+
+
Shares

स्थानीयको अवरोधले सर्लाहीमा हुलाकी कल्भर्ट निर्माणमा ढिलाइ

अमलेश शर्मा अमलेश शर्मा
२०८३ वैशाख ३० गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको कौडेना गाउँपालिकामा निर्माणाधीन मल्टीसेल बक्स कल्भर्टको काम स्थानीय अवरोधका कारण एक महिना रोकिएको छ।
  • अवरोध हटेपछि काम पुनः सुरु भए पनि असार २५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य चुनौतीपूर्ण बनेको छ।
  • स्थानीयले लखन्देही खोलाको दुवैतर्फ तटबन्ध निर्माण गर्न माग गरेका छन् र त्यसका लागि ठूलो बजेट आवश्यक रहेको छ।

३० वैशाख, सर्लाही । हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका क्षेत्रमा निर्माणाधीन मल्टीसेल बक्स कल्भर्टको काम स्थानीय अवरोधका कारण एक महिना रोकिँदा निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य प्रभावित भएको छ ।

स्थानीयको माग र निर्माणबीचको विवादका कारण अवरोध हटेपछि मात्र काम पुन: सुरु भए पनि निर्धारित समयमै आयोजना सम्पन्न हुने सम्भावना कमजोर बनेको आयोजना पक्षले जनाएको छ ।

गत चैत पहिलो सातादेखिनै स्थानीयले कल्भर्टसँगै लखन्देही र ढङ्ग्रा खोलामा तटबन्ध निर्माणको माग राख्दै निर्माण कार्य अवरुद्ध गरेका थिए ।

करिब एक महिनासम्म काम ठप्प भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलमार्फत वैशाख ३ गते तटबन्ध निर्माण प्रक्रिया अघि बढाउने सहमति भएपछि मात्र निर्माण पुन: सुरु गरिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी तथा इन्जिनियर रञ्जितकुमार रायका अनुसार अवरोध अघि आयोजनाको भौतिक प्रगति करिब १५ प्रतिशत पुगेको थियो । उनका अनुसार अहिले काम पुन: सुरु भए पनि रोकिएको अवधिले सम्पूर्ण कार्यतालिका प्रभावित भएको छ । ‘सम्झौता अनुसार असार २५ भित्र काम सम्पन्न गर्नुपर्ने छ,’ रायले भने, ‘तर एक महिनाको अवरोधका कारण चालु आर्थिक वर्षभित्र निर्माण सक्ने लक्ष्य चुनौतीपूर्ण बनेको छ ।’

उनका अनुसार पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले पनि निर्माण कार्य अपेक्षित गतिमा अघि बढाउन कठिनाइ भइरहेको छ ।

हाल कलभर्टको फाउण्डेसन निर्माणको काम भइरहेको छ । बर्खायाम सुरु हुनुअघि संरचना तयार नभए डाइभर्सनमार्फत सवारी सञ्चालन गर्न समेत कठिन हुने प्राविधिकहरूको भनाइ छ । ‘लगातार वर्षा भएमा अहिलेको डाइभर्सन प्रयोग गर्न सकिने अवस्था रहँदैन,’ रायले भने, ‘त्यसले हुलाकी सडकको आवागमनमै असर पार्न सक्छ ।’

गत वर्ष असोज १८ र १९ गते आएको भीषण बाढीले लखन्देही खोलाको धार परिवर्तन हुँदा कौडेना–३ पर्सा गाउँ नजिक करिब १०० मिटर सडक बगाएको थियो । त्यसपछि आवागमन सहज बनाउनका लागि हुलाकी राजमार्ग निर्देशनालयले कलभर्ट निर्माण प्रक्रिया अघि बढाएको हो ।

सुशम आदित्य विजय निर्माण सेवा प्रालि, उदयपुरले ३ करोड ५३ लाख ३ हजार २३ रुपैयाँमा ठेक्का पाएको छ ।

कौडेनाका स्थानीयले लखन्देही खोलाको पश्चिमतर्फको धारमा तटबन्ध रहे पनि पूर्वतर्फको धारमा तटबन्ध नरहेकाले दुवैतर्फ बाँध कस्न माग गरेका छन् । खोलाको पूर्वतर्फ झन्डै ४०० मिटर तटबन्ध निर्माणका लागि करिब ४२ लाख रुपैयाँ र अर्को १ किलोमिटर क्षेत्रका लागि करिब ५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हुलाकी राजमार्ग निर्देशनालय जनकपुर र सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना चन्द्रपुर रौतहटले बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तटबन्ध नहुँदा लखन्देही र ढङ्ग्रा खोलामा आएको बाढी आफूहरुको सोझै खेतमा पस्ने गरेको र बालीनाली डुबानमा पर्ने गरेको स्थानीयको गुनासो छ ।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?