News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बिना परामर्श केन्द्रीय सदस्य मनोनयनले पार्टीको बृहत् एकतामा ठेस पुगेको बताएका छन्।
- खड्काले विभाजित कांग्रेसले आम नागरिकको भरोसा गुमाएको र एकीकरणमा आत्मसमीक्षा आवश्यक रहेको स्मरण गराएका छन्।
- उनले पार्टी नेतृत्व तहले बृहत् एकता र साझा विचारबाट अगाडि बढ्ने दिशातर्फ अग्रसर हुने आशा व्यक्त गरेका छन्।
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा भएको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन् ।
सभापति गनग थापाले सोमबार गरेको १९ जना केन्द्रीय सदस्यको मनोनयनबारे धारणा सार्वजनिक गर्दै उनले बिना कुनै परामर्श मनोनीत गरिएको बताएका छन् ।
‘वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएको छैन, मेरो जानकारीमा छैन,’ खड्काले फेसबुकमा लेखेका छन्, ‘मेरो प्रष्ट मत छ २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नु पर्ने उद्देश्यमा ठेस पुग्न गएको छ ।’
उनले नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) विभाजित हुँदा विगतमा आमनागरिकको भरोसा र विश्वास गुमाउनु परेको र दुई पार्टीबीच भएको एकीकरणको पनि स्मरण गरेका छन् ।
‘विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, हामीले आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यौं,’ नेता खड्काले लेखेका छन्, ‘त्यसैले त्यतिबेला जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवैतर्फका सबैले आत्मसमीक्षा गर्दै पार्टीलाई बृहत् र सम्पूर्ण रुपमा संगठनात्मक र भावनात्मक एकता गराएर अगाडि बढेको इतिहासको अनुभव हामीसँग छ ।’
नेता खड्काले पार्टीको नेतृत्व तहमा बसेका नेताहरू पार्टीको बृहत एकता, सामूहिक भावना र साझा विचारवाट अगाडि बढ्ने दिशातर्फ अग्रसर हुनेमा आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4