३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा भएको ऐतिहासिक शिखर वार्ता एक नयाँ युगको सूत्रपातका रूपमा प्रदर्शित भएको छ । प्रतिस्पर्धा, अविश्वास र द्वन्द्वको जोखिमले भरिएको वर्तमान विश्व परिवेशमा दुई महाशक्तिका नेताले साझा हित भिन्नताभन्दा ठूलो रहेको उद्घोष गर्दै सन् २०२६ लाई अमेरिका–चीन सम्बन्धको कोसेढुङ्गा वर्षका रूपमा स्थापित गर्ने सङ्कल्प व्यक्त गरे ।
लगभग दुई घण्टाभन्दा लामो चलेको मुख्य वार्तामा ताइवान, पश्चिम एसिया (इरान युद्ध), कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार र वैश्विक भूराजनीतिक परिवर्तनजस्ता जटिल विषयमा विस्तृत छलफल भयो ।
बेइजिङ आगमन र भव्य स्वागत
राष्ट्रपति ट्रम्पको यो भ्रमण सन् २०१७ पछिको कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो चीन यात्रा हो । बुधबार साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरे । विमानस्थलमा हातमा फूल र झन्डा लिएका बालबालिकाले स्वागतको नारा लगाउँदै दुई देशबीचको कूटनीतिक सौहार्दता प्रदर्शन गरेका थिए ।

यो भ्रमणको मिति यसअघि मार्चमा तय भए तापनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि उत्पन्न क्षेत्रीय तनावका कारण स्थगित भएको थियो । ट्रम्पको टोलीमा अमेरिकी प्राविधिक र व्यावसायिक जगत्का दिग्गजहरूको शक्तिशाली उपस्थिति थियो, जसमा एनभिडियाका जेन्सेन हुआङ, एप्पलका टिम कुक, टेस्लाका एलन मस्क र बोइङका प्रतिनिधिहरू सामेल थिए ।
बिहीबार बिहान ग्रेट हल अफ द पिपुलमा आयोजित स्वागत समारोह पूर्ण सैन्य सम्मानका साथ सम्पन्न भयो । राष्ट्रपति सी र ट्रम्पले व्यक्तिगत रूपमा न्यानो हात मिलाउँदा समारोह कक्ष तालीले गुञ्जायमान भएको थियो । २१ तोपको सलामी र दुवै देशका राष्ट्रिय गानबीच दुई नेताले पिपुल्स लिबरेसन आर्मी (पीएलए) को गार्ड अफ अनरको निरीक्षण गरे ।
एउटै डुङ्गा र रचनात्मक रणनीतिक स्थिरताको नारा
वार्ताको प्रारम्भमै राष्ट्रपति सीले दुवै राष्ट्रलाई ऐतिहासिक प्रश्नहरूको सामना गर्न आग्रह गरे । उनले प्रश्न गरे, ‘के हामी ‘थ्युसिडाइडिज ट्र्याप‘ (उदाउँदो र स्थापित शक्तिबीचको अपरिहार्य द्वन्द्वको सिद्धान्त) लाई चिर्दै ठूला राष्ट्रहरूबीचको सम्बन्धको नयाँ ढाँचा स्थापित गर्न सक्छौँ ?’
उनले राष्ट्रपति ट्रम्पसँग मिलेर चीन–अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाउने र सन् २०२६ लाई द्विपक्षीय सम्बन्धको ऐतिहासिक वर्ष बनाउने सङ्कल्प व्यक्त गरे ।
दुई नेताबीचको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा चीन–अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्धको औपचारिक घोषणा भएको छ । राष्ट्रपति सीका अनुसार यो नयाँ अवधारणा सहयोगमा आधारित सकारात्मक स्थिरता, नियन्त्रित प्रतिस्पर्धाको स्वस्थ वातावरण, मतभेदको सुझबुझपूर्ण व्यवस्थापन र दिगो शान्तिको सुनिश्चिततामा केन्द्रित रहनेछ ।
ताइवान : सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मुद्दा
यस शिखर वार्ताको सबैभन्दा पेचिलो र जोखिमपूर्ण मुद्दाका रूपमा ताइवान नै रह्यो । राष्ट्रपति सीले आफ्नो अडान स्पष्ट र सशक्त रूपमा राख्दै ट्रम्पलाई कडा चेतावनी दिए । उनले भने, ‘ताइवान मुद्दा चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील प्रश्न हो । यदि यसलाई गम्भीरतापूर्वक सम्हालिएन भने दुई राष्ट्रबीच सीधा टकराव र द्वन्द्वको स्थिति आउन सक्छ ।‘

चीनले ताइवान स्वतन्त्रता र क्षेत्रीय शान्ति एकअर्काका विपरीत रहेको जिकिर गर्दै जलसन्धिमा स्थिरता कायम राख्नु नै दुवै राष्ट्रको साझा लक्ष्य हुनुपर्नेमा जोड दियो । यस वार्ताअघि नै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ताइवान मुद्दा छलफलको केन्द्रमा रहने पुष्टि गरेका थिए ।
विशेषगरी अमेरिकाले हालै स्वीकृत गरेको ११ अर्ब डलरको ताइवान हतियार सम्झौताप्रति चीनले कडा आपत्ति जनाएको छ, जसलाई उसले आफ्नो सार्वभौमिकतामाथिको गम्भीर चुनौती मानेको छ ।
विश्लेषकहरूका अनुसार चीन यसपटक राष्ट्रपति ट्रम्पबाट ताइवान स्वतन्त्रताको समर्थन नगर्ने भन्ने पुरानो कूटनीतिक भाषाबाट माथि उठेर स्पष्ट रूपमा विरोध गर्ने भन्ने प्रतिबद्धता सुन्न चाहन्थ्यो ।
पश्चिम एसिया र इरान युद्ध : शान्तिका लागि कूटनीतिक दबाब
यस शिखर वार्ताको अर्को केन्द्रीय र संवेदनशील विषय पश्चिम एसियामा जारी अमेरिका–इरान युद्ध थियो । राष्ट्रपति ट्रम्पले चीनको इरानसँगको घनिष्ठ सम्बन्धलाई उपयोग गर्दै उसलाई शान्ति वार्तामा ल्याउन र रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज स्ट्रेट पुनः सञ्चालनमा ल्याउन दबाब दिन सक्ने अपेक्षा राखेका थिए ।

चीन इरानको सबैभन्दा ठूलो तेल ग्राहक हो र उसको ऊर्जा सुरक्षाको ठूलो हिस्सा यही जलसन्धिमा निर्भर छ । युद्धका कारण सिर्जित विश्वव्यापी ऊर्जा सङ्कट र अकासिँदो मूल्यवृद्धिले चिनियाँ अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पारेको छ । त्यसैले जलसन्धि सुचारु हुनु दुवै महाशक्तिको साझा हितको विषय बनेको छ ।
यद्यपि विश्लेषकहरू चीनले इरानमाथि दिने दबाबको सीमाबारे भने विभाजित छन् । इरान मध्यपूर्वमा चीनको रणनीतिक साझेदार मात्र नभई अमेरिकी प्रभावलाई सन्तुलनमा राख्ने एउटा शक्ति पनि हो । वार्ताअघि इरानी विदेशमन्त्री अब्बास अराक्चीको बेइजिङ भ्रमणले चीनको मध्यस्थकर्ताको भूमिकालाई थप बलियो बनाएको छ ।
चीनले इरानलाई कूटनीतिक प्रयासलाई समर्थन गर्न आग्रह गरेको बुझिएको छ तर ट्रम्पले यसअघि लगाएको सैन्य सहयोगको आरोपलाई भने बेइजिङले कडा रूपमा अस्वीकार गर्दै आएको छ ।
एआई र प्रविधि युद्ध : नयाँ मोर्चा
राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमण दलमा एनभिडिया, एप्पल र टेस्लाजस्ता प्रविधि क्षेत्रका दिग्गजहरूलाई सामेल गराउनुको मुख्य उद्देश्य कृत्रिम बुद्धिमत्ता र अत्याधुनिक प्रविधिको दौडमा अमेरिकी नेतृत्व सुनिश्चित गर्नु थियो ।
चीनले लामो समयदेखि एनभिडियाका शक्तिशाली एआई चिप्सको निर्यातमा लागेको अमेरिकी प्रतिबन्ध हटाउन माग गर्दै आएको छ । वार्ताअघि ह्वाइट हाउसले दोस्रो श्रेणीका चिप्स निर्यातमा केही लचकता देखाउने सङ्केत गरे पनि ठोस ढुवानी भने अझै सुरु भएको छैन । यसै वर्षको सुरुमा अमेरिकाले चीनमाथि एआई प्रयोगशालाहरूको बौद्धिक सम्पत्ति चोरीको आरोप लगाएको थियो, जसलाई बेइजिङले पूर्ण रूपमा खण्डन गरेको छ ।
यस शिखर वार्तामा दुवै पक्षले एआईको सुरक्षित विकास र नियमनका लागि एक संयुक्त वार्ता संयन्त्र स्थापना गर्ने विषयमा गम्भीर छलफल गरेका छन् । अमेरिकी पक्षका लागि चीनको विशाल बजारमा आफ्ना प्रविधि कम्पनीहरूको सहज पहुँच सुनिश्चित गर्नु प्रमुख प्राथमिकता थियो । ट्रम्पले वार्ताअघि नै स्पष्ट पारेका थिए, ‘म उनीहरूको अर्थतन्त्र हाम्रा ठूला प्रविधि कम्पनीहरूका लागि खुला गराउन जोड दिनेछु ।‘
व्यापार युद्धविराम र आर्थिक सम्झौता
यस शिखर वार्ताको मुख्य आधारका रूपमा व्यापारिक मुद्दाहरू रहेका थिए । सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको प्रारम्भिक सहमतिपछि दुई पक्षले एकवर्षे व्यापार युद्धविरामलाई थप सुदृढ बनाउने प्रयास गरेका छन् ।
स्मरणीय छ, बुसान सहमतिपछि राष्ट्रपति ट्रम्पले चिनियाँ आयातमा लगाइएको १४० प्रतिशतसम्मको भारी भन्सार महसुल घटाएका थिए भने चीनले बदलामा दुर्लभ खनिज (रेयर अर्थ) को निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।
यसपटकको बेइजिङ वार्तामा व्यापार सम्झौताको म्याद थप्दै स्थायी समाधानको खोजीमा दुवै नेता केन्द्रित रहे । सीले स्पष्ट पारे, ‘आर्थिक र व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ नै हो र मतभेद सुल्झाउन समान स्तरको वार्ता नै एकमात्र विकल्प हो ।‘
वार्ताका क्रममा चीनले अमेरिकी भटमास, बोइङ विमान र ऊर्जा खरिदको परिमाण बढाउने सङ्केत दिएको छ । यसको बदलामा बेइजिङले अमेरिकाबाट भइरहेको सेमीकन्डक्टर निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्नुपर्ने, चिनियाँ कम्पनीहरूमाथिको अवरोध हटाउनुपर्ने र अमेरिकी बजारमा चिनियाँ लगानीका लागि सहज वातावरण बनाउनुपर्ने सर्त राखेको छ । यसअघि चिनियाँ उपप्रधानमन्त्री हि लिफेङ र अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टबीच भएको प्रारम्भिक संवादले नै यो सहमतिको आधार तयार पारेको थियो ।
भूराजनीतिक परिवर्तन र विश्वव्यापी सहकार्य : नयाँ जी-२ उदय ?
दुई महाशक्तिबीच मध्यपूर्वको तनाव, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको सुरक्षाजस्ता अन्तर्राष्ट्रिय मुद्दामा समेत गहन विचार आदानप्रदान भएको छ । उनीहरूले सन् २०२६ को एपेक र जी–२० शिखर सम्मेलनलाई सफल बनाउन आपसमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
सन् २०१७ को तुलनामा यसपटक अमेरिका स्वयं चीनको बढ्दो अन्तर्राष्ट्रिय हैसियत र प्रभावलाई स्वीकार गर्न बाध्य भएको देखिन्छ । राष्ट्रपति ट्रम्पले स्वयं जी–२ (अमेरिका–चीन द्विपक्षीय नेतृत्व) को अवधारणालाई पुनर्जीवित गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यद्यपि केही विश्लेषकहरू यो शिखर वार्तालाई कुनै ठूलो उपलब्धिका रूपमा भन्दा पनि सम्बन्धलाई थप बिग्रन नदिने व्यवस्थापकीय प्रयास मान्छन् । उनीहरूको तर्क छ कि भटमास वा विमान खरिदजस्ता व्यापारिक लेनदेनले तत्कालको तनाव कम गरे पनि दुई देशबीचको आधारभूत रणनीतिक र प्रविधिको प्रतिस्पर्धा भने लामो समयसम्म कायमै रहनेछ ।
रात्रिभोज, मन्दिर भ्रमण र मैत्री तस्वीर
औपचारिक वार्ताको समापनपछि दुई नेताबीचको व्यक्तिगत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले विभिन्न सांस्कृतिक र अनौपचारिक कार्यक्रमहरू आयोजना गरिए । यस क्रममा उनीहरूले बेइजिङको ऐतिहासिक तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत टेम्पल अफ हेभनको संयुक्त भ्रमण गरे ।
बिहीबार साँझ ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति ट्रम्पको सम्मानमा भव्य राजकीय रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ दुवै देशका उच्च अधिकारी र व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति थियो ।
शुक्रबारको कार्यक्रम भने कूटनीतिक दृष्टिकोणले झनै विशेष र दुर्लभ रह्यो । राष्ट्रपति ट्रम्पलाई चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालय तथा शीर्ष नेताहरूको कार्यस्थल रहेको झोङनान्हाई परिसरमा आमन्त्रित गरियो ।
चिनियाँ राजनीतिमा अत्यन्तै गोप्य र महत्त्वपूर्ण मानिने यो स्थानमा विदेशी राष्ट्रप्रमुखलाई आमन्त्रण गरिनुलाई उच्च तहको विश्वास र घनिष्ठताको प्रतीक मानिन्छ ।
त्यहाँ उनीहरूले आपसमा चिया पिउँदै अनौपचारिक संवाद गरे र एक ऐतिहासिक मित्रवत तस्बिर खिचे । यो तस्बिरले विश्वलाई वासिङ्टन र बेइजिङबीचको तनाव मत्थर हुँदै गएको र रचनात्मक रणनीतिक स्थिरतातर्फ सम्बन्ध अघि बढेको सङ्केतसम्म भने दिएको छ ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)
प्रतिक्रिया 4