News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल सङ्घले ६४ लाखभन्दा बढीको सामान खरिदमा सार्वजनिक खरिद ऐन उल्लङ्घन गरेको छ।
- राष्ट्रिय खेलकुद परिषद्को छानबिनले एन्फाले तीन कम्पनीसँग कोटेशन माग गरी चलखेल गरेको पत्ता लगाएको छ।
- एन्फाले बोलपत्र प्रक्रिया नअपनाई सामान खरिद गर्दा खरिद प्रक्रिया त्रुटिपूर्ण भएको छ।
२७ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले गरेको लाखौंको सामान खरिदमा कैफियत भेटिएको छ । एन्फाको आर्थिक विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्(राखेप)बाट गठित छानबिन उपसमितिले तयार पारेको प्रतिवेदनले एन्फाको कैफियत औंल्याएको हो ।
प्रतिवेदनअनुसार सामान खरिदमा खरिद ऐन मिच्नेदेखि तोकिएको कम्पनीलाई दिने चलखेलमा एन्फा लागेको देखिन्छ ।
एन्फाले सामान खरिदका लागि ६४ लाख ३२ हजार ५३३ रुपैयाँ लागत इष्टिमेट तयार गरेको थियो । ३ कम्पनीसँग दररेट कोटेशनमार्फत खरिद गर्न इमेलमार्फत माग गर्यो । जुन नेपालको सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान गर्नुपर्थ्यो ।
एन्फाको मागअनुसार कोटेशनमा उग्रतारा स्पोर्टस् हब, कामाख्या इन्टरनेशनल प्रालि र कामरु ट्रेडिङ प्रालिले दररेट पठाए ।
उग्रताराबाट ८१ लाख ९१ हजार, कामाख्याबाट ७८ लाख ४ हजार ७५० र कामरुबाट ६६ लाख ५३ हजार ९ सय दररेट तोकिएको थियो । ती ३ वटै कम्पनीको दररेट एन्फाको अनुमानभन्दा बढी हुन पुग्यो । त्यस्तो अवस्थामा कोटेशन रद्द गर्नुपर्ने हो । तर, एन्फाले २०८२ पुस २ मा दरभाउ कम भएको भनि सोही कम्पनीसँग सामान गरिद गर्ने निर्णय गर्यो ।
कोटेशनअघि देखि नै एन्फाले कामरु ट्रेडिङ प्रालिलाई दिने प्रपञ्च देखिन्छ । जसका लागि एन्फा सार्वजनिक बोलपत्रको सट्टा सामान्य कोटेशनमार्फत ६४ लाखभन्दा बढीको सामान खरिद गर्ने कम्पनी छान्ने बाटोमा अघि बढेको थियो ।
स्रोतकाअनुसार ३ वटै कम्पनी एउटै प्रकृतिको स्वामित्वमा छ । कामारु ट्रेडिङ प्रालि केल्मी ब्रान्डका सामग्रीहरू नेपालमा आधिकारिक रूपमा ल्याउने र उत्पादन गर्ने कम्पनी हो । उग्रतारा पनि केल्मीकै आउटलेट हो । कामाख्या पनि केल्मीसँग सम्बन्धित रहेको स्रोतको दाबी छ ।
संघको आर्थिक कार्यविधि, २०७५ को परिच्छेद ५(२१) (ग) अनुसार १० लाखभन्दा माथिको खरिदका लागि अनिवार्य रुपमा बोलपत्र वा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनु पर्ने व्यवस्था छ । तर, एन्फाले प्रावधान विपरीत सार्वजनिक सूचना प्रकाशित नगरी सिधै ३ कोटेशनमार्फत गरिएको खरिद त्रुटिपूर्ण रहेको प्रतिवेदनले औंल्याएको छ । ‘बोलपत्रमार्फत खरिद गर्नुपर्नेमा साधारण कोटेशन माग गरी खरिद गर्नु प्रचलित खरिद ऐनअनुसार देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ । एन्फाको २०८० पुस २ गते बसेको कार्यसमिति बैठकले ५० हजार अमेरिकी डलर बराबरको खेलकुद सामग्री कमारु टेडिङ प्रालिमार्फत खरिद गर्ने निर्णय थियो ।
सामान विवरणको मापदण्ड र कार्यविधि तय भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । ‘कागजात माग गर्दा उल्लेखित रकमको सामान खरिद भएको हुन सक्ने जानकारी भएको तर, खर्चका बिल भरपाइ, खरिद प्रक्रिया तथा खर्च लेजर र खर्च विवरण माग गर्दा उपलब्ध हुन सकेन,’ प्रतिवेदनमा लेखिएको छ, ‘विवरण उपलब्ध नहुँदा खरिद प्रक्रियाका विषयमा के कस्तो थियो भन्न सकिएन ।’
यस्तै एन्फाले २०८० साउन १८ गते सामान खरिदको बोलपत्रको सूचना प्रकाशत गर्यो । ५ करोड १२ लाख ८ हजार ९४० रुपैयाँ लागत अनुमान रहेको बोलपत्र एन्फाले ५ महिनापछि पुस १३ गते रद्द गरेको सूचना प्रकाशन गर्यो । बोलपत्र रद्द गर्न मूल्यांकन समितिबाट सिफारिस भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले एकमात्र बोलपत्र प्राप्त भएमा रद्द गर्ने कार्यविधि प्रचलित कानुनभन्दा गलत रहेको औंल्याएको हो ।
प्रतिक्रिया 4