिसबाट आउँदा राखेको सामान आज कहाँ राखेको छु भनेर थाहा हुँदैन, ती चराहरूले महिनौं अगाडि लुकाएको बीउहरू फेरि फर्केर खोज्न सक्छन्। र अर्को प्रश्न मनमा आयो होला। उनीहरूले त्यति सानो चुच्चो र सानो मुखमा कति ओटा चाहिं बीउ बोक्न सक्छन् होला भनेर? उनीहरू बीउ लुकाउने प्रजाति भएकोले त्यही अनुसारको एड्याप्टेसन भएको हुन्छ र उनीहरूको जिब्रोको तल हुने सब-लिङ्गुअल पाउचमा उनीहरूले एक पटकमा १५० वटासम्म बीउ राख्न सक्छन्।

Southern Nutcracker Photo: Ayuwat Jearwattanakanok

वैज्ञानिकहरूको अनुसन्धान अनुसार उनीहरूले वरपरको ल्याण्डमार्कहरू हेरेर आफूले लुकाएको ठाउँ पत्ता लगाउने गर्छन्। धेरै जस्तो लुकाएको बीउहरू उनीहरूले वर्षौंपछि पनि भेट्ने अध्ययनले देखाएको छ। उनीहरूले लगभग ९-१० महिनासम्म पनि त्यो लुकाएको ठाउँ याद गर्न सक्ने अध्ययनले देखाउँछ। माथि भने जस्तै यी वनसर्राहरू एकदम बाठो चराहरूमा पर्छन् र एउटा अध्ययनले देखाए अनुसार, यदि उनीहरूले बीउ लुकाइरहेको अरू चराले देखे भने त्यस्तो बेला अलि कम बीउ लुकाउने र पछि अन्य ठाउँमा बीउ सार्नेसम्म गरेको पाइन्छ।

तपाईंहरूलाई लाग्दै होला, सबै बीउ त पक्कै खोजेर सक्दैन होला भनेर? सक्दैनन् पनि र त्यसैले गर्दा यी चराहरूलाई फ़रेस्टर चराहरू पनि भन्ने गरिन्छ। अझै रोचक कुरा त यो क्लार्क्स नटक्र्याकरको ह्वाइट बार्क पाइन (सेतो बोक्रे सल्ला) सँगको महत्त्वपूर्ण सम्बन्ध पनि हो। यो प्रजातिको सल्लाको बीउ एकदम बलियो हुने गर्छ र यो वनसर्रा बाहेक अरू जीवहरूलाई उसको बीउ नयाँ नयाँ ठाउँमा फैलाउन गाह्रो पर्छ। एक हिसाबले सल्लाले वनसर्रालाई सहयोग गर्छ भने वनसर्राले सल्लालाई।

दु:खको कुरा, आज भोलि अमेरिकामा सल्लामा लाग्ने एक प्रकारको खपटे कीरा एकदम फैलिएको छ र त्यो खपटे कीराले गर्दा ती रूखहरू हराउँदै गएका छन्। वैज्ञानिकहरूले विभिन्न प्रकारको अध्ययन गरी कसरी ती रूखहरूलाई बचाउन सकिन्छ भनेर लागिपरेका छन्। एउटा रोचक उपाय चाहिं नयाँ रूखहरूमा खपटे कीराको फेरेमोन (वासना) छोडिदिएर त्यो रूख पहिलेबाटै सङ्क्रमित छ भनेर झुक्याउनु रहेछ। आशा छ आउने दिनहरूमा अन्य उपाय पनि निस्किन्छन् र यो रोचक प्रजातिको चराको वासस्थान मासिन्न।

संसारमा अहिले ४ प्रजातिका वनसर्राहरू पाइन्छन्। जसमध्ये क्लार्क्स नटक्र्याकर अमेरिकामा पाइन्छ, सदर्न नटक्य्राकर नेपाल, चीन लगायत पूर्वी एशियामा पाइन्छ भने कश्मीर  नटक्र्याकर पाकिस्तानको पश्चिमी भेग र अफगानिस्तानतिर पाइन्छ। नेपालमा यो चरा पूर्वदेखि पश्चिमसम्मै पहाडी र हिमाली भेगमा २६००-३६०० मिटरसम्म पाइने गर्छ। नेपालमा यस चराको वासस्थान धेरै जस्तो हिमालयन सेडार (देवदार), गोब्रे सल्ला (ब्लु पाइन), हिमालयन फर (थिन्ग्रे सल्ला) भएको ठाउँमा हुने गर्छ। सदर्न नटक्र्याकरको बारे भने मैले धेरै अध्ययन भएको देखिनँ। यो रोचक प्रजातिको चरा भए पनि शायद धेरैलाई यो चरा बारे थाहा छैन होला। आउने दिनेहरूमा नेपालमा अध्ययन गर्ने चराहरूमध्ये मेरो लिस्टमा यो चरा पनि छ।

लेखक
अनुज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?